कथा : दोषरहित दोष

~आत्माराम शर्मा~

सोहनलाल चौधरीले एकाबिहानै फोन गर्दै भन्यो- “मुकुन्द, जरुरी काम छ, आज मलाई अफिसमा भेट्न सक्छौ ?”

के काम छ त्यस्तो जरुरी ? अर्को कुनै दिन फुर्सदमा भेट गरे हुँदैन ? मैले भनेँ ।

तिम्रो अनुकूल छ भने आजै भेट गर्न पाए हुन्थ्यो, उसले पुनः अनुरोध गर्‍यो । के काम छ ? फोनमा बताउन मिल्छ ? मैले उसलाई केर्दै सोधेँ ।

“हेर न मुकुन्द, एउटा नयाँ केस आयो । यो विषय अलि जटिल छ । लेखकको आवश्यकता पर्‍यो । साहित्यिक भाषामा लेखिएका इमेलका पत्रको अध्ययन गरेर घटनाको छानबिन गर्नुपर्ने भयो । तिमी साहित्यकार भएकोले सहयोग गर्छाैं कि भन्ने आशले फोन गरेको” उसले अनुरोधको भाषामा भन्यो ।

भेटघाटको विषय छ्याङ्ग भएपछि अपरान्ह पाँच बजे भेट्ने निधो गर्दै मैले फोन राखेँ ।

सोहनलाल मेरो कलेज पढ्दाको हितैषी साथीे हो । अपराध अनुसन्धान शाखामा डीएसपी छ । प्रहरीमा उजुरी परेका कतिपय घटना र अपराधका केस ऊ मलाई सुनाउने गर्छ । म ती घटनालाई लिएर साहित्य सिर्जना गर्छु । यो घटना पनि कथाको राम्रो प्लट हुन सक्छ भन्ने सोच्दै साँझ साढे पाँच बजे म उसको कार्यालयमा गएँ ।

सागर भन्ने मानिस बेपत्ता भएकोमा खोजी गरिदिन उसका छोरा, छोरी र श्रीमतीले केही प्रमाणसहित रिपोर्ट गरेका रहेछन् । सोहनलालले खोजबिनको क्रममा सागरसँग आदानप्रदान भएका तीनवटा इमेल अध्ययन गरेर कसको कारणले घटना घट्यो भन्ने पत्ता लगाउनुपर्ने केस रहेछ । उसले ती सबै इमेल पि्रन्ट गरेर मलाई दिँदै भन्यो -”मुकुन्द यी सबै गहिरो अध्ययन गर । दोषी को हुनसक्छ ? मलाई बताऊ ।” सोहनलालले निकै जोड दिँदै मलाई भन्यो ।

उसले दिएका ती इमेलपत्र यस्ता थिए-

सहृदयी दिदी अनुजा

मीठो सम्झना

आज बुद्ध पूणिर्मा, आकाशमा कहीँ कतै बादलका टाटा छैनन् । सफा आकाशमा जुनको टहटह हेर्दै म टोलाइरहेकी छु । यो मनको अथाह खुसी तिमीसम्म पुर्‍याउने शब्दको खोजीमा घोत्लिरहेकी छु । कुन शब्दैले मेरा उमङ्ग व्यक्त

गरौँ ? सोच्दै लेखिरहेकी छु । घरव्यवहार र साथीसङ्गीका धेरै कुरा यस अगाडि लेखिसकेकी छु । दाजु सागरको सहयोग र प्रेरणाले मैले लोकसेवाको अन्तर्वार्ता पास गरेँ । खरदारको जागिर खाएको पाँच वर्ष नबित्दै अधिकृतमा पास गरेकीले मैले थेग्नै नसक्ने गरी बधाई र सुभेक्षा प्राप्त गरेँ ।

अधिकृतको नियुक्तिपत्र लिएको दिन मेरो जीवनको उल्लासमय दिन थियो । कस्तो संयोग परेको अनुजा त्यो- दिन मेरो श्रीमान्को जन्म दिन, हाम्रो विवाह भएको र मैले अधिकृतको नियुक्तिपत्र बुझेको एकै दिन परेछ । यस्तो संयोग त बिरलै हुन्छ, हैन त अनुजा ?

आज यो उमङ्गको क्षणमा पनि मेरो पेट भतभती पोलिरहेछ । मेरा यी खुसी तिमीसँग साट्न पाइनँ । न त दाजु सागरसँग नै रमाउन पाएँ । खै के काम परेर हो गएको दुई दिनदेखि उहाँ अफिस आउनुभएको रहेनछ । लिखितमा मेरो नाम प्रकाशित भएपछि दाजुले धेरै पटक मलाई भन्नुभएको थियो -”लता म तिम्रै प्रगति हेर्न यो जागिरमा अल्भिmरहेको छु । घरको चाँजोपाँजो मिलेपछि अब म छिटै जागिर छाड्छु ।”

उहाँले यस्ता वैरागलाग्दा कुरा धेरै पटक गर्नुभयो । उहाँका उदास कुरा सुनेर मैले एक दिन बोल्दाबोल्दै बीचमै रोकेर भनेँ – दाजु Û तपाइर्ंका यस्ता दिक्कलाग्दा कुरा म सुन्दिनँ । अचानक मेरो मुखबाट त्यस दिन यस्ता शब्द निस्किएछन् । मेरा कुरा सुनेर त्यही क्षण उहाँले मलाई भन्नुभयो -”लता आजदेखि म मेरा कुनै पनि कुरा सुनाउदिनँ । तिमी पनि घरव्यवहार, उपहार साटासाट गरेका र तिम्रा दाम्पत्य जीवनका कुरा नसुनाऊ ।” अनुजा किन होला उहाँले त्यस दिन यस्तो कटुबचन बोल्नुभएको ?

गएको वर्ष श्रीमान्को जन्मदिनमा उपहार दिएकी थिएँ । यो कपडा दाजु सागरलाई मनपर्ने गेरु रङको थियो । श्रीमान्लाई यो रङ मन परेनछ । कस्तो जोगी रङको कपडा किनेकी ? मलाई जोगी बनाउने विचार छ कि कसो ? उहाँले टट्टा गर्दै भन्नु भएको थियो । तपाईं जोगी बन्नुभयो भने म पनि जोगिनी हुन्छु नि त – मेले जवाफ दिएकी थिएँ । यसपछि हामी दुवै पेट मिचीमिची हाँसेका थियौं । यो कुरा मैले सागर दाजुलाई सुनाउँदा उहाँले अनुहार नमीठोसँग खुम्च्याउनु भयो । यस पटक दिएको घ्यू रङको सुट पिस सागर दाजुलाई देखाउँदा उहाँले मन खिन्न पार्दै भन्नुभयो – मलाई यस्ता उपहारका कुरा नदेखाऊ ।

यसपछि हाम्रो भेट भएको थिएन । अधिकृत पद वहाली गरेको दिन उहाँलाई भेट्न गएँ । कोठामा उहाँ हुनुहुन्न थियो । त्यही दिनदेखि बेपत्ता भएको दाजुलाई आजसम्म मैले भेट्न सकिनँ । यो घटनाले मलाई निकै टेन्सन भएको छ । सागर दाजु कहाँ र कुन अवस्थामा हुनुहोला ? केही अनुमान गर्न सक्छ्यौ अनुजा ? मलाई छिट्टै इमेल गर ल ।

उही, लता लिम्बू,

स्नेही लता, हृदयभरिको माया । स-परिवार आराम छौँ । सम्पूर्ण परिवारको सुस्वास्थ्यको कामना गर्दछु । पछिल्लो पटक १० तारिखमा तिमीले पठाएको इमेल मैले पाएँ । हाँसो र आँसु दुवै मिसिएको इमेल पढेर म भावुक भएँ । पत्र पढेको रात खोई किन हो मेरा आँखा जोडिएनन् । अतीतको सम्झनामा मन रुमलियो ।

अहिले बिहानको ठीक चार बजेको छ । उठेर बिछ्यौना मिलाए । बाथरुम गएर नुवाइधुवाई गरेँ । मन अलि हल्का भयो र इमेल लेख्दैछु ।

देश छोडेर अमेरिका आएको सात वर्ष बितेछ । समयका पात कति छिटै झरेछन् । सम्झँदा आफैँलाई अनौठो लाग्यो । जीवनको भोगाई र नियति सम्झेर म छक्क परेकी छु । पहाड गाउँमा बितेका दुःखका ती दिन सम्भिmँदा मन अमिलो भएर आउँछ । पाँचथरको त्यो दुर्गम हिमाली गाउँमा बितेका हाम्रा दिन सम्झेर अहिले पनि मनमा गाँठो पर्छ । भावुकतामा डुब्दै कहिले काहीँ ती दुःखका आनन्दमा रमाउँछु ।

कतिपय घटना सम्झँदा अहिले पनि मन अत्तालिन्छ । हामी दुःखका साथी दिदीबहिनी थियौँ । मेरो पनि आˆनो भन्नु को थियो र ? मनको कुरा पोख्ने मेरालागि तिमी थियौँ, तिम्रा लागि म थिएँ । आमाले आत्महत्या गरेपछि झड्केलो बाबुले गरेको घृणा र अपमान तिमीलाई थाहा छँदैछ । मामाघरबाट सहयोग नपाएको भए मेरो पनि नियति आमाको जस्तै हुन सक्थ्यो । यिनै दुःखसुखका कुरा गर्दै हामी दुई घण्टा पैदल स्कुल जान्थ्यौँ । स्कुल जाउआउ गर्दा धेरैजसो सँगै हुन्थ्यौँ । बाटोको खाजा मकै, भटमास र रोटी खाँदै हामी घर र्फकन्थ्यौँ । कहिलेकाहीँ खाजा नहँुदा भोकले जीउ गल्दथ्यो । हिँड्न नसकेर गोडा फतक्क गल्थे । तिमीलाई सम्झना छ हैन त लता ? करिब पाँच वर्ष यसरी नै बिते । कक्षा अन्तरले गर्दा एक वर्ष अगाडि मैले एस. एल. सी. पास गरँे । तिमीले दोस्रो वर्ष गर्‍यौँ । जे भए पनि बाल्यकालदेखि नै मेरो मन मिल्ने साथी तिमी नै थियौँ ।

जीवन नदीजस्तै रहेछ ठोकिँदै बहनु पर्ने । कतै भँगालोमा पस्नु पर्ने, कतै सलल बगिरहन पाइने । नदीको गतिजस्तै रहेछ हाम्रो जीवन । कलेज पढ्दा हामीलाई अभाव र गरिवीले थचक्कै थिच्यो । गाउँमा भन्दा पनि बढी लखट्यो । हामी काठमाडौँका गल्लीमा भौतारिँदै हिँडिरहेका थियौ । बाटो बिराएका यात्रीजस्तै बरालिएका थियौँ । बागबजारको घुमाउरो गल्लीमा टाढाको नाता पर्ने सागर दाजुसँग हाम्रो भेट भयो । मलाई लाग्छ – त्यही भेटले तिमीलाई यहाँसम्म पुर्‍यायो र मलाई अमेरिकासम्म ल्यायो ।

लोकसेवाले हामीलाई दुईपटक अयोग्य सावित गरिसकेको थियो । यिनै चोट र खोटले गर्दा दुवैले डीभी भर्‍यौँ । मलाई डीभी पर्‍यो र मैले देश छोडेँ । तिमीले तेस्रो पटकमा लोकसेवा पास गर्‍यौ र जागिर खायौ । हो, आज म ती बितेका दिनहरू सम्झँदै इमेल गर्दैछु । म अमेरिका हिँड्दा तिमी भक्कानिएर रोएकी थियौ । मैले पनि मन सम्हाल्न सकिन र घोप्टो परेर रोएँ । अनगिन्ति हण्डर, ठक्कर खाँदै म अमेरिका आइपुगेँ । सेटल हुन यहाँ मैले गरेका दुःख लेखिसाध्य छैन । बर्मा गए पनि कर्मसँगै- पुर्खाले भनेको सायद यही रहेछ ।

मेरो जीवनको सबैभन्दा खुसीको क्षण तिमीले लोकसेवा पास गरेको दिन हो । आहा Û यो खबर सुनेको दिन म कति खुसी भएँ -म व्यक्त गर्नै सक्तिनँ । त्यो खुसी थेग्न नसकेर कोठामा म छम्छमी नाँचेथेँ । अमेरिकामा नजिक रहेका नेपालीबीच खुसी साट्दै मैले भनेँ – मेरी साथी लता लिम्बूले अधिकृतमा पास गरी । खुसीले उनीहरू पनि उम्लिए र मैले पाँच सय डलर खर्च गरेर उनीहरूलाई भोज खुवाएथेँ ।

सागर दाजुको सुझाव र विशेष सहयोगले म अमेरिका आएँ । उहाकै प्रेरणाले तिमीले लोकसेवा पास गर्‍यौ । कस्तो संयोग- तिम्रो पोस्टिङ उहाँकै कार्यालयमा भयो । खरदारबाट सुरु भएको तिम्रो जागिरे जीवन सागर दाजुकै सहयोगले अधिकृत भयौ । एउटै कोखको दाजुले गर्ने सहयोगभन्दा पनि बढी उहाँको सहयोग पाएर जागिरमा तिमीले गरेका प्रगतिका खबर सुन्दा म खुसीले बुर्लुक्क उप|mन्थँे ।

तिम्रो पिरले मलाई सधैँ सताइरहन्थ्यो । पहाड गाउँदेखि नै सौतेनी आमाको पेलाइले उदासिएको तिम्रो अनुहार सागर दाजुको अपनत्वले उज्यालिँदै गएको थाहा पाउँदा म फुरुङ्ग हुन्थेँ । उहँाकै आडभरोसामा त्यो बिरानो काठमाडौँमा तिमीलाई छाडेकी थिएँ । हुन त म अमेरिका उड्ने भएपछि दाजुले मलाईभन्दा पनि बढी माया तिमीलाई गर्न थाल्नुभएको थियो । मलाई थाहा छ उहाँले नै लोकसेवाको र्फम भरिदिनुभएको थियो । काठमाडौँमा कसरी बाँच्नुपर्छ ? लाठे केटाहरूका क्षेप्यास्त्रजस्ता हेराईबाट कसरी जोगिनुपर्छ ? उहाँले नै हामीलाई सिकाउनु भयो ।

बहिनी लता

लोग्नेमानिसको मनलाई तिमीले अझै नजिकबाट बुझ्न सकेकी रहिनछ्यौ । उनीहरूको हृदयलाई सूक्ष्मरूपले नियाल । केटा मान्छेको मन भाँचियो भने काठजस्तै टुक्रिन्छ । पछि जति जोडेर टाँसे पनि भाँचिएको काठ छुटिन्छ र कमजोर हुन्छ । सागर दाजु मेरो टाढाको आफन्त भएकोले उहाँको बारेमा थोरबहुत मलाई थाहा थियो । उहाँको व्यक्तिगत जीवन सफल छैन भन्ने कुरा तिमीलाई केही सङ्केत गरेकी थिएँ । यो कुरा सुनेर उतिखेर तिमीले भनेकी थियौ -”यसै कारणले होला उहाँको मुहार सधैँ उदास देखिन्छ” मानिसको व्यक्तिगत जीवन असफल भएपछि उनीहरू रूखा हुन्छन् । मैले मनोविज्ञानमा पढेकी थिएँ – जीवनदेखि निस्सासिएका मानिसलाई नारीको कोमलताले पगाल्छ । हाम्रो धार्मिक कथाहरूमा यस्ता धेरै प्रसङ्ग छन् । हामीले थोरबहुत पढेका र सुनेका छौँ ।

लता Û धेरै के लेखौँ ? काममा जान हतार भइसक्यो । तिमी आफू थोरै पग्लिएर भए पनि सागर दाजुलाई सम्हाल । उहाँ जस्तो असल मान्छे हामीलाई मात्र होइन अरू धेरैलाई आवश्यक पर्छ । म आशा गर्छु, बहिनी तिमीले उहाँलाई जीवनदेखि पलायन हुन रोक्नेछ्यौ र उहाँको खोजी गरेर सम्हाल्नेछ्यौ भन्ने विश्वास गरेकी छु ।

उही अनुजा, दिदी अनुजा Û

जीवनमा निकै परिपक्व भएँ र खारिएँ भन्ने लागेको थियो तर होइन रहेछ । यात्राको ठाडो भीर रहेछ जीवन । कुन भीरबाट को कतिखेर खस्छ केही भन्न सकिँदोरहेनछ । अघिल्लो महिना अधिकृतको तालिम लिन म केन्द्रमा १५ दिन काजमा गएकी थिएँ । त्यसको भोलिपल्ट सागर दाजुले जागिर राजिनामा गर्नु भएछ । यो कुरा थाहा पाएर मैले उहाँलाई मोवाइलमा सम्पर्क गरेँ । उहाँको छोरोले उठायो । बाबा खोइ त बाबु भनेर सोद्धा -”उहाँ कहाँ जानु भयो, हामीलाई पनि थाहा छैन । एक हप्तादेखि बाबा बेपत्ता हुनु भयो, खोजी गरिदिन पुलिसमा हामीले रिपोर्ट गरेका छौँ” उसले हडबडाउँदै जवाफ दियो । उसको कुरा सुनेर म खङ्रङ्गै भएँ । यो खबर सुनेदेखि दिन मेरा लागि रात बन्यो । रात आँसुको पोखरीमा परिणत भयो । उहाँ बेपत्ता भएको दुई महिनापछि हिजो मात्र हुलाकीले अफिसमा आएर चिठी दिएर गयो । चिठी पढ्दापढ्दै म भक्कानिएर रोएँ । मैले नजिकबाट उहाँलाई चिहृन सकिँनछु । टाढाबाट जति चिने त्यो परिचय अपूरो रहेछ । सागर दाजुले लेखेको त्यो चिठी मैले स्क्यानिङ गरेर इमेल गरेकी छु । पढेपछि मलाई इमेल गर ल अनुजा ।

बहिनी लता

हृदयको सम्झना,

उज्ज्वल भविष्यको कामना गर्दछु । जीवनमा कुनै चोट र अप्ठेरा नपरुन् हृदयदेखि नै प्रार्थना गर्दछु ।

मैले धेरै पटक जागिर छोड्ने प्रयास गर्दा तिमीले मलाई भनेकी थियौ – “अरू कुनै काम नभई जागिर छोड्नु हुँदैन । खाली दिमागमा सैतानले बास गर्छ ।” तिम्रो यही सल्लाहले मैले जागिर छोड्न सकिनँ । तिमीले जागिरमा गरेको प्रगति मलाई जागिरमै बसेर हेर्ने रहर थियो । योे उत्कट चाहना तिमीले पूरा गरिदियौ । धन्यवाद छ मेरो इच्छा पूरा गरिदिएकोमा । अधिकृतको पत्र बुझेपछि तिमी तालिममा गयौँ । तिमी गएको दोस्रो दिन मैले जागिर राजिनामा गरे । मलाइ माफ गर -मैले भेटेर भन्नु पर्दथ्यो तर भन्न सकिनँ ।

पाँच दिनपछि राजिनामा स्वीकृत भएको पत्र पाएँ र त्यही दिनदेखि मैले आफूलाई बदले । यसको मतलव म नास्तिकबाट आस्तिकमा रूपान्तरण भएको होइन । पूर्वजले भन्दै र मान्दै आएको ईश्वरीयसत्ताको खोजीमा म लागेँ । अहिले भौतिकवाद र आध्यात्मवादको अन्तर खोतल्ने प्रयासमा छु । हाम्रो पूर्वजको ईश्वरीयसत्ताको गहिराई बुझ्न मन लाग्यो र मैले बाटो परिवर्तन गरेको हुँ । सम्पूर्णरूपले आफूलाई बदलेको होइन ।

बहिनी Û तिमीलाई अचम्म लाग्ला- यति छिटो ममा यत्रो परिवर्तन कसरी आयो ? यो मेरो कुनै लहड र सनक होइन । विगत केही वर्षदेखि मैले खोजेको कुरा हो । सबैतिरबाट हारेका र जीवनदेखि विरक्तिएका धेरै मानिस आशाको मसिनो त्यान्द्रोमा अल्झेर बाँचेका छन् । मैले पनि आध्यात्मवादको अध्ययन गरेर बाँकी जीवन बिताउने निर्णय गरे । यो संसारमा धेरै महापुरुष, जोगी, सन्न्यासी जसरी वरत्र विर्सिएर परत्र सपार्ने धुनमा आफूलाई बिर्सिरहेछन् । मेरो पनि अवस्था विगत केही वर्षदेखि यस्तै थियो । टाढा क्षितिजमा धीपधीप बलेको प्रकाश हेरेर म बाँचिरहेको थिएँ । आज त्यो क्षितिजको बत्ती निभ्यो र मैले घर छोडेँ । सीधा भाषामा भन्नुपर्दा – वरत्र छोडेर म परत्रको यात्री बनेँ ।

पाँच वर्ष एउटै कार्यालयमा सहकार्य गर्दा मेरो ओइलाएको अनुहार नियालेर पक्कै केही अन्दाज गरेकी थियौ होली ? अरू कसैले कानेखुसी गर्दै केही भनेका पनि होलान् । मेरो पारिवारिक जीवन खोतल्न खोज्दै तिमीले कुनै दिन भनेकी थियौ -”दाजु संसारका कुनै पनि मानिस सुखी छैनन् र कोही दुःखी पनि छैनन् । दुःखलाई जसले सुख सम्झेर भोग्छ त्यही व्यक्ति सुखी र सफल हुन्छ ।” अर्को कुनै दिन घुमौरो भाषामा तिमीले मलाई सोधेकी थियौ- “सागर दाजु, तपाईंलाई दुःखको कुन पहाडले थिचेको छ ? मनको पीडा अरूलाई बतायो भने हलुका हुन्छ भन्छन्” । यस विषयमा अरू कुनै दिन कुरा गरौँला, मैले भनेको तिमीलाई सम्झना छ हैन त लता ?

बहिनी

मनको मैलो म पखाल्न चाहान्थे । मिचीमिची म धुन खोज्दै थिएँ । तिमीले कुनै दिन अवश्य सोध्नेछ्यौ भन्ने मैले सोचेको थिएँ । तिम्रा प्रश्नको जवाफ दिन दुई वर्षसम्म मैले पर्खे । खोई किन हो ? मेरो व्यक्तिगत जीवन खोतल्न चाहिनौ । दुःखीको सङ्गत गरेर किन दुःख बढाउनु भन्ने सोचेर होला । मेरा पीडाका पुस्तक पढ्न त परै जाओस्, त्यसको अनुहारसमेत हेर्न चाहिनौँ । म चाहन्थेँ दमित मनमा पुरिएको अथाह पीडाको पोखरी तिमीलाई देखाउन । रहर थियो- तिम्रो काखमा घोप्टो परेर पोखिन । भित्रभित्रै पाकेका घाउका पीप तिम्रो हातबाट निचोर्न चाहन्थे । कटु बचनले तिछोरिएका शरीरका डाममा मलम लगाइदिन्थ्यौ कि भन्ने आशा थियो । धिक्कार Û मैले कस्तो इच्छा राखेछु ।

बहिनी मनमा गुम्सेका अटेसमटेस भावना बाहिर निस्किए । आज ४५ हिउँद पार गर्दासमेत मैले कसैबाट सम्झना प्राप्त गर्न सकिनँ । म अपमानको पहाडले थिचिएको दुःखी मानिसको अगाडि तिम्रा जन्म दिन, विवाहको वर्ष गाँठमा भएका आदान-प्रदान तिमी देखाउँथ्यौ । भोकले छट्पटाएको मानिसलाई खाना देखाएर ईख्याएजस्तै लाग्थ्यो तिम्रो त्यो व्यवहार । मेरो भत्किएको जीवन थाहा हुँदाहुँदै यी सबै काम मेराअगाडि गथ्यौँ । किन यसो गर्‍यौ ? मैले बुझ्न सकेको छैन । म सधैँ खुसी रहन्थेँ -तिम्रो त्यो उल्लासमय जीवन देखेर । भित्रभित्रै म खुसीले गदगद हुन्थे तिम्रो प्रगति र उन्नति हेरेर ।

बहिनी मलाई माफ गर मन दुःखेको कुरा गरेँ । यति खेर म सोचिरहेको छु – दोष तिम्रो होइन मेरै हो । धेरैलाई साथी बनाएँ कतिपयलाई गुमाएँ । जसलाई मैले साथी बनाए, तीमध्ये कसैलाई पनि आˆनो बनाउन सकिनँ ।

बहिनी घर छोड्ने दिन फोन गर्छु भन्दाभन्दै अनुकूल नमिलेर फोन गर्न सकिनँ । त्यसदिन म निकै व्यस्त भएँ । बिहान चार बजे उठेर कपडा धोएँ । खाना खाएर तीर्थयात्राको टिकट लिएँ र केन्द्रीय कार्यालयमा गएर पेन्सनपट्टा बनाएँ । बाबु हुनुको कर्तव्य पूरा गर्न छोरा छोरीको बैङ्क खातामा बिहादानका लागि केही पैसा जम्मा गरिदिएँ ।

साँझ पशुपति गएँ । मुक्तिमण्डलमा बसेर जोगीसँगै गाँजा तानेँ । धेरै वर्ष भयो यो जोगीसँग मेरो सङ्गत भएको । उसलाई केही पैसा दिए । भोलि म तीर्थयात्रामा हरिद्वार जाँदैछु भन्दा ऊ धेरै खुसी भयो । “अब बाँकी जीवन बिताउन म पनि उतै आउँछु । अर्को वर्ष तपाईंलाई हरिद्वारमै भेट्नेछु ।” म हिँड्ने बेलामा जोगीले भन्यो ।

जोगीको अखडाबाट उठेर म पारि गएर बसे । गायक भक्तराज आचार्यको स्वरमा भजन गुन्जिरहेको थियो –

एक दिन मैले प्रभुसँग सोधे

कसरी शान्ति मिल्छ

कस्तो कस्तो कर्म गरेपछि

प्रभुको दर्शन मुक्ति मिल्छ ।

भजनको तालमा मानिसहरू झुलिरहेका थिए । कोही आँखा चिम्लिदै भजनको भावमा चुर्लुम्म डुबेका थिए । छेउमा गाजाको राग उडिरहेको थियो । इहलिला समाप्त भएका दुईवटा लाश ब्रहृमनालको दायाँबाँया तेसिर्ंएका थिए । सुन्दर मानवीय जीवन लाशमा बदलिएको दुःखद हविगत देखेर मानिसहरू टोलाइरहेका देखिन्थे । आफन्तहरू लाशको नजिकै झुम्मिएर रूँदै कराउँदै थिए । आर्यघाटका कुनै चिता खाली थिएनन् सबै जलिरहेका थिए । केही लाश पालोको प्रतीक्षामा छन् । मानिसको अस्तित्व समाप्त भएर आकाशमा बिलीन भएको धूवाँ हेर्दै म टोलाइरहेको थिएँ ।

बहिनी Û आखिर के रहेछ र मानिसको जीवन ? पिता पुर्खा गएको बाटो सबैले जानैपर्नै रहेछ । नाथे यो एकबारको जीवनमा मानिस किन घमण्ड गर्छ ? मात्र धुवाँमा विलय हुने जीवनमा मानिस किन अहङ्कार गर्छ ?

सतकर्म नभई चित्त शुद्ध हँुदैन

चित्त शुद्ध नभई सन्तोष हुँदैन

सन्तोष नभई मन स्थिर हँुदैन

मन स्थिर नभई शान्ति हुँदैन ।

भजनको अर्को अनुच्छेद सुन्दै म उठेँ । त्यो दिन १४ तारिख थियो । मसान वैराग्य बोकेर घर र्फकेँ । घर भन्नु नै के थियो र फगत रातको बास थियो । जरुरी कपडाको सानो पोको बनाएँ । बिहानको तीन बजेको थियो । घरको मूलढोका बिस्तारै खोलेँ । बाहिर तुलसीको मोठलाई परिक्रमा गरेर ढोगेँ । अलिपर पुगेर एक पटक घरलाई नियालेर हेरेँ । त्यही क्षण मनले भन्यो – यो ठाउँमा तेरो भोग यत्ति नै रहेछ ।

– उही, सागर

माथिका इमेल मैले दोहोर्‍याएर पढेँ । दुई दिनपछि पुनः गहिरो अध्ययन गरँे । सागर पलायन हुनुमा दोष कसको हुन सक्छ ? भनेर निकै घोत्लिए । साथी सोहनलाल चौधरीको अनुसन्धानमा शङ्कास्पद देखिएका बहिनी लता, अनुजा, सागरको घरपरिवार र जोगी, यीमध्ये को दोषी छन् ? इमेल अध्ययन गरेर मलाई भन –

चौधरीले पटकपटक मोबाइलमा मलाई भनेको थियो ।

धेरै दिन घोरिएँ, मैले कुनै अनुमान नै गर्न सकिनँ ।

यो कथा पढेर दोषरहित दोषी को हो ? तपाईंले अनुमान गर्नु भयो कि ?

(श्रोत :- मधुपर्क, असोज २०६८ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.