~पुरुषोत्तम गौतम~
साह्रै चकचके केटाकेटीहरू बिहानै ड्यूटीमा आएपछि भेट हुन्छ दिनैपिछे । शायद उनीहररू मेरै पर्खाइमा रात बिताउँदा हुन् । म पनि साँच्चै भन्नु पर्दा तिनीहरूकै सम्झनामा रात बिताउँछु । ठूलै परिवार छ तिनीहरूको । एउटी सानी बुने छ । अरु ४ जना दाइहरू बुबाको ठेगाना छैन । न तिनीहरूलाई थाहा छ न तिनीहरूकी आमालाई नै । मलाई पनि थाहै छैन । मेरा मिल्ने साथीहरू हुन् यी बिदेश बसाइका । परिवारबाट टाढा रहनु र एउटा अर्को परिवार परदेशमा पाउनु ठानेको छु मैले। मेरो ड्यूटी तिनीहरूसँगकै भलाकुसारीबाट सुरु भएर तिनीहरूको विदाइसम्ममा सकिन्छ । म यो सउदी अरबको एउटा क्याफेमा वेटरको काम गर्दैछु । ड्यूटीमा आइपुग्ने बित्तिकै पानी भए नभएको, वाश बेशिनमा साबुन पानी भए नभएको, ट्वाइलेटमा पेपर भए नभएको , टेबुल कुर्सीहरू साफ भए नभएको, सबै काम गर्नुपर्थ्यो । भुईंमा मोप लगाउनु पर्थ्यो सर्फ लगाएर । कतै दाग धूलो या फोहोर हुनुहुन्नथ्यो । म त्यसै पनि काम एकदमै फेअर गर्नु पर्छ भन्ने मान्छे । जे काम गरिन्छ त्यो काम अत्यन्तै होशियारीका साथ गर्नुपर्छ भन्ने लाग्थ्यो मलाई र लाग्छ अहिले पनि । मेरो आफ्नै फिलोसफी थियो जीवन र हरेक कुरालाई हेर्ने ।
ड्यूटीमा पुगेपछि कुर्सी र टेबुलहरू बाहिर निकाल्नु पर्थ्यो । कुर्सी टेबुल पुछ्न पर्थ्यो, सीसा पुछ्न पर्थ्यो, बाहिर भएका बोटबिरुवामा पानी हाल्नु पर्थ्यो । यति गरीसक्दा मेरो बिहानको First Hour ड्यूटी सकिन्थ्यो । तर त्यतिन्जेल मेरा साथीहरू चिच्याएर हैरानै बनाउँथे मलाई । ढोका कोतरेर मलाई बोलाएको बोलायै गर्ने । कहिले कहिले त मैले काम भ्याइनसक्दै ग्राहक आइपुग्थे । त्यो बेला मेरा साथीहरूको रीसको सीमा नै रहन्नथ्यो । साथीहरूको ठीक्क बाहिर निस्किएर मोर्निङ वाक गर्ने या जी जीउमा फुर्ती ल्याउने बेलामा अर्कोले बाधा पुर्याउँदा रीस उठ्नु स्वाभाविक पनि थियो ।
घरिघरि ढोका खोलेर हेर्थेँ म अनि एकदिनका लागि हल्ला नगरी त्यहीँ बसिदिन आग्रह गर्थेँ । बाहिर बसेको ग्राहकलाई पनि रिस उठ्छ बढ्ता हल्ला भएकोमा । महमद ताल , भन्छ रिसाउँदै मलाई बोलाउँछ । एश् मुशि्कलउ ? के भै राछ यहाँ ?
म साथीहरूलाई सम्झाउनै सक्दिन । उनीहरूको खेल्न पाउने अधिकारको हनन् गर्ने म को? अनि त्यो साउदी को ? ढोका खोलेर सम्झाउन खोज्दा सानी बुनू ठस्स पर्छे मसँग रिसाई । अनि मलाई पनि रिस उठेर आयो साउदीसँग । ढोका खोलिदिउँ ५ जनै एकैपटक बाहिर निक्लेलान् हल्ला गर्दै मलाई नै टेन्शन ।
ढोका खोल्दै हेर्दै गर्थेँ । मेरी सबैभन्दा मिल्ने साथी सानी बुने नै थिई । मलाई उसैको चिन्ता लाग्छ बढी किन किन ? ऊ मेरी छोरी जत्तिकै प्यारी छ । म ढोका खोलेर बाहिर निस्कँदा छेउमा आउँछे लाडिँदै । अनि भन्छे-”अंकल आज त मलाई साह्रै बोर लाग्यो । रातभरि त्यही कोप्चे कुनोमा बिताउन पर्छ । मलाई त कहिले बाहिर निस्कनु जस्तो हुन्छ । जीउ एकछिन् तन्काएर फुर्ती हुन मन लाग्छ ।”
म उसको समस्या बुझ्न सक्छु तर उसको लागि केही गर्न सक्दिन । केटाकेटीलाई बाहिर निस्कन दिउँ, जागिर जाला भन्ने डर, जान नदिउँ नानीहरूसँगको भावनात्मक सम्बन्ध बिग्रिएला भन्ने डर । दोधारमा पर्छु म ।
ढोकामा ढकढक गरेको आवाज आउँछ पछिल्तिरबाट । ढोका खोल्छु सानी बुने रहिछ । ऊ चेतावनीमूलक भाषा प्रुयोग गर्छे र भन्छे -”भोलिदेखि त त्यो भुसतिघ्रे आएपनि हामी बाहिर निस्कन्छौँ नि अंकल । त्यसको हामी वास्ता गर्दैनौँ है आजै भन्दिएकी छु मैले ।
कस्तो सामिप्यता हो, कस्तो सम्बन्ध हो यो जिन्दगीको । मान्छेको मन मान्छेप्रति कोमल छैन आजभोलि । हाम्रो सम्बन्ध झन् झन् प्रगाढ बन्दैछ । ऊ मसँग घुर्क्याउँदैछे, धम्क्याउँदैछे अनायश मलाई आफ्नो सम्झिएर । ऊ म प्रति अधिकार जताउन खोज्छे । कहाँको म सर्बश्रेष्ठ प्राणी म अरूलाई गन्दै नगन्ने, कहाँकी बिरालाकी छाउरी सानी बुनू ।
– हाल काठमान्डू
(श्रोत :- अन्तर्जाल )