जिजीविषा

~माधव काभ्रेली~

म उपन्यासको पछिल्लो फन्कामै व्यस्त थिएँ । जेसिकाको सम्पत्तिसँग भनौं या विदेशिने मोहले भनौं हिमालको विचार डग्मगाएको थियो । उर्सुलाजस्ती नायिकालाई छोडेर ऊ बान्की नमिलेकी, विदेशी, सेती, नेपाली पनि राम्रो बोल्न नजान्ने एउटी केटीसँग बिहे गर्न तयार भएको थियो । हुन त त्यसअघि हिमालले उर्सुलासँग बिहे गर्ने बाचा गरेको पनि थिएन । मात्रै उनीहरुको सामिप्यता देख्दा अड्कल मारिएका कुरा थिए । हिमालले दिएको चोट खप्न नसकेर उर्सुला बेपत्ता थिई । हिमालले उर्सुलालाई दिएको धोका मलाई पनि पचिरहेको थिएन । हिमालसँगको रिस खैँचेर म उर्सुलालाई सहानुभूति दिँदै थिएँ ।

खल्तीको फोनले डिस्टर्ब गरेपछि उपन्यास ओझेल प¥यो । । फोनमा एउटा आर जे सोध्दै थियो –‘सर, कथा तयार भएन ? आज त मंगलबार भरे त्यो कथा दिनुपर्छ । प्रोमो गैसक्यो । कतिखेर भेटूँ ?’ उसको प्रश्नले म झसङ्ग भएँ । कथा सुरु पनि भएको थिएन ।
‘एक दुईटा कथा त जगेडा राख्नु पर्छ नि !’— म उसलाई सुझाब दिएर आफ्ना कमजोरीलाई ओझेलमा पार्न चाहन्थें ।
‘प्रोमो अस्तिदेखि नै बजिसक्यो ।’— मेरो जवाफमा गम्भीरता नभेटेर होला, उसले एउटै कुरा दोहो¥यायो ।
‘अरे, आजकालका एफएम प्रोग्रामको के चिन्ता, चारपाँच ओटा गीत बजाउनुस्, छआठ ओटा सायरी पढ्नुस्, सबसे पपुलर ।’– मेरा कुराले ऊ निक्कै गम्भीर भयो । अलिबढी नै भनेछु क्यारे मैले । उसको गम्भीरताले मलाई पनि चीसो बनायो । भन्न त सही नै भनेको हुँ एफएम प्रोग्रामले टीन एजर बाहेक अरुलाई तान्नै कहाँ सकेका छन् र ?
मैले जत्ति बहाना बनाए पनि उसको स्वर ठूलो हुनु स्वभाविक थियो । आखिर कथा लेखेको ज्याला त मैले नायिकालाई भेटेकै दिन पाइसकेको थिएँ । अघिल्लो शनिबार उसले नायिकासँग भेटाएको थियो । नायिकाले आफ्नो कथा सबै भनेकी थिई । उसको भनाइमा जीवन्तता थियो । मैले अडियो रेकर्ड गरेको भए कथा अझै मर्मस्पर्शी हुन्थ्यो । उसले एउटै शर्त राखेकी थिई– ‘नाम गोप्य राखिदिनू ।’
कथामा नायक थिएन, नायिका मात्रै थिई । ऊ चाहन्थी अनन्तबाट उठेर एउटा नायक आओस् र उसका सबै पीडा हरेर लैजाओस् । सायद आर जेलाई नायक बन्ने रहर थियो र उसले यो कथा लेखाउनका निम्ति यतिधेरै मरिहत्ते ग¥यो ।
ऊ राम्री थिई, उमेरः १७ वर्ष, हुलियाः गोरी, पोटिली, हँसिली, डाह लाग्दो रुप थियो उसको । भर्खरभर्खर कलेज जान थालेकी थिई । नयाँ नयाँ साथीहरुका माझ रानो नै थिई ऊ । समूहको नेतृत्व गर्थी । समस्याहरु पहिचान गर्थी, समाधानका निम्ति अग्रसर हुन्थी, प्रतिभावान र क्षमतावान पनि थिई ऊ ।
‘ए उजेली ! मसँग बिहे गर्छेस् ?’ –कलेजको बाटोमा एउटाले जिस्क्यायो । उसले आँखा तरी । ढुंगा टिपेर हान्ने मन थियो तर हानिन । जिस्क्याउने केटो त्यही थियो जसले अघिल्लो दिन पछिल्लो बेञ्चबाट उसको लामो कपालमा चुइगम टाँसिदिएको थियो ।
अर्काेले उसलाई चिठी लेख्यो– ‘प्रिया, आखिरमा म तिम्रो लोग्ने हुँ, मैले तिमीसँग जिन्दगी बिताउन देउराली भाकें, शनिबार देउरालीमा पूजा छ, आऊ ल ।’ चिठीका अक्षर नराम्रा थिए । उसलाई पढ्ने मन थिएन तर पढी । रिस पनि थोरै उठेको होइन, पोख्ने ठाउँ कहीं नपाएर दबाई उसले ।
उसकी आमाका धेरै छोरीहरु मध्येकी जेठी छोरी, बहिनीहरुको स्याहारसुसारले झण्डैझण्डै हैरानजस्तै थिई ऊ ।
गाउँको भारो–पर्ममा एक नम्बर थिई । गाउँभरिकाले उसैलाई डाक्थे । ऊ पनि जीउको माया नराखी काम गरिदिन्थी । ‘छोरी हुनु त यस्ती’ –अरुहरु उक्साउँथे । ऊ मख्ख पर्थी ।

गाउँको कलेज आउँदा र जाँदा एक घण्टाको बाटोमा उसले धेरै अश्लिल शब्दहरु सुन्नु पथ्र्यो । केटाहरु उसलाई देख्ने बित्तिक्कै सिठ्ठी बजाउँथे, थप्पडी मार्थे । अब उसले कसको कानमा आइ लभ यू भन्छे भनेर तँछाडमछाडको तमासा झिक्थे । ऊ यो सबै देखेर दिक्क हुन्थी । केटाहरु आ–आफ्ना हात चुमेर फू–फू गर्दै ऊतिर सार्थे । ऊ भूइंतिर हेरेर हिड्थी । रिसले भनूँ या लाजले उसको अनुहार रातो हुन्थ्यो । सिनेमामा राजेश हमाल र निखिल उप्रेतीलेजस्तो सबलाई एकएक गरी पछारुँ भन्ने पनि उसलाई नलागेको होइन तर त्यो सजिलो थिएन । ‘आओ, तिमीहरुसँग एकएक गरी लड्छु ।’–उसले मनमनले भनी तर ओठसम्म ल्याइन ।
‘ओ मैया, एक चुम्बा देऊ न । एउटा हात्ती दिउँला ।’—सिकटेसिकटे ज्यान परेको एउटा फटाहाले भन्यो । उसले त्यता ध्यान दिइन ।
‘हात्तीहात्ती थोरै हो र ! दश दिनको ज्याला ।’– अर्काे कुहिरा आँखावालाले विष ओकल्यो ।
कतिखेर त उसलाई कुदेर गएर एक कीस दिउँ अनि ल झिक् भनूँजस्तो पनि लागेको थियो । त्यसपछि….. ऊ डराई, आत्तिई झसङ्ग भई । धत् ! ऊ आफैंले आफैंलाई हकारी । एकै छिनमा समालिई ऊ ।

पहिले पहिले धेरै छोरी जन्माएकोमा आमाप्रति उसको असन्तुष्टि थियो । आमाले अभावका कुरा झिकेर आँशु झार्दा उसले प्वाक्क भनेकी थिई –‘तिमीले नै त हो नि यत्तिका छोरी जन्माएकी ।’
उसलाई जीवनको सबैभन्दा ठूलो पश्चाताप थियो यसै वाक्यमा । त्यही वाक्यले उसकी आमाले चित्त दुखाइन् र गाउँभरि भन्दै हिंडिन् । ऊ पश्चातापकै भूमरीमा फस्दै गई । त्यस दिनदेखि उसले कसैलाई मुख फर्काइन । दुखका बज्रपात भइरहे, उसले धर्ती बनेर सहँदै गई ।

आफ्नै टोलको एउटा झ्याप्ले केटाले प्रेम पत्र लेखेछ । उसकी बहिनीले भेट्टाई । बहिनी जब्बर थिई । त्यसमा केके लेखिएको थियो उसले चाल पाईन । उसले भेटेकी भए पढ्थी र च्यातिदिन्थी । उसलाई सहने बानी परेको थियो । बहिनीले सहन सकिन, रातो सल कम्मरमा बाँधी, ‘झ्याप्ले बोकाहरु कता छन् ?’– भनेर बर्बराउँदै टोलतिर लागी । उसले बहिनीलाई पनि झगडा गर्नु हुँदैन भनेर रोक्न चाहेकी थिई तर भ्याइन ।
बहिनीले बहादुरी देखाई । त्यो झ्याप्लेलाई गोदेर छाती फुलाउँदै आई ।

ऊ कलेज जाँदै थिई । बाटोमा केटाहरुको हूल थियो । केटाहरुले सधै त्यसरी नै जिस्क्याउँथे । ऊ अभ्यस्त थिई । ऊ न तिनीहरुप्रति आशक्ति देखाउँथी न प्रतिकार नै गर्थी । एउटा मोटे केटाले हतारहतार उसलाई अंगालो हाल्यो, निधारमा चुम्यो र छोडिदियो । ऊ आतंकीत थिई, के गर्ने के नगर्ने उसले पत्तै पाइन । उसको ठाउँमा तपाई भए चिच्याई–चिच्याई गुहार माग्नुहुँदो हो । प्रतिकारमा ढुंगा वा चप्पल उचाल्नुहुँदो हो । सायद, म भएको भए पनि त्यसै गर्थें ।

ऊ आफू स्वतन्त्र जीवन जिउन चाहन्थी । त्यसैले अरुको जीवनमा पनि उसले कुनै आघात दिन चाहिन र मोटेलाई माफ दिई । मोटेले माफै दिन नसकिने दुव्र्यावहार, खुलेरै भन्दा बलत्कारै गर्न खोजेको जस्तो पनि लाग्दैनथ्यो । सायद, मोटेले नायिकालाई एकतर्फी प्रेम ग¥थ्यो, सम्मान ग¥थ्यो । यस्तो लाग्थ्यो, उसले मर्ने आदेश दिन्थी भने ऊ आज्ञाकारी बनेर मर्न तयार थियो ।
हैजाको महामारीभन्दा पनि छिटो यो खबर गाउँभरि फैलियो । उसको चरित्रमाथि अनेकौं बाँणहरु प्रहार भए । ऊ बनदाम भई । टोलभरीका आँखा उसलाई खैखबर गर्न थाले । गाउँलेहरुले आँखा मात्रै तरेनन्, उसलाई भेट्दा निधार खुम्च्याए, मुन्टो बटारे । गाउँकै इज्जत नाशेको भनेर अघिल्तिरै तथानाम गाली गर्न थाले ।
मलाई पनि लागेको थियो, ऊ चिच्याउन सकेकी भए राम्रै हुन्थ्यो । गाउँलेहरु चुप्प लाग्थे । भ्रम चिरिन्थ्यो । ऊ ठाडो शिर लिएर निर्धक्कसँग हिंड्न पाउँथी ।
खातमाथि खात पीडाहरु सहँदासहँदै उसका दिनहरु निरस भए । बाँचेको पनि व्यर्थै लाग्न थाल्यो । उसलाई निर्दाेष देख्ने र सहानुभूति दिने एउटा मान्छे पनि फेला परेन । त्यसपछि हरेक सोमबार बस्दै आएको व्रतलाई पनि क्रम भंग गरी । नाम जाने जति एउटै देउतालाई पनि गाली गर्न बाँकी राखिन उसले । विषको शिशीलाई सबैभन्दा प्यारो र उपयोगी सम्झी । टिनको बिर्काे हातैले फोर्न सजिलो थिएन, उसले हिम्मत गरी । हर्के पुग्दा आँ गरेर मुख बाउन बाँकी थियो । उसले दुवै हात फिजाएर भनी —‘तपाईंसँग अलिकति पनि हिम्मत छ भने मलाई भोग्नुस, पत्नी बनाउनुहोस् र जीवन दिनुहोस् ।
यहाँसम्मको कथा सुनुन्जेल आर जे पनि मसँगै थियो । आर जे चुरोटको अम्मली थियो । चुरोट तान्ने बाहानामा निस्केको आर जे दश दिनपछि रेडियोमा कथा पढ्ने दिन मात्रै भेटियो । सायद, उसले लेखाउन खोजेको कथा पनि यति नै थियो । ऊ देखाउन चाहन्थ्यो कि नायिका निर्दोष थिई ।

मेरो जिज्ञासा मरिसकेको थिएन । म कथा अगाडि बढोस् भन्ने चाहन्थें । आर जे निस्किएपछि ऊ मौन भएकी थिई । यति कथा भनीसक्दासम्म उसमा लाज र धकको अंश पनि देखिएको थिएन । त्यसैले म आशावादी थिएँ ।
‘हर्केलाई विश्वास गर्नुहुन्थ्यो?’— मैले मौनतालाई भंग गर्दै सोधें ।
‘चिहान राम्रो होस्् या नहोस् लाशलाई केही फरक पर्दैन ।’—उसले पेचिलो जवाफ दिएर फेरि बग्न थाली । ऊ चाहिनेभन्दा बढी नै निर्भिक देखिन्थी ।
त्यसपछि नायिका गाउँबाट गायब भई । उर्सुला पनि त्यसरी नै गायब भएकी थिई । हर्केसँगै शहर भाग्दा उसले धेरै सपना सजाएकी थिई । दुखले डाँडो काट्यो भनेर मख्ख पनि थिई ।
शहरको जीवन शैलीमा न हर्के भिजेको थियो न ऊ । अभावमा हर्के धेरै दिन टिक्न सकेन र गायब भयो । सायद, भाग्यो । रातभर अँगालोमा बेरिएर झिसमिसे हुनभन्दा एकाध घण्टा अगाडि डेराबाट निस्केको हर्के फेरि फर्केन । यहाँ जान्छु, उहाँ जान्छु पनि भनेन । कुनै खटपट परेको पनि थिएन ।
हर्के भागेपछि उसले शहरभरि खोजी वा फेरी आत्महत्याको प्रयास गरी, मैले यस्तै सोचेको थिएँ ।
‘त्यसपछि कहाँ–कहाँ खोजियो त ?’– उसको कथामा पुरै डुबेछु क्यारे, मेरो सोधाइमा औपचारिकताको अंश पनि थिएन ।
मेरो प्रश्न सुनेर उसले कुम उचाल्दै भनी –‘किन खोजूँ हर्केलाई ? शहरमा त्यस्ता हर्के कति पाइन्छन् कति ।’ उसको आँखाकै जवाफले म गलिसकेको थिएँ, त्यसमाथि मुखले पनि दिई ।
‘तपाईं मलाई कमजोर बनाएर कथा नलेख्नु होला ।’–उसले मलाई उपदेश दिन पनि भ्याई ।
मैले ऊसँग धेरै तर्क गरें भने उसले कथा लुकाउँछे वा बङ्ग्याउँछे भन्ने डर थियो । म बोलिनँ ।
उसले कथालाई फेरि जोड्दै भनी – ‘हर्केले न प्रेम गरेको थियो, न सँगै जिउने कसम खाएको थियो ।’ ऊ घरि मतिर घरि ढोकातिर हेर्थी । म एकतमास उसको अनुहारमा हेर्ने भैसकेको थिएँ । खास गरी उसले हर्केलाई यसरी बेवास्ता गरी कि एउटा बदाम बेच्ने केटो आयो र गयो । मलाई हर्केको बारेमा कौतुहलता थियो । म हर्के किन भाग्यो भनेर जान्न चाहन्थेँ । आफैंले भेटेको भए किन भागिस् भनेर हप्काउँथेँ पनि । त्यसपछि उसले हर्केको बारेमा केही बताइन । सायद, उसलाई पनि थाहा थिएन ।
हर्के र हिमाल दुवै सहानुभूति पाउन लायक थिएनन् । यी दुवै पुरुष पात्र थिए । मलाई आत्मग्लानी भो । कताकता लाज पनि लाग्यो । ‘किन म यिनीहरुजस्तै पुरुष भएँ ?’– मन खिन्न भइरह्यो ।

त्यसपछि उसले शहरको नयाँ हर्के भेट्टाई ।
‘नयाँ र पुरोनोमा यत्ति पनि फरक थिएन ।’– उसले चोर औला र बुढी औलाका टुप्पा जोडेर देखाउँदै भनी । नयाँ हर्केको फगत एउटा गुण बढी थियो । ऊ पुरानो जस्तो फोकटलाल थिएन । बेलाबेला धेरथोर पैसा पनि दिन्थ्यो ।
उसले फरक थिएन भन्नुको तात्पर्य दोस्रो पनि त्यसरी नै गायब भयो जसरी पहिलो गायब भएको थियो ।

दोस्रो पनि गायब भएपछि उसका दिनहरु सग्ला भएका थिए । कसैसँग पनि उसको गुनासो थिएन । उसले निर्जीव रेडियोलाई साथी बनाएकी थिई । रेडियोमै उसले आर जेले कथा पढेको सुनी । आर जेले रेडियोबाटै अनुरोध पनि गरेको थियो —‘तपाईंका पनि यस्तै मर्मस्पर्शी कथा छन् भने सम्पर्क गर्नुहोला ।’
उसले आर जेलाई सम्पर्क गरी । आर जे उसको कथा सुन्न र सुनाउन राजी थियो ।
ऊ आफ्ना दुखहरु देखाएर कमजोर हुन चाहन्नथी । यो कथा सुनाएर दुनियाको सहानुभूति बटुल्न चाहेको पनि होइन भन्थी । यति निर्भिक र आँटिली मान्छेले रेडियोबाटै कथा सुनाउने रहर पो किन गरी भन्ने मेरो जिज्ञासा बाँकी नै थियो ।
छुट्टिने बेलामा दह्रो गरी हात मिलाउँदै उसले भनी–‘अब एकपल्ट आमा बन्ने रहर बाँकी छ ।’

लोड सेडिङ्गको समस्याले गर्दा मैले कथालाई ईमेल ठेगानामा राखिदिन नसक्ने बताइको थिएँ । आर जे कथा लिन आयो । कथाका पन्नाहरु थुनेको खाम मैले उसका हातमा दिनु थियो । उसले त्यो खाम यसरी थुत्यो कि मायालुले उसलाई सस्पेन्स गिफ्ट दिँदै थिई, ऊ त्यसमा के छ भनेर जान्न असाध्यै उत्सुक थियो ।
ऊ असाध्यै खुसी देखिन्थ्यो । त्यति खुसी त म सानोमा दशैंका नयाँ लुगा लगाएपछि मात्रै भएको थिएँ हुँला । उसले मेरो कान नजिकै मुख ल्याएर खुसुक्क भन्यो –‘गाउँमा टुप्लुक्क पुग्ने हर्के मै त थिएँ ।’ उसले ङिच्च दाँत देखाएर हाँस्यो र हेलमेट लगायो । हेलमेटले नछोपुन्जेलसम्म उसको मुख त्यसरी नै हाँसिरहेको थियो ।

—साँगा,२०६६ काभ्रेपलाञ्चोक

(श्रोत :- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.