~कवी शिरोमणी लेखनाथ पौड्याल~
बडाले जे गर्यो काम हुन्छ त्यो सर्व-संमत ।
छैन शङ्करको नङ्गा, मगन्ते भेष निन्दित ।।
गरदैन ठूलो व्यक्ति मर्यादा-स्थिति-लङ्घन ।
बसेको छ महासिन्धु सीमाबद्ध बनीकन ।।
दबिन्छ गुणिको दोष गुणका राशिमा परी ।
रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी ।।
कसैको लोकमा छैन एकैनास समुन्नति ।
अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति ।।
छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ ।
उर्लंदो खहरे हेर कत्तिको गड्गडाउँछ ।।
ज्यादा सोझो हुनुभन्दा टढिनु छ फला-धिक ।
गरदैन कुनै सोझो ग्रहको पूजनादिक ।।
टपर्टुञ्या पनि हुन्छ मूर्खमध्ये प्रतिष्ठित ।
बोलने को अँध्यारोमा महात्मा जुन्किरीसित ।।
सानैदेखि छुचो हुन्छ दुष्ट मानिसको मति ।
घोचने जङ्गली काँढा पहिले नै तिखा कति ।।
मिलेर काम गर्नाले हुन्छ अत्यन्त फायदा ।
एकता हेर कस्तो छ मौरीको महमा सदा ।।
जो दिंदैन उही दिन्छु भनी गर्जन्छ सत्त्वर ।
जो हो नवर्षने मैघ उसैको हुन्छ घर्घर ।।
हुनुपर्दछ मौकामा शत्रुको पनि सेवक ।
कोइली कागकै बच्चा बन्छ सानू छँदा तक ।।
गुणग्राही जहाँ छैन वहाँ के गरला गुणी ।
कौडीमा तक मिल्किन्छ भिल्लका देशमा मणि ।।
योग्य स्थानविषे मान सानाले पनि पाउँछ ।
कृष्णाका तटको ढुङ्गा देवता कहलाउँछ ।।
उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर ।
फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
मेटिंदैन कसैबाट आफनू कर्मपद्धति ।
बनवासी बने राम चौधै भुवनका पति ।।
धर्म हो धीरको धैर्य राखनू दु:खजालमा ।
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।।
सारा सार लिई कन्था छोडी-दिन्छ गुणी जन ।
रस चुसेपछि भृङ्ग फूलमा भुल्दथ्यो किन ?
सङ्गले पनि जाँदैन दुष्टको दुष्टा रिस ।
श्रीखण्डमा बसी सर्प कहाँ हुन्थ्यो र निर्विष ।।
मूर्खका मनमा अर्ती गालीतुल्य बिझाउँछ ।
दूधपान गरी सर्प खालि विष बहाउँछ ।।