~देवराज निरौला~
एक नयाँ नम्बरबाट लगातार जसो मिसकल आउन थालेकोले मैले कल व्याक गरें । केटीको मधुर आवाज आयो । आफु भर्खर टिन एज पार गरेको केटा भएकोले होला त्यो मधुर आवाज सुन्ने बित्तिकै लट्ठै परिहालें । आफ्नो मोवाइलबाट व्यालेन्स घटिरहेको बारे कुनै वास्ता भएन । होस्टलमा थिएँ सबै केटाहरू मेरो वरिपरि झुम्म भए । नयाँ नम्बर नयाँ केटी, उसले के भनी भनेर जान्न सबै उत्सुक थिए ।
‘ओ ए यसलाई त लोट्री (चिट्ठा) पर्यो । ’ भिडबाट अलिक ठूलो स्वरमा एक साथीले भन्यो । सबैले होहल्ला गरे । मैले उसले भनेको कुरा राम्ररी बुझ्न सकिन । फोन काटियो ।
‘तिमीहरूले यै बेलामा हल्ला गर्नु पने ?’ मैले अलिक रिसाउँदै भने । केही क्षण सबै शान्त भए, तर एकैक्षणमा उनीहरू खित्का छोडेर हाँस्न थाले ।
मलाई त्यो सह्य भएन । मेरो अनुहार रातो पिरो भएको थियो रे । म चुपचाप त्यहाँबाट निस्कीएँ । उनीहरू भने चौर तिर टहलिन निस्किए ।
झमक्क साँझ पर्न लागेको थियो । वेलझुण्डि दाङ्गको संस्कृत विश्वविद्यालयको होस्टलमा सबैले खाना खाई सकेका थिए म मात्र वांकी थिए । मेरो रुममेट साथीले खाईहोरी गइसकेको थियो । म खानलाई बसें । फेरि पनि त्यही नम्बरबाट एक मिसकल आयो । मैले त्यसवेला भने कल व्याक गरिन ।
थालमा भात पस्कें, तरकारी कति थोरै, अचार त झन मोराले सबै सिध्याएछ । मलाई मेरो साथीसँग निकै जङ्ग चल्यो । गुन्द्रुकको पानी र करेलाको तरकारीसँग जसै तसै खादै थिँए, फेरि त्यही नम्बरबाट मिसकल आयो ।
‘कस्ती चैं केटी होली’ म खाँदा खादै सोचमा परें । ‘यतिसाह्रो मिसकल किन गर्या होला, के चाहान्छे यो केटी मसँग?’ पर भित्तामा हिन्दी सिनेमाकी नायिका दिपिका पादुकोणको पोष्टर टाँसेको थियो । मैले कल्पना गरे कि उसका त्यस्तै सेता दन्तलहर होलान्, झुके झुकेका नजर अनि अर्ध मुस्कान् छरिएको मुहार होला । रेषमझैं खुलेको कपाललाई मन्द मन्द चल्ने हावाले फर फर उडाइरहेको होला । म त्यस मिसकल गर्ने केटीको यस्तै कल्पना गर्दै खादै थिए । तर झ्याप्प लाइन गयो, दिपीका पादुकोणको पोस्टर पनि देखिन छोड्यो र मेरो त्यो काल्पनिक आनन्द पनि हरायो ।
वास्तवमा मैले अहिले सम्म गुन्द्रुकसँग भात खाएको थिइन । यो होस्टलमा आएर बसे पछि मैले धेरै कुरासँग सम्झौता गरेको छु । घर छोडेपछि सम्झौता त गर्नु नै पर्ने रहेछ, मैले पनि गरें । धेरै बस्नु पनि थिएन, छ महिना जति पछि त आफ्नै ठाउँमा पुगीहाल्थे जहाँ मेरो घर थियो, मेरी आमा हुनुहुन्थ्यो । त्यति धनी नभए पनि यसरी वेस्वादको गुन्द्रुकको झोलसँग खानु पर्दैनथ्यो ।
मेरो कोठासाथी थियो महेन्द्रनगर कञ्चनपुरको म थिएँ दमक झापाको । सूदुर पश्चिम र सूदुर पूर्वको मेल मध्य पश्चिममा भएको थियो । ऊसले न्याय दर्शन बाट आचार्य गर्दै थियो, मैले भने बौद्ध दर्शन । दुःखको कुरा यो थियो कि संस्कृत विश्वविद्यालय मा पढेर आचर्य तह सम्म आईपुग्दा पनि संस्कृत बोल्न र संस्कृतमा आफुलाई मन लागेका कुरा लेख्न आउदैन थियो । त्यसैले म भर्खरै नियुक्ती लिनु भएका गुरु सँग जान्थे जसलाई होष्टलको नयाँ वार्डेनको जिम्मेवारी पनि दिएको थियो । म लाइन गए पछि गुरुकोमा गएको थिएँ । त्यसैवेला फेरि अगिकै नम्बरबाट फोन आयो । मैले हत्तनपत्त उठाई हालें ।
उही मधुर आवाज, उसले आत्मियता देखाउदै मैले खाना खाए नखाएको बारेमा सोधी । र भोलि तुलसीपुर चौकमा भेट्ने कुरो गरी । म त छक्क परें । मैले लाउड स्पिकर पारेर बोलीरहेको हुनाले गुरुले पनि एक आखा झिम्काएर ‘हुन्छ’ भन्नु भनेर मलाई अह्राउनु भयो ।
रङ्गशालाको चौरमा घुम्न गएका सबै केटाहरू फर्किए । उनीहरू क्रिकेटमा नेपालले प्रगती गरिरहेको चर्चा गर्दै थिए र केही वर्ष भित्रै टेष्ट को मान्यता पाउने कुरा गर्दै थिए । गुरु र म कोठा बाहिर आयौं । ‘नेपालमा क्रिकेटको विश्वकप खेल होला कि नहोला ’ गुरुले सोध्नु भयो । ‘हुँदैन गुरु, यो असम्भव छ ।’ मेरो रुममेट साथीले प्याच्च भन्यो ।
‘प्ले ग्राउण्ड नै छैनन् ।’ अर्को कुर्लियो ।
‘राजनीतिक स्थिरता भयो र यहाँ जस्तै अरु ठाउँमा भएका रङ्गशालाहरूको रेख देख मर्मत सम्भार भयो भने हुन पनि सक्छ ।’ समुह वीचबाट अर्को बोल्यो । गुरुको त्यो प्रश्नले त्यहाँ बहस निम्त्याएको थियो ।
मलाई भने फेरि त्यही नम्बरबाट मिसकल आयो । एक चोटी होइन दुईचोटी होइन बारम्बार आउने मिसकलले मलाई दिक्क लाग्न थाल्यो । एकचोटि त मोवाइल हुत्याउन लागेको थिए । तर गुरुले रोक्नु भयो ।
माघको महिना थियो । विश्वविद्यालयको चौरमा सुकेका सिसौहरू काटेर धुनी लगाएका थियौं । र हामीहरूको दिनचर्या नै वनेको थियो साँझमा खाए पछि चौर डुल्ने अनि धुनी जगाएर जाडो भगाउने । गुरुले मेरो मोवाइलमा आइरहेको घण्टी सुनेर जिस्काउँदै भन्नु भयो भोलि उहाले तुलसीपुरमा भेट्नु हुनेछ । गुरुजीको कुरा सुनेर सबै गलल हांसे । गुरुजी पनि हाँस्नु भयो । म भने रातो पिरो भएँ ।
अति नै धेरै मिसकल आउन थाले पछि मैले फोन गरें, किनभने मलाई साह्रै नै रिष उठेको थियो । दुई घण्टी पनि राम्रो जान नपाई फोन उठाई ‘किन वारम्बार मिसकल गरेको ? भोलि भेट्ने भनेकै छ त ?’
‘अँ तपाईं त कस्तो रिसाउनुहुँदो रहेछ, मैले एकदमै धेरै तपाईंलाई मिस गरेको हुनाले पो गरेको त । न रिसाउनु न ल ।’ उसले शान्त भएर भनी । सबै केटाहरू उत्सुक भएर सुनिरहेका थिए ।
‘त्यस्तो मिस गरिरा’भए अहिल्यै बोलाउन त’ मैले अलिक शान्त भएर भने ।
‘आउनु हुन्छ त?’उसले भनी । केटाहरू एकचोटी जोडले चिच्याए । म अक्क न बक्क भएँ । के भनौ के नभनौ ? म रन्थनिएको थिए । ‘कहाँ आउनु?’ म त्यस्तै अवस्थामा गेट तिर हिड्दै बोलें । केटाहरू होहल्ला गर्न थाले ।
‘तपाईं कहाँ हुनुहुन्छ ?’ उसले फेरि सोधी
‘बेलझुण्डी चौकमा’ मैले भने । चिसो रातमा उसका कुराले मलाई असिन-पसिन भएको थियो ।
‘दुधरासतिर आउनु म बाटोमा एउटा सानो बच्चासँग उभिइरहेको हुन्छु ।’ उसले भनी । लौ वित्यास पर्यो मैले मनमनै यस्तै सोचे । यता होस्टलमा भने साथीहरू जोड जोडले हाँसिरहेका थिए । उनीहरू किन हाँसिरहेका छन् मैले बुझ्न सकिरहेको थिइन । रातको समयमा एक किलोमिटर पर कुनै केटीले बोलाउँछे भने किन नजाने मैले यस्तै सोचें । आज परमानन्दमा पुग्ने भइयो । यस्तै सोच्दै हिड्दै थिए गेट नेर पुगेको थिए ।
‘तपाईं होस्टलमा बस्नु हुन्छ हो ?’ उसले सोधी
‘हो’ मैले भने ।
‘तपाईं अहिले होस्टलको गेट पार गर्न लाग्नु भएको छ, हो कि होइन भन्नु त? ’ उसले फेरि भनी ।
‘तिमीले कसरी थाहा पायौ ?’ मैले सोधे ।
‘म अहिले फलैंचामा छु नि त ।’ उसले भनी । होस्टलबाट ३ मिनट जति तलतिर बरपिपलको रुखमुनि फलैंचा थियो । म ज्यानफालेर दौडें । तर त्यहाँ कोही पनि थिएन । फलैचा चकमन्न थियो । मैले यताउति चारैतिर हेरें । अब मलाई एकदमै डर लाग्यो । सानोमा किचकन्याको कथा सुनेको थिए, किचकन्याले पो बोलाएको जस्तो लाग्यो ।
म दौडेर गएको देखेर साथीहरू गेटमा आइपुगेका रहेछन् । उनीहरूले हाँसो रोक्न सकेका थिएनन् । उनीहरू गेटमा पुगेकाले मलाई निकै राहत भयो किनभने म एकदमै डराएको थिए ।
फेरि फोन आयो त्यै नम्बरबाट मैले डराई डराई फोन उठाए ।
‘तपाईं किन नआउनुभएको ? ’ उसले सोधी ।
‘म त तिमीले भनेको ठाउमा गए तर तिमी थिएनौ ।’ मैले भने ।
अँ म यता होस्टलको पछाडि पो आई पुग्याछु अनि । ’ उसले भनी ।
म होस्टल तिर दौडें । सबैजाना होस्टल पछाडि गयौं । होस्टल पछाडि सारा ठाउ छान मार्यौं तर कोही भेटिएन । मलाई भने किचकन्याको डर पसेको थियो । अब किचकन्याबाट कसरी बच्ने होला भनेर म सोच्दै थिए । त्यसैवेला फेरि फोन आयो जसले गर्दा म तर्सिए । अनि मुटु दह्रो पारेर फोन उठाए, कोही खित्का छोडेर हाँसिरहेको थियो । मलाई किचकन्याकै डर थियो । लौ अब त मलाई खाने भई, म यस्तै सोच्दै थिएँ । त्यो हाँसो बाहिर पनि सुनियो । म जहाँ बसिरहेको थिए त्यसकै ठिक माथिबाट त्यो हाँसो आई रहेको थियो । त्यो केटीको आवाज विस्तारै धोद्रो हुदै गएको थियो । मैले टाउको उठाएर माथि छततिर हेरें त्यहाँ हाँस्दा-हाँस्दै रुन थालेको मेरै साथी हरि थियो जो फेरि केटीको स्वर बनाउन प्रयास गरिरहेको थियो ।
जब मलाई उसले देख्यो, चुपचाप भयो । साथीहरू सबलाई यो थाहा थियो, उनीहरू चुपचाप भए । अनि पीडा र अपमानले रन्थनिएको म डङ्ग भूइमा लडेंछु ।
अचेल कुनै पनि नयाँ नम्बरबाट फोन आउँदा त्यही नराम्रो घटना याद आउँछ ।