‘आइ हेट माइ फादर, हि इज ग्रीडी! आइ लभ यू शाइवा, आइ लभ यू! यू आर असम!’
साइकल पाएपछि केभिन तीन हात उफ्रियो। सायद जीन्दगीको सबैभन्दा खुशीको दिन होला आज, उसको!
‘शाइवा, तिमीले जति यसलाई आफ्नो सोच्यो त्यति उसको साख्खै वाउले पनि कहिल्यै साचेन।’
क्यारोलिनाले मलाई साइकल पसलभित्रै बेस्सरी ‘हग’ गरी। आजको उसको ‘हग’ सामान्य थिएन, कताकता असहज महशुस भएता पनि सहज हुने प्रयत्न गरेँ। अमेरिकीहरुका लागि ‘हग’ सामान्य जस्तै भएता पनि मन परेको मान्छेसँग मात्र गर्छन। तर हामी जस्तो पूर्वीय सभ्यता र सँस्कारमा हुर्केको मान्छेका लागि अझै पनि ‘हग’ सँस्कार सहज हुन नसकेकोले होला, मलाई आज निक्कै असहज अनुभूत भयो, सायद क्यारोलिनाको रुप, स्वरुप र यौवनले गर्दा पनि होला! मैले क्यारोलिनाका हात सुम्सुम्याउँदै उसको भावुक अनुहारमा हेरिरहे उसले पनि मेरो आँखामा उसका आँखा विछ्याइरही ।
क्लारोलिनको अनुहारमा मैले उसलाई एकपटक फेरि पढेँ – अमेरिकीहरु सम्पन्न भएर पनि कति असम्पन्न छन्। यिनीहरुसँग सबैथोक भएर पनि लाग्छ केही छैन। हुन त नभएको हैन तर उपयोग गर्नमात्र नजानेको हो। नाथे दूइसय डलरको साइकलका लागि केभिन सधैं निराश थियो। नौ वर्षको वालकललाई दूइसय डलरको साइकल किनिदिन न बाबु तयार छ न आमा। बाबु आमा भएर पनि नभए जस्तो।
केही दिन अघी केभिन रोएको मैले देखेको थिएँ। मैले क्यारोलिनालाई सोधे – ‘केभिन किन रोएको?’
‘उसले साइकल मागिरेहेको छ।’ ‘अनि किनिदिए भै हाल्छ नि’ – मैले सामन्य जवाफ दिएँ तर क्योरोलिनले अलि असामान्य उत्तर दिदै भनी – ‘यो उसको बाउँको दायित्व हो। मलै त यिनको लालनपालन गर्ने हो, फेरि मैले कहाँबाट ल्याउने दूइसय डलर! आइ अम ब्रोक!’ अमेरिकीहरुको सामन्य स्वभाव हो । म रित्तिएको छु अर्थात ‘आइ अम ब्रोक’ भन्नु।
अनि उसको बाबुले दिंदैन? अलि कडा स्वरमा भनि – ‘दिदैन केही दिदैंन, अदालतले तोकेको भन्दा एक पैसा पनि दिंदैन। उ धेरै पैसा कमाउँछ तर पाए अझ लिन्छ। उ अति कण्टक छ, अर्थात म उसलाई नीच पनि भन्छु। त्यसैले केभिन चार वर्षको हुने वित्तिकै मैले उसँग डिभोर्स गरेकी हुँ । यसको बाउलाई सम्झ्यो कि मलाई अझ रिस उठ्छ। ‘आइ अल्सो हेट हिम!’ क्यारोलिनाले पहिले पनि बेलाबेलामा आफ्नो पूर्वपतिका बारेमा थोरबहुत कुरा गरेकी थिई।
क्यारोलिनाको जवाफ सुनेर म नाजवाफ हुन्छु। सोच्छु, यत्रो पैसा कमाउने मान्छे आफू दिनको सयौं डलर खर्च गर्छ तर आफ्नो छोराका लागि एकपटक दूईसय डलर खर्च गर्दैन । सयौं डलरको चिठ्ठा खेल्छ तर छोरालाई भेट्न जाँदा कहिल्यै एक प्याकेट विस्कुट लिएर जाँदैन। दिनहुँ आफू वियर पिउँछ तर आफ्नै सन्तानका लागि उ अदालतले तोकेको भन्दा एक सुको खर्च गर्न चाहदैंन! खै माया, ममता, स्नेह! त्यस्तो बाबु के बाबु? बच्चाको भरणपोषणका लागि अदातलले तोकेभन्दा सुकोमाथि केही नगर्नु भनेको त सरकारलाई कर तिर्नु जस्तो मात्र हो। केभिन त उसको सन्तान हो। तर के गर्नु यिनीहरुको सोचाइ र सँस्कार नै यस्तो भएपछि!
क्यारोलिनाको पनि राम्रै जागिर छ। स्टेट अफिसर छे। उसले पनि गर्न सक्थी, जाबो एउटा साइकल! तर उ पनि उही हो पैसा भएपछि चिठ्ठा नखेली हुन्न। चिठ्ठा अमेरिकीहरुका लागि नराम्रो लत हो। कहिलेकाँही खाना खान हिँडेको मान्छे चिठ्ठा खेलेर रित्तिएपछि भोकै बस्छ तर खेल्न छोड्दैन। धेरैमा छ यो समस्या। क्यारोलिना पनि पैसा भएपछि निकै उडाउँछे चिठ्ठामा तर साइकल किन्न सक्दिन। नसक्ने हैन नचाहेको हो। नचाहनुको कारण उसको लोग्नेको व्यवहार पनि हो। उ सोच्छे बच्चाको रहर पुरा गर्ने कर्तव्य उसको हो, मैले त हरदम स्याहर गरेकै छु। लोग्नेसँगको रिसले पनि उ केही गर्न चाहन्न । तर त्यो निर्दोष वालकको के दोष?
पैसा खर्च गर्नु पर्दा उनीहरुका लागि आफ्नै सन्तान पनि पराय जस्तो हुन्छ। दुईसय डलर उनीहरुका लागि ठूलो हुन्छ। त्यसैले त यहाँको बाबुआमाप्रति छोराछोरीको दायित्व नै केही नभएको जस्तो छ। समाज त छ तर सुकेका रुखहरुको र्जंगल जस्तो छ समाज! बाबु आमा विरामी परे भने एम्बुलेन्स बोलाउनु भन्छन्, कतिपय छोराछोरी जाँदैनन्। बाबुआमा भोकै भए पनि कति छोराछोरीलाई त्यसको वास्ता हुदैन। त्यो एउटा सँस्कार बनिसकेको छ। बाबुआमाबाट आफूले जे सिक्छ, आफ्ना छोराछोरीलाई पनि उसले त्यही सिकाउँदै गएको छ।
मैले टिटूलाई पाँचवर्षको उमेरमा छोडेर आएको, नदेखेको छवर्ष भै सकेको थियो। नौ वर्षको केभिनमा मैले एघार वर्षको टिटु देखेँ। यसका इच्छा र मेरो छोराको इच्छा उस्तै हुन सक्छन्। आफूसँग भएर पनि यिनीहरु आफ्ना वालकको इच्छाको कदर गर्दैनन्। मसँग त थिएन र हिजो नहुदाँका अवस्थामा मैले टिटूका धेरै इच्छाहरुलाई मारेको छु। उसले पनि आफ्ना इच्छाहरुको हत्या गर्न मलाई सघाएको छ। उसकी ठूलीआमाको छोरो(दाइ)का खेलौना देखर टिटू लोभ्भिएको, ति खेलौनातिर टुलुटुलु हेरेको अनुभूत मैले केभिनमा गरे। सोचे, केभिनका साथीसँगीहरुले साइकल कुदाएर रमाइलो गरेको देख्दा उसको मन सायद खैलौनाप्रति लोभ्भिएको टिटूको मन जस्तै हुन्छ होला। दाईका खेलौनातिर टुलुटुलु एकोहोरिएका टिटुका आँखा जस्तै एकोहोरिन्छन् होला केभिनका आँखा पनि उसका साथीका साइकलतिर!
अहिले पनि टिटूलाई के चाहिन्छ छोरा भनेर सोध्यो भने केही चाहिन्न बाबा भन्छ। हुन त अब ठूलो र बुझ्झकी पनि भइसक्यो तर हिजो जति बेला उसका रहर र इच्छा उभित्र सल्वलाउँथे त्यतिबेलो मैले ति सबैको वध गर्न लगाएँ। विना प्रतिकार उसले आफ्ना वालसुलभ इच्छा तथा रहरहरुको वध गर्यो। वालक हो पक्कै भित्रभित्रै खुशी भने थिएन। तर पनि उसले असल वालक हुनुको परिचय दियो, आफूभित्रभित्रै रोएरै भए पनि। मेरो लागि अहिले केभिन एउटा क्यानभास हो। टिटूका ति अवस्थाहरु मेरो मनको भावनाको कुचिले त्यो क्यानभासमा उतारे, अनि म निष्कर्षमा पुगेँ – आज मैले जे गरे ठीक गरे, केभिनलाई नै भए पनि साइकल किनेर टिटुको इच्छाको पुरानो रिन उ उपर चुक्ता गरेँ।
यस्तै यस्तै सोच्दै म चुपचाप ड्राइभ गरिरहेको छु। देब्रेहात स्टेरिंगमा छ, दाहिने हात क्यारोलिनाको हातसँग खेलिरहेछ।
‘शाइवा, किन चुपचाप छौ? आर यु ओके!’ क्यारोलिनाले झस्काउँछे मलाई। ‘शाइवा, किन यत्रो महँगो साइकल तिमीले यसलाई किनिदियौ? वास्तमा तिमी कति उदार छौ, तिमीले कति महानता देखायौ! आखिर कारण के हो?’
मैले छोटो उत्तर दिए – ‘क्यारोलिना, मैले केभिनमा टिटू देखेँ! अनि मेरो गाडी दूर्धटना हुँदा तिमीले पनि त सहयोग गरेकि छौ नि। ईन्सोरेन्स कंपनीसँग तिमीले ‘डिल’ गर्यौ, मेकानिक्ससँग तिमीले ‘डिल’ गर्यौ।’ मैले टिटूको बारेमा उसलाई अघि अघि पनि बताएको थिए।
मेरो हातलाई उसले पटक पटक चुमी। माम्मा! माम्मा!! केभिनले क्यारोलिनालाई जिस्क्यायो।
गाडीबाट साइकल उतार्ने वित्तिकै केभिन साइकल लिएर साथीहरुसँग खेल्ने चौरतिर हुइँकियो। क्यारोलिनाले भित्र जाउँ भनी। बाहिर मौसमा अलि गर्मी नै थियो।
उसले फ्रिजबाट दुई क्यान वियर निकाली र चियर्स गर्दै लामो ‘हग’ गरी। मैले क्यारोलिनासँग त्यस्तो अनुभव कहिल्यै गरेको थिइन, जस्तो आज गरे। म कताकता क्यारोलिनाभित्र हराउँदै गएको हलुका अनुमान मलाई भइरेको थियो।
‘शाइवा, हिँड अर्को कोठामा।’
क्यारोलिनाले मलाई उ सुत्ने पलङमा बसाइ र भनि – ‘तिमीले केभिनलाई दिएको उपहारको बदलामा म एउटा उपहार तिमीलाई पनि दिन चाहन्छु, तर तिमी त्यसलाई स्वीकार्न सहमत हुनु पर्छ।’
‘मलाई स्वीकार्य छ, तर के हो त्यस्तो?’
‘नो थिङ, जस्ट ह्याभिङ् फन’ भन्दै कम्वल तानी र आफू पनि छोप्पिइ अनि मलाई पनि छोपी।
‘तर क्यारोलिना म त विवाहित हुँ र मैले तिमीले जस्तो डिभोर्स पनि गरेको छैन।’ मरो यथार्थलाई मैले पुन प्रस्ट्याएँ।
मलाई थाह छ साइवा, तिमीले धरै पटक भनिसकेको छौ।
‘तर हामी त असल मित्र मात्र हौं हैन र?’ मैले भने।
हो, शाइवा! मित्रतामा केही कुरा असम्भव पनि त छैन। तिमी असल मित्र भएकोले नै यो उपहार म तिमीलाई सुम्पदै छु र केभिनले तिमीबाट उसको प्रिय वस्तु उपहार पाउनुको कारण पनि यही हो। एक पटक मात्र भए पनि म यो उपहार तिमीलाई सुम्पन चाहन्छु र तिमीले स्वीकार्छु भनिसकेका छौ। कम अन, शाइवा …………………..!
केही क्षण पश्चात क्यारोलिनाले मलिन स्वरमा भनि – धन्यवाद शाइवा! मेरो उपहार स्वीकारेर मित्रता निभाएकोमा पुनः धन्यवाद!
बोस्टन, अमेरिका
(श्रोत :- अन्तर्जाल )