कथा : आख्यान

~कुमार नगरकोटी~

भुस्याहा आत्माहरूको कँही/कतै/कुनै चहलपहल थिएन । शिशिरको बफिर्लो प्रतिपदा-रात हृयाङ्गरमा झुण्डिएको पुरानो ओभरकोटझैँ शान्त मुद्रामा थियो ।

११ : ४५ बजेको थियो शयन-कक्षको भित्ते-घडीमा । अनायास तपाईंको भावातीत-निद्रा भङ्ग/भङ्ग/भङ्ग भइदियो । लगभग दुई वटा अश्वैत घोडा अट्ने किङ्साइज्ड पलङमा तपाईंले आफूलाई नितान्त एक्लो फेला पार्नुभयो ।

लिट्ररी स्पिकिङ ः

-यु वर हाफ-डेड्/इन योर ब्लडी बेड् ।

कुन्नि के कस्ता भविता/वस्तुता सोचेर तपाईं जर्‍याकजुरुक उठ्नु भएको थियो । सोफामा मस्तसित आराम गरिरहेकी एक टुक्रा जिप्सी-रातलाई महसुस गर्नुभयो ।

घना जङ्गलबीच अवस्थित तपाईंको एकान्तिक कटेज वास्तवमा विशाल सामुदि्रक मौनतामा डुबेको थियो । उदाङ्गो कोठामा तपाईं ‘टपलेस’ ओहोरदोहोर गर्नु भयो । उफ ऽऽऽ ‘टपलेस’ अर्थात् एक आदिम नग्नता……

डे्रसिङ-टेवलको त्रिकोणात्मक ऐना अगाडि उभिँदै आफ्नो देहलाई कालो ‘नाइट-गाउन’ले गर्लम्म ढाक्नु भयो । छोपिदिनु भयो आफूलाई तपाईंले कालो आवरणभित्र । असलमा तपाइर्ं एक कुशल चित्रकार हुनुहुन्थ्यो । अस्तित्वको चित्रकारिता तपाईंले बडो भव्यरूपले गर्नुभएको थियो । विभिन्न एक्रेलिक रङ्गहरू मार्फत् तपाईंले जन्म एवं मृत्युको डिजाइन गर्नुभएकै हो ।

स्टुडियो तपाईंको प्राइभेट आत्माझैं सुनसान थियो । केही चारकोल चित्रहरू अधुरै छाडिएका थिए । यही जीवनकालमा तपाईंले एउटा ‘मास्टरपिस’ कृति कोर्नु थियो तर यस कामका निम्ति आफू अझै किन तयार भइँन भनी केही क्षण दुःखी हुनुभयो ।

मलाई जानकारी भएअनुसार केही समययता तपाइर्ं आफ्नो ‘सेल्फ पोर्टे्रट’ बनाउने योजनामा हुनुहुन्थ्यो । त्यसका निम्ति तपाईंले आफ्नो अनुहारको गम्भीर अध्ययन/अवलोकन गर्नुभएको थियो । ऐनासामु तपाइर्ं घण्टौं आफ्नो रङ खुइलिइँदै गएको अनुहारलाई हेर्नुहुन्थ्यो । बाल्यकालदेखि चिन्दै आएको आफ्नो प्राइभेट अनुहार समय सन्दर्भमा कसरी परिवर्तन हुँदै जाँदो रहेछ भनी एक्लै मुस्कुराउनुहुन्थ्यो ।

ड्रेसिङ-टेबलको एउटा कुनामा एउटा अनाथ सिग्रेट लम्पसार ढलेको थियो । हेर्नुभयो त्यसलाई । धुमपानको सौखिन नभए पनि कहिलेकाही तपाईंलाई सिग्रेट सल्काउनुमा आनन्द आउँथ्यो । धूवाँले बन्ने अमूर्त चित्रहरू तपाईंको अनुहार वरपर/क्यानभास वरपर कुनै काल्पनिक चराझैँ घुमी हिँड्दा/उडी हिँड्दा तपाईंको चित्रात्मक चित्तमा एक प्रकारको कलात्मक भावबोधको जन्म हुन्थ्यो ।

पछिल्लो पटक तपाइर्ंको कटेजमा जाँदा त्यो सिग्रेटलाई मैले त्यहाँ त्यो डे्रसिङ-टेबलमा छोडेर आएको थिएँ ।

सिग्रेटलाई दुई औँलाबीच च्याप्नु भयो । माथि ओँठमा च्याप्नु भयो । धूवाँको निकोटिन-वास्ना धूवाँ अनि अमूर्त रेखाचित्रको मोहले तपाईंलाई खिच्यो । ओँठबीच झुण्डिएर मर्छु भन्ने सिग्रेटलाई अब दागबत्ती केले दिने ! केले सल्काउने ! सलाई कहाँ छ ? लाइटर कहाँ छ ? अग्नि कहाँ छ ?

यो मूर्दालाई सल्काउने अग्नि कहाँ छ ? -गाली गर्दै पि|mज खोल्नु भयो । त्यहाँ त बरफ थियो )

घरभरि सलाई या लाइटर नभेटिँदा तपाईंलाई अफसोस लाग्यो । घरमा अग्नि नहुनु एउटा दुःखद सूचना थियो । आगो घर बाहिर पो थियो कि !

बाहिर बगैंचामा देखा पर्नुभयो । घाँसमा फैलिएका शीतका थोपाहरू क्रमशः तुषारो हुने तरखरमा थिए । गुलाफ-झाडीमा केही झुसिलकीरा निदाएका थिए र सपनामा सम्भवतः ती सबै पुतली बन्दै थिए ।

तबेलामा दुई अश्वैत घोडाहरू शान्त थिए । आफ्नो मालिक आयो भनी ती जन्तुले तपाईंलाई करुणापूर्ण हेरे । तपाईले भन्नुभयो ः

-ओइ ! तिमीहरूसित सलाई छ ?

घोडा मौन रहे-

बगैँचाको गेटमा ठिङ्ग उभिनु भयो । सिग्रेट तपाईंको ओँठमा झुण्डिएकै थियो । बाटोमा कुनै प्रमिथिएस भेटिएला ! आ ऽऽऽ उसैसित सलाई मागी यसलाई सल्काउन पर्ला ! यस्तै केही सोच्नु भयो शायद ।

निर्जन रात । सुनसान गोरेटो । कोही त अवश्य भेटिएला ! चन्द्रमाको मद्यमि प्रकाशले तपाईंलाई बाटो देखाउन राजी भए । जङ्गली-पथ वरपर उभिएका अज्ञात वृक्षका हाँगाहरूमा यो रातले अझैँ झुण्डिएर आत्महत्या गरिसकेको थिएन ।

अघि बढ्नुभयो चुपचाप/निःशब्द ।

कोही आउँदा भएनन् । कोही किन भेट्न आउँदैनन् तपाईंलाई ! आफ्ना हितैषी/शुभचिन्तक/आफन्तजन/मित्रजन कोही नभएकोमा तपाईंलाई किन कहिल्यै अफसोस लागेन ?

कुनै ‘सोम्नाबुलिस्ट’ झैं तपाईं

हिँडिरहनुभएको थियो ओंठमा सिग्रेट च्यापी । करिब १३ मिनेट हिँडेपछि तपाईँ त्यहाँ आइपुग्नुभयो -जहाँ कोही तपाईंलाई प्रतीक्षा गरिरहेकी थिई ।

वास्तवमा त्यो स्त्री को थिई ? मैले कहिल्यै बुझ्न/चिन्न सकिँन । यो निर्जन जङ्गलमा ऊ युगौँदेखि सलाई बेचेर बसेकी थिई । ऊ कहाँबाट आएकी थिई ? कसरी त्यहाँ आइपुगेकी थिई ? मलाई कहिल्यै थाहा भएन ।

बाटो छेवैमा त्यो सलाई-घर अवस्थित थियो । सलाइ-घर किन भनिएको हो भने त्यो काठैकाठले बनेको पसल सलाइको बट्टाकारमा थियो । त्यहाँ यावत आकार-शैलीका सलाइका बट्टाहरू कलात्मक रूप-शैलीमा सजाएर राखिएका हुन्थे । त्यहाँ सलाइबाहेक अरू केही पाइन्थ्यो भनी मैले कहिल्यै कल्पना गर्न सकिँन ।

सलाइ बेच्ने त्यो स्त्री स्वयम् चाहिँ सलाइको काँटीझैं थिई ।

यो घुम्ती-पसलमा आएर तपाईंका पाइलाहरू ‘पि|mज’ भए । पसलमा एउटा सलाइ शैलीको कागजको लालटिन झुण्डिएको थियो । काठको मेचमा बसेकी स्त्रीले तपाईंलाई आश्चर्य मिश्रति नजरले हेरी । भुइँमा सलाइका निर्वस्त्र काँटीहरू यत्रतत्र छरिएका थिए ।

तपाईंलाई प्रमिथियस त भेटिएन/भेटिएन बरु ऽऽऽ प्रमिथिएसकी अवैध प्रेयसी भेटिएझैं लाग्यो शायद ! तपाईंलाई अलमलिएर उभिएको देखेर स्त्रीले भनी ः

-अग्निको खोजमा निस्कनुभा झैं छ । कि कसो ?

हाँस्दै तपाईंले आफू सलाइको खोजमा निस्केको सूचना उसलाई दिनुभयो । हाँसी ऊ पनि । तपाईंको ओँठमा झुण्डिएको सिग्रेट हेर्दै उसले भनी ः

-चिन्ता नलिनुस् क्या ! आउनुस् ऽऽऽ म अब तपाईंलाई विस्तारै ऽऽऽ विस्तारै सल्काइदिन्छु ।

तर तपाई चिताझैं सल्किएर खरानी बन्ने मुडमा अवश्य हुनुहुन्थेन । यद्यपि भन्नुभयो ः

-म त केवल यो सिग्रेट सल्काउन आफ्नो घरबाट हिँडेको । यस्तो रहस्यमय रातमा ? -उसले भनी) यो रातमा त्यस्तो के रहस्य छ र ? वास्तवमा केही रहस्य नहुनु पनि एक रहस्य हो । तपाईंको ओँठमा झुण्डिएको सिग्रेट तपाईंको आफ्नो होइन । कसले दियो तपाइर्ंलाई त्यो चुरुट ? -उसले सोधी) कुमार नगरकोटीले मेरो ड्रेसिङ-टेबलमा बिर्सेर गएको रै’छ । बिर्सेको होइन । उसले त्यसलाई त्यहाँ जानी जानी छाडेर गएको थियो । किन ?

किनभने ऊ चाहन्थ्यो यसरी मध्यरातमा तपाईं र मेरो भेट होस् । यो त बडो रहस्यमय कुरा भैगयो । त्यही त भन्या ! भैगो ऽऽऽ छाड्नुस् यी कुरा । बरु बताउनुस् कुमार नगरकोटीलाई पछिल्लो पटक कहाँ/कहिले भेट्नु भा’थ्यो तपाइर्ंले ? गत साता ऊ मेरो कटेजमा आ’थ्यो मेरो ‘सेल्फ-पोर्टे्रट’ अवलोकन गर्न । भन्थ्यो ः ”ग्लोबल वार्मिङ विषयमा एउटा कथा लेख्ने मुडमा छु । तिमीले मलाई सहयोग गर्नु पर्ला झैं छ ।”

मेरोबारे जुन सूचना तपाईंले स्त्रीलाई दिनुभयो, त्यो सही नै थियो । ग्लोबल वार्मिङ विषयमा एउटा आख्यान लेख्ने मेरो मुड यद्यपि छँदैछ । त्यसलाई अहिले थाती राखौं । यो त तपाइर्ंको आफ्नै कथा हो । तपाईंको कथा मैले नलेखे अरु कसले लेखिदेला ?

तपाईं अघिकै ठाउँमा उभिइरहनुभा’थ्यो । स्त्री आफ्नो कुर्सीबाट बडो जतनका साथ/ तनमयका साथ उठी । तख्ताबाट एउटा आकर्षक सलाइको बट्टा निकाली र तपाईंसमक्ष ठिङ्ग उभिन आइपुगी ।

स्त्रीका सामु आज्ञाकारी बालकझैं तपाइर्ं यन्त्रवत् हुनुभयो । स्त्रीले बट्टाबाट एउटा सलाइको काँटी निकाली । तपाईंका काँतर आँखामा आफ्ना आँखा जुझाउँदै उसले भनी ः

-खै, त्यो ओंठ यता ल्याउनुस् । म सिग्रेट सल्काइदिन्छु…

त्यसपछि तपाईंले आफ्नो नाइट-गाउन फुकाल्नु भयो । पुनः ‘टपलेस’ अवस्थामा अर्थात् आदिम नग्नतामा विवर्ण हुनुभयो । के सोचेर ल्याउनुभो ‘कुन्नि ! स्त्रीका वस्त्राभूषण पनि एकएक गर्दै खोली दिनुभो’ । स्त्रीले नाईनास्ती केही पनि गरिन । आदम र इभ झैं देखिनुभो तपाईंहरू…

आफ्नो ओँठ यसो झुकाउँदै स्त्रीलाई दिनुभयो तपाईंले । स्त्रीले बडो रहस्यमय शैलीले सलाइ कोरीदिई ।

झ्यार्रऽऽऽ

आगोको झिल्कामा तपाईंको सिग्रेट सल्कियो धूवाँको लामो कस निल्नुभो ।

दुई औँलाबीच जलिरहेको सलाइको काँटीको आगोले स्त्रीका क्रमशः क्लासिक बूढी औंली अनि चोर औंली अनि माझी औंली अनि अनामिका औंली अनि कान्छी औंली जलाउँदै गयो । आगो फैलिँदै, सर्दै गयो, स्त्रीका दायाँ हातका, पाखुराका कोमल त्वचालाई डढेलो लगाउँदै अनुहार/केश/ स्तन/नितम्ब/योनी इत्यादि हुँदै, छुँदै आगो दनदनी बल्दै, जल्दै गयो नग्न देहभरि….

ठिङ्ग उभिई मौन/ सिग्रेट तपाइर्ंले पिउँदै जानुभयो । धूवाँ तपाईंको श्वास नली हुँदै फोक्सोसम्म पुग्यो । त्यो फोक्सो एक डल्लो बरफ बन्यो । एक कङ्क्रिट बफिर्लो फोक्सो !

धूवाँ तपाइर्ंको देहभित्र फैलियो करोडौँ/अबौर्ँ कोषहरूमा । रक्त बाहिनीमार्फत धूवाँ सम्पूर्ण शरीरभरि सञ्चारित हुँदै गयो । तपाईंका मुटु/कलेजो/मिर्गाैला क्रमशः बरफको ढिक्कामा परिणत भए ।

वस्तुतः तपाईं ठोस बरफमा रूपान्तरित हुनुभयो । मानवाकृत एक आइस-क्युब् । वास्तवमा, डे्रसिङ-टेबलको एक कुनामा तपाईंले फेला पार्नुभएको सिग्रेट बडो अजिव थियो ।

तपाइर्ंको कथा यस्तै अजिवोगरिब थियो । अद्भूत थियो । स्त्री क्रमशः दनदनी/हुर्रहुर्र जलिरहेकी थिई तर त्यो रात तपाईं बरफमा मात्रै सीमित हुने कुरा कदापि थिएन । स्त्री-अग्निको मायावी रापमा/तापमा तपाईं पग्लिनु पर्ने नै थियो । अनि क्रमशः तपाइर्ं मोन्टाज शैलीमा/कोलाज शैलीमा पग्लिन थाल्नु भयो ।

सुरुमा तपाईं नाकबाट पग्लिनु भयो । कान/आँखा/ओंठ विस्तारै बिलाए । अनि बिलाए घाँटी एवं चौडा छाती । एवं रितले चाक/ लिङ्ग/तिघ्रा/पिडौला अनि कुर्कुच्चासमेत पग्लिएपछि तपाईं जलको स-सानु कुण्डमा ‘ट्रान्सक्रियट’ हुनुभयो ।

यस बेलासम्ममा त स्त्री खरानीको थुप्रो बनिसकेकी थिई । कागजको लालटिनले ˆयाँकेको मधिम प्रकाशमा जलकुण्ड र खरानीको थुप्रो देख्न सकिन्थ्यो । अघि केही समयसम्म त्यहाँ पुरुष -आदम) र स्त्री -इभ) थिए भन्ने तथ्य कुनै अप्रकाशित किम्बदन्तीझैं अमूर्त भैसकेको थियो ।

त्यो रात वास्तवमै रहस्यमय थियो ।

-…….खरानीको कुनै अवशेष त्यहाँ छैन । पश्चिमी वायुले त्यसलाई उडाएर लगेको पनि आज त युगौं भैसक्यो । बरफ पग्लिएर बनेको त्यो सानु जलकुण्ड चाहिँ अहिले पनि त्यहाँ छ …..)

त्यो कु्ण्डमा म कहिलेकाहीँ आफ्नो अनुहारको प्रतिविम्ब हेर्न जाने गर्छु

(श्रोत :- मधुपर्क साउन, २०६७ )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.