कथा : मैले भगवान देखें

~बुद्धिसागर~

०५५ भदौको दोस्रो हप्ता । बिहान नौ बजे । मैले २९ नम्बरको गोल्डस्टार जुत्ता गोडामा बाधें । मान्म बजार फन्का लगाएँ । जुत्ता टपक्क टाँसिएका थिए । पाइताला रापिला भए । म जुत्ता छान्न कहिल्यै जान्दिनँ । कि त ठूला छान्छु, कि साना । पछिसम्म थुकथुक भइरहन्छ । ‘अलिअलि टाइट छ । हिँडेपछि खुकुलो भइहाल्ला,’ यस्तो सोच्नु सबभन्दा ठूलो गल्ती थियो ।

‘राम्ररी जानू,’ हिँड्नेबेला आमाले भन्नुभो, ‘भीरैभीर नहिँड्नू ।’

बाटोमा छोराले खान पाउला कि नपाउला, आमाले सोच्नुभयो र बिहान रोटी पकाइदिनुभो । टिमुर, टमाटर र धनियाको अचार ।

बजारमा टिम तयार भइसकेको थियो । आठ जनाको । र, टिम लिडर थिए, बटालाजी । नामचाहिँ बिर्सें । बिरेन्द्रको सालिकछेउ उनको होटेल थियो । भाकल पूरा भएपछि फेरि जानुपर्छ, देवीको दर्शन गर्न, सबैले भन्थे । त्यसैले उनी जाने तयारीमा थिए । बाटो उनैले देखेका । हामी पछि लाग्ने भयौं ।

‘बडीमालिका’ को दर्शन गर्न जीवनमा एकपल्ट त जो पनि जानैपर्छ । भाकल पनि पूरा हुन्छ रे । त्यसो भए त जानैपर्ला । मसित पनि एउटा भाकल थियो । जो पूरा नभए, मेरो जीवनको बाटो अँध्यारोतिर मोडिन्थ्यो ।

बडीमालिका पुग्न कम्तिमा तीन दिन लाग्छ रे । बाटोमा रात परेर बास पाइएन भने कहाँ सुत्ने ? बटालाजीले भनेका थिए, ‘चिन्ता नलेउ तिमीहरू । मसित टेन्ट छ । बाह्रजना त अटिहाल्छौं नि ।’ त्यसो भए बेसै भयो ।

दमका रोगी र तल्लो जातका मानिसले जानुहुन्न, अर्को नियम थियो । बडीमालिका उक्लिँदै गएपछि, अक्सिजनको कमी हुने भएकाले दमका रोगीलाई गाह्रो पर्छ रे । तल्लो जातको मानिस गयो भने बडीमालिकाले श्राप दिन्छिन् रे ।

हाम्रो पसल छेउकै जगत सुनार त्यसैले डराइरहेका थिए । दोस्रो विवाहपछि पनि छोरा नभएपछि उनी निरास थिए । हिँड्नेबेला उनले सुटुक्क बोलाएर घरपछाडि लैजाँदै भने, ‘बाबुसाहेव । मेरो पनि भाकल गरिदिनुपर्ला ।’

उनले ‘सुनको पाउ’ कपडामा गाँठो पारेका थिए । मैले लिएँ । र, ब्यागको पछिल्लो पाकेटमा घुसारें । जगत दाइको भाकल थियो, ‘बडिमालिका माइ । यो बर्ख छोरो पाउँ ।’

दिन छ्याङ्ग थियो । सोचें, बाटोमा गाह्रो त नपर्ला । बटालाजी अघिअघि, हामी पछिपछि, सिधै ओरालो । सदरमुकामदेखि सेरीजिउलासम्म । सेरिजिउलाको पुल नाघेपछि, कर्णालीको किनारैकिनार समथल बाटो पर्छ, बटालाजीले सुनाएका थिए । नयाँ जोस र हर्षले ४५ मिनेटमै ओरालो झरेका थियौं । उक्लिन त दुई-तीन घन्टा नभै हुँदैन ।

समूहमा दुई केटी भएपछि, यात्रा त ‘भेज’ हुने भैगो । फेरि तिनीहरूको पसिना भरिएको रातो अनुहार एकदम रुन्चे भइसकेको थियो । कसरी हिँड्लान् यत्रो यात्रा ?

मलाई पिर तिनकै थियो । ‘दाइ हामी पनि जाने’ भन्दै पछि लागेका थिए, अब दुख्ख पाउने भए ।

दिनभरि तिनकै चिन्ता थियो । साँझपख भने अरूलाई मेरो चिन्ता सुरू भयो । पारि डाँडाको काखमा शान्त बसेको रास्कोटलाई दाहिने कुम पारेर हिाडिरहँदा, अचानक मेरा गोडा बांगिए । लुला भए । म फुर्लुङ पल्टिएा । सप्पै दगुरेर आए । ज्या, पिडौंला त अगाडि फर्किएछन् ।

पारिको रास्कोट फनक्क घुम्यो । त अब मरिने भइयो । बटालाजी अगाडि थिए । दगुरेर आए ।

‘के भो ?’

‘पिंडौला फर्कियो ।’

‘धै धै ।’ उनले मेरा पिंडौला मिचिदिए र भने, ‘हट त ।’

म जुरुक्क उठें र फुर्लुङ्ग पल्टिएा ।

अनि पो तल मधुरो टल्किरहेको कर्नालीको सन्नाटा हुइँकिादै आयो र सप्पैको अनुहारमा चड्कन लगाएर गयो ।

न त अगाडि बढ्न सकिएलाजस्तो छ, न पछाडि फर्किन ।

भोकले पो हो कि, यो मोरो हिँड्न नसकेको ? सप्पैले यस्तै सोंचे, र भने, ‘केही खाउ त ।’

बिहान आमाले प्रेमले झोलामा राखिदिएको रोटी खाएँ । टिमुरको रमरम पार्ने पिरोले ज्यान केही छ्याङ्ग भयो । कर्नालीबाट हुइँकिएर आएको चिसो बतासले भोकाएका ज्यानका कापकाप पनि सुम्सुम्याएर गयो । अब हिँड्न सक्छु कि ?

ल, गोंडा त फेरि बाङ्गिन्छन् । एक खुट्किलो उक्लियो कि पिडौलामाथि फर्किन्छन् ।

‘झोलाले हो कि ?’ बटालाजीले भने ।

एकजनाले झोला बोकिदिने भए । एकजनाले आफूले टेकिरहेको लौरी दिए । लौरी टेक्दै हिँड्दा सजिलो भयो । बाटो पनि समथल आइपुगेको थियो ।

म हिँड्न थालेपछि, बटालाजी खुसी भए । यात्रा नरोकिने भयो । उनी बेलाबेला चिर्र चिच्चाउाथे । चिच्चाहट पारिपारिका डाँडामा ठोक्किएर मधुरो हुँदै फर्किन्थ्यो । उत्तरतिर आकास छोएका पहाड थिए, हिउँको क्याप लगाएका ।

बटालाजीले त्यही पहाड देखाउँदै भने, ‘हामी भोलि त्यो डाँडामा पुग्छौं ।’

साँझको घामका गुलाबी धार सल्लाका मसिना पात छलेर तल झरिरहेका थिए । हामी सर्‍याक सर्‍याक हिाडिरहेका थियौं । ‘रात पर्नुअघि हामी गाउँ पुग्नुपर्छ, नत्र बास बस्न गाह्रो पर्छ,’ बटालाजीले भनिसकेका थिए । त्यसैले म पछिपछि खोच्याउादै हिाडिरहेको थिएा । जुत्ता साँच्चै नै साँघुरा भएछन् । बुढी औंलाका नङ् टनटनी दुख्न थालेका थिए । ओरालो आयो भने त भत्भती जल्थे ।

घाम पश्चिमतिर डुब्यो । उत्तरतिरको आकास भने झन् गुलाबी भयो । मनमोहक । हिँड्दाहिँड्दै आकासबाट रङ झर्‍यो । फिक्का निलो देखियो र तारा टिलपिलाउन थाले । खोडे चन्द्रमा आकासको किनारैकिनार हिँड्न थाल्यो ।

यता हाम्रा गोडा फत्तक्क गले । अँध्यारो र भीर सँगै आइपुगेका थिए नि त । संयोगवस बटालाजीसित एउटा टर्च रै’छ । मलाई त सुद्धि नै भएन, टर्च ल्याउने ।

‘हामी जसरी भए पनि त्यहाँ पुग्नुपर्छ ।’ बटालाजीले पर … टुकी बलिरहेको गाउँ देखाए । त्यहाँ पुग्न त अझै डेढ घन्टा लाग्ला । बाटो सजिलो भए पो । तल अँध्यारोमा हराएको कर्नाली छ, माथि पहरो । पहरामा झुस्स निस्किएका खर समाउँदै कसरी हिँड्नु ।

‘नाइँ म त सक्दिनँ,’ बबिताले गोडा बजारी ।

‘नडराउ,’ बटालाजीले सम्झाए, ‘बाटो ठूलै हो, अँध्यारोमा नदेखिएको हो ।’

यत्रो हुन्छ बाटो ठूलो ? एकमिटर चाक्लो पनि छैन । बाटामा फेरि ढुंगा हिस्स हाँसेका छन् । म किन आएँ हुँला ?

थुक्क । आफैंलाई चिर्थोन मन लाग्यो । के गर्छस् मंगले, आफ्नै ढंगले । मैले पहराका पातला खर समाएँ । झोला अर्केले बोकिदिएको थियो । त्यसैले अलिकति सजिलो भयो । चिप्ले किराझैं सर्देसर्दे अघि बढ्दा कोही बोले त मरिजाउँ । खत्राक्क ढुंगा खस्यो भने बटालाजी सप्पैको नाम लिन्थे । कोही गयो कि ?

रातको साढे दश बजे, अघि लाग्दै बटालाजीले एउटा घरमा पुर्‍याए । हामी लहरै अँगेनाको छेउमा बस्यौं । मैले हतारहतार जुत्ता फुकालें । हत्तेरी बुढी औंलाका नङ त छुनै नहुने भइसकेछन् । छोयो कि चसक्क दुख्छन् ।

‘राति आयौ, के मीठो पकाउन सकिएला र,’ अँगेनाछेउ ट्वाल्ल पर्दे बसेकी बुढी महिलाले भनिन् । उनी त निदाइसकेकी रै’छन् । बटालाजीले ‘फुपू’ भन्दै ढोका ढक्ढकाएका थिए ।
मोही र तोरीको सागसित खाएका मकैका बाक्लाबाक्ला रोटी अहिलेसम्म यति मीठो लागेको थिएन ।

बाहिर चिसो स्याँठ चल्न थालिसकेको थियो ।

फुपूले थाकेका दुई बहिनीलाई भित्र कुनै कोठामा सुत्ने व्यवस्था मिलाइदिइन् । बाँकी हामी भने पुत्ताइरहेको अँगेनाको छेउमा लहरै लम्पसार पर्‍यौं । घरको धुरीमा खातमाथि खात लागेको ध्वाँसो हेर्दाहेर्दे म त निदाएछु ।

निद्रा भने एकदम पातलो । नङ कम्मलमा दरिँदा झिल्का दिमागका चेपचेपमा ठोक्किन्थ्यो । बटालीजीको बाघजस्तो घुराइ । सल्याङबल्याङ ज्यानभरि हिँडिरहेका सक्सकाहट र उपियाँले पनि मेरो थकानलाई जित्न सकेनन् ।

पहिलोपल्ट मैले कुनै सपना देखिनँ ।

‘ऊ त्याँ पुगेर खाना खाउँला,’ बटालाजीले देखाए ।
बाटालाजीले देखाएको पहाड परै छ । कसरी पुगिएला त्यहाँ ? पातले ढाकेको पहाडबाट मसिनो धुवाँ उठिरहेको थियो । खर्क होला ? दुध र रोटी त खान देलान् नै ।
हामी धुवाँ हेर्दे तन्किरहेका थियौं, त्यतैतिर ।

हिजो दिनभरिको हिँडाइले सप्पैका पिडौंला, पिठ्यूका पाता र घुँडा दुखेका रै’छन् । पालैपालो सप्पैले पोल खोलेका थिए । एक बज्न लागिसकेको थियो । सबैका झोला खानतलासी गर्दा जे/जे भेटिए, चाउचाउ, बिस्कुट, सप्पै सकिए । यात्रामा भोक ज्याद्रो हुादो रै’छ, म बुझ्दैछु ।
जंगलैजंगलको बाटो । दिउँसै अँध्यारो । ओस्सिएका माकुराको जाल । तिनै जालमा अल्झिएर काँपिरहेका सुकेका पात । जंगललाई सन्नाटाले निलेको छ । किनकिन मलाई पछिपछि हिँड्न डर लागिरहेको छ, झुस्स निस्किएर केहीले तान्छजस्तो ।

पहाडैपहाड फनक्क घुमेको बाटो पनि कहीँकहीँ पहिरोले भत्काइदिएको छ । बाटोमा कुनै मानिसको पद्छाप भेटिन्नँ । जंगलमा कतै पनि मानिसको गन्ध छैन ।
हामी त लुखुरलुखुर हिँडेको हिँड्यै । ओरालो आउँदा सप्पै कन्छन् । ओरालो हिँड्नुभन्दा त उकालो हिँड्नु ठिक, सप्पै ठान्छन् । उकालो त आफ्नै गतिमा हिँड्न पाइन्छ । ओरालोले त हुत्ताउँदै तल तान्छ ।

कटटटट.. घुँडा बज्छन् । मेरो भने हाल झन् गएगुज्रेको थियो । बूढी औंलाका नङ अहिले नै र्झछन् कि के हो ? कस्तो टनटनी दुखेको हो ।
समथल बाटो आइपुग्यो भने बटालाजी जिस्किन्छन् । केटीहरू लजाउँछन् । ‘भाकल के माग्छौ ?,’ बटालाजी पछाडि फर्किएर हेर्छन्, ‘पोइ ?’
हिहिहिहि … हामी हाँस्छौं ।
केटीहरूको अनुहार बिग्रन्छ ।
बिचरा पछिपछि हिँड्छन् । यसरी हिँड्न नसक्नेले ‘जान्छु’ भनेर मरिहत्ते किन गर्नु नि ?
साढे दुई बजेतिर हामी सर्‍याकसर्‍याक तीनवटा मौन खर्क छेउमा पुगेका थियौं । खर्कमा त्यति गोठाला थिएनन् । स्याउलाले बारेका । खरले छाएका । चिसोले झोक्राएका खर्कमा कसरी बस्छन् गोठाला ?
‘कहाँदेखि आउनु भा’को ?’
चुलोको छेउमा टाङ फैलाएर बसेको गोठालो छक्क पर्छ ।
‘मान्मबाट ।’
उमेर त्यै बीस वर्ष त होला नि । सर्टबाहिर सुइटर र सुइटरबाहिर कोट लगाएको गोठालोले रोटी बनाइदिने भयो । उसको अनुहारमा ध्वाँसो जमेको छ । मान्छे नै नआउने यो जंगलमा कसलाई अनुहार देखाउनु र धुनु, हैन त ? उसले खानाको रेट सुनायो, एक रोटीको बीस रूपैयाँ । दुध फ्रि ।
‘म पोहोर साल मान्म गएको थिएा,’ उसले केटीहरूलाई हेर्दे भन्यो, ‘अहिले कस्तो भा’छ ? चिलगाडी आउँछ ?’
‘आउँछ,’ बटालाजीले भने, ‘कहिलेकाहीँ त दुई-तीनवटै आउँछन् ।’
हामीले झोला अब चाहिँदैन जसरी खर्क बाहिरको चाक्लो ढुंगामा पछार्‍यौं । पालैपालो बोकिएको टेन्ट पनि पछारियो ।
आज त्रिवेणी नपुगी हुादैन, बटालाजीले बिहानै उर्दी जारी गरेका छन् । नत्र भोलि बडिमालिका पुग्न सकिँदैन । सप्पै पुगिसक्छन् ।
मकैको रोटी र दुध खाएपछि ज्यान अलिकति तङ्गि्रयो । करिब तीन सय रूपैयाँ कमाएर गोठालो मख्ख पर्‍यो । ‘फर्किँदा पनि यही बाटो आउनुहोला,’ उसले भनेको थियो । बटालाजी भने फर्किँदा अर्को बाटो आउने मुडमा थिए ।
‘परार त म पनि गएको थिएा,’ हिँड्नेबेला गोठालाले भन्यो, ‘यसपालि साथी गए, म जान पाइनँ । भाकल पूरा भएपछि जानुपर्छ रे । अर्को वर्ष जान्छु ।’
मैले आफ्नो भाकल मनमनै दोहोर्‍याएँ । पूरा भए त संसारमा मजति खुसी को हुने ?
दुइटा पहाड उक्लिएपछि, मूलबाटोमा अरू स-साना बाटा गाँसिए । कताकता मानिसले गीत गाएको सुनिन थाल्यो । ठूलो ढिस्को उक्लेपछि, माथि अर्को ढिस्को उक्लिरहेका मानिसको रंगीचंगी लहरो देखाउादै बटालाजीले सुनाए, ‘ती अछामी होलान् ।’
पहरा-पहरामा मादलको रन्को ठोक्किँदै मधुरो हामीसम्म आइपुग्यो । सिधै आकास उक्लिरहेजस्ता मानिस देखेर अलिकति साहस आयो । लाग्न थाल्यो, हामी आजै त्रिवेणी पुग्छौं । बटालीले तर्साएका छन्, ‘ढिलो पुग्यो भने टेन्ट गाड्ने ठाउँ पनि पाइन्नँ ।’

बाटो छेक्न आइपुगेका रूखका लहरा पन्छाउँदै उकालो उक्लिनु चानचुने कुरा होइन के । एउटा ठू्लो ढिस्को उक्लेपछि, बल्ल छ्याङ्ग भयो । उज्यालो भयो । आँखाले जति टाढा हेरे पनि भयो । मसिना दुबाले भरिएका स-साना ढिस्काले हामीलाई कुरिरहेका थिए । बाजुरा-कालिकोट-अछाम र जुम्लाका सबै बाटा यहीँनेर आएर जोडिँदा रै’छन् ।
बाटोभरि फूलैफूल । राता, नीला, रंगीबिरंगी । धेरैका नाम त कसैलाई थाहा छैन रे । केटीहरूले हुर्रिँदै फूल टिपे र गुच्छा बनाए ।
हामीजति अघि बढ्दै गयौं, उति मानिस भेटिादै गए । कोही बाजुराका । कोही अछामका । कोही जुम्लाका । छक्क परेका केही गोरा साहेब पनि भेटिए, जसको गर्धनमा ठूला क्यामरा झुन्डिएका थिए । र ती फोटा खिचिरहन्थे ।
एउटा ढिस्कोको बीचमा गुजुप्प भीड थियो । एकजना अछामका वृद्ध घोप्टो परेका थिए । दम फुलेछ । छाती तलमाथि भैरहेको थियो । एक-दुईजनाले माथि नजाने सल्लाह दिए । तर उनले मानेनन् ।
‘यहाँसम्म आएर भगवान नभेटी कसरी जाउँ ?’
उनको प्रश्नको जवाफ कसैसित थिएन ।
उकालो उक्लिँदा खरो हुन्थ्यो । कति मानिस काँक्रा टोकिरहेका थिए । त कतिले लठ्ठी बनाएका उखु लुछिरहेका थिए । यी सबै कुरामा बटालाजीले अल्मलिन दिएनन् । कतै सुस्ताउन पनि दिएनन् । उनले पटकपटक भनिरहे, ‘त्रिवेणी आउनै लाग्यो । चाडो हिँड ।’
साँझपख वरिपरिका पहाडका चुचुरा गुलाबी भए । आकास रङ पोतिएझैं भयो । पर … फराकिलो फाँट देखियो । फाँटको पल्लोछेउमा पाँच-छवटा घोडा दगुरिरहेका थिए भने वल्लो छेउमा गुजुप्प परेका पाल थिए । फाँटैभरि पालैपाल । शान्त । बटालाजीले अनुहार उज्यालो बनाउादै भने, ‘त्यै हो त्रिवेणी ।’
त्रिवेणी जति नजिक हुँदै गयो, उति मानिसको आवाज चर्को । दुबो भरिएको माटो थिलथिलो थियो । टेक्दा भासिन्छजस्तो । तर भास्सिएन । ठाउँ नै यस्तो ।
फाँटका छेउछाउ मानिस टुक्रुक्क बसेका थिए । केही खोजेझैं । बटालाजीले सुनाए, त्यहाँ कहिलेकाहीँ धानका बाला भेटिन्छन् । बाला भेट्ने मान्छेले सोंचेको कुरा पाउँछ ।
तर, अहिलेसम्म कसैले भेटेको पत्तो उनलाई छैन ।
एउटा नदी बाजुरातिरबाट आएको थियो, अर्को जुम्लातिरबाट । दुवै नदी गाँसिएर कालिकोटतिर बग्दा रै’छन् । त्यसैले त्रिवेणी भनिादो रै’छ । नदीको पानी एकदम चिसो । हिउँ छोएजस्तो । हात पछिसम्म झन्झनाउने । विस्तारै फाँटलाई हुस्सुले छोप्दै गयो । अँध्यारो भयो ।
‘थुक्क बटाला ।’
पाल गाडेर आएका साथीहरूले सुनाए- टेन्टमा त जम्मा चारजना अट्ने रै’छन् । बटालाले धोका दियो ।
चिसो स्याँठ चल्न थाल्यो । काखी पनि चिसिनेगरी । टेन्टमा दुई केटी, बटाला र गोपाल साहुजी सुत्ने भए । असल छन्, केटीको हेरविचार गर्छन्, हामीले ठान्यौं ।
अब पालपाल चहारेर चिया पिउँदै रात काट्न कति गाह्रो होला ? मेरो तल्लो पेट कटक्क दुख्न थाल्यो । बूढी औंलाका नङमा बेस्मारी किला पसेझैं भयो । मुर्छा पर्छु कि के हो ?

यसरी त रात कहिल्यै छ्याङ्ग पारेको थिइना । बिहानपख आकासमा बादल मडारिन थालेका थिए । घाम लाग्दैनजस्तो छ । ज्यान तन्काउादै बटालाजी खोज्दै आए । सुरुपसुरुप तातो दुध चिया पिइरहेको देखे र टाढैबाट कराए, ‘चाडो नुहाउ । हिँड्नुपर्छ ।’
म टेन्टबाट सर्ट र पाइन्ट झिकेर नदीतिर हुत्तिएा । टेन्टमा केटी थिएनन् । नुहाउन गए होलान् । नदीमा कति हुन् मान्छे ? झ्याम्म डुब्थे र चिच्याउँदै बाहिर निस्किन्थे ।
म कसरी डुबुँ ?
मर्ने भएा ।
आखिर अबेरसम्मको ठास्ठासीपछि मैले झ्याम्म नदीमा हामफालें । निस्किँदा त म तुषारो भइसकेको थिएा । दाँत कट्कटिएका थिए ।
लौ । मारमार सुरू भो । म कता भागुँ ?
लामो लिङ्गोमा गजुर बाँधिएको थियो । प्रत्येक वर्ष गजुरका लागि तीन जिल्लाको मारमार हुँदो रै’छ । कथा पनि त छ, गजुर जुन जिल्लाले तान्छ, बडीमालिका त्यही जिल्ला जान्छिन् । कति त घाइते पनि हुँदा रै’छन् । यसपालि बडीमालिका बाजुरा जाने भइन् ।
यसमा भने बटालाजी खुसी थिएनन् । उनी पक्का कालिकोटे । झन्किएका थिए, ‘हाम्रा केटाको तिघ्रामा बल रहेन ।’
अघिअघि लिङ्गो पछिपछि घुइँचो । यति मान्छे आउलान् त, मैले सोंचेकै थिइना । झन् बटालाजीले थपिदिए, ‘यसपालि मान्छे घटेछन् ।’
सयौं मानिससित उकालो उक्लिँदा त ज्यान पनि थाक्दो रै’नछ । आकासमा डम्म परेका काला बादल बेलाबेला मडारिन्छन् । आकास झोल्लिएर ह्वात्त खसुलाझैं गर्छ । उकालो पनि नाकको डाँडीजस्तो ठाडो । हाम्रो समूह तितरबितर भइसकेछ । केटीहरू देखिएनन् ।
बाटो डेढ मिटर चाख्लो होला । यताउता भीर छ । भीरबाट तल हेर्‍यो भने मात्रै अँध्यारो । हुरी चल्न थालेको छ । ह्वात्तै उडाएर पाताल पुर्‍याइदेला भन्ने डर । ओस्सिएका ढुंगामा लेउ जमेका छन् । स्वात्त चिप्लायो भने कहाँ पुर्‍याउला ।
‘बम भोले ।’
मापाको बाबाजी । कस्तो डर नला’को हो ? भीरमाथि तेर्सिएको ढुंगाको पुछारमा गौतम बुद्धझैं बसेको छ । कसैले छक्क परेर हेरे भने ‘बम भोले’ भन्दै चिच्चाउँछ । खोई जोगी पनि कहाँबाट आइपुग्छन्, यस्तो भीरमा ?
‘ल हेर बुकी फूल ।’
कसैले देखायो । नाम धेरै सुनेको फूल पहिलोपल्ट देखें मैले, भीरमाथि । घीउमा नीलो मसिका धर्का बसेजस्तो बुकी फूल ।
‘ल हेर डाँफे ।’
डाँफे डाँडाको पल्लो पुछारमा थियो । भुर्र उड्यो र कालाकाला बादलमा हरायो ।
फाट्टफुट्ट पानीका थोपा खस्न थाले । बर्सा हुने भो । छाता छैन । भए पनि हुरीले के अडिन दिँदो हो ? के गर्ने होला त ? ज्या, बर्सा त भइ नै हाल्यो ।
हुर्रहुर्रिँदै मानिस पहाडको कोखाकोखामा अडेस लाग्न थाले । म अल्लमलिएा, के गरूँ ? आफ्नो समूह त कता छुट्यो, कता ? टाढाटाढाबाट कुहिरो उडेर आयो र बाटो अँध्यारो बनायो ।
अब पर्खिएर हुन्न । मानिस उक्लिन थाले । चिसो स्याँठमा भिजेपछि, ज्यान बच्ला त ? जे पर्लापर्ला । म रूझ्दै हिडें । जुत्ता रूझ्न थाल्यो । मोजा भिज्यो । र, टनटनी दुख्न थालेका नङमा पानी भरियो । चहराउन थाल्यो । पेट खल्लो भयो ।
‘ल बासुकी धारा आयो ।’
बासुकी धारामा ननुहाई माथि जान पाइन्नँ । माथिको ढिस्कोको टुप्पामा बडीमालिकाको मन्दिर थियो । बाटोभन्दा दुई सय मिटर पर … रै’छ, बासुकी धारा । लाइन तयार । लाइनको बीचमा म ।
कुलकुल बासुकी धाराबाट पानी झरिरहेको थियो । म त छक्क । यस्तो भीरमा पनि सिमेन्टको धारा ? कसले बनायो होला ? म ज्यानमा पानी छर्केर शुद्ध भएा । नुहाउनलाई त ज्यान बाँकी कहाँ थियो र ? सप्पै पानी छर्किंदै, दसैंको बोकाझैं थर्थराउँदै फर्किरहेका थिए ।
ल, आइपुग्यो, मन्दिर । अब यहाँभन्दा माथि उक्लिनुपर्देन । किनभने उक्लिने ठामै छैन । माथि त आकास छ रोइरहेको । मन्दिर वरिपरि पाल गाडिएका थिए । कुनैकुनै पालमुन्तिर लगलगी काँप्दै मानिसहरू चिया सुक्र्याइरहेका थिए ।
बटालाजी भेटिए ।
‘कता हरा’को’ भन्दै तानेर लगे । टेन्ट गाडिसकेछन् । बिहान नभै दर्शन पाइन्नँ । टेन्टमै खुम्चिएर रात काट्नुपर्छ रे । पानी नपरे त रात काट्न सजिलै हुन्थ्यो रे । नाच्यो गायो । शिखरमा उभिएर तल नियाल्यो । यसपल्ट त रद्दी भो, बटालाजी बेलाबेला मुमुर्रिन्थे ।
बडीमालिकाबाट ‘राजापुरको बत्ती देखिन्छ’ भन्ने सुनेको थिएँ । हेर्न नपाइने भो ।
संयोगवस खानलाई एउटा पाल पसलमा पुरी तरकारी पाइयो । अब रात कसरी कट्ला ? पाल उडाउालाझैं हुरी चल्छ । ह्वात्त पानी भित्र छिर्छ । सप्पैका ओंठ नीला भइसकेका थिए । अघि त मानिसले भजन गाउाथे, यसपल्ट त हुरी र पानीले रातभरि भजन गाइरहे ।
‘उठ् दर्शन गर्ने बेला भो,’ बटालाजी कराए, ‘लाइन लाग्नुपर्छ ।’
बिहानको तीन बजेछ । पानी थामिएछ । टेन्टमा सबै निदाएछन् । मैले ढल्किएको टाउको उठाएा । ओंठका चेपचेपबाट र्‍याल चुहिएछ, पुछेँ ।
ब्याग खोतलखातल पारेा । आमाले ध्वजा, अगरबत्ती पोको पारिदिनुभएको थियो । फेला पारेँ ।
हे दैव के भो ? जगत सुनारको सुनको पाउ त भेटिँदैन । कुनै गोजीमा पनि छैन । कहाँ गयो ? भननन रिङगटा चल्यो । कसलाई भनुँ ?
दर्शन गर्दा जुत्ता लाउनु हुँदैन रे । जुत्ता खोलेा । ओहो, दुवै बूढी औलाका नङ त फक्लक्क बाहिर निस्किएछन् । हावाले छुँदा पनि चसक्क दुख्छन् । म घाइते पाइताला लतार्दे मन्दिरतिर लागेा । लाइन लामै रै’छ । छ नबजी पालो आउलाजस्तो छैन ।
टङटङ कसैले घन्टा बजायो । मन्दिरको अगाडिपट्टि ठूलो घन्टा झुन्डिएको थियो । मैले सुनेँ- राजा बिरेन्द्रले हेलिकोप्टरमा त्यो घन्टा पठाएका हुन् रे । एक क्विन्टलको ।
भुइँमा पातलो तुषारो जमेको थियो । खाली गोडा । चिसो तालुतिर सर्न लाग्यो । हिजो रूझेका कपडा झन् ठिहिर्‍याउन थाले । रगत जम्लाजस्तो भयो ।
लाइन अघि सर्न थाल्यो । चिप्लेकिराझैं । पूजा सुरू भएछ । अबेरपछि, आकास विस्तारै उज्यालो हुँदै आयो । टाढाटाढाका पहाड टल्किन थालेका थिए । हिउँको टोपी लगाएका । हामीभन्दा तल । के म पृथ्वीभन्दा माथि छु ?
लाइन त अगाडि सर्दै गयो । तर मेरा गोडा भने जम्न थाले । बूढी औंलाको दुखाइ दिमागतिर सर्न थाल्यो । खाली पेट बाउँडिन थाल्यो । म आफूलाई थाम्नै सक्दिनँ कि के हो ? लाइनको पछाडिपट्टि एउटा चिच्चाइरहेको थियो, ‘बम भोले ।’ आफूलाई उभिन गाह्रो छ, त्यो भने त्यस्तरी चिच्चाइहेको छ, तागत कहाँबाट आउछ ?
अब त अति भो । उभिनै सक्दिनँ । फुर्लुङ पल्टिन्छु कि के हो ? ‘बम भोले’ मा अरूले पनि आवाज थप्न थालेछन् । सारा मन्दिर बम भोलेले रन्किन थाल्यो । अब म ढलेँ ।
हिउँझैं जम्न थालेँ ।
के भो कुन्नि । मेरो मुखबाट अचानक निस्कियो, ‘बम भोले ।’
भननन रिंगटा चल्यो । आँखाअगाडि अँध्यारो भयो । त्यही अँध्यारो चिर्दे, एउटा उज्यालो झिल्का स्वात्त गयो ।
मैले भगवान देखेँ ।
‘बमभोले,’ फेरि सारा मन्दिर उछिट्टनिेगरी सबै कराए । म पनि थपिएँ । ज्यान अलिकति तात्यो ।
मैले बल्ल बुझेँ । किन यसरी सबैले बम भोले भन्न थालेका छन् ? बम भोले भन्दा ज्यानमा रगतको रफ्तार बढ्दो रै’छ । चिसोले जम्न थालेका अंगहरू तात्दा रै’छन् । त्यसपछि त अबेरसम्म ‘बम भोले’ ।
मेरो पालो आयो । ढोकाबाट भित्र चिहाएँ । धुप बलेको थियो । अगरबत्तीको धुवाँ फैलिएको थियो । ढुंगामा खोपिएकी बडीमालिका रातो कपडाले ढाकिएकी थिइन् ।
मैले अगरबत्ती, ध्वजा र पचासको नोट पुजारीलाई दिएा । उनले लिए । जगत सुनारको भाकल मनमनै बर्बराएँ, ‘बडीमालिका, यसपालि जगत सुनारको छोरा होस् ।’
पुजारीले रातो टिका लगाइदिए ।
अब पालो आफ्नो भाकलको । मैले भाकल गरें, ‘बडिमालिका यसपालि मलाई एसएलसी पास गराइदेउ । पास भएँ भने अर्को पालि पनि आउँछु ।’
….
आखिर म एसएलसी पास भएँ । गुड सेकेन्ड डिभिजन । गणितमा बत्तिस नम्बर । जगत सुनारले छोरो पाए । भाकल पूरा गर्न फेरि म बडीमालिका गएको छैन । भाकल पूरा गरेन भने श्राप लाग्छ रे । बीचमा जनयुद्धले जान पनि पाइएन । एकपल्ट फेरि जानु छ, कुनै दिन ।
भगवानले मलाई पर्खिरहेका होलान् ।

(श्रोत :- NagarikNews )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.