कथा : स्वर्ग तिरको यात्रा

~लक्ष्मण शर्मा~

असोज- कार्तिक तिरको कुरा हो, दशैको मौसम थियो। जताततै हरियाली छाएको थियो रङगीविरङ्गी फूलहरु फूलेका थिए। अझ गाँउतिरको एक पखेरो त लालीगुँरास फूलेर बेहुली सजाए जस्तै देखिन्थ्यो। अलि तल क्षितिजमा बग्ने कर्णाली नदिका लहरमा अनुपम छनछनाकार सुन्न पाइन्थे। योजना मुताविक कसैले थाहा नपाउने गरी जुनिली रातको बेला गाँऊको एउटा कुनामा सबैजना ईच्छुक युवाहरुको जमघट भयो। स्वर्गको यात्रा सबैले सँगै गर्ने सहमती भयो। पूर्ण तयारीका साथ भोली बिहानको सुर्योदय हुनु पहिले नै क्षितिज पार गर्ने योजना मुताविक सबै कसिएर स्वर्ग तर्फको यात्रा शुभारम्भ भयो। पारी पुगेपछि सबैलाई आफ्नो गाँउलाई फर्केर हेर्ने इच्छा अनुरुप रसिलो आँखा बनाई एक नजर लगाए। सबैको कमजोरीपन देखि सचेत रहेर सतर्क गराउदै मैले स्वर्गको यात्रा सोचेभन्दा धेरै कठिन हुनसक्ने जानकारी गराए। बेतोडसँग अघि बडेका हामी सुर्यको पहिलो किरणसँगै क्षितिज पार गरिसकेका थियौ।

जाँदाजादै अलि पर पुगेपछि एउटा दोबाटो आयो। स्वर्गको रमाइलो यात्राका लागि निस्केका हामी युवाहरु सहि के र गलत के हो भन्ने दोधारमा परियो। कुन बाटो स्वर्ग जान्छ भन्ने छुट्याउन अलि कठिन थियो। एकातिर केहि सजिलो बाटो, ओरालो तल पुगेपछि नदिको किनार सङलो पानी, सितल पर्यावरण, हरिया बनजंगल, ढकमक्क फुलेका फुलहरुका बागबगैचा जस्ता रमाईला मनमोहक दृश्यहरु आदि ईत्यादि थिए। अर्को तिर ठाडो कहाली लाग्दो उकालो, डरलाग्दा चट्टान, खडेरी परेको जस्तो देखिने मरुभुमि, हिमालका बरफिला पहाड, आफ्ना नजरले भ्याएसम्मै यस्तै दृश्य देख्न पाइन्थ्यो।

हामी मध्येका केहि ओरालो लागे, स्वर्ग आइपुगियो भन्दै हामफाल्न थाले। आहा!! स्वर्ग आइपुगियो भन्दै खुसी हुदै, रमाउदै, चिच्याउदै थिए। बाकी रहेका हामीहरु केहि गम्भिर भएर सोच्न थाल्यौ। “पक्कै पनि भ्रम भयो स्वर्गको बाटो यति सजिलो भएको भए अवश्य सबै जाँदा हुन।“ बाकी हामीहरु अर्को तिर अगाडी बड्न थाल्यौ। बाटो धेरै कठिन थियो। कसैले कसैको सहयोग गर्ने अवस्था थिएन। सबैले आफैलाई समालेर हिड्नु पर्ने स्थिति थियो। जति जति पाइलाहरु अघि बड्दै जान्थ्यो , त्यति नै अप्ठ्याराहरु आइपर्दै थिए जसले गर्दा हामीहरू एक किसिमले अताल्लिएका थियौ। यात्रा क्रमश जारी थियो एक्कासी एउटा घनघोर जंगल आयो। हिस्रक जंगली जनावरहरु, डरलाग्दा ब्वाँसा र स्यालहरु अनौठा आवाज निकाल्दै चिच्याउदै तछाडमछाड गर्दै हामी तर्फ अघि बढ्दै थिए। त्यस भयङकर परिस्थितिकोको सामाना गर्न सक्ने हामी मध्येबाट केहि अघि बढ्न सफल भयौ भने डरपोख कातरहरु हाहाकार गर्दे पहिलो बाटो नै स्वर्ग जाने सहि बाटो हो भन्दै भागाभाग गर्दै पछाडि फर्किए। स्वर्गको बाटो कठिन छ थाहा छ तर यस्ता परिक्षाहरु जहाँ ज्यानको बाजी लगाउन पर्छ भन्ने अनुमान थिएन। यस्तो स्थिति जहाँ अघि बढेकाहरुले समस्यामा परि पछि परेकाहरुलाई सोध्न सक्ने अवस्थासमेत थिएन, उम्केपछि सिधा अगाडीको अगाडी भग्नुसिवाय उपाय छैन। करिब दुई कोख पर पुग्दा डाडाको फेदमा एउटा अनौठो अजंगको अड्डा आयो। लामा लामा लट्टा पालेका पहेला वस्त्रधारी महापुरुषहरु कुहिरीमण्डल धुनि जगाई वायुमण्डललाई नै रंगिन बनाइरहेका थिए। तिनिहरुले आ-आफ्ना स्थानबाट उठि हाम्रो भब्यसँग हार्दिक स्वागत गरे। यो बाटो भई स्वर्ग जाने सबैले यहाँ प्रशाद ग्रहण गरेर जानु पर्ने अन्यथा अनर्थ हुन्छ भन्दै धुँवा निस्किरहेका अगुल्टा जस्तो चीज तेर्स्याए। भगवानको प्रसाद भन्दै धुनितिर झुम्मिनेहरु त्यसैतिर रंगिन थाले। सचेत गराइरहने समय थिएन, लक्ष्यप्रति प्रतिबद्द रहनेहरु साना तिना अवरोधहरुमा नफसी आफ्नो गन्तव्य तर्फनै तल्लिन रहिरहे। मरुभूमि, हरिया जंगल, उबडखावड सबै पार गर्दै जाँदा फेरि अति सुन्दर वृन्दाबन जस्तो हरियाली आई पुग्दै थियो तर एक्कासी सबैकुरा बदलियो झमक्क साझ पर्यो। लखतरान थकाई लागेकोले एकरात विश्राम गर्ने ठाँऊ खोज्न थाल्यौ। सबैजना आश्चर्यचकित भयौ, त्यति अनुपम ठाँऊ कहिलै जीन्दगीमा देखेका थिएनौ। ठुला ठूला गगनचुम्मि महलहरु, झिलिमिलि रंगिचंगी बत्तीहरु, अपूर्व शिल्पकला, बास्तुकाल, मुर्तिकाल मणि माणिक्य, सुनचाँदि, हिरामोती, अशर्फिहरुले सजिएका चोक, बाटाघाटा कवलहरु केहि साथीहरु त फेरी स्वर्ग आइपुगियो भन्दै हर्षले भावविव्हल हुदै त्यसैमा लडिबुडी गर्न थाले। तर त्यो गलत सोच थियो, धोका थियो। त्यो स्वर्ग नभई पृथ्वीलोकको एउटा स्थान थियो जहाँ स्वर्गलोकबाट आएका पहुनाहरु बस्ने अथितिगृहहरुको शहर थियो।

यहाँसम्म आइपुग्दा अघिसम्मका सबैको साथ छुटिसकेको थियो। म नितान्त एक्लो भएको थिए। मेरा सबै मित्रजनहरुले आ-आफ्ना गन्तव्य फेला पारिसकेका थिए या जहाँ फसे त्यसैलाई नै अन्तिम गन्तव्य ठानेर रमाउन थाले म यसै हो भन्न सक्दिन्। तर मेरो कल्पनाको संसार, मेरो गन्तव्यको अझै पत्तो थिएन। एक्लो म फेरि भौतारिदै अघि बढ्न थाले। मलाई थाहा थिएन मेरो गन्तव्यको अन्त्य कहाँ र कसरी हुन्छ भनेर?? एक्कासी निष्पट्ट अन्धकार छायो। चारैतिर चिडचिढाहट चित्कारका सन्नाटाहरु सुनिन थाले। आँखा चिम्लेर आफैसँग प्रश्न गरे, मेरो मनमा अचानक भिन्नै खालका तरङ्गहरु उत्पन्न हुन थाले । आफू ठूलो भ्रमको पछि लागेको अनुभव हुन थाल्यो। अन्धकारमा एक आश्चर्यचकित दृश्यहरु पर्दामा चलचित्र हेरेझै सरसर्ति नाच्न थल्यो। गाउँका त्यी रमणिय दृश्यहरु, अनुपम धुन निकाल्ने बासुरी र विनायोका संगितहरुले मेरा कान गुन्जिन थाले। नातागोता, आफन्त र साथीसंगीहरु सँगको बिछोडले मन भक्कानिएर आयो। माया प्रेम र आत्मियता सबैबाट एक्लिएकोमा उसलाई पश्चाताप लाग्न थाल्यो। त्यो रमाइलो संसार, कर्णालिको बगर, डांफे मुनाल र ढकमक्क लालीगुराँश फुलेका बनपाखाहरु सायद स्वर्गमा मात्रै हुँदा रहेछन जस्तो लागेर आयो। स्वर्ग भनेको मात्र एउटा तृष्णा, कहिलै नभेटिने खोज रहेछ भन्ने भान हुन थाल्यो। ऊ झसङग झस्कियो.. आफ्नो स्वर्ग, प्यारो दुनियाँ त आफ्नै गाँउघर, बनपाखा रहेछन जुन धेरै पछाडि नै छोडेर आइएछ… अन्तत् उसको स्वर्ग पुग्ने रहर झन् बुलन्द हुदै गयो र उसको अठोट थियो, आत्मबल, बिश्वाश र दृढताका साथ स्वर्गतिरको यात्रा अब शुरु हुनेछ।
जननि जन्मभूमिश्चः स्वर्गादपि गरियसीः

– हुम्ला
हाल- बार्सिलोना

(श्रोत :- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.