कथा : शान्ति हराएको समाज

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

म यो सडकमा हिँडिरहेको छु । सडकलाई सडक हुनुको बोध गराइरहेको छु । यो सडक पनि मजस्तै छ । एकछिनमा एउटा ट्याक्टर आउँछ । उसले सडकको छातीमात्र चिर्दैन, प्रशस्त धूलो पनि उडाएर जान्छ । त्यसमा म पनि हिस्सेदार बन्छु । यसरी हिउँदमा धूलो खानु र वषामा हिलो खानु यो सडकको नियति बनेको छ- मेरो भाग्यजस्तै । सडक धेरै लामो बगेको छ, मेरो जीवनको बगाइजस्तै । सडकको प्रस्थानबिन्दुमा सडकको बारेमा यसरी परिचय दिइएको छ – शान्तिमार्ग-२ किलोमिटर ।

सडकको प्रस्थानबिन्दुमा दिइएको परिचयजस्तै मेरो जीवनको पूर्वाद्घमा यसरी परिचय दिइएको थियो -शान्ति अब ठूली भई, शान्तिका जामा छोटा हुन थाले, शान्तिका हिमालचुली उम्रन थाले, शान्तिको बिहे गर्ने बेला भइसक्यो ।’

यी मेरा परिचयात्मक अभिव्यक्ति थिए- जीवनका पूर्वार्द्घका । मैले बारम्बार बिहे शब्दसँग साक्षात्कार हुनुपथ्र्यो । यो बिहे भनेको केहो – छोरीमान्छे अलिक ठूली हुन नपाउँदै किन अरूको घरमा पठाइन्छ – माइत बस्न किन हुँदैन – छोरीमान्छे पनि मानिस हो, केही गर्नुपर्छ भन्ने हौसला किन दिइँदैन – यी विरोधाभासका आवाजले म आन्दोलित हुन पुग्दथे । सामान्य लेखपढ भएको गाउँको एउटा घरमा मेरा आवाजहरू मसँगै कुस्ती खेल्दथे । मेरा सपनाका तारहरू बुनिँदै भत्कदै गर्दथे । मेरो भविष्य भनेको अर्काको घर गरेर खानुमा सीमित थियो । ममा बाहिरी सोचाइ कहिल्यै उमारिएन । मुस्किलले सात कक्षा पास गर्दा म भर्खर यौवनको खुड्किलो टेक्तै थिए । म आफ्नो भावी सपनाको राजकुमारको परिकल्पनामा डुब्न थालेको थिए । अचानक एक दिन मेरो कानमा गुन्जियो- ‘शान्ति, तेरो बिहे हुँदैछ, तेरो सपनाको राजकुमारसँग । अब तैँले घर खानुपर्छ । हुन त हामीलाई तँलाई अर्काको घर पठाउने इच्छा त कहाँ थियो र – चलिआएको चलन, घर गरेर खाएस् ।’
म झस्कन्छु । एउटा गोरुगाडा छेउबाट जान्छ । तराईको प्रचण्ड गर्मीको समय । म सडकमा छु । सडकले जस्तै जीवनको प्रचण्ड गर्मी सहेर म यहाँसम्म आएको छु । म कहाँ जाँदै छु – मलाई राम्ररी थाहा छ । हामी तीनजना सजीव प्राणी छौ -फिल्र्डवर्कका लागि पत्रकार उपनाम लिएर । साथीहरू के गफ गर्छन् म बुझदिन । भनौँ मलाई सरोकार छैन, म बग्छु फेरि सडकको लम्बाइसँगै ।
म घर खान सक्दिनँ । म मानिस थिएँ । मभित्र धेरै कुरा थिए, त्यसैले घर खान सकिनँ । सपनाको राजकुमार लोग्ने भनाउँदो लाटोबुङ्गोजस्तो थियो । कुनै लोककथाको नायकजस्तो । साथीहरूले जे भनेर उचाले पनि उचालिने अनि पछार्दा पछारिने । मैले उसको रिस खान सकिनँ । उसका यौनचाहना पचाउन सकिनँ । अरूको लहलहैमा लागेर स्वास्नीको चाहना बुझ्न नसक्ने, आत्मा पढ्न नसक्ने पनि कहीँ मेरो लोग्ने हुनसक्छ – मैले विदोह गरेँ । आवाज उठाएँ- म यस्तो घर खान सक्दिनँ जुन घरले मेरो घर खाने पाचनशक्तिको रातदिन ह्रास गर्दै लैजान्छ । त्यस समय मेरो जीवन अर्थशास्त्रीय सिद्धान्तमा चल्न थाल्यो । माग, आपुर्र्ति र उपभोक्ताको तालमेल बिगरन थाल्यो । जसले गर्दा अर्थशास्त्रीय हिसाबले मेरो जीवन असफल भएको साबित भयो । त्यसपछि मेरा बाआमाले मलाई अशान्त भएको हेर्न सकेनन् र माइतमा लगेर राखे । माइतमा म निस्प्रयोजन बस्न सकिनँ । म गाउँका पढेका दिदीहरूको साथमा पक्की सडक हुँदै सहर पसेँ । दिदीहरू पढेका हुनाले उनीहको भाँडा माझ्दै पढ्न थालेँ । कसरी एसएलसी पास गरेँ मलाई सपनाजस्तो लाग्यो । म धेरै कुरा गर्न सक्ने रहेछु भन्ने बोध हुन थाल्यो । एसएलसी पास गरेपछि एउटा प्रेसमा टाइपिङको काम गर्न थालेँ ।
कतै गाडीको हर्न बज्छ । म झस्कन्छु ।

‘साह्रै धूलो र गर्मी भयो । एकछिन पानी खाऊँ न । एउटा प्राणीको आवाज आउँछ ।

‘अब कति छ – धेरै हिँडियो यो सडक पनि ।’

‘अब आउनै आँट्यो । ऊ त्यो पल्लो गाउँ हो ।’ एउटा बाटो जान्ने प्राणी बोल्छ ।

हामी बलात्कारको रिपोर्ट लेख्ऩ जाँदैछौ- फिल्र्डवर्कमा । उसो त म त्यति फिल्र्डवर्कमा हिँड्दिनँ । तर बलात्कारको घटना स्वास्नीमानिससँग सजिलो हुन्छ भन्ने निर्ण्यले मलाई यो सडकमा हिँड्न बाध्य गरायो ।

सडक आपनै ठाउँमा छ । तर म बग्दै छु । म प्रेसमा काम गर्न थालेपछि मेरो जीवन गणितीय सिद्धान्तमा चल्न थाल्यो । काठमाडौँको ठाउँमा आफू बाँचेर, बाआमालाई पनि सास धान्न ऊर्जा पुर्याउनुपर्ने । मैले केही पाउँदै केही गुमाउँदै गएँ । कहिले गुमाइ मात्र रहेँ । बाआमालाई मैले कमाएर पठाएको सपनाजस्तो भयो । तर यो यथार्थ थियो । म उनीहरूको जीवन धान्ने ठूलो आधारस्तम्भ भएकी छु । म उनीहरूका लागि अपरिहार्य कथा बनेकी छु । जुन कथा कथेर कहिल्यै टुङ्गिदैन । जस्लाई उनीहले कसिङ्गर सम्झेर मिल्काएका थिए आज उही नै आँखाकी नानी भएकी छे ।

मैले जीवनको परिभाषालाई अङ्कहरूमा गणितीय हिसाबमा जोड, घटाउ भाग अनि गुणा गर्दै लगेँ । मैले सफलतालाई जोड्दै लगेँ अनि असफलतालाई घटाउँदै लगेँ । मेरो विगतको छवि शून्यमा बिलाउन पुग्यो भने वर्तमान उचालिएर अकास्सिन थाल्यो । मेरो जीवन अङ्कसँग मात्र होइन अङ्गसँग पनि सरोकार राख्थ्यो । जसलाइ मैले प्रापतीको यज्ञमा आहुति दिँदै गएँ ।
अचानक मेरो जीवनमा एउटा दिव्यपुरुषको प्रवेश भयो । उसले मलाई जीवनसम्बन्धी धेरैकुरा सिकायो । उसले मेरो विगतको छविलाई शून्यमा बिलाएर आगतलाई सम्पन्न बनायो । उसैको कारण आज म शान्तिमात्र हैन शान्तिमायाबाट पत्रकार सृष्टि भएकी छु । प्रेसमा काम गर्दागर्दै मैले धेरै अध्ययन गरिसकेको थिएँ । एक दिन एउटा लेख लेखेर सम्पादक भएठाउँ पुगेँ ।

‘यो लेख छापौ सर …-’ भर्खर आएको सम्पादकलाई मैले अनुरोध गरेँ । यो सम्पादक धेरै मुडी छ, घमन्डी छ आदि विशेषणले विभूषित थियो ऊ ।

उसले सजिलै छाप्ने स्वीकृति दियो तर मेरो नाममा कमेन्ट गर्यो – ‘अहिलेको जमानामा यो शान्तिमाया नाम राम्रो हुदैन, बरु तपाई नामचाँहि बदल्नोस् । ल, सृष्टि राख्नोस् ।’

मैले उसको कुरालाई नाइँ भन्न सकिनँ । ऊसम्बन्धी फैलिएको वातावरणीय प्रदूषण सङ्लिदै गयो । त्यो मेरो लेखले निकै चर्चा पायो । फेरि अरू लेख लेखेँ त्यसले पनि चर्चा पायो । म चर्चाको विषय बन्न पुगे । मेरा समकक्षीहरूले मलाई प्रतिद्वन्द्वीको रूपमा हेर्न थाले, भनौँ मसँग खुलेर गफ गर्न छाडे । उनीहरूले मलाई उनीहरू चर्चामा आउने पौष्टिक आहार लुटेर म मौलाउँदै छु भन्ने भाव राख्न थाले । त्यसै पनि यो क्षेत्र प्रतिस्पर्धात्मक क्षेत्र थियो । जुनियरदेखि सिनियर स्टाफसमेत मसग तर्कन थाले । यस्तो परिवेशले उक्त सम्पादकसँग मेरो सम्बन्ध झाङ्गिँदै गयो । उक्त सम्पादकले मलाई कहिले प्रतिद्वन्द्वीको रूपमा हेरेन । उसले मलाई जीवनमा बाँच्नका लागि चाहिने पौष्टिक आहार दिँदै गयो । उसलाइ आफू रित्तिन्छु भन्ने डर थिएन किनभने ऊ आपनो ज्ञान, विवेक र प्रतिभामा पूणत विश्वस्त थियो । ऊ भन्थ्यो – ‘तिमीभित्र धेरै कुरा छ शान्ति, तिमीले यति चाँडै यत्रो प्रगति गर्यौ, तिमीले धरै कुरा गर्न सक्छ्यौ । तिमीभित्र कान्तिकारी भावनाहरू छन्, ज्वालामुखी छन् जुन ज्वालमुखी फुट्नैपर्छ र त्यसबाट निस्केको लावाले समाजका धेरै विकृति र विसङ्गतिहरूलाई जलाएर खरानी पार्नुपर्छ । तिमीजस्तो प्रतिभा, भावना, र संवेदना भएको नारी त मैले यो समाजमा देखेको नै छैन । तिमीजस्तो नारी पाएर यो समाजले गर्वित हुनुपर्छ ।’

वास्तवमा मलाई पाएर समाज कतिको गर्वित थियो त्योचाँहि मलाई थाहा थिएन तर मचाँहि उसलाई पाएर गर्वित थिएँ । उसले मेरो आत्मविश्वास बढाउँदै लग्यो । जसले गर्दा मैले पत्रकारितामा डिप्लोमा पास गरे । मलाई यति धेरै हार्दिर्कता र आत्मीयताका साथ सहयोग गर्ने व्यक्ति ऊ नै पहिलो थियो र सायद अन्तिम पनि होला । उसको र मेरो समीकरण मिल्दै गयो । तर ऊ अरूजस्तो पुरुष थिएन जो केही पाउन केही गुमाउँछ । उसको उदार हृदयले म प्रभावित भए । उसको आत्माभिमान र विवेकले म प्रभावित भए, त्यसैले म मेरो जीवनमा प्रमाणित हुन नसकेको समीकरण ऊसँग प्रमाणित भएको चाहना गर्न थाले । मैले उसबाट गुमाउँदै नगुमाई पाइ नै रहे । मैले आफूलाई ऊप्रति समर्पित गरेँ । त्यो समय, त्यो क्षण म बिर्सन सक्दिनँ जब हामी एक भएका थियौँ । वास्तवमा चोखो मायाको धरातल यति विशाल हुन्छ भन्ने अनुभव मैले कहिल्यै गरको थिइनँ । म आकृतिविहीन भएर हराएको थिएँ । मानिसहरू चोखो मायालाई डलरबाट रुपियाँमा रूपान्तर गरेझैँ व्यापारीकरण गरेर मात्र किन बाँच्छन् – म छक्क पर्थेँ । किनभने व्यापारमा बाँच्न सिकेको जिन्दगीले सत्य र यथार्थ भोग्न जानेको हुँदैन । तर यो समयले ल्याएको परिवर्तन पनि हो । जसलाई मान्छे त्याग्न खोजेर पनि सकेका छैनन् । तर म भाग्यमानी थिएँ जसलाई मैले सजिलै पाएको थिएँ । तर यो समय मसँग धेरै बित्न पाएन, भनौँ समयले मसँगर् इष्र्या गर्यो । ऊ मेरो मात्र हुन सकेन । ऊ विशाल ब्रह्माण्ड मा फैलन चाहन्थ्यो आकारविहीन भएर । त्यसैले मेरो आत्माले, मेरो भावनाले उसलाई छेक्न सकेन, रोक्न सकेन । उसको प्रतिभालाई यो समाजले चिन्न सकेन राष्ट्रले थाम्न सकेन । ऊ ज्ञान र विवेकको अविरल गङ्गा थियो जसलाई बाँध्न सकिँदैनथ्यो । त्यसैले ऊ पलायन भयो यो समाजबाट र यो राष्ट्रबाट । म भने उसको मायाको दियो बालेर अघि बढिरहेँ अँध्यारा गल्लीहरूलाई छिचोल्दै । उसले मजस्तो धेरै हन्डर, पीडा र कठिनाइ पार गर्दै आएकी शान्तिमायालाई सृष्टि बनाइसकेको थियो ।

यो सडक छोटिदै छ । यो सडकले जस्तो धूलोहिलो मेरो जीवनले खाइसकेको छ । तर अहिले मेरो जीवन कालोपत्रे सडक भएको छ । जहाँबाट हिँड्दा मानिसहरू गर्व गर्न थालेका छन् ।
हामी फिल्डमा पुग्यौँ । फिल्डमा सोधीखोजी गरिसकेपछि बलात्कार भएको घरमा पुग्यौँ । त्यहाँ सन्नाटा छ, उदासी छ, आकोश फैलिएको छ । मुस्किलले नेपाली भाषा बोल्नेसँग सर्म्पर्क राख्या । तर उसले पूरा कुरा गर्न मन गरेन । हामीले धेरै सम्झायौँ । अनि मात्र यथार्थ कुरा बाहिर आयो । हामीमध्ये एकजनाले फोटोग्राफ लियौँ । मैले उक्त महिलालाई प्रश्नन राखे। उसले मेरो प्रश्नन बुझी-बुझिन मलाई थाहा भएन । तर उसले आफ्नो भाषामा लामो आकोश व्यक्त गरी । म संवेदनशील भएँ । यदि उसको ठाउएमा म भएको भए प्रकृतिले पनि महिलालाई मात्रै किन यसरी ठग्छन् – के उसले भोग्नुपरेको मानसिक र शारीरिक पीडा त्यति सजिलै हराउनसक्छ – उसले पाएको दुष्कलङ्क त्यति सजिलै मेटिन सक्छ – मानवीय मूल्य खोइ – बाँच्ने अधिकार खोइ – अहिलेको सुविधासम्पन्न आधुनिक युगभन्दा त पाषाण युग नै ठीक थियो । किनभने त्यसबेला यस्तो घृणित कार्य त हुदैनथ्यो । मानवीय मूल्य, मान्यता र भावनाहरूमा ठाडो आकमण भइरहेछ, खोइ मानवीयता – मानिस किन पशुभन्दा तल्लोस्तरमा गिरिरहेछ – यो गिर्नुको अर्थ के हो – म अत्यन्त भावुक र संवेदनशील बन्छु । यससम्बन्धी लामो लेख लेख्न मन लाग्यो ।

म सोच्न बाध्य हुन्छु । आज शान्ति हराइसकेको छ । उसको ठाउँमा म सृष्टि आएजस्तै शान्ति बिलाइसकेको छ । सायद सबैले शान्तिलाई आफूसँग राख्ने हैन अर्काको नासो हो भन्ने मान्यता राखेर नै यस्तो भएको हुन सक्छ । सबैले शान्तिलाई शान्तिको रूपमा विकसित गराउने चेष्टा गरेका भए मैले र समाजले जस्तो विभिन्न अवरोध, हन्डर र पीडा भोग्न बाध्य हुनुपर्ने थिएन । शान्ति हाम्रै हो, शान्ति हामीसँगै हुनुपर्छ, उसलाई हामीले नै हुकन, मौलाउन र फुल्न अवसर दिनुपर्छ भन्ने सोचाइ हाम्रो समाजमा कहिले आउला – क्षतविक्षत भएकी शान्तिलाई सृष्टि बनाउने महापुरुषको जन्म कहिले होला । यस समाजमा चेतनाको बीज कहिले उम्रेला ।

 

(श्रोत :- अन्तर्जाल )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.