कथा : रेड वाइन

~नयनराज पाण्डे~

‘ओहो ! हजुरले कैले पनि पिइबक्सन्न ? साँच्ची ? हजुरलाई रम, ब्रान्डी, हि्वस्की, वाइन कसैको पनि स्वाद थाहा छैन ? हजुरजस्तो व्यक्तिलाई पाएर हामी धन्य भएका छौँ । खुसी छौँ । साह्रै खुसी छौँ । हजुरको नेतृत्वमा काम गर्न हामी आतुर छौँ । लालायित छौँ । व्यग्र छौँ । हामी हजुरलाई तन-मन दिएर सहयोग गर्नेछौँ ।’

‘तर, हजुरले आज अलिकति हल्का लिई दिई बक्से हामी साह्रै खुसी हुने थियौँ । यो सानो पार्टी हजुरकै स्वागतमा आयोजित गरिएको हो । नो नो हजुर, यो पार्टी हामीले धेरै खर्च गरेकै छैनौँ । हजुरको भावना बुझ्छौँ । हजुरको स्पिरिट बुझ्छौँ । इन्फ्याक्ट, हामी हजुरकै आदर्श र सिद्धान्तका फलोअर हौँ । हामीले अलि एक्सपोज्ड भएर काम गर्न नमिलेर पो । नत्र त हामी हजुरहरूकै पदचिह्नलाई …’

‘हजुर, वाइन त हल्का लिँदा हुन्छ नि । वाइन त रक्सीको क्याटेगोरीमा पर्दैन नि हजुर । वाइनमा अल्कोहल कति नै हुन्छ र ? नौ देखि एघार प्रतिशत । कुनैकुनैमा तेह्रसम्म हुन्छ । त्यति अल्कोहल त सुत्केरी आइमाईले खाने टनिकहरूमा पनि हुन्छ । वाइन त फलफूलबाट बनेको हो नि हजुर । एक-डेढ ग्लास त दिनदिनै खाँदा पनि फरक पर्दैन । स्वास्थ्यलाई बेफाइदा गर्दैन । यसले त एपेटाइजरको काम गर्छ । मुटुको रोगी हो हजुर ? केही फरक पर्दैन । रेड वाइन लिइबक्स्योस् न । रेड वाइन त मुटुको रोगीले पनि ढुक्कले खानु हुन्छ । डक्टरहरूले पनि खाए हुन्छ भन्छन् । फेरि हजुरलाई त अब देश, विदेश गइरहनुपर्छ । बेलाबेलामा स्वदेशी, विदेशी पाहुनाहरूसित भेटघाट गरिरहनुपर्छ । रात्रिभोजमा सवारी होइबक्सनुपर्छ । कहिलेकाहीँ रात्रिभोजको आयोजना पनि गर्नुपर्छ । कति ठाउँमा त कर्टेसी मेन्टेन गर्न पनि प्यूनुपर्ने हुन्छ । यस्तोमा हजुरले अलिअलि हल्का रेड वाइन लिँइबक्सँदा राम्रै हुन्छ । बानी पनि त पार्न पर्‍यो नि हजुर !’
‘गन्ध आउँदैन हजुर, वाइनको पटक्कै गन्ध आउँदैन । स्वादिलो पनि हुन्छ । गुलियो-गुलियो, अमिलो-अमिलो त हो नि हजुर ! ल हुन्छ हजुर ! अलिकति मात्र लिइबक्स्योस् । ल, हजुर । चियर्स । हजुरको कार्यकाल सफल होस् । हजुरको कार्यकालमा क्रान्तिकारी परिवर्तन होस् ।’

‘हजुरको अस्तिको लेख साह्रै गजबको । हामी सबैले पढ्यौँ हजुर ! हामीले त त्यो लेखको कटिङ पनि गरेर राखेका छौँ । हजुरको कान्तिपुरमा गत साता छापिएको भ्रष्टाचारसम्बन्धी आर्टिकल पनि साह्रै राम्रो । हामीले त्यो पनि कलेक्सन गरेर राखेका छौँ । हजुरको लेखनशैली साह्रै राम्रो । भाषा पनि कति मीठो । हजुरसित गजबको भिजन रहेछ । पहिलाकाहरूसित कहाँ यस्तो भिजन हुनु हजुर । नत्र त यो मुलुक कहाँको कहाँ पुगिसक्थ्यो । अँ साँच्ची, अस्तिको पुस्तक मेलामा हजुरको किताब कतिका बिक्री भएको । जसको हातमा पनि हजुरकै किताब । हामी सबैले त्यो किताब किनेका छौँ हजुर ! पचास-साठीजनालाई त मैले नै त्यो किताब नपढी हुन्न भनेर सिफारिस गरेको छु । साह्रै गजबको पुस्तक रहेछ । हजुरले त्यत्रा-त्यत्रा किताबहरू, लेखहरू लेख्ने फुर्सद कसरी निकालिबक्सन्छ ? राति लेखिबक्सन्छ कि बिहान ? मुडमा लेखिसिन्छ कि जस्तोसुकै परिस्थितिमा पनि लेखिबक्सन्छ ? हजुरको लेखन प्रक्रिया के हो ? ए ! हजुरको ग्लास त रित्तिएछ । अब एक ग्लास थपूँ हजुर ? यो ग्लासचाहिँ हाम्रो अनुरोधमा । वाइन त हो नि हजुर ! त्यसमाथि रेड वाइन । हल्का लिँदा केही बिगार गर्दैन हजुर !’

उहाँ सह-सचिव । अट्र्ठाईस वर्षभयो सरकारी सेवामा संलग्न हुनुभएको । मभन्दा एक ब्याच जुनियर । उहाँ पनि हजुरको गजबको फ्यान । मजस्तै । उहाँ साह्रै योग्य व्यक्ति । परराष्ट्र सेवामा पनि हुनुहुन्थ्यो । साह्रै अध्ययनशील हुनुहुन्छ । दिउँसो हामीले त्यो बोर्डको बारेमा कुरा गरेका थियौँ नि हजुर ! त्यो बोर्डमा उहाँलाई नै चेयरम्यान बनाउँदा उपयुक्त हुन्छ । हजुरलाई उहाँबाट साह्रै कोअपरेसन हुनेछ । विरोधी पार्टीले विरोध गर्लान् । तर, हजुरले पेलेर भए पनि उहाँलाई चेयरम्यान बनाइबक्सनुपर्छ । यो त हजुरको इज्जत र प्रतिष्ठाको पनि कुरा हो नि हजुर ! हैन र ? ए! हजुरको ग्लास त खालि भएछ । अब अलिकति । हाम्रो मनोबल उच्च पारिदिनका लागि । एक ग्लास । हल्का । केही फरक पर्दैन । वाइन त हो नि हजुर ! रेड वाइन ।’

हजुरले नै हैन जेलब्रेक गरिबक्सेको ? हजुर त साह्रै साहसी मान्छे । हजुरले युद्ध पनि लडिबक्सियो हगी ? अँ, हजुर गोली लागेर सख्त घाइते होइबक्सेको त हामीले पनि सुनेको हो हजुर । जे होस्, हजुरहरूले गर्दा नै देशमा यत्रो परिवर्तन आएको हो । हजुरहरूले सहयोग नगरेको भए त्यो गिरिजा र माकुनेले कहाँ गणतन्त्र ल्याउन सक्थे र हजुर ? हजुरहरूकै कारण नेपालमा गणतन्त्र सम्भव भएको हो । नत्र त हजुर ! आज पनि ज्ञानेकै शासन हुन्थ्यो । पारसेसित त मेरो पनि एकपटक झगडा परेको नि हजुर । जे होस्, देशमा परिवर्तन आयो । अब राज्यको पुनःसंरचना हुनुपर्छ हजुर । समाज रूपान्तरण हुनुपर्छ । हजुरहरूले यो सबै गर्न सकिबक्सन्छ । जनताले हजुरबाट निकै ठूलो आशा राखेका छन् हजुर । हजुरहरू अघि बढिबक्स्योस् । हामी सहयोग गर्र्छौं नि हजुर । हजुरहरू योजना बनाइबक्स्योस्, हामी कार्यान्वयन गर्र्छौं । हजुरको अभियान र लडाइँमा हामी पनि सहयोद्धा भयौँ हजुर । बाचा भयो । हजुर, हल्का थपूँ ?’

‘हो हजुर ! इन्डियासित झुक्नु हुन्न । निकै पेलिसक्यो हरामले । हामीले स्ट्यान्ड लिनै पर्छ । उसले जे-जे भन्यो ,त्यै-त्यै मान्न हुन्न । हिजोमात्र दुई सय तीसवटा सीमा स्तम्भ उखेलेर लगेछ । हामीलाई रिपोर्ट आएको छ हजुर । यो इन्डियाले साह्रै हेप्यो । सीमा अतिक्रमण पनि अति नै भयो । हजुरहरूले यस विषयमा केही गर्नै पर्छ । जनताले हजुरहरूबाट धेरै अपेक्षा लिएका छन् । ए, ग्लास खस्यो । नो प्रब्लम हजुर । हैन-हैन, हजुरले किन ग्लास उठाइबक्सनुपर्‍यो ? हामी छौँ नि । अलिकति वाइन थपूँ है ? नयाँ ग्लासमा । हजुरलाई त फिटिक्क पनि छोएको छैन । बोली कति प्रस्ट छ हजुरको । हजुरले वाइन खाइबक्सेको भनेर कसले भन्न सक्छ र ? हजुर, त्यो अघि ठेक्काको कुरा गरेको थिएँ नि । त्यो ठेक्का जगदम्बा कन्स्ट्रक्सनलाई पारौँ है ? अनि मेरो एउटा सालो छ हजुर, दुर्गममा छ । यतै सार्न पाए हुन्थ्यो ।’

‘के रे ? पन्ध्र ग्लास रे । कहाँ हुनु हजुर ? मैले त गनेको । पाँच ग्लास मात्र हो । फेरि यो विदेशी वाइन कहाँ लाग्छ र हजुर ? यो हल गुम्म परेकाले हजुरलाई रिँगटा लागेको होला । नो प्रब्लम हजुर । वाइनले सब ठीक पार्छ । रेड वाइन त स्वास्थ्यको लागि अति राम्रो नि हजुर । डा. भूषण उपाध्याय पनि सधैँ राति सुत्ने बेलामा दुई-चार ग्लास रेड वाइन खाएर सुत्नु हुन्छ ।’

“हैन-हैन, वाइनमा कुनै प्रब्लम छैन हजुर । हजुरले स्न्याक्स केही लिइबक्सेन नि, त्यसैले हजुरको पेट मडारिएको मात्र हो । वान्ता हुन लागेको हैन हजुर । हजुरलाई लागेकै छैन । अनुहार धपक्क बलेको छ । बोली कति प्रस्ट छ । हजुरको खुट्टा लर्बरिएको होइन । बरु भुइँचालोको झड्का हो कि ? नेपाल भूकम्पको दृष्टिले अति संवेदनशील क्षेत्रमा पर्छ नि । त्यसैले हामीले थाहै नपाई स-साना झड्का भइरहन्छ हजुर । त्यै भएर हजुरको खुट्टा लर्बरिएको ।’

‘हजुर नआत्तिबक्स्योस् । हामी छौँ नि । हामी हजुरको साथ छाड्दैनौँ । हजुरलाई पूर्ण सहयोग गर्र्छौं । हजुरको आदर्श, निष्ठा र सिद्धान्तमा आघात पुग्न दिन्नौँ । अँ, यो सरुवाको फाइल । यो रातोचाहिँ बढुवाको । यो टेन्डरको । यो चैँ भुक्तानीको । हुन्छ हजुर, यहीँ फाइल सदर गर्दिबक्से हुन्छ हजुर । आहा, हजुरको ह्यान्ड राइटिङ कति राम्रो । सिग्नेचर पनि साह्रै राम्रो । अब अलिकति हल्का थपूँ है हजुर ? रेड वाइन त हो नि । रातो वाइन । हजुरको प्रिय रङको वाइन ।’

‘नो प्रब्लम हजुर । यहाँ अरू कोही छैन । हामी-हामी मात्र हो । हैन-हैन, त्यहाँ नबसिस्योस् । त्यो कुर्सी होइन, त्यो त कमोड हो हजुर । वान्ता त्यहीँ वासबेसिनमा गरिबक्से हुन्छ । नआत्तिबक्स्योस् । वाइनले खराबी गर्दैन । अलिकति अपच भएछ हजुरलाई ।’

‘ला, हजुर त लडिबक्सेछ । नो प्रब्लम । हामी छौँ नि । ए, फुस्क्यो ? खै-खै हजुर, म इजार लगाइदिन्छु ।’

‘के रे ? हजुरले हि्वस्की खाने ? हुन्छ हजुर । केही फरक पर्दैन । विदेशी रक्सीले केही खराबी गर्दैन । फेरि हामी सबै ब्युरोक्रेट्स हजुरकै अनन्य सहयोगी हौँ । हामीसित अप्ठ्यारो मान्नै पर्दैन ।’
‘वेटर, मन्त्रीज्यूलाई एक पेग ब्लू लेबल । छिट्टो । रत्नजी, छिट्टो खोज्नोस् त । मन्त्रीज्यूको जुत्ता । यतै कतै होला ।’

‘के रे ??? मन्त्रीज्यूको हरायो ???………होस कि जुत्ता ?

(श्रोत :- अन्तर्जाल अर्थात ईन्टरनेट)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.