कथा : बिरानो सहर

प्रदीप बगाले~

ढलमात्र बगिरहेछ । नदी भन्नै नसकिने । यहीँको कञ्चन पानीमा पौडी खेलेका बाल्यकालीन संस्मरण भ्रामकजस्तै लाग्छन् अहिले । नदी साघुरिँदै गयो । किनारका जग्गा अतिक्रमण गरेर टहरा ठड्याइए । राजधानीभित्रकै उक्त दृश्य राज्यले देखेन ? वा मौन रह्यो ? वा राज्य साँच्चै निरिह छ?…

न बिजुली छ, न खानेपानी, न त ढलनिकास नै । लाग्छ, दुःखबाहेक केही छैन नदी किनारको यो बस्तीमा। ‘देह व्यापार नियत वा नियती ?’ यसै शीर्षकमा सर्भे गर्दैछु म यस बस्तीमा।

‘म मेजर इङ्लिसमा स्नातक छु,’ नगरवधु सम्पदाको भनाइ । अंग्रेजी राम्रो बोल्दिरहिछ ऊ । अंग्रेजी र नेपाली साहित्यका केही हस्तीहरुका कृतिमाथि समेत समीक्षा गरी उसले । यस्ता विदुषी पनि यति निकृष्ट, उपेक्षित अनि अवहेलित पेशा अंगाल्न सक्छन् ? विश्वास गर्न सकिरहेको थिइनँ म । तर वास्तविकता त्यही थियो, विभीषक । हो, ऊ एउटी बेश्या थिई, शिक्षित । अशिक्षितहरुले मात्र देहव्यापार गर्छन् भन्ने संकीर्ण मानसिकतालाई लोप्पा ख्वाउने, चुनौती दिने।

‘शिक्षित रै’छ्यौ, इज्जतिलो पेशा अंगालेर समाजमा सम्मानीत सदस्यका रुपमा रहन सक्थ्यौ,’ आफूभित्र उम्लँदो ज्वालामुखीको प्रवाह रोक्न सकिन मैँले।

‘ .. .. …’ मलाई चुपचाप हेरिरही उसले, निरपेक्ष।

‘तिम्रा अगाडि अर्को विकल्प थिएन र ?’ सोधेँ मैले।

‘थिएन,’ बोली ऊ । परेलीमा उत्रेका आँशु लुकाउन अर्कै दिशातिर फर्की।

‘किन ? कसरी ?’ मेरो प्रश्न।

‘केही बाध्यता, केही विवशता…..’ सुस्केरा छोडियो ऊभित्रबाट, …समयको प्रवाहसँगै समाजका विभिन्न पक्षको छाप छोडिँदै गयो ममा, केही जवरजस्ती लेखिइयो समाजद्वारा नै । आफूमाथि जवरजस्ती लेखिएका त्यस्ता अनपेक्षित हस्ताक्षरहरुलाई समेत चुपचाप अँगीकार गर्न बाध्य बनेँ म बाँच्नुको विवशतामा । तिरस्कृत, घृणित पाटाहरुलाई समेत स्वीकार गर्न विवश बनेँ । वेश्यावृत्ती मेरो नियत होइन, नियती हो । समयले मलाई वेश्या बनायो।’

‘कसरी ?’ सोधेँ मैँले।

‘गाउँकै बोर्डिङ स्कुलमा शिक्षिका थिएँ म, नैतिकताका पाठ पढाउने । शनिवारको दिन थियो, म खोलामा लुगा धुन गएकी थिएँ । लुगा धोएर घर फर्कँदा मैँले आफ्नो जीवनकै सबैभन्दा दुर्भाग्यपूर्ण क्षणको सामना गर्नुपर्‍यो । हो, देशमा विद्यमान द्धन्द्ध प्रतिद्धन्द्धको भुमरीले मेरो सानो संसारलाई ध्वस्त पारिसकेको रहेछ। बम प्रहारका कारण हाम्रो घर खण्डहरमा परिणत भैसकेको थियो । ध्वस्त संरचनाबाट निरन्तर धुवाँ उडिरहेथ्यो । गाउँलेहरुको भीड पन्छाउँदै आँगनमा पुगेँ म । देखेँ, बिष्फोटनका कारण बुबा, आमा, भाइ एवँ बहिनी चारै जनाको मृत्यु भैसकेको रहेछ । हाम्रो परिवार कुन पक्षद्वारा किन मारियो ? उत्तर थिएन मसँग, न जिज्ञासा नै । अकारणै पनि मारिन्थे मानिसहरु यहाँ।

‘तिमी पनि खतरामुक्त छैनौ । सदरमुकाम जाऊ, त्यतै कुनै इलम गरेर बस,’ सामूहिक रुपमा सल्लाह दियो समाजले।

‘….आफ्नो ज्यान जोखिममा पर्ने कुनै गल्ती गरेकी थिइनँ मैँले, न मेरो परिवारले नै गरेथ्यो । तथापि, त्यस संगीन घडीमा समाजको उक्त सल्लाह चुपचाप शिरोपर गर्नुभन्दा अर्को विकल्प थिएन मेरा सामु । त्यही समाजले थमाइदिएको केही खर्च बोकेर एकजना छिमेकीका साथ सदरमुकामतिर हिँडे म…’ बोल्दै गरेकी उसका अस्थिर आँखाहरुमा पीडा, छट्पटीका आरोह अवरोह सलबलाइरहेका देखिए, विषम।

‘….हाम्रै गाउँलेको होटल व्यवसाय थियो सदरमुकाममा । अर्को व्यवस्था नहुँदासम्मका लागि मलाई त्यही बस्ने बन्दोबस्त मिलाइयो । हाम्रो सम्पूर्ण सम्पत्ति विद्रोहीहरुले कब्जा गरेको कुरा सदरमुकाममै थाहा पाएँ मैँले । सदरमुकामकै एउटा बोर्डिङ स्कुलमा शिक्षिकाको रुपमा रोजगारी पाएँ मैँले । सबै ठिकै चल्दै थियो । मेरो रोजगारदाता, जो चार सन्तानको बाबु थियो, को कुदृष्टि पर्‍यो ममाथि । उसका आग्रहपूर्ण व्यवहार ममाथि केन्द्रित हुन थाले, परोक्ष रुपमा, दुर्वोध्य रुपमा । पीडाको सूल रोपिन्थ्यो मेरो छातीमा । विचारशून्य हुन्थेँ म, स्तब्ध । केही बोल्न सक्दिनथेँ । दिनहरु बित्दै गए, भयानक पीडादायी बनेर । मप्रतिको उसको बद्नियतपूर्ण आशक्ति झन्झन् बढ्दो देखियो । मनमनै एउटा निर्णय गरेँ मैँले, जागिर छोड्ने । जागिर छोडेर कसरी बाँच्ने ? कुनै विकल्प देखिन । आखिर बाँच्नुको विवशतामा उसँग एक आत्मघाती सन्धी गरेँ मैँले, जिन्दगीमा पहिलोपटक । एक कान दुई कान मैदान, ऊ र मबीचको निकटताको खबर उसको घरसम्म पुगेछ । एकदिन विद्धालय परिसरमै उसकी श्रीमतीद्वारा बेइज्जतपूर्वक पिटिएँ म । मेरो रोजगारी पनि गुम्यो । सोचेँ, यस्तो अपमानित जीवन बाँच्नुभन्दा त मर्नु नै बेश । तर मर्न पनि कहाँ सकिँदो रहेछ र ? काठमाडौ भासिएँ म जीविकोपार्जनको विकल्प खोज्न…’

उसलाई सुनिरहेथेँ म प्रतिक्रियाशून्य।

‘…काठमाडौमा मेरो आफ्नो को नै थियो र ? बिरानो सहर, सुरुमा म सुन्धाराको एउटा लजमा बसेँ । रोजगारीको आह्वान गर्दै छापिने पत्रिकाका विज्ञापन हेरेर दिनभरि विभिन्न कार्यालय धाउथेँ म । बेलुका निराश मन बोकेर फर्कन्थें । साथमा भएको केही पैसा पनि निख्रिसकेथ्यो । लजमा बसेको, खाएको पुरानो पैसा तिर्न नसक्दा कैयौ दिन भोकभोकै बिताएँ मैँले।’

‘…दिदी, तपाईँ मलाई सुहाउँदो कुनै काम खोजिदिनुस् न । म मेजर इङ्लिसमा स्नातक छु ।’ त्यही लजको भुईतलामा ब्युटी पार्लर चलाउने एउटी दिदीको शरण परेँ म।

‘…देशको दिनप्रतिदिन बिग्रँदो परिस्थितिका कारण रोजगारीका अवसरहरुमा समेत ह्रास आएको र आफ्नो ब्युटी पार्लरमा पनि हाल कसैलाई रोजगारी दिन सकिने सम्भावना नरहेको बताइन् उनले । मेरो आशाको अन्तिम त्यान्द्रो पनि चुँड्यो । परिवारका सम्पूर्ण सदस्यको वियोग सहेर एक्लो जीवन बाँच्नुको पीडा । आफ्नै मातृभूमिमा शरणार्थी जीवन बाँच्नुको बाध्यता । अभावग्रस्त जीवन । भोको पेट । म कसरी बर्णन गरुँ त्यो एकांकीपन अनि अभावसँगको मेरो अघोषित युद्ध ? हरे मेरो नियती…’ दीर्घ निःश्वास छोडी उसले।

‘…फेरि पनि मर्ने विचार नआएको होइन मनमा, तर सकिनँ । आफैंसँग पराजित हुँदै गएँ म, च्युत । मर्नुभन्दा बहुलाउनु निको । बाँच्नुको विवशतामा एउटा कठोर, अप्रत्यासित एवं आत्मघाती निर्णय गरेँ मैँले । देहव्यापार गर्न थालेँ त्यही लजमा, आफ्नै आत्माको अनुमोदनबिनाको पेशा । हो, त्यसदिनदेखि म पूर्णरुपमा आफ्नो अस्तित्व गुमाएर बाँचेकी छु, आफैंबाट बिमुख भएर, आफू हुनुको परिचय हराएर । यो जस्तो भयावह विसंगति अरु केही हुन सक्छ ?’ उसका गला अवरुद्ध हुँदै गए।

उसलाई सुनिरहेको मैले कठिनतापूर्वक थुक निलेँ।

‘…यसरी म एक पेशेवर वेश्या बन्न पुगेँ । म पनि सम्मानित जीवन बाँच्न चाहन्थेँ, पाइनँ । मेरो नियति। अफसोस छ मलाई मेरो बाँच्नुसँग…’ आँखाहरु बन्द गरी उसले अनि दाँतहरुले कम्पित ओठहरु च्यापी, परेलीमा उत्रेका आँशु दबाउन चाहन्थी, सायद । सकिन । बगिरही।

‘…अझै पनि यो दलदलभन्दा माथि उठ्न चाहन्छु म, सारपूर्ण जीवन बाँच्न चाहन्छु । अर्थपूर्ण जीवन बाँच्न चाहन्छु । हो, मलाई आत्मसम्मानीत जीवन बाँच्न मन छ । जहाँ मेरो विषाक्त अतीत नहोस् । नियतिद्वारा ठगिन नपरोस्…’ आँशु पुछ्दै याचनापूर्वक मतर्फ हेरी उसले।

‘…बाध्यतावश जीवनमा अंगीकार गरिएका अनपेक्षित, वीभत्स एवं मनद्वारा अस्वीकृत तिक्त पलहरु जसले सधैँ च्वास्स च्वास्स घोचिरहन्छन्, मृत्युको कल्पनाभन्दा भयावह असर छोडेर । पलपल मर्दै ब्युँतनु पर्ने यस्तो विषाक्त जीवन बाँच्नुको कुनै औचित्य देखिरहेकी छैन मैँले । देशमा लोकतन्त्र, गणतन्त्र आयो भन्छन् तर खै कसका लागि ? द्धन्द्धकालमा कब्जा गरिएका हाम्रा सम्पत्ति अझै फिर्ता भएका छैनन् । एक समूहले कब्जा गरेको सम्पत्ति फुकुवा नहुँदै फेरि अर्को समूहले झण्डा गाडेको छ रे अचेल । हामी विस्थापितहरु गाउँ फर्कन सक्ने वातावरण बनेको छैन । अब त आफ्नै सम्पत्ति निर्विवाद उपभोग गर्न पाउने आशा पनि मर्न थालिसक्यो । हामीलाई आफ्नै गाउँघरमा पुनः स्थापित हुन र सम्पत्तिको उपभोग गर्न सहयोग गर्ने कसले ? न्याय दिलाउने कसले ? आफ्नै मातृभूमिमा अझै कतिञ्जेल शरणार्थी जीवन बाँच्नु पर्ने हामीले ? दसैं नजिकिँदै छ तर मलाई यस्ता चाडपर्व कहिल्यै नआइदिए हुन्थ्यो जस्तो लाग्छ ।….’ भक्कानिई ऊ।

‘यी यो राख, तिम्रा केही आवश्यकता पूरा गर्न सहयोग गर्न सक्छ ।’ पाँच सयको नोठ उसका हातमा थमाइदिएर हिडेँ म त्यहाँबाट।

……….

घर पुगेँ म । बरर्रर आँशु झरेको उसैको विशादपूर्ण अनुहार नाचिरह्यो आँखा अगाडि । उसैका याचनामिश्रित स्वरहरु गुञ्जिइरहे कानहरुमा । उसको करुणापूर्ण वर्तमान बिझ्यो मभित्र । आहत भएँ म । यो कस्तो सापेक्षता ? रात गहिरिँदैछ, सन्नाटा ओढेको । विचलित मन तनावग्रस्त छ । झ्यालनेर उभिन्छु । चुरोट सल्काउँछु । नजरहरु परपरसम्म दौडन खोज्छन्, गन्तव्य पहिल्याउन खोज्छन् । आकाशदेखि धर्तीसम्मै कालो पोतिएको अन्धकारमा के को गन्तव्य?…

निदाउने प्रयत्न गर्छु । असँख्य विस्थापितहरु तरङ्गिन्छन् स्मृतिमा । बाँच्नुको विवशतामा आफैंलाई बेच्न बाध्य सम्पदाहरुका रोदन, करुण क्रन्दन गुञ्जन्छन् कानहरुमा । आफ्नै मातृभूमिमा यो नियती कहिलेसम्म भोग्नुपर्ने मानिसले ? खै आफ्नै सम्पत्तिमाथिको अधिकार ? खै मानवअधिकार ? कहाँ छ देशको सरकार ?…’,  धर्ती फाट्ने गरी चिच्याउन मन लाग्यो मलाई । तर चिच्याउन पनि सकिनँ।

बिहान अलिक अबेर बिउझिएँ म, तयार भएँ । अर्को पात्रको खोजीमा उही बस्तीतिर हानिएँ । बस्तीमा मानिसको भीडभाड देखिन्छ, परैबाट । भीडमा प्रहरी पनि देखिन्छन् । मनमा नानाथरी तर्कना उठ्छन्।

‘त्यहाँ के भएको रहेछ दाइ ?’ भीडबाट खण्डित भएर मैतर्फ बढिरहेको एक अधबैँसेलाई सोध्छु मैले।

‘एउटी युवतीले आत्महत्या गरिछ,’ पाइलाको गति नघटाइकनै बोल्छ ऊ।

‘हँ..हँ..?..?..’ आशंका मिश्रित त्रासहरु निस्केछन् मभित्रबाट, अनायासै।

‘खै…खै…’ मेरा कम्पित हत्केलाहरु भीड पन्छाउन पुगिसक्छन् । देख्छु, आत्महत्या गर्ने युवती सम्पदा रहिछे।

‘…अझै पनि यो दलदलभन्दा माथि उठ्न चाहन्छु म । हो, मलाई आत्मसम्मानीत जीवन बाँच्न मन छ । जहाँ मेरो विषाक्त अतीत नहोस् । नियतिद्वारा ठगिन नपरोस्…,’ हिजैमात्र उसले बोलेका यी वाक्याँश बारम्बार तरङ्गिन्छन् मभित्र, अथाह पीडा छोड्दै । मुटुको केन्द्रबाट नमिठो तरङ्ग फैलिन्छ सम्पूर्ण शरीरभरी, चि…..सो….. । गलित हुन्छु म । आँखाहरुबाट ज्वालामुखी बाहिरिन्छन् । मेरा सजल नेत्रहरुले भुईँमा सुताईएको सम्पदाको त्यस बेवारिसे लासलाई असङ्ख्य लासहरुमा परिणत भएको देख्छन्।

भीडमा मान्छे थपिने र घट्ने क्रम निरन्तर चलि नै रहेको छ । मानिसहरु आफ्नै गतिमा छन् । सहर आफ्नै गतिमा छ । उसको मृत्युको वास्तविक कारणदेखि पूर्णतः बेखबर।

( श्रोत :- Setopati )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.