~शारदा पराजुली~
दसैँको अष्टमीको दिन बिहानैदेखि घरघरबाट मासुको हरहर बास्ना आइरहेको थियो । ललीताका बुबा पनि मासुको स्वादको कल्पना गर्दै जिब्रो फड्कार्दै खसी काट्ने तरखरमा लागेका थिए । खसी काट्दा चाहिने खुकुरी र रक्ती हाल्न चाहिने भाँडो उनको छेउमै थियो ।
भान्साघरमा आगो धुवाइरहेको थियो । ललीताकी आमा भान्सामा बसेर लसुन अदुवा र प्याज केलाउदै थिइन् । ललीता पिङमा मच्चिँदै थिई । “बाबा हेर्नुहोस् न मैले पिङ कस्तरी मच्चाएँ ।”
“ल, ल बिस्तारै खेल है, फेरि लडिएला नि” ललीताका बाबाले सचेत गराउँदै भने ।
“ए पानी तातेन भन्या । छिटो गर न, फेरि अहिले काइँलालाई ढिला हुन्छ रे । उसले सबैका घरमा खसी काट्न पुग्नुपर्छ । उनी भान्सातिर हेरेर यसरी नै अरु केके भन्दै थिए ।
“बाबा ! हाम्रा घरमा खसी काट्ने हो ?” ललीताले प्रश्न गरी ।
“हो छोरी” उनले स्वीकृति जनाए ।
“अनि खसीलाई काट्दा दुख्दै न बाबा ?” ललीताले फेरि प्रश्न तेस्र्याई ।
“दुख्छ होला नि ।” ललीताका बुबाले छोटो उत्तर दिए ।
“अनि खसीलाई दुखाइ-दुखाइ किन काट्नलाग्नु भएको त बाबा ?” ललीताको जिज्ञासा झन बढ्न थाल्यो ।
“हेर छोरी, आज दशैँ हो त्यसैले खसी काटेर खान लागेको नि । ललीतका बुबाले खुलस्त पारे ।
“कुन खसी काट्ने बाबा ?” ललीताले जान्न खोजी ।
“कुन हुनु नि, उः त्यो चुलबुले खसी काट्ने अनि मज्जाले पकाएर चिची पापा खाने है छोरी । मेरी छोरीलाई चिची पापा कति मिठो लाग्छ हगि ?” ललीताका बुबाले ललीतालाई खुसी पार्ने हेतुले भने । ललीता भने दौडँदैै भान्सामा पसी ।
“ममी …..ममी, बाबाले मेरो मनेलाई काट्ने रे । मेरो मनेलाई नकाट्नू भन्नू न, उसलाई दुख्छ क्या । मेरो मनेलाई काट्दा मर्छ । अब म कसलाई मने भन्ने ? अब म कसलाई खानेकुरा दिने ? म कोसँग खेल्ने ? मेरो मने । मेरो मने मर्छ ।”
“ममी मेरो मनेलाई नकाट्नू भन्नु न । मेरो मनेलाई दुख्छ क्या ।”
उसको बिलौना मिश्रति रुवाइले ललीताकी आमाका आँखा भरिएर आए । ललीताका बाबा पनि स्तब्ध भए । खसी काट्न ठीक परेको काइँलाको हातबाट खुकुरी एक्कासि भुइँमा खस्यो । ललीताकी आमाले बाहिर निस्केर भनिन् “भो खसी नकाटौँ । यसरी छोरीलाई रुवाइ रुवाइ के मासु खानु ?” उनी फेरि भित्र पसिन र उम्लदै गरेको पानीको आगो ओझ्याइन् । ललीता हिक्कहिक्क गर्दै थिई ।
आमाले नयाँ लुगा देखाउँदै अप्रत्यक्ष रूपमा ललीतालाई फकाउन थालिन् । ललीता रुन छाडेपछि आमाले दाल, भात र स्कुसको तरकारी पकाइन् । ललीतालाई अरू दिनको भन्दा आजको खाना खुब मिठो लाग्यो । उसले थपीथपी खाई र उठ्ने बेलामा भनी, “आमा, आज त क्या मिठो खाना पकाउनु भएको ! मनेलाई पनि दिऊँ है ? ऊ मेरो साथी हो नि । मिठो कुरा साथीसँग बाँडेर खानुपर्छ रे, हाम्रो मिसले भन्नु भएको क्या । ललीता थालभरि भात र दाल लिएर मनेको टाट्नामा गई ।
मनेले सिनित्त पारेर सबै भात खायो । ललीताले मनेलाई सुम्सुम्याउँदै भनी, “मेरो ममीले कति मीठो भात पकाउनु हुन्छ हगि, मने !” मनेले कान हल्लायो । ललीता खुसी भई । ललीताले भनेका कुरा भान्साबाट आमा र बुबाले सुनिरहेका थिए ।
(श्रोत :- शनिबार – गोरखापत्र – असोज २३, २०६७)