मैले देख्दा ऊ आँगनछेउ मेवाको रुखनेर उभिएको थियो । खिया लागेको टिनको बाकस बोकेर । गोठतिर चिहाइरहेको थियो, सातो गएजस्तो उदासी अनुहारमा उतारेर । गोठ रित्तै छ । उसका बा गएदेखि । छोरोको खबर बुझ्न सदरमुकाम गा’थे । फर्किएनन् । भगमान्को घर जाने बेला ढाँट्नु हुन्न । उनी फर्किएका थिए खबर बनेर । त्यही खबरपछि मेरो संसार रित्तो छ गोठजस्तै । गोठजस्तै रित्तिएको मेरो जीवनको आखिरी संघारमा ऊ फर्किएको छ ।
पारि बाह्रकोट पल्तिरको हिमालमा उसका बाले हुक्का तानेर फालेजस्तै धुवाँ उडी रहेको बेला ऊ फर्किएको छ । आठ कक्षामा पढ्दै थियो । खोलाबाट उड्दै आएको तुँवालोलेझंै छोप्न आइरहने वनकुहिरोको पछि लागेर गयो । दसैंमा ठ्याम्मै सत्र पुग्यो । जुँगाका रेखी बाक्लिँदै गएका थिए । मकैजुङे दारी पलाउन थालेको थियो पातलोगरी । धुवैँधुवाँको बाक्लो कमिज लगाएर पिलपिले जुनकिरीझैं रातविरात डाँडाकाँडामा धमिलो छायाँ बनेर डुलिहिँड्यो । बल्ल आज फर्किएको छ उसको साल गाडिएको पाखोमा ।
ऊ मेरो छोरो हो । ऊ नभएको यो सत्र वर्ष मैले आफ्नै मुटुमा किला ठोकेर गुजारेँ। उसका बा गएदेखिन् मेरो मुटुमा जोर किला ठोकिएका छन् । उसको कानको लोतीमा कोठी नभएको भए आफ्नै घर फर्किएको उसलाई चिन्दै नचिन्ने पो रहेछु ।
०००
खाना खाएर गुन्द्रीमाथि पल्टिएको ऊ कथा भन्न थालेझैं बोलिरहेको छ खिरिलो आवाजमा । म सुनिरहेछु उसको आवाज नजिकै बसेर ।
‘नचिनेका मानिसहरु आइरहन्थे । धेरैजसो उनीहरू आउँदा गाउँमा नाचगान पनि आउँथ्यो । उनीहरू गीत गाउँथे । नाटक देखाउँथे । भाषण गर्थे । मलाई भने हरियो कुर्तासलवार लगाउने केटीले गाएको गीत खुब मन पथ्र्यो । रातो सल टाउकोमा फेटाजस्तो बनाएर बाँधेकी ऊ जब गाउँथी, ‘यै हाम्रो रोल्पामा पुलिसहरु पसेर …..’ मेरो शरीरका रौंहरू पुसको ठण्डीमा टाउकाबाट पानी खन्याउँदा जसरी नै सर्सराउँदै ठडिन थाल्थे । जनयुद्ध सुरु हुने पूर्वसन्ध्यातिरको समय थियो । कार्यक्रम सधैजसो राति हुन्थ्यो । रात निख्रनै लाग्दा कार्यक्रमसँगै उनीहरू पनि लापता हुन्थे ।
वर्षको एकदुईपटक आउँथे र जान्थे । जाँदा थाहै नपाई मेरो मनमा मोहनी लगाएर फर्किन्थे । आफैंसँग लैजान्थे मेरो मनको अलिकति कुनो अलिअलि गरेर । र, म रित्तिँदै गएझैं ठान्न थालेको थिएँ उनीहरू गएपछि । विद्यालय जान्थेँ । कक्षाकोठामा बस्थेँ । तर, मनभरि उनीहरू पढाइरहन्थे । उनीहरू सिकाइरहन्थे । उनीहरुनै सम्झना बनेर डुलिरहन्थे यताउति ।
घरमा थाहै नदिई गइरहन्थेँ, आइरहन्थेँ, उनीहरूको पार्टीको कार्यक्रममा । विद्यालयका दाइदिदीहरूको पछि लागेर जाँदाजाँदै म उनीहरूको पक्षधर भएँ । मेरै दौँतरी दिलु कार्यक्रमहरूमा जाँदाको पनि साथी भयो । म लेखिएँ उनीहरूको सूचीमा । सूचीका उनीहरू मेरा भए । म उनीहरूको । सूची हाम्रो भयो । उनीहरूले दिएको किताब, बाले किनिदिएको स्कुलको किताबभन्दा रमाइला लाग्न थाले । म विद्यालयमा बाका लागि र उनीहरूले दिएको किताब आफ्ना लागि पढ्न थालेँ । आमाको गनगन नसुनेझैं गर्दै ‘आमा’ पढिभ्याएँ । ‘आमा’ पढिभ्याउँदा म गाउँ कमिटीको सदस्य भइसकेको थिएँ । विद्यालयमा विद्यार्थी कमिटिको सचिव ।
२०५२ सालको हिउँदमा निकै लामो पानी पर्यो । माघ महिना पुरै । पानीसँगै ओइरिएर आएको चट्याङ्ले ठूलो डुम्रीको रुख ठहरै पा¥यो । त्यसको हप्ता दिन नपुग्दै लडाइँको खाल खुल्यो देशमा ।
०००
हामी बल खेलिरहेका थियौं । दिलु राम्रै खेल्थ्यो । ऊ लगालग पास हुन सकेन । मेरो दौँतरी । हामीसँगैको । फेल पास फेल पास हुँदै ५ मा पुग्यो, म आठमा पुग्दा । अनि उसैको जोडमा म पनि छिर्न पाउँथे बलकोर्टभित्र । हामी खेलिरहेका थियौं । सबै विद्यार्थी गुरुरु उकालो लागे । हाफटाइमको समय । हेर्दाहेर्दै बल खेल्ने कोर्टमा दिलु र म मात्रै भयौं । कोही करायो, ‘पुलिसले बीरबहादुर सरलाई ल्यायो ।’ मैले भनेँ, ‘भोक लाग्यो खान जाम ।’
‘मूला तेरा भोकाउने ओडार’ भन्दै दिलुले मलाई घिच्यायो र अरु दौडिएतिर सोझ्यायो । हामी पनि दौडियौँ बेतोडले । ढापे कुवामाथिको बाँसझ्याङमा पुग्दा गाउँले र विद्यार्थीले पुलिस ताकेर हानेको ढुंगाले बाँसको घनाहरू मकै भुटेझैं पड्किएका थिए । माथिबाट गाउँले र तलबाट विद्यार्थी ढुंगा हानिरहेका थिए । बाँसझ्याङ छेउको बाटोनेर हत्कडी लगाइएका वीरबहादुर सर र नौ जना पुलिसहरू उभिएका थिए । दुईजना प्रहरी भरुवा बन्दुक सोझ्याएर भित्तामा अडेस लाइरहेका थिए । छजना प्रहरीको हातमा कालो रंग लगाइएको छोटा लौरी थिए । त्यसलाई डण्ठा भनिने रहेछ । काँधमा खुकुरीको चित्र बनाएको पुलिस कराइरहेको थियो–शान्त रहनुस्, शान्त रहनुस् । घर फर्कनुस् ।’
खुकुरीवालले शान्त रहनुस् भनेर हात फैलाइरहेको बेला हाम्रो स्कुलको हेडसरले हानेको ढुंगा खुकुरीवालको नलीखुट्टामा लाग्दा ढुंगामा सिसी ठोक्किएझैं आवाज आयो । त्यो आवाज नसकिँदै खुकुरीवालले भन्यो –‘फायर हिम ।’ हेडसर गह्राको डिलबाट झरेर कान्लामा टाँसिए । पिलिक्क जूनकिरीजस्तो उज्यालो, आगोको झिल्कोजस्तै उज्यालो स्वाइँय्य गर्दै मेरो दाहिने हातको तीन अमल परबाट चुइँकियो । रिंगटा लाग्न खोजेछ कि भन्ठानेँ । सोच्दासोच्दै कसैले मेरो दुवै खुट्टामा समातेर भुइँमा लडाईदियो । म सर्लक्कै भुइँमा सुतेँ । सुतिरहेको अवस्थामा पछाडि फर्केर हेर्दा रुखबाट पात खसेझैं अघि हाम्रा हेडसर उभिएको डिलबाट दिलु खसिरहेको थियो । म सुतेकै गह्रामा ।
सब मान्छे हावाकावा गर्न लागे । मैले केही मेसो पाइन । विस्तारै उठेँ । मान्छेहरू लौ मा¥यो भन्छन् । चुकचुक गर्छन् । हेर्छु त मभन्दा तल्लो गह्रामा राम भाञ्जा लडिरहेका छन् । मेरो दाहिने हात छेउबाट गएको उज्यालो त गोली पो रहेछ । त्यसैले लडाएछ रामलाई । कस्ता हरामी रहेछन् पुलिसहरू ! तिनले हानेको गोलीले ढालेछ दिलुलाई पनि । मैले देख्दा ऊ पानीपानी भनिरहेको थियो । गोली लागेको देब्रे पाताको जोर्नीबाट भुलभुले मूलबाट पानी आएझैं रगत भुलुकभुलुक गरिरहेको थियो । म रन्थनिदै घर फर्किएँ । साँझ बाले भन्नुभो, ‘दिलु त मरेछ ।’ घर भत्किएर मेरो टाउकोमा आडिएजस्तो भो मलाई । बिउँझदा आमा हातमा अम्खोरा लिएर बाबुबाबु भनिरहनु भएको थियो । निधारमा भिजाइएको आमाको फरियाको टालो थियो । स्कुल जान मन लागेन ।
लौरो बोकेर आउँदा पुरै गाउँको सातो टिप्ने प्रहरीहरू बन्दुक बोकेर आइजाई गर्न लागे । दिलुको तेह्रौं दिनमा पार्टीले कार्यक्रम राख्ने भयो । तपाईं त स्कुलको सचिव, यसरी कहाँ हुन्छ भन्दै मैलाई अघि लाउने मनसायले उनीहरु आए । ‘महान जनयुद्धको पहिलो सहिद’ लेखिएको सादा पोस्टरमा दिलुको फोटो थियो । सेते काकालाई पोस्टर देखाउँदै भन्यौं– ‘काका रुख पार्टी छाड्नोस् । त्यही रुख पार्टीको सरकारले हाम्रो दिलुलाई मा¥यो । दिलुको ठाउँमा हामी छौं । हामी पनि तपाईंकै छोरा हौं । हाम्रो ठाउँमा तपाईं पनि उभिनुस् ।’
तिनी बोलेनन् । पारि हिमालतिर टाउको फर्काएर तिनले पिलपिल पिलपिल आँसु बगाइदिए । मनसुली हिमालको टाकुरामा घामले आखिरी बास बसेको थियो । भित्र काकी हरियो फरिया लगाएर अँगेनामा खत्र्याक्खुत्रुक् गरिरहेकी थिइन्, खरानीजस्तै उदासी उतारेर अनुहारमा । उनीहरू चुँक्क पनि बोलेनन् । भित्तामा दिलुको फोटो थियो । प्रावि स्कुलले हाम्रो बिदाइ गर्दाको सामूहिक फोटो । त्यो फोटोमा म पनि थिएँ । मेरो हिक्का छुट्यो । साथीहरू र काकाकाकीलाई छाडेर म एक्लै बाटो लागेँ घरतिर । बाटोभरि आँसु र नाकबाट सलल बगेका सिँगान साथी भए । तेह्रांै दिनमा पुलिस आयो ।
कार्यक्रम सुरु गर्नै लाग्दा हामीलाई घेरा हाल्यो । स्कुल कमिटीको अध्यक्ष, हेडसर र मलाई समात्यो । हेडसर छाडिएनन् । हामीलाई हग्नमुत्नै नसक्ने गरी ठटाएर सातौं दिनमा छाड्यो । कुखुरा बनाउने भन्थ्यो । कुकुरजस्तो चार हात खुट्टा टेक्नुपर्ने गरी गोदेर ‘आइन्दा उग्रवादी काममा संलग्न हुन्न’ भन्ने कागज गराएर तारेखमा छाड्यो ।
त्यसपछि पढाइ, तारेख र कार्यक्रमको त्रिवेणी रंगहरू आए जीवनमा । पार्टी कार्यक्रमको कलेजी रंगले मनभित्र बाक्लो गरी कुची पोत्न थाल्यो । सेते काकालाई लिएर, दिलुका बा उनी, प्रथम शहिदका बा, सदाबहार पिलपिले चिस्यान लिएर गइरहेँ, आइरहेँ यता उता ।
त्यसै सालको दसैंअघि गाउँमा सांस्कृतिक कार्यक्रम आयोजना भयो । कार्यक्रम सकिएको भोलिपल्ट गाउँकै एउटा बिर्तावालको भकारी फुटाइयो र गरिब गाउँलेलाई अनाज बाँडियो । बाँडिएको अनाज कुट्नेपिस्ने गरेर चुल्होमा तात्न नपुग्दै पुलिस आइपुग्यो गाउँमा बिर्तावालको उजुरीमा । बिर्तावालले थुप्रै बेनामेहरूको सूचीमा मेरो नामै किटान गरेर उजुरी दिएको रहेछ ।
बिहान चार बजेतिर उनीहरु हाम्रो आँगनमा आए । मलाई चौकीमा कुखुरा बनाउने भन्दै कुट्ने पुलिसलाई उसैले बालेको टर्चको उज्यालोमा चिनेँ । उभिएको थिएँ दलिन नेरको खापाको छेल पारेर उनीहरूलाई हेर्दै । बसुँ–बसुँ लाग्यो । कट्टुमै मुत छुट्लाजस्तो भयो । मध्य असोजको बिहानी जाडोमा नुहाएकै जस्तोगरी खल्खली पसिना बग्यो । बिरालोको चालमा भित्र छिरेँ । कर्सातिर निस्कने झ्याल खोलँं । आमाले छ्यास्स पारेर लाइटर बालिन् त्यही बेला । मलसाँप्रोले नानी लगेपछि रन्थन्निएको बिरालोको जस्तैगरी टल्किए आमाका आँखाका दुई गेडी । बा कता गएछन् देख्नै पाइन । ढुंगामा समाउँदै झ्यालबाट झरेर कर्सामा पुगेँ ।
कर्साबाट ठाडै उक्लिएर बाटो समातेँ । शितले पखालेको छ बाटो । कोदोबारी लछप्पै भिजेको छ शीतले । चप्पल पनि उन्न पाइन गोडामा । स्कुल जाने पाइन्ट पुठ्ठानेर च्यातिएपछि काटेर टालीवरी कट्टु बनाइदिएका थिए बाले । त्यही उनेर सुतेको थिएँ । दुइ तिरको कुइनोनेर च्यातिएर भ्वाङ परेको बाहुला लामो भएको सर्ट लगाएको थिएँ । सुत्दा लगाएको कपडामा थपघट नगरी भागेको थिएँ पुलिसले आँगनमा बुठ बजारेपछि । उनीहरुले डण्डाले डाम्ने डरले । डण्डाको डरले भागेको बिहान बेतोडले दुई घण्टा दौडिएँ खालि खुट्टा शीतले डामिँदै बाटोभरि ।
बिहान उज्यालो हुने बेला हुँडीखोलाको पुलनेर पुगेको थिएँ । शीतले डामिँदाडामिँदा घुँडादेखि तलको दुवै खुट्टा खोलामा पल्टेको ढुंगाजस्तो भएको थियो । चिमोट्दा पनि पत्तो नपाउने । पराइजस्ता लाग्ने गरी आफ्नै शरीरमा झुण्डिएका खुट्टा घिसार्दै दरौँदीतिर लस्किएँ । दरौँदीको पुलमा ‘यै हाम्रो रोल्पामा ….’ गीतवाली कमरेड भेटिइन् । उनैको पाइतालाको डोब पछ्याउँदै पार्टी यात्रामा सामेल भएँ ।
०००
भेटेका मान्छेहरु छुटे । साथ छुट्यो भनिएका मान्छेहरु भेटिए । गाँस बाँडेका साथीहरु लड्डालड्दै छुटे । पार्टीको बाटो ठीक छैन भन्दै गएका मान्छेहरु चैते क्रान्तिपछि फेरि भेटिए । तर भेटिएनन् घर छाड्ेदेखि नै बा–आमा । संकटकालका बेला बाको खबर भेटेको थिएँ । सदरमुकाम जाँदा समातिएका उनी दोहोरो भिडन्तमा मारिएको खबर बनेर । म समातिएर छुटिसकेको उनले चाल पाएनछन् । सुरुङ खनेर भाग्यो भनेर रेडियोले पनि फुकेकै थियो । घरमा नभए पनि गाउँका अरुका घरमा त रेडियो थियो । तिनले पनि भनिदिएनछन् । हो न हो छोरो जेलमै छ भनेर खोज्न हिँडेका बालाई आतंककारीको बाऊ भनेर समातेछ । समातेको चार दिनमा मारिदिएछ । गोली हान्नुअघि उनका आँखाभरि मेरो तस्बिर दौडियो होला । अत्यास बनेर । बाको हत्याको खबर सुनिरहँदा म स्थानीय एक कमरेडको शहादतको खबर दिएपछि झोक्राइरहेका सहिदका बाआमालाई सम्झाइरहेको थिएँ ।
बाको खबरपछि दुईदिनसम्म झोक्राउँदै बसेको मलाई तिनै बूढाबूढीले सम्झाएर सङ्लो बनाइदिए ।
ताकुकोट रेडको बेला चलेको गोलीको उज्यालोमा मैले मेरो गाउँ देखेको थिएँ । केहीअघि भेट्दा हिमाल सरले घरको खबर ठीकठाकै भएको जनाउ दिएका थिए । हिमाल सरलाई निशस्त्र अवस्थामा मारेपछि दोहो¥याएर ताकुकोटमा रेड गर्नु परेको थियो । त्यही दोस्रो रेडमा ‘यै हाम्रो रोल्पामा….’ वाला गीतकी कमरेड र त्यो गीतमा मादल बजाउने कमरेड अञ्जानले शहादत प्राप्त गरेका थिए ।
ताकुकोटको त्यही दोस्रो रेडमा मिसफायर हुँदा मेरो देबे्रपट्टिको खुट्टा पड्कियो । तीन महिनापछि घाउ पाकेर किरा पर्न थालेको खुट्टा बोकेर गोरखपुरको अस्पताल पुगेको छैटौं दिनमा डाक्टर मोहम्मदले मेरो घुँडा तलको खुट्टा काटिदिए । आफ्नै आँखा अगाडी मेरो खुट्टा काटियो । खुट्टा काटिएपछि बाँकी संसारसँगको सम्बन्ध काटिँदै गयो । शान्ति प्रक्रियापछि शिविरमा पुग्दा छुटेका साथीहरु फेरि भेटिए एक–एक गरेर ।
‘गाउँमा बाटो पुगेको छ । हिँड्नु पर्दैन । हामी बसमा हाल्दिन्छौं । घर जाऊ’ भनेका थिए साथीहरुले । सग्लो ज्यान लिएर निस्केको मान्छे, हर्लङखुट्टी भएर फर्कन मन लागेन । शिविरछेउ बग्ने तिनाउको पानी जति नै पानी बगाएँ आँखाभरि । नेताहरुले डाइनिङ हलमा उत्तिकै रक्सी बगाएको खबर आयो । छात्तीमा झिर रोपेझैं हुनथाल्यो ।
समायोजनको आखिरी समय घाइतेहरू सेनामा जान नपाउने दस्तखत गरे नेताहरूले । दस्तखत गर्नेमा एउटा नेता त पहिले मेरै कमाण्डर थिए । म उनको निजी सहयोगी थिएँ । घाइते भएपछि मात्रै म छुटेको थिएँ उनको सचिवालयबाट । उनले तीनपटक भेटेरै भनेका थिए– ढुक्क हुनुस् कमरेड, शारीरिक अवस्थाले केही फरक पर्दैन, तपाईंले जनमुक्ति सेनामा भएको कमाण्डर पदसरह सेनामा भूमिका पाउनुहुनेछ ।
म पदको लागि हिँडेको थिइन । उनले त्यसैको कुरा गरे । म मौन रहेँ । तर मेरो मनले लामो निबन्ध लेख्यो । आँखाले पट्यारलाग्दो पहाडको चित्र उता¥यो । सम्झौतापछि स्वेच्छिकको रकम लिएर गोरखपुर पुगेँ । डाक्टर मोहम्मदलाई भेटें । उनैले हालिदिएको नक्कली खुट्टामा म दुरुस्त उभिएँ ।
बसबाट सदरमुकाम झर्दा मेरै पार्टीका प्रधानमन्त्रीको गाउँ भ्रमणको स्वागत गर्न जिल्लाका साथीहरू बाटामा उभिएका थिए । केहीले चिने र अलि तर्किए । केहीले के छसम्म भने, नजिक परेनन् । सहिद अन्जानका भाइ अँगालो हाल्न आए । चिया पसलमा गयौं । उनले बेलिविस्तार लगाए सबै कुरा । हिजो गुन्द्रीमा सुतेर गुन्द्री ओढ्ने नेताहरूलाई भव्य पलङमा निद्रा पर्न छाडेको । भोकको झोँकमा कुन्यूँमा राखेको सुकेको मकै थुतेर काँच्चै गरम्गरम् चपाउँदै हिँड्नेलाई रक्सी र सपेटा रुच्न छाडेको थियो ।
अञ्जानका भाइलाई हेरेँ । धुमिल कायामै छन् । भने, ‘दाजुको रगत अलपत्र पारेर बिग्रन सकिन दाइ । खर्च चलाउन पनि मुस्किल परेको छ । डेराभाडा तिर्न नसकेको चार महिना भयो । पसलमा उधारोको खात छ । मलेसिया जान पासपोर्ट बनाऊँ भनेको पासपोर्ट बनाउने पैसा पनि छैन । जान कति लाग्ने हो, त्यसको न हिसाब छ, न बाटो छ । सब बर्बाद भयो दाइ ।’
चियाको गिलासले तप्प आवाज दियो । हेर्छु त केटोको आँखामा आँसु भरिएको छ । अर्को थोपा आँसु फेरि पनि गिलासमै झर्यो । आफ्नै आँसुले भरिन थालेको गिलास उठायो र सुरुप्प पा¥यो ।
केटो फिस्फिसाइरह्यो पिलपिल आँखा पार्दै । नमज्जा लाग्यो । नमीठो लाग्यो । त्यसैत्यसै कोक्यायो मन । मनभित्र डाँडै भत्कनेगरी पहिरो गयो । दाजुको क्षतिपूर्तिको रकम आमाको पेटको उपचार गर्दैमा बाटो लागेको सुनायो । खुट्टा राखेपछि मसँग जम्मा १ लाख ९५ हजार बाँकी थियो स्वेच्छिकमा पाएको । भाइ पासपोर्ट बनाऊ, खर्च चलाऊ भनेर १८ हजार रुपैयाँ हातमा राखिदिएँ । लिन मानेको थिएन । कर गरेपछि लियो । राति उसैको कोठामा बसेँ । बिहानै बस चढेर हिँडे । बस चढाउने बेला उनी पनि आएका थिए । बस गुड्ने बेला फेरि पिलपिल गरेर आँखा ओसिलो बनाए । दुई घण्टामा त बसले घर छेउको देउरालीमा लगेर छाडिदिन्छ । आधा घण्टाको बाटो पछि त घर पुगिहालिन्छ ।
यो बाटो मैले हिँडिसकेको छु पहिल्यै । हरियो पानामा खैरो मसीले कोरेको बाङ्गा टिङ्गा धर्साजस्ता लाग्ने यी बाटाहरु मेरा बालापनका सबैभन्दा नजिकका साथी हुन् । बाख्राका ससाना पाठाहरूझैं उफ्रँदै दौडँदै बितेको थियो मेरो जिन्दगीको बिहानी समय । यही बाटोमा, यही माटोमा । चामल र चियाका पसल थपिएछन्, गौडैपिच्छे जस्तो । माझघरे काकाले पनि चियादोकान थापेछन् ठाँटीखोलानेर ।
‘भाइलाई चिनिएन नि !’
नमज्जा लाग्यो, आफ्नै माटो बिरानो भएछ । काकाले चिनेनन् । आफ्नै गाउँले विराना भएछन् । घर छाडेर गएपछि हिँडेको ठाउँमा मानिस हँसिलो मुद्रामा हात मिलाउन आउँथे । ‘अविरल कमरेड कहिले आउनुभो’ भन्दै । तिनले कहिल्यै चिनिएन भनेनन् । आज आफ्नै गाउँले काकाले चिनेनन् । मैले आफैंलाई चिनाउनु प¥यो मेरै गाउँमा ।
‘ए बाबु पो’ तिनी जिल्लिए । मलाई भने खल्लो लागिरह्यो । सँगै बेन्चीमा बसेर चिया पिइरहेका टारीखेते बाहुन साहिँलाको छोराले अप्ठेरो मानेजस्तो गरे । विस्तारै उठेर गए । पल्लो कुनामा लडिरहेको मुडा उठाएर बसे । चियामा चिनी धेरै हालेछन् काकाले । तर साँहिलाबाका छोराको व्यबहारले मन खल्लो बनायो । हामीले धेरै फे¥यौं दुनियाँ भनेर धक्कु लाउँथ्यौ दसवर्षे आँधीले । तर गाउँ त त्यहीँ रहेछ । समाज त त्यहीँ रहेछ । पहिले धारा छोइयो भनेर झगडा गर्थे ।
अहिले बेन्चीबाट तर्किएर मुडामा पुगे । के फेरेछ त्यतिका मान्छेको रगतले ? त्यतिका मान्छेको जिन्दगी बर्बाद बनाएर पनि पुराना कुरीतिहरूको रौंसम्म हल्लेनछ । कहाँ पोखियो मेरो जीवनको सत्र वर्ष ! बोल्नै मन लागेन । काकाले ‘पैसा पर्दैन बाबु’ भने । खुट्टा खोच्याउँदै हिँड्ेको देखेपछि काकीले भनेको आवाजले पछिबाट आएर मलाई सोझ्यायो, ‘घाइते भाछ भन्थे, खुट्टोतिर पो रैछ ।’ ‘मेरो मनजति मेरो शरीरको कुनै अंग घाइते छैन काकी’ मनैमा भनेँ मैले ।
आफैंलाई सुनेर रोयो मन । मेरो आँखामा जस्तै पातमा शीतको थोपा टिल्पिलायो । पारी मनसुली हिमाल घामको चाँदले टल्किएर मुुसुक्क हाँस्यो । टाकुराबाट बूढो मान्छेको जस्तो धमिलो आकृति बनाएर वाफ उडिरहेको छ । वाफभन्दा पनि बेजोड गतिमा मेरो जोवन खर्च भएको पुराना दिनहरु बत्तिइरहेछन् टुक्राटुक्रा बादल बनेर मनको आकाश छोप्नेगरी । बाटो हिँड्छु । म भन्दा अघि–अघि छायाँ हिँड्छ । मेरै छायाँ ।
घरबाट हिँड्दा बिहानीको अँध्यारो थियो । जुनको उज्यालोमा शीतले डामिँदै हिँड्दा छायाँ पनि भिजेर निथु्रक्क पर्दै मेरो पछिपछि घिसारिएको थियो । अहिले त मेरै छायाँले मलाई घिसारिरहेछ । म छायाँ पनि बोक्न नसक्ने भएछु । छायाँले मलाई बोक्ने भएछ । बूढो काप्रोको रुख हुँदै गल्ली सकेर छायाँको पछि लाग्दै आँगननेर पुगँेँ । छायाँ हरायो । अब सकिएछ छायाँ बोकेर हिँड्न । छायाँ बनेर हिँड्न । टक्क उभिएँ । गोठ रित्तै छ । घर पनि रित्तोरित्तो लाग्यो । आमाले पिँढीमा बसेर निकै बेर नचिनेझैं गरेर एकटक हेरिरहिन् । मलाई धिक्कार लाग्यो । आफैंलाई चिनाउन मैले उनलाई आफ्नो हुलिया देखाउनुपर्यो । ‘बाबु’ भनेर तिनले मेरो टाउको मुसारिन् । अलिकति घिसारिएछ । खै कसरी हो, कम्मरमा बाँधिएको नक्कली खुट्टोको सपोर्ट फुस्किएछ । नक्कली खुट्टो झर्यो । निचोरेको कागतीजस्तो अनुहारमा आमाले आँसु भरिन् । ए म त सत्र वर्षपछि आमालाई आँखाभरि आँसुको गाजल दिन फर्किएछु । झन् धिक्कार लाग्यो ।’
०००
मैले सुनिरहेँ । बतासको चालझैं सुइँसुइँ गर्दै हावा बगेझैँ सुसेलेको आवाजमा ऊ बोलिरहन्थ्यो सपनामा उसैसँग । सम्झिएँ–उसको खबर केही थिएन । कोही छैन भन्थे । कोही छ भन्थे । भेटँे भन्ने कोही थिएनन् । भएको भए त आउँथ्यो होला लडाइँ रोकिएपछिको यतिका वर्षमा । यस्तै सोचेँ । शिविरमा छ भन्थे । घाइते छ भन्थे । कसैले यसै हो भनेनन् । दाह्रे गौंडाको पैह्रोजस्तै, कति पैह्रो चले मनभरि । भएको एउटा छोरो । ऊ त्यसै हरायो । उसलाई खोज्न जाँदा उसका बाउको हड्डी पनि पोलिएछ । ज्या है भनेझैं लाग्यो जिन्दगी ।
उसका दौँतरी उमेरका अरुका छोराछोरीले धमाधम बिहे गरे । छोराछोरी डोर्याउँदै हिँड्छन् । मेरैमात्रै आकाश फाट्नुपर्ने भन्ने लागिरह्यो । मैले धमिलोबाहेक बाँकी आशा राखिनँ उसको । अब आउन्न क्यारे भन्ने भएपछि मुटुमा गडेको किलो झन्झन् रनक्क भएर कस्सियो । यसरी माया मार्न लागेको मेरो छोरो घर फर्कियो । जे जस्तो भएपनि । जुन हालतमा भए पनि । उसको खुट्टामा लगाएको कृतिम खुट्टो मेरो हातमा छ । घर छाड्दा ऊ अँध्यारोमै गएको थियो, चुक घोप्ट्याएजस्तो अनुहार बोकेर । ऊ फर्कँदा संसारका सबै भ्रमबाट निस्किएको सन्तको जस्तो अनुहार बोकेर फर्किएको छ ।
(स्रोत : Setopati )