कथा : पराई आमा

~सरु पोखरेल~Saru Pokhrel

बिहान चारै बजेदेखि यहाँ फूल बेच्नेको लाम भइसक्छ । जतिसुकै जाडो या गर्मी होस्, दर्शनार्थी बिहानै धेरै हुने हुँदा यो समय फूल-व्यवसायीको महत्त्वपूर्ण समय हो । दिउँसो नभ्याउनेहरू पनि बिहान यहाँ फूल फिँजाएर बसेका हुन्छन् ।

”बहिनी, फूल दिनोस् न ! धूपबत्ती र प्रसाद पनि राखिदिनोस् है !”

मैले प्लास्टिकको ढकीमा सबै सामग्री राखिदिई बोतलको पानी ती युवतीलाई हात धुन दिएँ । युवतीको साथमा सानो बालक पनि थियो । उनी हात धुँदै थिइन्, ढकीबाट सेता मिठाइको प्याकेट त्यो सानो बालकले टप्प टिपेर मुखले खोल्न थाल्यो ।

”छ्या, किन जुठो हालेको ? भगवान्लाई चढाउन पो किनेको त ! यो चकचके बच्चालाई त लिएर हिँड्नै मन लाग्दैन, हैरान पार्छ । आज यसैका लागि आएकी हुँदा ल्याउँनैपर्‍यो र मात्र !” उनी निधार खुम्च्याउँदै त्यो बच्चालाई हातले धकेल्दै थिइन् । उनले प्रसादका लागि अर्को चोखो मिठाइ फेरि मसँग मागिन् ।

”छोरो हो ?” मैले मिठाइको पोको दिँदै सोधेँ ।

”हो । आज यसको जन्मदिन, यसकै नाममा पूजा गरिदिऊँ कि भनेर मन्दिर ल्याएकी, दिक्क बनाइसक्यो ।”

”कति वर्षको भयो ?”

”२०६० सालको हो, आजैदेखि सात वर्ष लाग्यो नि !” उनी पूजा सामग्रीको पैसा तिरेर हातमा ढकी लिई मन्दिरतर्फ लागिन् ।

पशुपतिको प्राङ्गण बाहिर मैले यसरी फूल-व्यापार गर्न थालेको पाँच वर्ष भइसकेको छ । यो अन्तरालमा हजारौँ मान्छेलाई मैले फूल-प्रसाद बेचिसकेकी छु । आफ्नो यौवन र बाँच्नुपर्ने बाध्यता दुवैलाई मध्यनजर गरी मैले रोजेको यो व्यवसायमा एकातिर म सुरक्षित छु भने अर्कातिर यी मान्छेको हूलमा आफ्ना पीडा-व्यथाहरू भुलाउने प्रयत्न गर्दागर्दै सहजरूपमा बाँच्न सिक्दै गएकी पनि छु । म चोखी हुँ-होइन, म खुट्याउन सक्दिनँ तर मैले बेचेका फूल-प्रसाद पशुपतिनाथमा चढिरहेका छन् ।

आज २०६० माघ ९ अर्थात् आजभन्दा ठीक छ वर्ष अगाडिको त्यो दिन, मेरो जीवनको सबैभन्दा पीडादायी दिन थियो । छातीको घाउमा खाटा त्यति सजिलै कहाँ बस्दोरहेछ र ! म तीतो विगततर्फ धकेलिएँ ।

वि.सं. २०६० साल वैशाख सङ्क्रान्तिको दिन थियो । बा-आमा सङ्क्रान्ति नुहाउन बिहान सबेरै गङ्गाजी जानुभएको थियो । घरमा म एक्ली थिए । गोठमा एउटा माली गाई अनि दुईवटा बाख्रा थिए । म कक्षा १० मा पढ्थेँ तर त्यो दिन विद्यालय बिदा भएको हुँदा बिहानैदेखि गोठ र घरको धन्दा सिध्याएर दिउँसो गाईबाख्राका लागि सेउला-घाँस खोज्न म जङ्गल पसेँ ।

जङ्गलमा त्यस दिन कोही मान्छे भेटिएनन् । बाघ-भालुजस्ता जङ्गली जनावरसँग सामना हुन्छ कि भनेर मन तर्सिरहेको थियो । आफ्नै खुट्टाले खिसि्रक्क ढुङ्गो खसाल्दा पनि झसङ्ग हुन्थेँ । जङ्गलको धेरै भित्र नगई घाँस र सेउलाका भारी पुर्‍याएर र्फकनेक्रममा थिएँ । अचानक जङ्गलमा दुई जना फौजी पोसाकधारी अपरिचित मान्छे भेटिए । सायद तिनीहरू विद्रोही थिए अथवा विद्रोहीको खोजीमा हिँडेका सुरक्षाकर्मी । जङ्गलको बीचमा कुइनेटोजस्तो त्यस ठाउँमा सानो खोल्सो थियो । उक्त खोल्सामा तिनीहरू के गर्दै थिए, त्यो मैले अनुमान नलगाउँदै मेरो घाँसको भारी पछाडिबाट कसैले खोस्यो । म थरथर काँप्दै पछाडि फर्के । उस्तै पोसाकको अर्को व्यक्ति ममाथि गिद्धे आँखा गाढेर उभिएको थियो । मेरो मुटु तेज गतिमा धड्किन थाल्यो । केही बोल्नु त परै जाओस्, ओठ-मुख सुकेर सासै रोकिएला जस्तो भयो । म भाग्ने प्रयत्न गर्न थालेँ तर अगाडिका दुई जना पनि मलाई घेर्न आइसकेका थिए । एउटाले मेरो हात समातेको थियो, अर्कोले खुट्टा र तेस्रोचाहिँ मेरो कपडा च्यात्दै थियो । मैले हात जोडेर बिन्ती गरेँ, छोडिदेऊ भनेँ, रोएँ तर ती मान्छेरूपी दानवभित्र कुनै दया पलाउन सकेन । मैले जोडले चिच्याउने प्रयत्न गरेँ तर मेरो आवाज त्यहीँ घना जङ्गलको बीचबाट पहरामा ठोकिएर मैतर्फ फर्कियो । त्यसबखत मेरो अस्मिता बचाइदिने कोही भएन । आफ्नै गाउँको, आफ्नै पाखाको, आफू हुर्केको-खेलेको जङ्गलभित्रै म त्यस दिन लुटिएँ ।

मैले बेहोसीबाट आँखा खोल्दा घाम डुब्न आँटिसकेको थियो । जङ्गलका रूखपात उस्तै थिए । नजिकै खोल्सामा पानी कुलुलु बगिरहेको थियो । सबै चीज यथावत् रहे पनि म क्षत्विक्षत् थिएँ । एउटा भयानक सपनाजस्तो त्यो बीभत्स घटना यथार्थमा भइसकेको थियो । ती पापीहरू त्यहाँबाट गइसकेका थिए । मलाई उठ्न निकै गाह्रो भयो । भनभनी रिङ्गटा पनि लागेको थियो । लुगाभरि रगतका टाटैटाटा थिए । मैले बा-आमा र घरलाई सम्झेँ । छरछिमेकलाई सम्झेँ । भित्रैबाट भक्कानिएर रून मन लाग्यो । एकछिन त्यहीँ बसेर डाँको छोडेर रोएँ । आधा घाँससहितको डोको पर घोप्टिएको थियो । यही जङ्गलकै रूखमा झुण्डिएर मरुँ कि जस्तो भयो तर आफूलाई सम्हालेर कपडाको रगत सफा गरेँ । छरिएको घाँस र सेउला समेटेर डोकामा राखी सकी नसकी घरतर्फ लागेँ । बाटामा कोही नभेटिऊन् भन्ने लागेको थियो र त्यस्तै भयो । घर आइपुगेँ । बा-आमा अझै फर्किनु भएको थिएन । घरभित्र पसेपछि पुनः खप्न सकिनँ र हिक्का छुट्न थाल्यो । खाटमा घोप्टिएर रोइरहेँ । बाहिर अँध्यारो बढिसकेको थियो, बत्ती बाल्न पनि मन लागेन । बाहिरको अँध्यारोभन्दा पनि आफ्नो जीवनमा भित्रिएको अन्धकारले कहाली लागेको थियो । बाहिर मान्छे हिँडेको र बोलेको आवाज सुनियो । बा-आमा आउनुभएको थियो ।

”निर्जला, किन बत्ती पनि नबालेकी ?” आमाले ढोकाभित्र पस्दै सोध्नुभयो ।

म विस्तारै उठेँ । आमाले टुकी बालिसक्नुभएको थियो ।

”के भयो तँलाई ? सञ्चो भएन कि क्या हो ? अनुहार पनि फुलेको छ, आँखा पनि सुन्निएका छन् !” आमाले मलाई हेर्दै सोध्नुभयो ।

”अँ, टाउको दुखेर खप्नै सकिनँ, त्यसैले ओछ्यानमा पल्टिरहेकी !”

”सञ्चो भएन रे ? ज्वरो पनि छ ?” बा अत्तालिँदै मेरो टाउको छाम्न आइपुग्नुभयो ।

ममाथिका दाजु र दिदी दुवै खसेर म एक्ली बाँचेकी थिएँ । त्यसैले बा-आमाकी म ज्यादै प्यारी थिएँ । बत्तीको छेलमा मेरा आँखाबाट आँसु खसिरहेका थिए । यति धेरै माया गर्ने मेरा बा-आमाले ममाथि आइपरेको त्यो भयङ्कर घटनाको पत्ता पाउनुभयो भने कसरी सहनुहोला ?

आमाले भात पकाएर खान बोलाउनुभयो । म आमाको मन राख्न भाग मात्र बसेँ । एकातिर शरीरको पीडा र अर्कातिर हृदयको पीडाले रातभर छट्पटिइरहेँ । बा-आमा घरिघरि कस्तो भयो भनेर सोध्नुहुन्थ्यो । मैले सिरकभित्र मुख लुकाएर ‘अलि ठीक भएको छ’ भनी ढाटेँ ।

भोलिपल्ट बिहान बिरामीको बहानामा म विद्यालय गइनँ । दिनहरू बित्दै गए । पढाइमा ध्यान दिन पनि सकिनँ । कहीँ कतै आफन्त र साथीभाइलाई भेट्न पनि मन लाग्न छोड्यो तर आफ्नो बदलिएको व्यवहारले कसैमा शङ्का उत्पन्न गराउँछ कि भनेर सकेसम्म आफूलाई सम्हाल्ने प्रयत्न भने गरिरहेँ । मेरो महिनावारी नभएको दुई महिना नाघिसकेको थियो तर यस्तो तलमाथि प्रायः भइरहने हुँदा आमा सायद निश्चिन्त नै हुनुहुन्थ्यो । मलाई खानाप्रति अरूचि बढेको र वाक्वाकी पनि लाग्न थालेको थियो जसले गर्दा मभित्र एक किसिमको डर पैदा भएको थियो तर मैले यी सबै कुरा सकेसम्म अरूबाट लुकाउने प्रयत्न भने गरेकी थिएँ । मैले आफ्नो मन मिल्ने साथीसँग पनि यो कुरा खोल्न सकेकी थिइनँ । एक त आफ्नो ब्राहृमण परिवार, त्यसमाथि पनि पुरेत्याइँ गरेर बाँच्नुपर्ने बाको पेसा! मेरो आङ जिरिङ्ग हुन्थ्यो । जतिजति दिनहरू बित्दै जान्थे, त्यतित्यति नै मभित्र डर, त्रास र पीडा हुर्कंदै गएको थियो ।

एक दिन बा घरमा हुनुहुन्नथ्यो । आमाछोरी भान्छामा खाना खाँदै थियौँ ।

”निर्जला, तँ आजकाल खाना ज्यादै कम खान्छेस्, किन ?” आमाले एक्कासि सोध्नुभयो । मलाई सर्को पर्छ कि जस्तो भयो ।

”साँच्चै, तेरो नछुने नभएको पनि तीन महिना भइसक्यो । के भएको ? बैद्यकहाँ जानुपर्छ कि, क्या हो ?” आमाले फेरि ममाथि झटारो हान्नुभयो ।

मैले जानी-नजानी अनेक बहाना बुनेर आमालाई अलमल्याउन खोजेँ तर आमाले विश्वास गर्नुभयो कि भएन त्यो भने बुझ्न सकिनँ । त्यो रात कटाउन पनि मलाई साह्रै गाह्रो भयो । घरि पासो लागेर मरुँ जस्तो हुन्थ्यो, घरि ठूलो भीरबाट खसूँ जस्तो हुन्थ्यो ।

एक हप्ता जतिपछि आमालाई शङ्का नहोस् भनी मैले पर सरेको बहाना गरेँ । आमाको चिन्ता त हट्यो होला तर मेरो व्यथा झन्झन् बढ्दै गयो । न यो व्यथा म बाँड्न सक्थेँ, न आफैँ कुनै उपाय खोज्न सक्थेँ । कहिलेकाहीँ त बा-आमालाई भनिदिऊँ कि जस्तो लाग्थ्यो तर ६० नाघेका बा अनि दमकी रोगी आमालाई सम्झेर आँट गर्न सक्दिनथेँ ।

मैले जति प्रयास गरे पनि नलुक्ने भइसकेको थियो त्यो कटु यथार्थ, किनकि चार महिनाको गर्भ मेरो पेटमा हुर्किरहेको थियो । मलाई कुनै पनि मान्छेका आँखाको सामना गर्न गाह्रो हुन थालेको थियो । एक दिन आमाकै अगाडि मैले बान्ता गरेँ । आमाले अँध्यारो मुख लाएर मेरो हात चाप्प समाती भित्र लगी सोध्नुभयो- ”निर्जला, मलाई नढाँटी भन्, तँलाई के भएको छ ?”

यसपालि मैले बहाना बनाउन सकिनँ । आमाको काखमा घोप्टिएर हिक्का छोड्न थालेँ । आमा मेरो टाउको उठाएर स्वर कपाउँदै बोल्नुभयो- ”कसको पाप हो कुलाङ्गार्नी ? हामीलाई पहिले मारेकी भए हुन्थ्यो कि अघिल्ला सन्तानजस्तै तँ पनि मरेकी भए यो दिन त देख्नुपर्ने थिएन !”

आमाका शब्दले मेरो मुटुमा कीला ठोकेजस्तै भयो । आफ्नो जीवन बर्बाद पार्नमा मेरो के हात थियो र ? यदि गलत थिएँ भने म मात्र नारी शरीर हुनुमा गलत थिएँ । म केही बोल्न सकेकी थिइनँ । आमा मलाई छोडेर अर्को कुनापट्ट िसुँक्कसुँक्क गर्दै बरबराउँदै हुनुहुन्थ्यो- ”जोरीपारी, छरछिमेकका अगाडि कुन मुख लिएर हिँड्नु ? विष दिएर मार् पापिनी अब हामीलाई !”

मैले खप्न सकिनँ । आमालाई समातेर आफूमाथि भएको सम्पूर्ण घटनाको विवरण बताएँ । त्यसपछि मलाई भने आमाले केही भन्नुभएन तर त्यस रात मेरै अगाडि बालाई रुँदै त्यो कुरा सुनाउनुभयो । जीवनभर इज्जतमा कुनै दाग लाग्न नदिई बूढ्यौलीमा प्रवेश गरेका मेरा बाका त्यतिखेर हातखुट्टा थरथराएका मात्र थिएनन्, मुजैमुजा परेको अनुहारभरि पसिना उमि्रएको थियो ।

बा-आमाले रातभरि के सल्लाह गर्नुभयो कुन्नि, भोलिपल्ट बिहानै आमा मलाई मामाघरतर्फ लिएर हिँड्नुभयो । मामाकी छोरी काठमाडौँको कुनै हस्पिटलमा नर्स हुनुहुन्थ्यो । संयोगवश घर आएको मौका परेछ । आमा र माइजूले दिदीलाई सबै कुरा बताएपछि उहाँले मलाई बोलाएर बेलिविस्तार सोध्नुभयो ।

”खोइ, अब त धेरै ढिलो भएछ, गाह्रो हुन्छ होला, तैपनि नआत्तिनोस् फुपू ! म यिनलाई आफूसँगै काठमाडौँ लग्छु र हुनेसम्म कोसिस गर्छु ।” दिदीले आमालाई सान्त्वना दिने कोसिस गर्नुभयो ।

एक रात त्यहीँ बसी भोलिपल्ट बिहानै दिदीले मलाई काठमाडौँ लिएर आउनुभयो । दिदी त्यस्ता ठाउँहरू, हस्पिटलहरू सबैतिर बुझ्दै हिँड्नुभएछ तर कसैले पनि साढे चार महिना भइसकेको गर्भ फाल्ने खतरा उठाउन नसक्ने बताएछन् । दिदी पनि निराश हुनुहुन्थ्यो, म झन् पीरैपीरले सुकेकी थिएँ । बा-आमाको ज्यादै माया लाग्थ्यो । कुनै उपाय नभएपछि दिदीसँग एक दिन ‘विषालु कुनै औषधि ल्याइदिनोस्, म मर्छु’ भनेर रोएँ ।

म चिन्ताले छट्पटाइरहेकी थिएँ । दिदी ड्युटीबाट फर्किनुभयो । दिदीको अनुहार केही उज्यालो थियो त्यो दिन ।

”नानी, तिमी नआत्तिऊ । पाँच महिना पुग्न आँटिहाल्यो, अब पाँच महिना सहेर यही कोठामा यसरी नै बिताऊ । हस्पिटलमा बच्चा जन्मिनेबित्तिकै त्यसलाई हामी एक निःसन्तान दम्पतीलाई सुम्पिदिउँला । त्यसका लागि मैले सबै बन्दोबस्त मिलाइसकेकी छु ।” दिदी उत्साहित हुँदै बोल्नुभयो । मसँग अर्को कुनै उपाय थिएन ।

दस महिना पूरा भयो, एउटा प्राइभेट हस्पिटलमा मैले बच्चा जन्माएँ । मेरो छातीमा बच्चा राखियो । मेरो जीउ हलुङ्गो भए पनि मन गह्रौं भयो । म पलभरकी आमा थिएँ । केही क्षणमा नै ऊ अर्काको हुँदै थियो । उसलाई लिन बाहिर उसका भावी बाबुआमा उपस्थित भइसकेका थिए । बच्चालाई कपडामा बेरेर मेरो आडमा सुताइएको थियो । ऊ चिहाँचिहाँ गरेर आमा खोजिरहेको थियो । मैले उसको अनुहार हेर्न सकेकी थिइनँ । केही क्षणमा अर्काको हुने सहमति भइसकेको यो बच्चालाई एक झलकका लागि हेरेर म जिन्दगीभरि दुःखी कसरी बनूँ ।

”दिदी, बच्चालाई दूध खुवाउनुहोस् न ! रोइरहेको छ ।” एउटी नर्सले मलाई हेर्दै भनेकी थिई । मेरो दुई घुट्को दूधले एकछिनलाई उसको घाँटी भिजाएर के गर्नु, उसले फेरि कहिल्यै त्यो पाउँदैन, यसले बट्टाकै दूधमा हुर्किनुपर्छ । एकातर्फ बच्चा रोइरहेको थियो, उसको विपरीत दिशातर्फ फर्केर म अभागी आमा रोइरहेकी थिएँ । उसको र मेरो एकक्षणका लागि गाँसिएको नाता, यसपछि हामी आजीवन पराई बन्नेछौँ ।

केही क्षणमा मेरी दिदी आउनुभयो । ”निर्जला, छोरो त कस्तो राम्रो रहेछ ।” उहाँले अञ्जानवश मेरो चोटमा प्रहार गर्नुभयो तर तत्कालै बुझेर सान्त्वना पनि दिनुभयो- ”तिमीले यसलाई जन्माइदियौँ । हुर्काउने बाबुआमा पनि भाग्यवश यसले गतिलो पाएको छ । तिमी आफूलाई सम्हाल । तिम्रो जीवनको बोझ अब उत्रन सक्यो, यही ठूलो कुरा हो । उनीहरूले आमासँग चिनजान गर्दैनाँै भनेका छन् र तिमीले पनि उनीहरूलाई नचिनेकै राम्रो हुन्छ । एक पटक हेर्न मन छ भने यसलाई हेर, नत्र म पुर्‍याइदिन्छु” दिदी भन्दै हुनुहुन्थ्यो ।

आफ्नो मुटुको टुक्रो आफैँबाट छुट्याइने क्षण म कसरी खप्न सक्थेँ ? मैले उसको अनुहार नहेरी स्पर्श गरेँ । छातीमा टाँसे र गाला र निधारमा चुम्बनको वर्षा गरेँ । उसका कलिला हात मुसारेँ । एक मन यो बच्चा लिएर भागौँजस्तो लाग्यो तर उसको भविष्यका लागि उसलाई मैले आफूबाट छुटाउनैपथ्र्यो । हृदयमा छुरी रोपेर आफूलाई सम्हालेँ । केही क्षणमै मेरो आडको ओछ्यान चिसो भइसकेको थियो । छाती आँसुले भिजेको थियो । अघिसम्मको मेरो आफ्नो छोरो अब पराई बनिसकेको थियो । जीवनको अर्को ठूलो पीडा बोकेर हस्पिटलबाट रित्तै फर्केकी थिएँ म । त्यसपछि गाउँ नफर्की आफूलाई भुलाउन यहीँ पशुपतिनाथको मन्दिरबाहिर फूल बेचेर बाँचेकी छु ।

”बहिनी, लिनुहोस् ढकी !” ती फूल लग्ने युवती दर्शन गरेर फर्किसकेकी थिइन् । एक हातले रित्तो ढकी मतर्फ बढाउँदै थिइन्, अर्को हात उनको छोरोले च्याप्प समातेको थियो ।

”ममी, अघिको जस्तै सेतो मिठाइ, म फेरि खाने, किनिदिनोस् न !” उसले आफ्नी आमालाई अनुरोध गर्‍यो । मैले सबैभन्दा ठूलो प्याकेट झिकेर उसको हातमा थमाइदिएँ ।

”सानो दिनुहोस् न, त्यत्रो होइन !” उसकी आमाले पैसा झिक्न खोज्दै भनिन् ।

”यो बाबुको आज जन्मदिन रहेछ । मेरोतर्फबाट यही उपहार भयो, यसको पैसा चाहिँदैन ।” मेरो कुराले उनलाई अचम्मित तुल्याएछ । उनी मलाई पैसा लिन कर गर्दै थिइन् तर मैले इन्कार गरेँ । उनी धन्यवाद भनेर अगाडि बढिन् । बालक मतर्फ हेर्दै मुसुक्क हाँसेर हात हल्लाउँदै आमाको पछि लाग्यो । तिनीहरू भीडमा नहराउञ्जेल मैले हेरिरहेँ ।

(श्रोत :-  मधुपर्क २०६७ असोज )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.