कथा : वीरेको सपना र रेडियोको समाचार

~मन्दिरा ‘मधुश्री’~Mandira Madhushree

असोज लागिसके पनि टण्टलापुर घाम थियो । समय मध्याहृन भएकोले झन् चर्किएको थियो घाम । वीरेको निधारभरि खलखली पसिना बगिरेहको छ तर ध्यान पटक्कै छैन त्यतातिर उसको । लगातार यन्त्रवत् चलिरहेका छन्, उसका अनुभवी हातहरू । वसन्तीले ढुङ्गाको सानोसानो थुप्रो लगाएकी छ ठाउँठाउँमा । त्यहीँमध्येबाट ऊ अडकल गर्छ र मिल्नेजस्तो एउटा छानेर उठाउँछ अनि गारोमा जोड्छ । हेर्दा मिलेजस्तो देखिए पनि अहँ उसलाई चित्त बुझ्दैन । अलिकति उठेझैँ, बाहिर निस्किएझँै लाग्छ । त्यसलाई निकालेर हुत्याउँछ अनि अर्को टिप्छ र जोड्छ । पुनः एक आँखा चिम्लिएर हेर्छ अलिकति बाङ्गो देख्छ । फेरि हुत्याउँछ र अर्को टिप्छ । उसको यो क्रम चलिरहन्छ । ऊ एकचोटि घोरिएर सोच्छ-”यो ढुङ्गा र यो जिन्दगी उस्तै अडबाङ्गे छन् किन ?”

पसिनाले उसको सर्ट भिजेर अस्कोट पनि आधा भिजिसकेको छ । ऊ यन्त्रवत् चलिरहेको छ । उसले चाहेजस्तो ढुङ्गा बल्ल भेट्यो । खुसी दौडियो उसको अनुहारमा । गारोको लहरमा ढुङ्गा मिलेपछि मुसुक्क हाँस्छ । अनि वसन्तीले थुपारिदिएको गिलो माटो उठाउँछ र ढ्याप्पढ्याप्प पार्छ जोडले । ताकि भित्रसम्म पुगोस् माटो । अनि बाहिर निस्केको माटोलाई हातले चिल्याउँछ । पुनः एक आँखाले हेर्छ छेउबाट । बल्ल उसलाई चित्त बुझ्छ । अनि जीउ सोझ्याएर उभिन्छ र खुइय गर्छ । ओठबाट भित्री आवाजसँग उसको थकान पनि हृवारर्र निस्कन्छ । दाहिने हत्केला यसो खुम्च्याएर बाङ्गो पार्छ र निधारको पसिना स्वारर्र सोहोर्छ । एकै ठाउँमा सोहोरिएर पसिना भुइँमा र्झछ ।

वीरे पुलुक्क वसन्तीको मुखमा हेर्छ । ऊ अघिदेखि एकोहोरिएर वीरेको क्रियाकलाप हेरिरहेकी हुन्छे ढुङ्गा बोक्ने डोको काखीले च्यापेर । दुवैका आँखा चार हुन्छन् । मौका चुकाउँदैन वीरे । एउटा आँखा झिम्क्याउँछ र मुसुक्क हाँस्छ । वसन्ती लाज देखाएर लजाउँछे । लजाउँदा गालामा परेको खोपिल्टो देख्दा वीरेभित्र पनि एउटा मिठो लहर दौडिन्छ र मनमनै भन्छ “मोरी ! मस्किएर लजाई भने त मनै थाम्न सक्दिनँ ।” उसले वसन्तीको गालामा ‘प्याट्ट’ पारेर आफ्नो तृष्णा मेट्छ ।

“भात खान निस्कन अब ता….।” भोक लागेर हत्तु भइसकियो । वसन्तीले स्थिति मोड्छे । मानौं अघिदेखि ऊ यही भन्ने मौकाको ताकमा थिई । “ल ल झिक्दै गर न त ! म पनि निस्कन्छु ।” यति भनेर ऊ आफूले गरेको कामतिर हेर्छ एक चोटि । अनि अत्तालिन्छ । भर्खर यति भयो । फेरि एक चोटि औँला भाच्छ १-२-३…११-१२-१४ दिनका दिन त दसैँ । त्यसभन्दा अगाडि नै सकिएला र ….? खै ??

वसन्तीले पोको फुकाउँछे । वीरे टोपी फुकालेर चिसो हात र मुख पुच्छ्दै ढुङ्गामा बस्छ । भाँडो छोपेको थालमा दुुई चोइली भात र छेउमा साँधेको गुद्रुक राखेर दिन्छे वसन्तीले । वीरेले पुलुक्क प्रश्न सूचक दृष्टिले वसन्तीलाई हेर्छ । उसले लोग्नेको आँखाको प्रश्नको अनुमान यहीँ लगाउँछे र भन्छे-”एउटा फर्सीको गट्टो फलेको थियो । तीनचार छाक त मजाले पुग्थ्यो होला तर हिजै त्यो गट्टो मा’जनकाँ लगिदिएँ । मा’जननीले एक माना जति कनिका दिएकी थिइन् । त्यै आधा राखेँ । आधा पकाएको अलिक थोरै होला जस्तो लाग्यो अनि पानी थपेर गिलो बनाएकी थिएँ । अहिले सेलाएर ठिक्क भएछ । ” प्रश्न नै बिना वीरेको सम्पूर्ण सम्भावित प्रश्नको उत्तरसमेत दिई वसन्तीले । वीरे कुप्लुककुप्लुक निल्न थाल्यो चोइली भात सानोसानो गाँस बनाएर । वसन्तीले सन्तोष मानेर हेरिरही लोग्नेले खाएको …।

“कान्छी तँ पनि खा न !” वीरेले आग्रह पोख्यो ।

“तिमीले खाइसकन…। तिमीलाई थपिदिएर खान्छु” वसन्तीले भनी भुइँतिर हेरेर ।

वीरेलाई थाहा छ, भाँडामा थप्ने भात छैन वसन्तीलाई एक चोइली बाहेक । जाबो आधा मानो कनिकाको भात त हो नि ! कति नै पो हुन्छ र ? त्यसैले उसले वसन्तीतर्फ हेर्दै भन्यो-खा …ए…। म त यी अघाइसकेँ..यी हेर्नन यही त धेरै होला जस्तो छ । उसले आफ्नो थालको अलिकति खाँदै गरेको भातलाई सङ्केत गर्दै भन्यो । वीरेलाई चसक्क बिझ्यो स्वास्नीको निष्ठा । ऊ गम्भीर भएर सोच्न थाल्यो-कति हार्दिक र मायालु हुन्छन् यी स्वास्नीमानिसहरू । आफ्नो जिन्दगीभन्दा पनि ठूलो ठान्छन् लोग्नेलाई । आफ्नो भोकसँग लोग्नेको तृप्ति साट्छन् र त्यसैमा तृप्ति खोज्छन् उनीहरू । धन्य नारी हृदय ! उसले तुलना गर्‍यो आफू र स्वास्नीलाई । उसले आजसम्म कहिल्यै पनि आफ्नो भाग खानेकुरा स्वास्नीलाई थपिदिएर आफू भोकै बसेको थिएन । अझ भनौं आफू अघाएर नडकारुन्जेलसम्म स्वास्नीलाई छ कि छैन, अहँ कहिल्यै खै गरेको थाहा छैन । आज ऊ आफैँलाई आफैँप्रति लाज लाग्यो । मूल्याङ्कन गर्‍यो आफैँले आफैँलाई । हरेक कोणबाट हेर्दा पनि प्रत्येक व्यवहारमा ऊभन्दा स्वास्नी नै माथि देखिई उसको मूल्याङ्कनमा । ऊ अनायसै हार्दिक भयो स्वास्नीप्रति । अनि आफ्नो भागको एक डल्लो भात झिक्यो र भाँडामा हाल्दै भन्यो-हेर न कान्छी आज मलाई पटक्कै भोक लागेकै छैन । पेट पनि ढुस्सजस्तो छ । यति तँ खा है । उसले थोरै अभिनय पनि गर्‍यो ।

आज ऊ आफ्नै नजरमा ठूलो बन्यो, गर्व लाग्यो आफ्नै व्यवहारप्रति । पछुतायो ऊ आज । किन आजभन्दा पहिले कहिल्यै पनि मैले स्वास्नीको चासो गरिनँ ?

वीरेले हार्दिक भएर स्वास्नीपट्टि हेर्‍यो । वसन्ती डराइरहेकी थिई । आज अप्रत्यासित रूपमा लोग्नेको छड्केमा परेकी थिई ऊ । आफ्नो भाग नराखी -थोरै राखेर) सबै लोग्नेलाई दिएको वा दिने गरेको कुरा आज लोग्नेले थाहा पाएको थियो । उसले पनि डराउँदै लोग्नेलाई हेरी । लोग्नेको आँखामा रिस थिएन । करुणा, हार्दिकता र माया थियो । एक अर्काका विवशताका भावहरू साटासाट भए आँखैआँखामा !

वीरेले कष्टले निल्यो बाँकी भात पनि । दुवै चुप थिए । चुठेर हात पुच्दै अलिक परतिरको ढुङ्गामाथि बस्यो । यसो गोजी छामछुम पारेर सूर्ती र अङ्गेरीको पात निकालेर बिँडी बेर्न थाल्यो । बिँडीसँगै बेरिँदै गयो ऊभित्रको गाठो पनि ।

“कति दुःखी जिन्दगी !” कुन जन्मको कूकर्मले यस जन्ममा गरिब भएर बाँच्नु परिरहेछ । किन गरिब जति मेहनत गर्दा पनि गरिब नै रहन्छन् । उसको हात र दिमागसँगसँगै चलिरहेको थियो ।

उसले बिडी सल्काउन बालेको सलाइको काँटीको ज्वाला नियाल्दै कल्पना गर्‍यो । “हाम्रो लाचार जिन्दगीमा पनि यस्तै गरी चम्किएला ? कल्पनामा तरङ्गिदै थियो काँटी बलिसकेर उसको हात पोल्यो । ऊ झसङ्ग भयो र ‘आत्था’ भन्दै फाल्यो बाँकी ठूटो र पुनः सलाइ कोरेर बिंडी सल्कायो । बिंडीको धूवाँसँगै ऊ तरङ्गिन थाल्यो ।

“कत्रो उत्साह, उमङ्ग र रहर बोकेर आएकी होली मसँग यो वसन्ती पनि …। वैँसालु नारीका रहरहरू योभित्र पनि कति छन्

होलान् ।…आइमाईहरू आफ्ना सम्पूर्ण रहर र चाहना, आवश्यकताहरू बिहेपछि लोग्नेले पूरा गर्छ भन्ने सपना देख्छन् । यसले पनि कति रङ्गीन सपना देखेकी होली मसँग भाग्दा । घाँटीमा सुनको तिलहरी..। हातभरि रेशमी चुरा, चिप्लो साडी, मखमली चोली उसका सपनामा पनि त थिए होला नि । तर खै आजसम्म न त मैले नै कहिल्यै किनिदिन सकेको छु, न त कहिल्यै जिद्दी नै गरेकी छे मसँग किनिदे भनेर । बरू भोकभोकै बसेकी छे । थोत्रो मैलो लगाएकी छे तै पनि असन्तोष झल्काउँदिन अनुहारमा कहिल्यै । कत्रो निष्ठा । कत्रो त्याग । कस्तो माया । यस्तो अभाव चपाएर पनि ऊ सधैँ खुसी र सुखी देखिन्छे तर अहँ ऊ अतृप्त रहरहरू बोकेर मजस्ता कङ्गाललाई छोडेर कुनै धनीको पछि लाग्दिनँ ।

वीरेले आफूले लगाउँदै गरेको गारोलाई एक चोटि नियाल्यो अनि सोच्यो फूलपातीको अघिल्लो दिनसम्ममा जसरी भए पनि यो सिध्याउनै पर्ला । अनि त्यसबाट आएको ज्यालाको पैसाले यसपालिको दसैँमा वसन्तीलाई एउटा सानो तिलहरी बनाइ दिनु पर्ला । लुगाचाहिँ माजन’नीसँग एउटा अर्धानो सारी मागिदिनु पर्ला । जे भए पनि यस पालि माइती जाँदा तिलहरी लगाएर माइती गई भने उसको दिदीबहिनीले पक्कै पनि जिब्रो टोक्छन् । आहासी पनि गर्लान् । “कतिको छ माइली तिलहरी ? भनेर सोधेको बेला वसन्तीको मन कति गद्गद् हुन्छ होला ?” खै त बाउआमाले झ्याइँझ्याइँ बाजा बजाएर दिएका उसका दिदीबहिनीहरूले आजसम्म पनि रित्तै पोते लगाएका त छन् नि । कस्तो न माजन’ ठानेर गकी होली त्यस्तो कङ्गालसँग भन्थे । देख्नेछन् । यसपालि त वीरबहादुरको औकात ।

वीरेले एकचोटि वसन्तीतिर पुलुक्क हेर्‍यो । ऊ आफ्नै सुरमा भाँडा मस्काउँदै थिई । भाँडा मस्काउँदा उसको टाउको अघिपछि गरी हल्लिरहेको थियो । टाउकोसँगै उसको घाँटीमा झुण्डिएको वीरेको पर्यायवाची एक झुत्तो पोते पनि चहचह पिङ खेलिरहेको थियो जुन संसारी मन्दिरमा बिहे गर्दा वीरेले लगाइदिएको थियो । पोतेको बीचमा उसको चोलोको माथिल्लो टाँक फुस्किएको थियो । त्यसबाट अनभिज्ञ वसन्ती निहुरिँदा उसका छातीको माथिल्लो भाग अलिकति देखिएको थियो । एक क्षणसम्म वीरेले हेरिरहृयो त्यही । उज्यालोमा उसले यसरी कहिल्यै देखेको थिएन । वसन्तीको गोरो छाती देख्दा उसको शरीरमा कताकता अलिक अप्ठ्यारो महसुस भयो ।

“ए…हान…हान…!!

ठोक… !!…ठोक…!!! नछोड

त्यसलाई !” आवाज आयो कतैबाट …र ड्याङ्गड्याङ्ग पड्कियो पनि । वीरे जुरुक्क उठेर उभियो । दुई/तीन जना मान्छेहरू हस्याङ्गफस्याङ्ग गर्दै दौडिदै आएर उता भागे । उनीहरू भाग्दा वीरेलाई पनि धकेलेर लडाई दिए, तर वीरे जुरुक्क उठ्यो र छक्क पर्दै मान्छे भागेतिर हेरिरहेको थियो कौतूहल बोकेर । पुनः ड्याङ्गड्याङ्ग पड्कियो दुई चोटि । वीरे झसङ्ग भएर पड्किएपट्टि यसो हेर्न खोज्दै थियो, पड्किएका दुवै गोली पालैपालो वीरेको छातीमा छेडिए । वसन्ती ऽऽ भन्दै वीरे डङ्ग्रङ्ग पछारियो ।

वसन्ती दौड्दै गएर उठाउन खोजी वीरेलाई । वीरेको धुकधुकीको गति क्रमशः कम हुँदै थियो । ऊ अन्तिम वाक्य बोलिरहेको थियो । व…स…न्ती…। तँ…ला…ई…ति…ल…ह…ऽऽऽ!! वाक्य पूर्ण भएन वीरेको । वसन्तीको घाँटीमा गएर अड्कियो उसको आँखा र निस्तेज भयो उसको शरीर । वसन्ती किंकर्तव्यविमूढ भई । त्यसैबेला आवाज आएतिरैबाट एक हूल बुट बजाउँदै आइपुगे । एउटाले वीरेको मृत शरीरमा बुटले कुल्चँदै, पल्टाउँदै भन्यो-”साले ऽऽ भाग्न खोज्थ्यो ।”

“तर यो त …? त्यही भाग्नेमध्ये हो र…? होइन पो जस्तो छ त…!” आशङ्का बोल्यो अर्काले ।

“ला…। यो त अर्कै पो परेछ त…।” खुट्टाले पल्टाउँदै अर्कोले भन्यो ।

“आ ऽ ऽ अब छाड्दे ! सरजिमिन लेख न भइहाल्छ नि…।” सबैभन्दा अलिक टाउकेले भन्यो ।

“ओ हो …। आज मुख पनि पो फेर्न पाइनेजस्तो छ है ।” थरथर काँपिरेहकी वसन्तीको छातीमा आँखा गाड्दै अर्कोले राल काड्यो ।

अर्कोले वसन्ती नजिक गएर बन्दुक सोझ्यायो र सुम्सुम्याउन थाल्यो । पालै पालो सुम्सुम्याए सबैले वसन्तीलाई । अन्तिममा वसन्ती पनि निस्तेज भई वीरेजस्तै ।

बेलुका एफएम रेडियोमा समाचार भन्यो-”आज दिउँसो ज्यामिरे गाउँमा भएको सुरक्षा कारवाहीमा रतन र देवी उपनामका कथित दुई जना आतङ्ककारी कमान्डरको मृत्यु भएको छ ।

(श्रोत :- मधुपर्क जेठ, २०६८)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.