~सन्जु कोइराला~
कहाँबाट थुप्रिएका होलान् यति धेरै मान्छेहरू ! नयाँ सडकको पेटीमा ठेलमठेल गरेर हिँडिरहेका मान्छेहरूका बीच निशा सोच्दै थिई । भीडको फाइदा उठाउँदै अगाडिबाट एक जना भलाद्मीले नजानिँदो पाराले कुहिनाले उसलाई स्पर्श गरेर गए । उसलाई हतार थियो तर बाटोमा यति धेरै मान्छेहरू थिए, उसलाई छिटो हिँड्न पनि दिइरहेका थिएनन् अनि आफू पनि अलमस्त पाराले हिँडिरहेका थिए । खाजा खाने टाइममा नै भ्याउँछु भनेर निशा निस्केकी थिई तर राष्ट्रपतिको सवारी भनेर पौने दुई घन्टा जाममा बस्नुपरेपछि अब त्यो पनि सम्भव भएन । आफ्नै धुनमा भएकीले परैदेखि उसलाई चिनेर हाँस्दै आएका विनोदलाई उसले नजिकै आउन्जेल पनि देखेकी थिइन ।
“निशा हैन तपाईं ?” विनोदले नमस्ते गर्दै सोधेका थिए ।
बिहे गर्नासाथ डीभी चिट्ठा परेर अमेरिका गएकी उसकी साथी मेनकाका श्रीमान् थिए उनी । मेनकाले बेलाबेला इमेलमा फोटोहरू पठाइरहन्थी । पुख्र्यौली घर बेच्नका लागि विनोद नेपाल आउन लागेको कुरा पनि केही समयअघि उसले लेखेकी थिई, “अब हामी फर्केर बस्न त्यता आउने होइन । मेरा छोराछोरी त यसै पनि एसियन मुलुक भनेपछि नाकमुख खुम्च्याउँछन् । बेकारमा काकाहरूलाई भाडा खुवाउनलाई त्यो घर किन राखिरहनु !”
मेनकाको त्यस इमेलमा उसलाई कताकता देश छाडेर जाने नेपालीहरू र तिनका पुस्ताको अचम्मको मानसिकताको छनक आएको थियो । तर, त्यसलाई उनीहरूको व्यक्तिगत कुरा हो भनेर उसले पन्छाएकी थिई । आज विनोदलाई एक्कासि नयाँ सडकको भीडमा देख्दा ऊ छक्क परे पनि प्रसन्न भई । उसले मुस्कुराउँदै सोधी, “ओहो, नमस्ते ! कहिले आउनुभएको ? मेनका पनि आएकी हो ?”
“होइन, म मात्रै । आठ-दस दिनको काम हो, किन बेकारमा धेरै खर्च गर्नु भनेर ।”
ऊ फिस्स हाँसी मात्र।
विनोदले फेरि भन्यो, “हिजै मात्र आएको, कसैलाई केही भन्न पाइएन । फोन गरौँला भन्ने सोचिरहेको थिएँ, कस्तो अचम्मसँग भेट भयो। कतै बसेर कफीसफी खाऊँ न!”
निशाले घडी हेरी, यसै पनि अफिस त आज गयो, गयो । दुवै औपचारकिताका कुराहरू गर्दै अलि पर एउटा क्याफेमा छिरे ।
“यत्रो समयमा पनि यस एरियामा अलि गतिलो रेस्टुराँ खुल्या रहेनछ !” विनोदले कालो चस्मा खोलेर अगाडि टेबुलमा राखेपछि उसलाई राम्ररी हेर्दै मिस्रित भाषामा भन्यो, “तपाईं त अझै पनि जस्ताको तस्तै हुनुहुँदो रहेछ । कस्तो मजाले मेन्टेन गर्नुभाको । मेनकाले त सी ह्याज पुट अन लट्स अफ वेट ।”
त्यतिबेला पहिलोपटक निशा अलि असहज भएकी थिई । विनोदसँग कफी खाएर बिदावारी हुन्जेलसम्म त्यो असहजताले उसलाई छाडेन । जाने बेला विनोदले भन्यो, “अब फेरि यहाँ आइँदैन होला, मलाई एकपटक लुम्बिनी जाने रहर छ । तपाईंको समय मिल्छ भने, ह्वाई डन्ट यू ज्वाइन् मी ? अब यहाँ मेरो अरू कोही छैन, एक्लै के घुमाइ भो र ?”
औपचारकितावश केही नबोली उससँग अलग भएर आफ्नो बाटो लाग्दा निशालाई आफ्नो त्यो असहजता त्यसै भएको होइन रहेछ भन्ने लाग्यो । हुन त यस्तो खालको अनुभव पहिलो भने होइन उसका लागि ।
–
आमाका लागि जन्मदिनको उपहार किन्न भनेर चिनेको बाँडाको पसलतिर जाँदा ऊ सोच्दै थिई, “ओहो, आमा त यसपटक ५७ वर्ष लाग्नुहुन्छ ।”
०१६ सालका वीजेन्द्र दाजु पनि त आमाभन्दा सातै वर्ष मात्र कान्छा थिए । नाताले केही नपरे पनि उनीहरूको परविारसँग वीजेन्द्र दाजुको घनिष्ट सम्बन्ध थियो । काठमाडौँ पढ्नका लागि आउने बेला उसलाई वीजेन्द्र दाजुकै साथ लगाएर पठाइएको थियो । उसलाई पनि उनी बाबुसमान लाग्थे । आमा पनि निशालाई उनको भरमा काठमाडौं पठाउँदा ढुक्क भएकी थिइन् । डेरामा बसे पनि केही पर्दाओर्दा स्थानीय अभिभावकका रूपमा वीजेन्द्र दाजुलाई नै गुहार्नु भनेर आमाले भनेकी थिइन् । त्यसै कारण सानातिना समस्या हुन् वा केही खुसीका कुराहरू, सबैभन्दा पहिले वीजेन्द्र दाजुलाई नै सुनाउनका लागि डेरादेखि उनको घरको थुप्रै फन्का मार्ने गर्थी निशा । उनी पनि बेलाबखत हालखबर बुझ्न उसको डेरामा आइरहन्थे ।
त्यस दिन डेरामा बत्ती गएको मौकामा अचानक आवश्यकताभन्दा बढी नजिक आउँदै निशाको हात समातेर एकतमासको आवाजमा भनेका थिए, ती दाजुले, “मैले मुटुभरि माया पाएको छैन निशा !”
आत्तिएर के गरुँ, कसो गरुँ भएकी थिई निशा, त्यस दिनको अनपत्यारिलो घटनाले गर्दा । आफूले पितासमान मानेर दाजु सम्बोधन गर्दै आएको वीजेन्द्र दाजुको वासनाले गन्हाएको आवाजले उसलाई जड बनाइदिएको थियो त्यस बखत । मैनबत्ती लिन भनेर उठेर जाँदा निकैबेर आफ्नो बढेको ढुकढुकी र लगलग कामेका खुट्टाको चाल अनुभूति गर्दै भान्छामा बसिरहेकी थिई ऊ । निकै बेरपछि लुसुक्क निस्केर गएका वीजेन्द्र दाजु त्यसपछि उसको डेरामा कहिल्यै पनि आएनन् र ऊ पनि वीजेन्द्र दाजुकहाँ गइन । आफूले आदर्शका रूपमा लिएको मान्छेसँगको सम्बन्धको यस प्रकारको अवसानले उसलाई निकै लामो समयसम्म दुखाइरहेको थियो । निकैपछि मात्र निको भएको थियो त्यो घाउ । आज मेनकाका पति पनि त्यही शृंखलाको एक अर्को पात्र भएर आएका थिए ।
गणेशजीको सानो चाँदीको प्रतिमा किनेर गहना पसलबाट निस्कँदा विनोदको एसएमएस आउन भ्याइसकेको थियो, “बेलुका डिनरमा भेट्न मिल्छ ? म ह्यातमा बसेको छु ।”
लौ त भन्ने हो भने एउटी स्वास्नीमान्छेले हरेक दिन भनेजस्तो यस्ता लोलुप आँखाहरूको सामना गर्नुपर्ने हुन्छ । केही समयपछि हरेक स्वास्नीमान्छेले यस्ता कुरालाई सहजताका साथ लिएर पचाउँछन् । तर, आफ्नो मिल्ने साथीको, आफूले त्यति धेरै इज्जत गरेको पतिले यस रूपमा गरेको व्यवहारले निशालाई घर पुगुन्जेल पनि बिथोलिरह्यो ।
एक कप चिया बनाएर टीभीको अगाडि बसेकी निशाको ध्यान कुनै पनि च्यानलमा अडेन । एकछिन फटाफट सबै च्यानलमा घुमेपछि उसले टीभी पनि बन्द गरिदिई । बाहिर पानी पर्न थाल्यो, झ्यालबाट बाहिर हेर्दा उसलाई नीलिमाको सम्झना आयो ।
उनीहरू त्यतिबेला सात-आठ कक्षामा पढ्थे । नीलिमाले एकदिन भनेकी थिई, “निशा, मलाई स्कुल जानै मन लाग्दैन अचेल ।”
उसलाई अचम्म लागेको थियो किनभने पढाइमा निकै अब्बल नीलिमालाई शिक्षक-शिक्षिका सबैले माया गर्थे ।
“लौ के भन्या त्यस्तो ? के भो तँलाई ?” उसले आश्चर्य मान्दै सोधेकी थिई ।
निकैबेर टालटुल गरेपछि आँखाभरि आँसु छचल्काउँदै नीलिमाले कुरा खोलेकी थिई, “हेर् न जनक सरले जहिले पनि धाप मारेजस्तो गर्दै, सिकाएजस्तै गर्दै हात कहाँकहाँ घुमाउँछ भन्या ।”
पत्याउनै नसकेर खित्का छाडेर हाँसेकी थिई निशा ।
“लौ होइन होला, के भनेकी, जनक सर त्यस्तो सबैलाई माया गर्नुहुन्छ । त्यत्रा ठूलाठूला छोराछोरी छन् । तँलाई पनि छोरी नै भन्नुहुन्छ।”
नीलिमाको आँखाबाट आँसु नै र्झन थालेपछि बोल्दाबोल्दै रोकिएकी थिई निशा । के पत्याउने, के नपत्याउने ?
केहीबेर नीलिमालाई ढाडस दिंदै निकैबेर छलफल गरे तर कुनै निष्कर्ष निस्केन । खै त्यसपछि के भो, उसलाई थाहा भएन तर त्यो विषयमा उनीहरूबीचमा फेरि कुरा भएको थिएन ।
बाहिर झरी रोकिइसकेको थियो । ढोकाको घन्टी बज्दै रहेछ । निशाले गएर ढोका खोली । छिमेककी उमा भाउजू उसका लागि खाजा लिएर आएकी रहिछन्, “भोकाएर आएकी हौली, अघि सुजीको हलुवा बनाएकी थिएँ, तिमीलाई मन पर्छ भनेर ल्याइदिएकी ।”
उमा भाउजू र रमेश दाजु उसलाई परिवारभन्दा बढी स्नेह गर्छन् । झन्डै १२ वर्ष भयो निशाले उनीहरूलाई चिनेको । उसले सुब्रतलाई पाएका बेला उमा भाउजूले रातभर अस्पतालमा बसेर कुरेकी थिइन् र बिहान पनि सबैभन्दा पहिले ज्वानोको झोल र भात लिएर आएकी थिइन् । सबैभन्दा ठूलो कुरो त के भने रमेश दाजुमा कहिल्यै पनि विनोद वा वीजेन्द्र दाजुजस्ता लोग्नेमान्छेहरूको झलक पाएकी छैन उसले ।
“भित्र आउनुस् न उमा भाउजू !” उसले आग्रह गरी तर रमेश दाजु अफिसबाट आउने बेला भो भनेर उनी फर्किहालिन् ।
सुखदुःखका कुरा उमा भाउजू र रमेश दाजुसँग गर्न थालेपछि उसलाई अलि सजिलो भएको छ । पहिले उसलाई यस्ता कुराहरू कसैसँग गर्ने हिम्मत नै हुँदैन थियो । सायद त्यसो गर्दा आफ्नै छवि पो नराम्रो हुने हो कि भन्ने डर हुन्थ्यो होला । आफू असल र भलाद्मी भए कसैले नराम्रो भन्ने वा गर्ने गर्दैन, जिस्क्याउने र नराम्रो गर्ने भनेको उत्ताउली र छँडुलीहरूलाई मात्र हो भनेर सानैदेखि घरमा सुनाइएका कुराहरूले पनि सायद उसको मानसिकतामा असर पारेको हुनुपर्छ । कतै आफ्नै बोलीचाली वा व्यवहारले नजानीनजानी त्यस्तो किसिमका मानिसहरूलाई उत्साहित गरेको त होइन भनेर उसलाई डर लाग्ने गथ्र्यो । साथीभाइ, नातागोताले कतै आफ्नो कुरा काटिरहेका पो हुन् कि भन्ने पनि लाग्न थालेको थियो उसलाई त्यतिबेला । कसैले गरेको सोझो कुरामा समेत केही अन्य अर्थ लुकेका त छैनन् भनेर केलाउने र घोत्लने बानी परेको थियो उसलाई ।
पहिलोपटक जागिर खान गएको बेला अधवैँशे हाकिमले चाहिनेभन्दा बढी व्यक्तिगत कुराहरू गरेर सताउन खोज्दा अति भएको कुरा रमेश दाजु र उमा भाउजूलाई रुँदै सुनाएकी थिए । त्यसबेला उसले सोधेकी पनि थिई, “के म उत्ताउली छु रमेश दाजु ? मैले कुरा गर्न जानेकी छैन हो ? म सबैसँग खुलेर बोल्छु तर के त्यो मेरो गल्ती हो ? वा मैले लगाउने लुगा मिलेका छैनन् हो ? भन्नूस् न दाजु ! मेरो कमजोरी के हो ?” यति भन्दासम्म ऊ डाँको छाडेर रोइसकेकी थिई ।
त्यतिबेला रमेश दाजुले यस्ता कुरामा उसको कुनै दोष हुँदैन भनेर उसलाई सम्झाएका थिए । उनको व्यवहार र बोलीले उसलाई रमेश दाजु आफूले देख्नै नभ्याएको बाबु हुन् भन्ने भान भएको थियो । एक मनको बोझ काँधबाट हटेको त्यस दिनदेखि ऊ रमेश दाजु र उमा भाउजूसँग अझ बढी नजिक भएकी थिई ।
नीरज रमेश दाजुको साथी थियो र आउँदाजाँदा कहिलेकाहीँ उनीहरूकै घरमा भेटघाट भएको थियो नीरज र निशाको । नीरजले केही समयपछि प्रेमप्रस्ताव राख्दा पनि उसको नियतमाथि शंका गर्दै सयौँ प्रश्नहरू मनमा खेलाउँदै, तिनका उत्तर खोज्न आफै भित्र अमिलिन्थी ऊ । रमेश दाजु र उमा भाउजूले नीरज असल केटा भएको कुरा निकै सम्झाएपछि उसले नीरजलाई भनेकी थिई, “ठीक छ म त्यस्तै मन परेकी भए, यसै साता बिहे गरौँ न त !”
नभन्दै नीरजले बिहेको चाँजोपाँजो मिलाएको थियो र एकै साताभित्र उनीहरूको बिहे भएको थियो । नीरज र उसको सम्बन्ध सुमधुर छ । तर, छोरा १० वर्षको भइसक्दा पनि यस्ता कुत्सित मनसाय भएका पुरुषहरूका बारेमा भने नीरजसँग खुलेर कुरा गर्न सक्दिन ऊ । उसले कुरा गर्ने प्रयास नगरेकी होइन तर कि त नीरज ती मान्छेहरूलाई ठीक पार्छु भनेर पाखुरो सुर्कन्थ्यो, कि त त्यस्ता मान्छेहरूसँग पानी नै बाराबार गर्ने आदेश दिन्थ्यो । समाजदेखि टाढा रहन पनि सकिने कुरा थिएन, न जागिर छोड्नु कुनै समाधान थियो । छिमेकी, नातेदार, सहकर्मी जो कोहीमध्येबाट पनि जुनसुकै बेला कुनै न कुनै बेला त्यस्तो पात्रसँग जम्काभेट हुनु साधारण कुरा हो । उसले नीरजलाई बुझाउन नसकेको वा एउटा लोग्नेमान्छेका रूपमा उसले बुझ्न नसक्ने कुरा के भने, त्यस्ता मान्छेहरूलाई बेवास्ता गर्नु नै यसको सबैभन्दा उचित हल हो ।
राती अबेरसम्म पनि उसलाई निन्द्रा लागेको छैन । नीरज अघि नै निदाइसकेको छ । त्यति नै बेला उसको मोबाइलमा मेसेज करायो । विनोदको मेसेज थियो । दिउँसो भेटेपछि अहिलेसम्ममा विनोदले करबि २५ वटा मेसेज पठाउन भ्याइसकेको छ र ती मेसेजहरूका बीचमा लुकेका अव्यक्त आशयहरू सङ्लो पानीमुनिका ढुङ्गाजस्तै स्पष्ट थिए ।
उसले पढ्दै नपढी त्यसलाई मेटाइदिई, मोबाइल स्वीच अफ गरी, बत्ती निभाई अनि नीरजको नजिकै घुस्रेर आँखा चिम्ली ।
(श्रोत :- नेपाल साप्ताहिक )