~श्रीरामसिं बस्नेत~
मानिसहरू उसलाई प्रतिभाशाली तर सन्की कलाकारको रुपमा चिन्दछन् र ऊ छ पनि त्यस्तै । उसलाई मुड चलेको दिन एकै क्षणमा तीन चार वटा चित्र बनाउँछ तर मुड चलेन भने महिनौं दिनसम्म पनि कुची र रङ्गलाई छुँदैन । उसलाई चित्र बनाउने मुड चल्न कि त ज्यादै खुसीको क्षण आउनु पर्छ, कि ज्यादै विस्मातको, कि आक्रोसको वा उन्मादको । सामान्य अवस्थामा ऊ चित्र बनाउँनै सक्दैन । यो उसको कमजोरी हो कि बिशेषता, उसैलाई थाह छैन । उसले बाबुसँग झगडा गरेर घर छोडेर हिंडेको दिन लगातार २१ घण्टासम्म चित्र बनाएको थियो । त्यतिखेर उसले बनाएका पाँचवटा ठूला ठूला अमूर्त चित्रमध्ये चार वटा बिक्री भइसकेका छन् ।
आफ्नो सिर्जना विक्रीको मामलामा पनि ऊ त्यति सहज छैन । कुनै कला पारखीले उस्को चित्र किन्न खोज्यो भने उसले त्यो मानिसलाई उक्त चित्र मन पराउनुको कारणबारे राम्रैसँग अन्तर्वार्ता नै लिन्छ । चित्तबुझ्दो उत्तर नदिनेले जति पैसा दिए पनि ऊ आफ्नो चित्र बेच्दैन । तर कसैले उसलाई साह्रै चित्त बुझ्दो उत्तर दियो भने ऊ सित्तैमा चित्र दिएर पठाउन पनि बेर मान्दैन ।
एक पटक एउटा विदेशी कला पारखी उसकहाँ चित्र हेर्न आयो । एउटी युवतीले आफ्नो नवजात शिशुलाई स्तनपान गराइरहेकी चित्र त्यो ६५ नाघेको बूढो बिदेशीले औधी मन परायो । त्यो चित्र मन पराउनुको कारण बारे सोघ्दा त्यो विदेशीले त्यो चित्र हेर्दा आफूलाई त्यो स्तनपान गर्ने शिशु आफू नै भएको र त्यो युवती आफूलाई जन्माउने आमाजस्तै लागेको र ती ममतामयी आमालाई आफूले वाल्यकालमै एक मोटर दुर्घटनामा गुमाउनु परेको भनेर आफ्नो वेदना पोख्यो । उसले त्यो चित्र त्यो धन्ााढ्य बिदेशीलाई एक पैसा पनि नलिइकन उपहार स्वरुप दियो । त्यो बिदेशीले आश्चर्य र अप्ठ्यारो मान्दै पैसा दिन खोज्दा उसले “आमाको वात्सल्यलाई पैसामा किन्न खोज्ने मूर्खता नगर” भनेर पैसा लिन पटक्क मानेन ।
त्यही चित्र करिव दुई महिना अघि एक विदेशी युवकले तीन सय डलर तिरेर किन्न खोज्दा उसले दिएको थिएन । किनकि उसले त्यो चित्र मन पराउनुको कारण सोघ्दा त्यस युवकले “युवतीको स्तन निकै मन पर्यो” भनेको थियो ।
यस्तै किसिमको अत्यन्तै भावुक, सन्की तर प्रतिभाशाली छ ऊ । उसको यो सन्काहापनले गर्दा कतिपय मानिसहरू उसलाई मन पराउँदैनन् भने कतिपय कलाकारहरू उसको प्रतिभाको इष्र्या गरेर उसको कलाको भन्दा सन्कीपनको बढी चर्चा गरी उसलाई होच्याउन तल्लिन हुन्छन् ।
उसले मूर्त, अमूर्त, ल्याण्डस्केप, स्केच, कार्टुन, पोट्रेट आदि चित्रकलाका सवैजसो विधामा आफ्नो प्रतिभा देखाएको छ । उसले चित्रकलाकै लागि विभिन्न स्थानको यात्रा पनि गर्ने गरेको छ । तर ऊ प्रचारमा आउन चाहँदैन । ऊभन्दा धेरै कम प्रतिभा भएका र कनिष्ठ कलाकारहरूले पटकपटक एकल चित्रकला प्रदर्शनी आयोजना गरेर आमासञ्चारमा छाइसकेका छन् तर उसले भने त्यस्तो प्रदर्शनी आयोजना गर्ने सोच समेत बनाएको छैन । ऊ त्यस्ता कला प्रदर्शनीहरू भ्याएसम्म हेर्न त जान्छ तर उद्घाटन वा समापन समारोहमा भने झुक्किएर पनि जाँदैन । किन रे भन्दा कलाकारिताको ‘क’ पनि नजानेका मान्छेले प्रमुख अतिथि भएर कलाका बारेमा भाषण छाँटेको ऊ सहन सक्दैन रे ।
अहिलेसम्म कुनै पत्रकारले उसको अन्तरवार्ता लिएका छैनन् । न त उसले कुनै पत्रकार चिनेको छ । कदाचित कुनै पत्रकार ऊसँग अन्तर्वार्ता लिन गयो भने पनि उसले बरु गाली पाउला, अन्तर्वार्ता सायद पाउने छैन ।
वास्तवमा ऊ धेरै कला तयार गरेर बिक्री गरी धन कमाउने, प्रदर्शनी आयोजना गरेर नाम कमाउने पक्षमा छैन । गतिलै मुड आएर नरन्थिनिएसम्म कुची नसमाउने भएकोले उसका कलाकृति अरु कलाकारको दाँजोमा थोरै हुनु स्वाभाविकै हो ।
उसले जीवनमा पहिलो चित्र कहिले बनायो त्यो त उसलाई पनि थाहा छैन तर चार कक्षामा पढदाखेरि बनाएको हिमालको कापबाट सूर्य उदाइरहेको चित्रलाई स्कुलले पुरस्कृत गरेको उसलाई अझसम्म सम्झना छ । यति मात्र होइन, ऊ एसएलसी पास गरेर स्कुलबाट विदा हुँदासम्म पनि प्रधानाध्यापकको कोठामा उसले चार कक्षामा छँदा बनाएको त्यो चित्र झुण्डिरहेकै थियो । यसबाट ऊ वास्तवमा निकै प्रेरित भएको थियो ।
ऊ १० कक्षामा पढदा ९ कक्षामा पढ्ने एउटी केटीसँग ऊ किन हो किन मनमनै आकषिर्त हुन पुग्यो । तर उसले व्यक्त गर्न सकेको थिएन । एक दिन स्कुलकै हाताभित्र अचानक उसले एउटा विद्यार्थी परिचय पत्र खसिरहेको अवस्थामा भेट्टायो । सँयोगबश त्यो परिचय पत्र अरु कसैको नभएर त्यही केटीको रहेछ । ऊ यति खुशी भयो कि त्यहाँबाट फटाफट् घर आएर कोठाको ढोका थुनी परिचयपत्रमा रहेको त्यो केटीको फोटो हेरेर विभिन्न कोणबाट उसको सातवटा चित्र तयार गर्यो । भोलिपल्ट एउटा चित्र आफैले राखी बाँकी छ वटा चित्र र परिचयपत्र त्यो केटीलाई नै फर्काइदिंदा केटीको आश्चर्यको सीमा रहेन ।
त्यसपछि केही महिनासम्म त्यो केटीसँग उसको निकै हिमचिम रहृयो । यस अवधिमा उसले राति अवेलासम्म बसेर धेरै चित्र बनायो । वास्तवमा स्त्री सौन्दर्यलाई कलामा उतार्न थालेको उसले यतिखेरैदेखि हो । पढाईमा उसलाई कुनै समस्या थिएन । पहिलो, दोस्रो नभए पनि ऊ हरेक बिषयमा सजिलैसँग उत्तीर्ण हुन्थ्यो । तर उसको बाबु भने कलामा लागेर छोरोले समय खेर फाल्यो, कलामा नलागी पढ्नमै मात्र लागेको भए पहिलो, दोस्रो नै हुन्थ्यो भनी कच्कच् गरिरहन्थे ।
त्यो केटीसँग उसको राम्रै चल्दै थियो । उनीहरू एकान्तमा पनि भेटेर मनका कुरा साट्थे । एक दिन यस्तै एकान्त मिलनको क्षणमा उसले आफ्नी प्रेमिकालाई चुम्वन गर्न खोज्यो तर केटीले भने गालामा मात्र चुम्वन गर्ने अनुमति दिई । ऊ भने मुखमै यौवनपूर्ण चुम्वन गर्न चाहन्थ्यो । उसले – “मेरो विश्वास लाग्दैन ?” भनी सोद्धा केटीले- “लोग्नेमान्छेको के विश्वास ?” भन्ने जवाफ दिई । ऊ यति रन्थनियोकी त्यहाँबाट जुरुक्क उठेर हिंडेको उसले फेरि कहिल्यै त्यो केटीको मुख हेरेन । घर आएर उसले बैंशालु युवतीहरूका विभिन्न आकार र किसिमका २०-२५ जोडी ओठहरूको चित्र बनायो । त्यो केटीले उसँग सम्पर्क गर्न निकै प्रयास गरी तर केहीसिप लागेन । यसरी उसको पहिलो प्रेमको मुना अनायास निमोठियो ।
कलेजको पढाई सकेर सानोतिनो काम चलाउ जागीरमा अल्भिmए पछि उसले पनि विवाह गर्यो । उसले आफ्नो आवश्यकताले भन्दा पनि बूढी आमाको मन बुझाइदिन इष्टमित्रकै बन्दोबस्तमा साधारण हिसावले विवाह गरेको थियो । स्कुले जीवनमा पलाएको प्रेमको टुसा निमोठिए पछि ऊ अरु केटी प्रति गम्भीर रुपमा कहिल्यै आकषिर्त भएन । सुहागरातमा नव यौवना दुलही र ऊ मिलेर यौनको खेल मजासँग खेले । वास्तवमा एउटी युवतीको सर्वाङ्ग नाङ्गो शरीरको अवर्णनीय सौन्दर्यलाई उसले पहिलो पटक देख्ने सौभाग्य सुहागरातमा नै पाएको थियो ।
पहिलो दाम्पत्य यौन सुखपछि दुलही असीम सन्तुष्टी बोकेर निद्राको काखमा गइन् । ऊ भने असीम उन्माद लिएर कुची र रङ्गसँग खेल्न थाल्यो र भरखर आफूलाई यौवनको चरमसुख दिने दुलहीलाई क्यान्भासमा प्राकृतिक रुपमा उतार्यो । बस्त्रबिहीन भईकन पनि अश्लील भन्न पटक्कै नमिल्ने यस्तो जीवन्त चित्र बनाएको उसले यो पहिलो पटक हो ।
समय आफ्नो गतिमा बग्दैछ । समयको कुचीले उसको कालो कपालमा अव अलिकति सेतो रङ्ग पोतिदिएको छ । अहिले एक जना अधबंैशे मानिस उसको सामु बसिरहेको छ । त्यो मानिस उसले बनाएको एउटी नवयुवतीको चित्र किन्न खोज्दैछ । त्यो मानिस केही दिन अघि उसको एक जना नाता पर्ने मानिससँग यो घरमा आएको थियो । भित्तामा रहेको त्यो नवयुवतीको चित्रलाई उसले त्यो दिन निकै बेरसम्म नियालेर हेरेको थियो । त्यसपछि पनि तीन चार चोटी कुनै न कुनै बहानामा उसकहाँ आएर त्यो चित्र हेर्ने गरिरहेको थियो । अहिले ऊ त्यो चित्र किन्न खोज्दै छ । त्यो मानिस चित्रको मोल सोध्दै छ तर ऊ भने त्यो चित्र किन्न खोज्नुको कारण सोध्दै छ । उसले कारण नवताई चित्र नबेच्ने अडान स्पष्ट गरेपछि त्यो अधबैंशे मानिसले त्यो चित्र किन्न खोज्नुको रहस्य खोल्यो ।
आजभन्दा धेरै बर्ष अघि त्यो मानिस कलेज पढदा त्यो चित्रमा देखिएकी केटीको घरमा डेरा गरी बसेको रहेछ । करिव दुई बर्षसम्म त्यही घरमा डेरा गरी बस्दा त्यो केटी र उसका परिवारसँग गहिरो सम्बन्ध बस्यो । एक दिन त्यो केटीलाई हलुका ज्वरो आएको थियो । ऊ पनि हड्ताल भएकोले कलेज गएको थिएन । संयोगबश घरमा अरु कोही थिएनन् । त्यो केटीले “मलाई ज्वरो आएको छ, डिग्री हाली दिनुस्न” भनी । उसले केटीको कोठामा गई केटीको मुखमा डिग्री हाली दियो । दुई मिनेटपछि मुखबाट डिग्री झिक्न लाग्दा केटीले उसको हात च्याप्प समाती । उसले पनि आफूलाई रोक्न सकेन । किनकि एउटै छानो मुनी रहेकी बैंशालुप्रति ऊ पहिलेदेखि नै आकषिर्त थियो, व्यक्त मात्र गर्न सकेको थिएन ।
उसले डिग्री हेर्यो । ज्वरो ९९ र १ लाइन मात्र रहेछ । त्यसपछि दुवैजना यौन उन्मादको पोखरीमा डुवुल्की मार्न थाले । यसरी सुरु भएको उनीहरूको लीला केही महिनासम्म चल्यो । पछि केटीका बाबुआमालाई केही शङ्का लाग्यो । त्यसपछि कोठा खाली गरिदिनु भन्ने आदेश उसले पायो । त्यो आदेशलाई शीरोपर गरी ऊ अन्यत्र कोठा सर्यो । त्यसको केही समयपछि त्यो केटीको पनि अन्यत्रै विवाह भयो……. ।
यसरी जीवनमा पहिलो पटक आफूलाई यौन सुख दिने केटीको यति राम्रो चित्र देखेर चकित भई यसले त्यो चित्र किन्न खोजेको रहेछ । कलाकारले त्यो मानिस त्यसरी डेरा गरेर बसेको ठाउँ, केटीको नाम आदि सवै सोध्यो । यति वृतान्त सुनेपछि उसले त्यो चित्र पैसा नलिइकनै त्यो मानिसलाई उपहार स्वरुप दिई पठायो । कृतज्ञता व्यक्त गर्दै चित्र च्यापेर त्यो मानिस गएपछि ऊ आज धेरै महिनापछि फेरि कुची र रङ्गमा हराउन थाल्यो । उसले भरखरै उपहार दिएर पठाएको त्यो चित्र अरु कसैको नभई उसको बिद्यार्थी जीवनमा “लोग्नेमान्छेको के विश्वास ?” भनेर उसलाई चुम्बन गर्न नदिने उसकी प्रेमिकाको थियो ।
(श्रोत :- यौनका फूल, यौनका कांडा कथा संग्रहबाट)