~माधव प्रसाद घिमिरे ~
डाँडाकाँडा चहुर हरिया देखिए पालुवाले
बोकी ल्यायो बकुल वनको वास मीठो हावाले ।
डाकी मौरी मधुर रसमा लेक पाक्यो गुह्ँली
गोठालाले वनवन डुली हाल्न थल्यो सुसेली ।।
लाऊँ कानैतिर भनि टिपिन गुर्सिनीले गुराँस
नेवार्निले मधुसुमनले जेल्दिइन् केशपाश ।
भोटेनीले मगमग बुकीफूल बाँधिन तुनामा
क्वैली बोल्यो वनवन नयाँ प्रीतिको सम्झनामा ।।
आए पाखा वन चहुरमा फूल लाखौँ पलाई
को भन्देला सकल यिनको नाम मीठो मलाई ।
मेरै धौलागिरी शिखरमा छैन मैले पुगेको
नेपालीको दिल छुन अझै छैन मैले सकेको ।।
मिठो वास्ना मधुपवनमा आज आइरहेछ
यौटा थुङ्गा वनतिर कतै मुस्कुराइरहेछ ।
कोहो कोहो भनि वनवनै क्वैली गाइरहेछ
नौलो मान्छे कुसुमपाथमा हेर आइ रहेछ ।।
चौतारीमा वरपिपलको बोट नौलो लगाउँ
छाहारीको तलतिर बसी गीत यौटा म गाउँ ।
आइ कैल्यै पनि नसकिने चैतवैशाख मेरा
लाई कैल्यै पनि नसकिने प्रीति नौलाख मेरा ।।
वैली जान्छन कुसुमहरु यी जेठको घाम ओढी
क्वैली जान्छे कुन विरहमा माइती देश छोडी ।
हाँसी खेली दुइदिन्, कहाँ जान्छ यो जिन्द्गानी
को लैजाला अमरपुरमा फूलको यो जवानी ।।
बोक्रा फेरीकन समयले घाउ सारा पुरिन्छन
मौरी आइ मधुपवनमा सुन्तलामा धुरिन्छन ।
कस्तूरिले गिरिवन घुमी खोज्छ आफ्नै सुगन्ध
हुन्नन कैल्यै कुसुम वनमा प्रीतिको गीत बन्द ।।