~बुद्धिसागर~
०६१ साउन १३ गतेले मेरो जीवन नै फेरिदिएको छ। त्यो दिन सम्भि्कँदा म अझै थर्थरी काँप्छु। एउटा दिनले जीवनमा कति असर गर्छ? त्यो म सुनाउँछु-
मेरो नाम हो गोमा कार्की। म अहिले पच्चिस वर्षकी भएँ। मेरो एउटा छोरा छ। उसका बाले नाम सुमन राखेका थिए। अहिले उनी छैनन्। म शंखमुल खोलाछेउ बस्छु। कहिलेकाहीँ लाग्छ, मेरा आँखा पनि त्यै नदीझैं सुक्दै गएका छन्।
उनको नाम जीवन खड्का थियो। छोंटो जीवन लिएर आएका थिए। २७ वर्ष छोंटो उमेर होइन र? पहिलोपल्ट उनलाई मैले प्रकाशपुर-सुनसरीमा देखेकी थिएँ। त्यसबेला म एसएलसी पास भए पनि घरमै बस्थें। माइतीमा क्याम्पस पढाउने स्थिति थिएन। उनी फुपूको घर आएका थिए। मैले पछि थाहा पाएकी थिएँ, उनले आर्मीको जागिर छोडेका रहेछन्। उनका बा र दाइहरू सप्पै आर्मी रै’छन्।
भन्छन् नि, प्रेम त्यत्तिकै हुन्छ, भयो। उनले नै मलाई मन पराएका थिए। तर लभ त्यति चलेन। दुई महिनापछि उनले अचानक भनेका थिए, हिँड्, जाम्। तपाईलाई लाग्ला, म के/के बोकेर भागेकी थिएँ। सत्य भन्छु, एउटा म्याक्सीमा हिडेकी थिएँ। ब्याग बोक्यो भने घरमा थाहा पाउँदैनन् र?
उनी त विवाहित पो रहेछन्। तर श्रीमतीले छाडेर गएकी रै’छन्। उनी एक्ला थिए, मेरो साथ खोजिरहेका थिए। मैले साथ दिन खोज्नु के गल्ती थियो र?
०५६ फागुन ११ गते। दिउँसो चार बजे म सुटुक्क बसपार्क पुगें। उनले मलाई मोरङ पुर्याउँछु भनेका थिए। बसपार्क सानो थियो, अरूले चिन्ने डर पनि थियो। हामी बसपार्कमा अपरिचत भएर बस्यौं। कुरा केही भएन। म अगाडिको सिटमा बसें, उनी पछिल्लो सिटमा। म बेलाबेला पछाडि फर्किएर हेर्थें, उनी पनि मलाई नै हेरिरहेका हुन्थे। मन कस्तो चराझैं फुरूक्क भएको थियो।
राती आठ बजे उनले मलाई घर पुर्याए। बाटोमा केही बोलचाल भएन। शायद उनी केही सोंचिरहेका थिए। घरमा के भनुँ भनेर सोचिरहेका हुँदा हुन्। घरमा थिए, सासू-ससुरा र दुई नन्द। सबै मलाई देखेर अक्मक्किए। आखिर मैले त्यस घरको संघार टेके।
मोरङ, पचरको शिव मन्दिरमा उनले मेरो सिउँदो रंगाइदिए। त्यसबेला मेरो मुटु ढुक्क फुलेको थियो। मेरो विवाह पो भयो त, रोउँ रोउँ लाग्यो। आखिर बिहे त गर्नैपर्छ, मैले यस्तै सोंचे र मन बुझाएँ।
र, म विवाहित महिला भएँ।
****
०५७ मा छोरा जन्मियो। उनले नै नाम राखिदिए, सुमन। उनी खेतीपातीमै व्यस्त हुन्थे। सिजनअनुसारका तरकारी लगाउँथे। छोरो जन्मिएपछि हाम्रो जीवन रमाइलो भयो। न उनले कुनै सपना देखेका थिए, न मैले, त्यसैले हामी सुखी थियौं। सासू-सुसुरा र नन्दहरू पनि माया गर्थे। उनी दिनभर काम गर्थे र साँझपख गाउँ डुल्न हिंड्थे। सबैले राम्रै गर्थे, तर उनको प्रशंसा कतै सुनेकी थिइनँ। मरेपछि नै सप्पैले प्रशंसा गर्दा रै’छन्।
राती टिभीमा कता-कता बम पड्किएको, मान्छे मरेको समाचार हेर्दा म ठान्थें, यस्तो हामीलाई आइलाग्दैन। कता हो कता, मान्छे लडेका छन्, मरेका छन्। यी माओवादी भनेका को हुन्? कस्ता हुन्छन्? मलाई थाहा थिएन।
०५८ साल लागेपछि वनमा सल्केको डढेलो त हाम्रै घरसम्म आइपुग्यो। यसै वर्ष उनी ससुरासँग छुट्टिएका थिए। र, पनि सम्बन्ध राम्रै थियो। भदौ पहिलो हप्ता हो कि? एकदिन बेलुका पौने सात बजे, हामीले खाना खाइसकेका थियौं, भदौमा चाँडै रात पर्छ, त्यसैले।
त्यहीबेला उनीहरू आइपुगे। ढोका खुल्लै थियो। भित्रै सरासरी आए। ती चारजना थिए। एकजना त उनकी फुपूका ज्वाइ थिए। आउन त चिनेकै मान्छे आए। उनी एक वर्षअघि भूमिगत भएका थिए। मलाई थाहा थियो, उनी माओवादी हुन्।
ती असिनपसिन हुँदै साइकलमा आएका थिए। साइकल हाम्रै आँगनमा ठडिएका थिए। बन्दुक त देखिन, तर सप्पैले ब्याग बोकेका थिए। तिनको अनुहार उज्यालो भए पनि कपडा मैलिसकेका थिए।
कसैले पनि मसँग कुरा गरेनन्। उनलाई लिएर अर्को कोठामा गए, रातभर गुनगुन गरिरहे। म अर्को कोठामा अबेरसम्म बसिरहें। उनी बेला-बेला मेरो कोठामा आए पनि भन्दैनथे, के कुरा भइरहेको छ। उनी त्यो रात मकहाँ आएनन्, उनीहरूसँगै सुते। बिहान चार बजे, उनीहरू गए।
‘जाम् भनेका छन्। मलाई जंगल छिर्न मन छैन,’ उनीहरु गएपछि जीवनले मलिन आवाजमा भनेका थिए, ‘अब उनीहरूले मलाई छोड्दैनन्।’
उनीहरूले भनेका रै’छन्, ‘तपाई बन्दुक चलाउन जान्ने मान्छे, हामीसित जानुपर्छ।’
त्यसदिन उनी खुब छट्पटिएका थिए।
****
हामीलाई थाहा थियो नेपालको जुन कुनामा लुके पनि उनीहरूले भेट्टाउँछन्, छाड्दैनन्। कहाँ जालान् उनी?
एक हप्तापछि फेरि दुईजना केटा, दुईजना केटी साँझपख आएका थिए। एकदम थकित। एकदम भोकाएका। मैले खाना पकाइदिएँ। राती उनीसँग गुनगुन गरे, एकाबिहानै गए।
‘हामीसित आउने भए आउ,’ त्यसदिन उनीहरूले धम्काएका रहेछन्, ‘नत्र घरमा ताला लाइदिन्छौं, भाटा कारबाही गर्छौं, बुझ्यौ?’ त्यसै दिनदेखि म डराउन थालेकी थिएँ। भित्रभित्र लगलगी काँप्थें।
त्यो ०५९ साल थियो। हामीले धान काटिसकेका थियौं। धम्की दिनेहरू साइकलमा त्रास बोकेर आइपुग्थे। कतै बेपत्ता पार्छन् कि? कतै मारिदिन्छन् कि? म एकदम काँतर भइसकेकी थिएँ। तर, ‘म यसरी डराइरहेकी छु’ भनेर उनलाई भनिन।
‘म अब भारत भाग्छु,’ एकदिन उनैले भने, ‘बस्न दिन्नन्।’
****
भोलिपल्टै बिहान पाँच बजे उनी सुटुक्क हिंडे। त्यति बिहान त छाया पनि साथमा थिएन। हिंड्नेबेला उनले भनेका थिए, ‘हेर, म सबै साम्य भएपछि आउँछु, ख्याल राख्नू।’
उनी गएपछि म एक्लै हुनेछु, मलाई थाहा थियो। तैपनि मैले नजाउ भनिन। उनी गएको रात नरमाइलो लाग्यो। बित्थामा पठाइछु भनेर मुटु कट्कटी दुखिरह्यो।
आखिर एक्लै बस्नू लेख्या रै’छ।
उनी गएपछि सासू-ससुरा पनि इटहरी बसाइ सर्नु भयो। म झन् एक्ली भएँ।
उनी एक महिना कता हराए कता? पृथ्वीको कुन कुनामा छन्, मलाई के थाहा? एकदिन पिसिओको भाइले खबर गर्यो। आधा घन्टा हिंडेर म पिसिओ पुगें। म म्याक्सीकै भरमा हर्षले हिंडेकी थिएँ। उनी दिल्ली पुगेका रै’छन्।
फोनमा उनले सोधे, ‘मान्छे आ’छन् कि छैनन्?’
मैले त्यही कुरा सुनाइदिएँ- एकदिन छजना मानिस आएका थिए। तिनले ढोकाबाट सोधेका थिए, ‘जीवनजी हुनुहुन्छ?’
‘बाहिर जानु भा’छ।’
‘कहाँ?’
‘नेपाल छोड्नू भा’छ,’ मैले भनेकी थिएँ, ‘कहाँ हुनुहुन्छ, था’ छैन।’ त्यसपछि उनीहरू आउन छाडे। मेरो हंस मैसित थियो।
उनले महिना-महिना चिठी लेख्न थालेका थिए।
****
अचानक एकदिन उनी घर आइपुगे। त्यो ०६० चैतको उराठलाग्दो दिन थियो। राती नौ बजे म सुतिसकेकी थिएँ। उनले ढोका ढक्ढकाउँदै बोलाए- ‘गोमा…।’
मैले निद्राले लठ्ठिएका आँखाले हेर्दा उनी उस्तै थिए, जस्तो गएका थिए। गाला अलिकति पुक्क भएछन्। पिठ्यूँमा सानो झोला थियो। त्यसभित्र केवल उनका पुराना लुगा थिए।
‘साउसित झगडा पर्यो,’ उनले भनेका थिए, ‘सप्पै छाडेर आएँ।’ त्यसबेला युद्धविराम भएको थियो। त्यही सुनेर उनी घरतिर हुर्रिएछन्।
‘किन आ’को?,’ मलाई त्यसै डर लागेको थियो।
‘विस्तारै साम्य हुन्छ,’ थकित उनले भनेका थिए, ‘त्यतिञ्जेल लुकेर बस्छु।’
उनी यस्तरी लुक्न थालेका थिए, घरबाटै बाहिर निस्किदैनथे। काखे छोरासित खेलेर बस्थे। उनी घरमा छन्, कसैलाई थाहा थिएन।
तर एउटा मान्छे कहिलेसम्म लुक्नसक्छ र?
****
०६१, वैशाखको पहिलो हप्ता। सात बजेको थियो। म खाना पकाउने सुरसारमा थिएँ। उनी छोरासित खेल्दै थिए।
आँगनमा केही पद्चाप सुनिन थाले। तिनजना केटाहरू आएका थिए। ब्याग बोकेका। उनलाई बाहिरै बोलाए। उनी धर्मराउँदै गए। मैले सुनें, उनीहरू सोधिरहेका थिए, ‘कहिले आउनुभो?’ उनीहरूले फेरि रातभर गुनगुन गरे। हाम्रै घरमा सुते र बिहान गए। म त्यसबेला नजिकैको बोर्डिङ स्कुलमा पढाउँथें। पढाउन गएँ। म हिंड्दा उनी पिंढीमै बसिरहेका थिए, एकदम थकित।
जब म घर फर्किएँ, उनी थिएनन्। यताउता खोजें, कतै भेटिएनन्। कतै गा’होलान्, सोंचेर कुरिरहें। साँझ पनि आइपुगेनन्। छिमेकीहरूलाई सोध्न गएँ। ‘तीन/चारजना मानिस आ’का थे,’ उनीहरूले भने, ‘लिएर गए।’ कता लगे? मेरा गोडा लगलगी काँप्न थाले। उनी हराए।
पन्ध्र दिनपछि उनको फोन आयो। उनी त माओवादीसित जंगल छिरेछन्। उनले भने, ‘म सुनसरीमा छु।’ मलाई रोउँरोउँ लाग्यो। म केही बोल्न सकिनँ।
‘चिन्ता नलेउ। मलाई केही भएको छैन,’ उनले सान्त्वना दिए, ‘राम्ररी बस।’ बितेको दुई महिनामा उनलाई ट्रेनिङ पनि दिएछन्। उनको आवाज त्यसैले थकित र मधुरो थियो। जे भए पनि जिउँदै छन्, मेरो मन शान्त भयो।
जेठको दोस्रो हप्ता फेरि उनले फोन गरे। त्यसदिन उनी आत्तिएका थिए। ‘म चत्रामै छु।’ उनी किन यत्ति हतास? उनले भने, ‘दाइहरूलाई भन्दे, म घेराभित्र छु, निकाल भनेर।’
मैले उनका दाजु पवन खड्कालाई भेटें। उनी इटहरी ब्यारेकमा थिए र सुनाएँ- तपाईका भाइले यस्तो भनेका छन्।
‘ठीक छ। म ल्याउँछु,’ उनले यत्ति भने, ‘उसलाई मेरो मोबाइल नम्बर देउ।’
मैले उनलाई त्यही नम्बर टिपाइदिएँ, जुन उनका दाजुले दिएका थिए। त्यसपछि के भयो, मलाई थाहा छैन। उनले फेरि फोन गरेनन्।
केही दिनपछि म सासू-ससुरा भेट्न इटहरी आएँ। इटहरी आएकै दिन थाहा पाएँ, उनी त ब्यारेकमा छन्। सासूले भन्नुभयो, ‘यतै छ त।’
म ब्यारेक पुग्दा उनी ठीकठाक थिए। उनले सुनाए, ‘ह्याँ खानबस्न राम्रै छ। डर छैन।’ उनलाई अरू आर्मीझैं राखेका रै’छन्। जागिर छाडिसकेका भए पनि ‘ड्युटी’ बस्दा रै’छन्। ‘यसले माओवादीका गुप्त स्थान देखेको छ’ भन्दै गस्तीमा सँगै लैजाँदा रै’छन्।
उनको कुरा सुनेर मलाई चिसो भयो। यो त गतिलो लक्षण होइन। मैले भनें, ‘जाँ पायो त्यैं नजानू।’ उनले मेरो कुरा सुनेनन्।
‘मसित अरू आर्मी पनि त हुन्छन्, मलाई क्यै हुन्न,’ उनी बर्बराए, ‘म मरिहालें भने पनि सात लाख पाउँछेस्।’
८८८
असार लागिसकेको थियो। रातदिन पानी दर्किन्थ्यो। खेती सिध्याएर म माइती बस्न थालें। एक्लै बस्न डर लाग्थ्यो। म हप्ता-पन्ध्र दिनमा उनलाई भेट्न इटहरी गइरहन्थें।
०६१ साउन १२ गते। साँझपख उनी झल्याँस्स आइपुगे। उनलाई देखेर म अत्तालिएँ। किन आ’का होलान्? गाउँमा अझै खतरा छ। आमाले ‘ज्वाइ आउनु भो, काँक्रा काट्नू’ भन्नुभयो। उनी त ‘स्वास्नी बिरामी छ’ भनेर हिंडेका रै’छन्। मैले अत्तालिंदै सोधें, ‘किन आ’को?’
तर्सिन त उनी पनि तर्सिएका थिए, तैपनि भने, ‘आइहालें। बिहानै जान्छु।’ त्रासमा रात बित्यो।
‘बिहान जान्छु’ भनेका मान्छे त ‘खाना खाएर जान्छु’ भन्न थाले। ‘ठीकै छ नि खाना खाएर गए भो,’ मैले यस्तै सोचें, शायद गल्ती यहीँनेर भयो।
बिहान घरका सप्पै रोपाइँ गर्न हिंडेका थिए। घरमा उनी र ममात्र थियौं। म हतारहतार खाना बनाउँदै थिएँ। उनी छोरासँग खेलिरहेका थिए। गाउँकै एउटा केटो आएर सोध्यो, ‘दिदी, भिनाजू हुनुहुन्छ?’
‘हुनुहुन्छ,’ मैले भनिदिएँ। ऊ दगुरेर गयो। मलाई के था’ ऊ त सिआइडी गर्न आएको पो रै’छ। एकैछिन आँगनमा चारजना मानिस आइहाले। ती साइकलमा हुर्रिदै आएका थिए। एकजना त उनकै भिनाजू थिए। भिनाजूलाई देख्नेबित्तिकै उनको अनुहार कालो-निलो भयो। डर कस्तो हुन्छ, मैले त्यही दिन देखेकी थिएँ।
‘पर्तिर जाउँ,’ भिनाजूले भने, ‘अलिकति काम छ।’
‘टाउको दुख्या छ,’ उनी थर्थरी काँपे, आवाज पनि काँप्यो, ‘बिरामी छु।’
‘बरू, म औषधि किन्दिम्ला,’ भिनाजूले हात ताने, ‘हिंड्, आधा घन्टा त हो नी।’
‘नलानू के,’ मेरा हातगोडा लगलगी काँपे। उनीहरू लैजानलाई आएका थिए, लगेरै छाडे। बीचको साइकलपछाडि क्यारियरमा राखेर उनीहरू गए।
मेरो मन बुझाउने बाटो यत्ति थियो- लैजान त भिनाजूले नै लगेका हुन्। मारी त के हाल्लान् र?
****
आखिर भोलिपल्टै रेडियो र एफएमले यस्तो समाचार फुक्न थालेछन्- एउटा बेवारिसे लाश फेला परेको छ।
छोरीको घरबाट फर्किरहेका गाउँका दाइ रामप्रसादले पनि यस्तै खबर ल्याए। नालपुरको चौतारोमा उनले गुजुप्प परेको भिड देखेछन्। के छ त्यहाँ? उनी भिडभित्र छिरेछन्। त्यहाँ त एउटा मान्छेको लाश उत्तानो परेको पो रै’छ। अनुहार त रगतले छुलुप्पै थियो रे, नचिनिने। उनले ससुरालाई भनेछन्, ‘कपडाले जीवन नै हो कि जस्तो लाग्यो।’
आर्मीले नै प्रमाणित गरिदिएका थिए- उनी जीवन नै हुन्।
मैले खबर त्यतिबेला पाएँ, जतिबेला उनको पोष्टमार्टम गरेर दाहसंस्कारका लागि लगिसकेछन्। म ब्यारेक पुग्दा सप्पै घाट गएका थिए। मेरो संसार भननन् रिङग्यो। म घाट जान खोजें। आर्मीले जान दिएनन्। मेरोअगाडि अँध्यारो बादल मडारिंदै आयो।
पछि पो थाहा पाएँ, म त त्यहीँ बेहोस भएर ढलेछु। अरूले नै मलाई घर पुर्याएछन्। जब बेलुका म झल्याँस्स ब्युँझिएँ, मेरो सिन्दुर पखालिएको थियो। हातमा चुरा थिएनन्।
म विधवा भइसकेकी थिएँ। जोसँग केवल सुस्केरा हुन्छन्।
****
…अनि म बहुलाजस्तै भएँ। किनभने मेरो दिमागले काम गर्न छोडिसकेको थियो। मलाई लाग्थ्यो, उनी मरेका छैनन्। मैले उनको लाश देखे पो? झल्याँस्स… झल्याँस्स उनी आइपुग्छन् कि जस्तो लाग्थ्यो। म सोच्थें- उनी कतै घुम्न गएका छन्, फर्किन्छन्। झोला भुइँमा राखेर पिंढीमा थकाइ मार्छन्।
तीन वर्षको छोरो कता छ, के गर्देछ, मतलब थिएन। म आफू पनि के गर्थें, थाहा थिएन। जीवनमा यस्तो पनि हुँदोरै’छ। पछि अरूले भनेका थिए- म उनलाई खोज्न जान्थें। कहिले कता, कहिले कता।
बाटोमा कोही भेटियो भने, म सोध्थें, ‘जीवनलाई चिन्या छौ? कतै देख्या छौ?’
म पटक-पटक ब्यारेक जान्थे। बाहिर उभिएको आर्मीलाई भन्थे, ‘जीवनलाई बोलाई देऊ त।’
आर्मी भन्थ्यो, ‘ड्युटीमा गा’छ।’
‘कहिले फर्कन्छ?’
त्यसपछि ऊ बोल्दैन्थ्यो। दुई महिना लगातार धाएपछि उनको रूममेट आर्मीले भनिदियो, ‘ऊ मरिसक्यो, आउँदैन।’ मलाई अझै पत्यार लागेन। र, पनि त्यहाँ जान छोडिदिएँ।
अनि एकदिन मैले घर छाडें, माइती फर्किएँ, प्रकाशपुर। उनी नहुनुमा मेरो केही दोष थियो त? सासू-ससुराले त मलाई नै दोष दिए। पत्याउनुहुन्छ, मैले छोएको पनि खान छाडे। ‘तैंले गर्दा मेरो छोरो गयो।’ उनीहरू भन्थे, ‘तँलाई भेट्न गएर त यस्तो भयो। तँ अलच्छिना।’
माइती बस्न थालेपछि बल्ल म होशमा आएँ, ठूलो निद्राबाट ब्युँझिएजस्तो। पछि भाइ आयो र काठमाडौं ल्यायो। काठमाडौं आएपछि मैले बल्ल थाहा पाएँ कि मजस्ता कैयौं यस्ता महिला छन्, जसले श्रीमान फर्किन्छन् भन्ने आशा गर्देनन्। उनीहरूकै संगतले मलाई पनि लाग्न थाल्यो, उनी फर्किंदैनन्।
एक महिनापछि, म उनको बर्खी बार्न इटहरी फर्किएँ। र, उनलाई सम्झनाहरूबाट बिदा दिएँ।
****
०६२ देखि मैले क्षतिपूर्ति माग गर्न थालेकी थिएँ। यस्तो क्षति त के ले पूरा गर्थ्यो र? तैपनि खानै पर्यो। छोरोलाई हुर्काएर उसको बाटोमा छाडिदिनुपर्यो।
जिल्लामा गएर निवेदन दिएँ। ‘मारेको कसले हो’ भनेर जिल्ला प्रशासनले प्रमाणित गर्दो रै’छ। फाइलमा उनको नाम भेट्न गाह्रो भयो। डेढ वर्षमा कति धेरै नाम थपिएका हुन्? आखिर अनेक पानापछि उनको नाम भेटियो- जीवन कार्की।
क्षतिपूर्ति दिने की नदिने? निर्णय सात दलले गर्दो रै’छ। निर्णय के गरे, म के था’ पाउँथे? फाइल गृह मन्त्रालय पठाएछन्। जिल्ला-काठमाडौं, काठमाडौं-जिल्ला, म फनफनी रिङ्न थालें।
नागरिकता खोई?
विवाह दर्ता खोई?
नाता प्रमाणपत्र खोई?
मृत्युदर्ता खोई?
छि’ कति दुख्ख दे’का हुन्? जता निवेदन दियो, पैसाको खोला त्यतै बग्यो। आखिर ०६३ कात्तिकको अन्तिम हप्ता मेरो हातमा डेढ लाखको चेक थियो। के गर्नु, डेढ लाख? बिचरा भाइले सप्पै खर्च ब्यहोरेको थियो। भन्न त हुनी हो कि होइन, यताउता दगुर्दा यति पैसा त पहिल्यै खर्च भइसकेको थियो नि त।
पचास हजारले काठमाडौंमा जुस पसल खोलेकी थिएँ, त्यो पनि डुब्यो। बाँकी एक लाख पनि चोइटिंदै सक्किन थालेको छ। भाइ भन्छ, ‘दिदी यसरी चल्दैन, काम गर।’
काम त गर्नी हो, तर के गर्नी? अब त जीवनको बाटो एक्लै हिंड्नु छ। उनी भ’को र नभ’को फरक परिहाल्छ नी, हैन र? अहिले मनमा कुनै आक्रोश छैन। जसले उनलाई मारेको थियो, त्यो पनि त मरिसक्यो।
यति हुँदा पनि आशा त नमर्दो रै’छ, कहिलेकाहीँ निद्रामा उनले ढोका ढक्ढकाएजस्तो लाग्छ।
(श्रोत :- NagarikNews )