जागिर खाएको वर्षौं भैसक्यो तर उसको बढुवा भएको छैन । यसबीचमा एक दुई पल्ट बढुवाको लागि पदहरू नखोलिएका पनि हैनन् तर उसले नाम निकाल्न सकेन । अब यसलाई उसको दुर्भाग्य भन्ने हो वा म्यानेजमेन्टले नै नचाहेको, यकीन भन्न गाह्रो छ । ऊ मिहिनेती र इमान्दार छ र पनि ऊ भन्दा कनिष्ठहरूले धमाधम बढुवा खाइसके । प्रभुको लीला ठान्दै उसले आफ्नो पालो पर्खेको छ ।
अहिले फेरि उसको अफिसमा बढुवाको लागि विज्ञापन खुलेको छ । साथीभाइहरू र उपल्ला केही हाकिमहरूले समेत पनि उसलाई निकै हौस्याएका छन् । “तपाईं जस्तो इमान्दार मान्छेलाई बढुवा नगरे, कसलाई गर्ने । यसपालि तपाईको जरुर हुन्छ ।” अरु कर्मचारीहरूको यस्तो टिप्पणीमा ऊ निकै आशावादी छ । यद्यपि ऊ ठूला हाकिमहरूमा “यसपालि त हेरिदिनु पर्यो हजुर ।” भन्दै बिन्ति बिसाउन गएको छैन तैपनि ऊ आफ्नो बढुवा हुने कुरामा धेरै हदसम्म विस्वस्त छ । संस्थामा यत्तिका वर्ष विना कुनै विवाद, गुनासो, धैर्यपूर्वक काम गर्नुको आखिर उसले केही पारितोषिक पनि त पाउनु पर्यो ।
हिजो साँझ पदपूर्तिको वैठक बसेथ्यो । वैठक लगत्तै हाकिमका पि.ए.ले फोन गरेर एक अर्थले बधाई झैं दिएका थिए,“भोज ख्वाउने जोरजाम छ कि छैन ?” सफल उम्मेदवारको लिस्टमा आफ्नो पनि नाम कल्पना गर्दै पुलकित ऊ, रातभरी सुत्न सकेन ।
भोलिपल्ट तरोताजा भै अफिस पुग्दा सबै जना अफिसको सूचनापाटी अघिल्तिर झुम्मिएका थिए । बढुवाको परिणामवारे उसले हिजै हल्का संकेत पाइसकेको भए पनि उसलाई सूचनापाटीमा प्रत्यक्ष हेर्न मन लाग्यो । सवै उसलाई हेर्दै थिए । ऊ तिनीहरूलाई पन्छाउँदै सूचनापाटीनिर उभियो । लिस्टमा सर्सती हेर्यो, दोहोर्याएर हेर्यो, अझै चित्त बुझेन । घरिघरि हेर्यो, त्यहाँ उसको नाम थिएन । विज्ञापन नम्बर अर्कै पो पर्यो कि भनी हेर्यो, त्यो पनि हैन । लिस्ट हेर्नेहरू गाईंगुईं गर्दै थिए । उसले केही सुनेन, कोही देखेन । उसलाई आफ्नो बढुवा नभएको मात्र हैन कि एक तह घटुवा नै भए झैं लाग्यो ।
(श्रोत :- अन्तर्जाल अर्थात ईन्टरनेट)