अनभिज्ञ

~कोप बहादुर थापा~

ऊ सँग गत हप्ता कुरा भएको थियो ।
दुई दिन भयो , उस्को फोन नआएको । अन लाइनमा पनि देखा परेकी थिइन । मैले फोन गर्दा पनि उठाइन । हिजो बेलुकीसम्म पनि उस्को फोनको प्रतिक्षामा बसेँ । अह देखा परिन कतै । मन हुँडली रह्यो । अस्तिदेखी मनमा क्रोधले शासन जमाई रहेको थियो, उस्ले गर्दा । एस एम एस पठाएको थिएँ । एस एम एस खै कता पुग्यो फर्केन ।

विहानदेखी फोनमा संपर्क गर्ने कोशीस गरेँ । नेट्वोर्कले काम गरिरहेको थिएन । कमजोर नेट्वोर्कलाई गाली गरेँ । मन भत भती पोलिरह्यो । हिजो अफिसमा पनि कामै नगरि त्यसै फर्किएको थिएँ । काम गर्ने जाँगर नै मरेको थियो । के गर्नु अफिस त जानै पर्‍यो । उस्को किन एत्रो सम्झना ? म निरुत्तरित थिएँ । गाडीले होर्न बजाइ सकेको थियो गेटमा । मन नलाग्दा नलाग्दै पनि हिंड्नु परेको थियो ।

गाडीमा वसें । अरुहरु पनि थिए । गाडी हुइकिन थाल्यो । गाडीले बिस्तारै तिव्र गती मापन गर्दै थियो । मेरो मनमा पनि अनेकौ कुराहरुले तिब्र वेगमा छलाङ मार्दै थियो । ग्लानी , मोह , क्रोध आदि के के ले मनमा भुइचालो ल्यैइरहेको थियो । ” आ मैले गल्ती गरेँ कि क्या हो ? ” आँफैले आँफैलाई सोधें । ” बिहे गर्ने बित्तिकै घर छोडेर हिंड्नु नपर्ने ।” अर्को मनले भन्दै थियो । आफ्नै भाग्य देखेर दु:ख लाग्यो । घ्रिणा जाग्यो आँफैदेखी । असह्य भयो थुक्न मन लाग्यो आँफैलाई । ” थू ” गरेर थुकें ।

” बाहिर थुक्नु पर्दैन ?” ड्राइभरले उच्च स्वरमा सात्तो जाला जस्तो गरेर बोल्दा म झल्याँस भएँ । तुरुन्तै ” सरी सरी ” भन्दै गोडाले लत पत बनाएर सुकाउने प्रयत्न गरेँ । ङिच्च हाँस्दै सबै तिर नजर डुलाएँ । अरुहरुले मलाई तीखो तिरस्कृत दृष्‍टि लगाए । म अलिक खुम्चिएँ । ” पागल एस्तो पनि तेरो दिन ।” आँफैले आँफैलाई गाली गरेँ ।

गाडी बेगवान थियो । मेरो मन पनि बेगवान थियो ।
” यो कुदृष्टी लगाउने समाज नै ठीक छैन ।” मन एका एक पुग्यो समाजतिर ।

” छिमेकी हरु पनि ठीक छैन । शत्रु हरु ! अर्काको बारीमा राम्रो फूल देख्यो भने गिद्दे दृष्‍टि लगाउने ? सालाहरुलाई च्वाट्ट च्वाट्ट पार्नु पर्ने । ” एक चोटि छिमेकहरु प्रति क्रोधित बन्यो मन । ” गिद्देहरुको ललाई फकाइमा लाग्यो होला अनि आँखा पारीको माया छाया बराबर । कताबाट मेरो सम्झना ‘ आउनु त्यस्लाई ?” म मन मनै मुर मुरिरहेँ । ” म चाँही उस्को लागि बिदेसिएर मरी मेट्ने । ऊ चाँही मेरो वस्ता नगर्ने । भेट्टाएं भने च्वाट्टै ।” म अपराधिक बन्दै थिएँ । अब मेरो हृदयलाई पनि पत्थर जस्तो कडा बनाउनु पर्छ । तर बिर्सु भन्छु सक्दिन । होइन , उस्ले बिर्सें पछी सम्झन निरर्थक छ । मैले बिर्सनै पर्छ । म सम्झन्न । जहाँ सुकै जावोस। अब टन्न पैसा कमाउने घर जाने अर्को बिहे गर्ने । त्यो मात्र छ र केटी ? अब त एक दुई तीन सम्झन्न । पापिनी निस्ठुरीलाई ।” मेरो मन द्रिढ हुँदा नहुँदै गाडी अफिसको ढोकामा रोकियो ।

म बनवटी हुन खोज्थें । तर भई रहेको थिएन ।
म रुझेको बिरालो जस्तो लुसुक्क अफिस भित्र छिरेँ । अनि थुचुक्क कुर्सिमा बसें । पानी पिएँ । अलिकती शान्त अनुभव गरेँ । एकै छिनमा चिया अैपुग्यो । मन लागि नलागी कम्प्युटर खोलेँ । डेस्कटपमा उस्कै फोटो थियो । एक चोटि हेरें । पीडा भयो । रीसले हत्त पत हटाएं । फेरि एक चोटि खोलेर हेरें । अनी दृढ भएर हटाएं ।
चियाको चुस्की सुरुप्प पारें । काम थाल्नु भन्दा अगाडि थकित अनुभव गर्दै थिएँ । त्यति नै बेला फोनको घन्टी बज्यो ।
“टी नि नि नि…. ”
उस्को नम्बर थियो । फोन उठाएँ ।
” हेल्लो बा बा । ” उस्को मधुर स्वर कानमा गुन्जन अैपुग्यो । मेरो क्रोधको ज्वाला दन्किरहेको थियो । तर आँफैलाई सम्हालें । न उस्को मृदु ध्वनीले सम्हालिन वाध्य भएको थिएँ थाहा भएन । तर मनमा उर्लेको आंधि थामिएको भने थिएन । म क्रोधमा केही बोल्न सक्दिन थेँ । म एकदम चुप रहें । उस्लाई थाहा थियो । उस्ले फेरी भनी ” बा बा रिसाउनु भा को ? कोही बेलामा दिन कै फोन गर्न सम्भव हुँदैन नि । हजुर नबुझिकन त्यस्सै रिसाउनु हुन्छ ? ” उस्ले मलाई सम्झाउदै थी ।
” चेपारे नघस । कस्तो ब्यस्तता अैपर्‍यो तलाई फोन उठाउन नभ्याउने ! मेसेज लेख्न नभ्याउने ! कहाँ मुन्ट्याको थिइस हँ ? ” म कुर्लिदै ब्रुलुक्क उफ्रिएं रिसले कुर्सिमा ।
“शान्त शान्त ।” चिया ल्याउने भाईको उदघोसले म सामान्य भएँ । मैले पुलुक्क त्यो भाईलाई हेरें । उस्ले मलाई आस्चर्य दृष्‍टि लगाइ रहेको रहेछ । म आँफैमा केन्द्रित भएँ । .
” हरे के भन्नु भा होला है ? ” सविनाको कुरा नसकिदै त्यती नै बेला बुवाले फोन हैज्यक गरेर कुरा गर्न थालनु भो ।
” भुवने ! तैले बुहारी लाई गाली गर्दै छस कि क्या हो ?” बुवाले सोध्नु भयो ।
मैले ” दर्शन बुवा । ” भने अनी लगत्तै
“होइन ” भन्दै म पानी माथि ओभानो हुन खोज्दै थिएँ ।
” तेरै दिर्घायूको कामना गर्दै अस्ती तीजको व्रत बसेकी थी । हिजो पञ्चमिको पूजा थियो । अनी फुर्सद छैन बुहारी लाई सधैं तंलाई फोन गर्नु पर्छ त ?” बुवाले स्पष्ट पार्दै मलाई सोध्नु भयो । म अकमकाएँ । मेरो मनको कालो बादल हट्दै थियो । मनमा अब खुशीको लहर लहराउन थालेको थियो ।
मलाई थाहा थिएन । अस्ती तीज भन्ने कुरा । मेरो हृदयमा उसप्रति अगाध प्रेम उर्लन थाल्यो । आँफैलाई धिक्कारेँ एक चोटि । बेकारमा नचहिने कुरा कल्पेर मन बिगारेँ भन्दै पस्चताप गरेँ ।
मुमा सँग कुरा गरेँ । मुमाले धेरै बेर सम्म सम्झाउनु भो ।
अनी सविनासँग मीठो कुराहरु भयो । मनमा उत्साह थपियो । खुशीले मन पुलकित हुन थाल्यो । मैले फेरि डेस्कटपमा सविनाको फोटो राखेँ। मन मनै अठोट गरेँ कि अबदेखी कहिले हटाउने छैन उस्को फोटो डेस्कटपबाट । मनको हार्ड डिस्कबाट ।

(श्रोत :- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.