कथा : एक्लो भगवान्

~बुद्धिसागर~

तीखो धुवाँलाई चिर्दै म भित्र पसेको थिएँ ।

 मैतीदेवीको व्यस्त चोकको भित्रपट्टिको क्याफेमा झुन्डझुन्ड मानिस मौरीझैं भुन्भुनाइरहेका थिए । सोमालियाको बाघ भोकले दुब्लाएर बिरालो भएझैं, त्यो क्याफे पनि सन्निपातले ग्रस्त रोगीझैं जीर्ण र लथालिंग देखिन्थ्यो, भट्टीबाट क्याफेतिर बढेको तर क्याफेसम्म पुग्न नसकेको ।

खासामेड धुवाँग्रस्त रेडियोमा हिमेशभाइ चिच्चाइरहेका थिए— एक हसिना थी । एक दिवाना था । दिवाना अर्थात् पे्रमी । क्रेजी । त्यही भट्टीको भित्रपट्टि पश्चिम कुनामा एक्लो-एक्लो-एक्लो । सोझै नाकअगाडि छ्याङको गिलासले उसको स्पर्श खोजिरहेको थियो । मन तातो । म छेउतिरको, चिल्लोपनमा माखा भुन्भुनाइरहेको टेबुलछेउको कुर्सीमा थचारिएँ । जंगल रङको टाटेपाटे मोटो ज्याकेटमा कछुवाझैं टाउको निकालिरहेको उसले हेर्‍यो ।

मुसुक्क हाँस्यो । हाँसिदिँदा पैसा त दिनुपर्दैन नि ! फोकटको हाँसो मैले फिर्ता गरिदिएँ । स-साना कुरामा सहरमा भावुक भइदिनु, मानसिक स्वास्थ्यका लागि हानिकारक छ । दिमागको किड्नी हुने भए, उहिल्यै फेल भइसक्थ्यो ।

प्रायः हुन्छ के भने, एउटी सानी केटी हातमा कपडाको टालो बोकेर बोसो लिपिएझैं चिल्लो टेबुल पुछ्न आइपुग्छे । आज पनि आई । गोलो अनुहार, तर भित्रसम्म धस्सिएका गाला । को हो ? कहाँबाट आएकी हो ?

‘के ल्याऊँ ?’ गम्भीर र आत्मविश्वास भरिएको आवाजमा उसले सोधी ।

मुला जाडो ! निहुँ खोजिरहेको छ । नाकका पोरापोराबाट बगिरहेको छ । एक प्रश्न- के छ हालखबर ?सयौँ उत्तर, ‘सर्दीले खत्तम छु, यार !’ यी सयौँमा एक आवाज, हक मेरो पनि पक्कै छ । म आयुर्वेदको विद्यार्थी पनि होइनँ । त्यस्ता किताब पढ्ने सौभाग्य पनि प्राप्त छैन । आफ्नै अड्कलमा भनेँ, ‘तोङ्बा र भटमास-चिउरा ।’

ज्यान, तातो त पक्कै होला नि !

हाँसझैं मध्यम गतिमा त्यो फुच्ची त्यतातिर सोझिई, जता त्यान्द्रात्यान्द्रा राँगा भट्टीमाथि झुन्डिएका थिए— अंगारझैं काला । सानो बालकझैं पिठ्युँको झोला झिकेँ । महाश्वेतादेवीको किताब ‘जंगल के दावेदार’ को पहिलो अनुच्छेद पढ्दै थिएँ, बिरसा मुन्डा ने… अचानक, एकान्तमा एक टुक्रा आवाजले हमला गर्‍यो, ‘भाइ… इस्टुडेन्ट हो ?’

उही कुनाको मानिसले सोध्यो । खुम्चिएको निधार तल अलिकति मुस्कान फक्रिएको थियो । सूर्यमुखीले यसो मुन्टो उठाएजस्तो ।

‘अँ,’ मैले स्विकारेँ । तर, कलेज नगएको त युग भयो । त्यै पनि ।

‘अनि, तपाईं ?’फेरि फिस्स हाँस्यो, ‘वर्कर ।’
एकछिन मौनता टेबुलटेबुलमा पछारियो । अर्को कोठाबाट चार मुखबाट एक्लो खित्का बत्तिएर भित्ताभित्तामा ठोक्कियो । सानी फुच्चीले गाग्रीझैं बोकेर तोङ्बा मेरो टबुलमा कन्दै राखिदिई । तातो पानी ? उसले अर्को टेबुलतिर आँखा सन्काई । भट्टी आत्मीयता । मुसुक्क हाँस्दै अर्को टेबुलका दुई जुल्फी युवामध्ये एउटाले थर्मस पछारेझैं मेरो टेबुलमा राखिदियो । म ढोकाको अगाडि थिएँ ।
मैतीदेवीचोकबाट सोझै म देखिन सक्थेँ । चिसो बतास पनि सडेका तरकारीको गन्ध बोकेर मसम्म आइरहेको थियो । सर्दीले मरणासन्न भएको नाकले पनि थाहा पाउने गन्ध ? मैले कुनातिर आँखाका काला गेडी कुनातिर पर्लक्क फर्काएँ । औपचारिकताका लागि उसलाई सोधिदिएँ, ‘त्यता बसूँ ?”

हुन्च ।’ नबस् भने पनि म छोड्नेवाला त थिइनँ ।

म साँघुरा टेबुलमा यताउता ठोक्किँदै त्यस टेबुलसम्म पुगेँ । देश-देशका सिमानामा नेपोलियन ठोक्किएजस्तो । तोङ्बामा तातोपानी बाफिइरहेको थियो । टिप्स छ : तोङ्बामा तातोपानी पाँच मिनेटसम्म त्यत्तिकै छाडिदिनू । त्यसपछि, पो स्वाद आउँछ नि यार !

अगाडिको उसले एक घुट्को छ्याङ घाँटीबाट तल ठेलेपछि, धुवाँ पत्र-पत्र जमेको सिलिङ नियाल्यो । मैले कालोपातो भरिएको उसको अनुहार नियालेँ । छ्याङको गिलास र जग नियालेँ । हरियो जगको मैलिएको सतहमा एउटा कमिला माथि उक्लिरहेको थियो । माथि पुगेर तल हाम फाल्यो भने छ्याङ-समुद्रमा त्यसले प्राणत्याग गर्छ । मैले चोरऔँलाको नङले बिस्तारै कमिलाको ढाडमा हिर्काइदिएँ । आवाजहीन कमिला पछारियो । उसले थाहा पायो र मलाई घुर्‍यो ।

म चुइकिएँ, ‘कमिला …।’

झ्यार्र मैले चुरोटको टुप्पामा सल्किएको काँटी झोसिदिएँ । एक सर्को तान्दै बट्टा ऊतिर तेस्र्याएँ ।

’’भयो… एउटैले हुन्च ।’ उसले मितव्ययिता देखायो ।

मैले दोस्रो सर्को तानेँ र धुवाँ उड्दै गरेको चुरोट ऊतिर बढाएँ । लियो । सर्को तान्यो । मैले तोङ्बाको टर्रो एक घुट्को पिएपछि, उसले मलाई सोध्यो, ‘काँ बस्नुहुन्छ ?’

‘घट्टेकुलो ।’

‘ए… म पनि यही छेउमा त हो नि !’ पत्रिकामा लेख्न थालेपछि म अलिकति प्रश्न गर्नसक्ने भएको छु । मुड हेरेर ।

सोधेँ, ‘आफ्नै घर हो कि भाडामा ?’

घर ? छि ! उसले भन्यो, ‘भाडामा ।’

‘कोको हुनुहुन्छ ?’

‘आमा र म ।’ उसले एक घुट्को छ्याङ पियो र ज्याकेटको बाउलाले चिसा ओठ पुछ्यो, ‘अंकलको घर हो । भाडा कमै छ नि !’

‘कामचाहिँ काँ गर्नुहुन्छ ?’

‘पार्किङमा’ उसले आफ्नो कामको बनोट बुझायो, ‘पार्किङका लागि जति गाडी र बाइक आउँछन् नि… ती सबैसँग पैसा उठाउनुपर्छ ।’

‘दिनमा कति कमाइ हुन्छ त ?’

‘कहिले सत्तरी-असी रुपैयाँ हुन्च’ हाँस्यो, ‘कहिले त तीन सयसम्म पुग्छ ।’

उसले आफ्नो हाकिम, जसले पैसा समितिमा पठाउँछ रे, पैसा कहाँ जान्छ, उसलाई राम्रोसँग था’ छैन । उसले दिक्क मान्दै सुनायो, ‘काम के गरिनँ दाइ ! पानी बोकेँ…, घरमा इनामेल लगाएँ…, एउटाले विदेश पठाइदिन्छु भनेर साठी हजार झ्वाम पार्‍यो…, मैले पनि दाइ… पासपोर्टमा आगो लगाइदिएँ… मज्जाले बल्यो ।’

केही राजनीति । केही बजारीकरण । केही काठमान्डूको जाम । केही बढ्दो तरकारीको मूल्यदेखि प्रचण्डका जुँगा किन त्यस्ता बाक्ला छन् ? सम्म गफ फनफनी रिँगेपछि, उसलाई सोधेँ, ‘बिहे किन नगर्‍या ?’

‘पाए पो गर्नी ?’ ऊ हाँस्यो, ‘तर, दाइ… बत्तीस नपुगी त बिहे गर्नुहुन्न है !’

लौ त । भाइबाट दाइमा म प्रमोसन भइसकेको थिएँ । अब मेरो अर्को अर्डर— बफचिल्ली आइपुग्यो । बाफसहितको । लिऊँ न, मैले इसारा गरेँ । उसले एक पिस लियो । र, आत्मीयता भरिएको आजावमा सुनायो, ‘दाइ… साथी त सबै स्वार्थी हुँदा रै’छन् है !’

कुन्नि ?

घट्टेकुलावरिपरिका फाँटमा फुटबल खेल्दाखेल्दै म हुर्किएको हुँ । दाइ ! म त काठमान्डूकै हुँ नि ! बा स्थानीय मन्त्रालयमा काम गर्थे । छ नि दाइ, त्यो के र एउटा पद हुन्छ नि…

‘सुब्बा ?’

‘त्योभन्दा मुन्तिरको क्या ।’

बाले ट्युसन पढाउने दुईजना टिचर राखिदिएका थिए । पढे पो ! ज्वाइन्ट पो लाउन थालियो । पढेर के हुन्छ ? एक ज्वाइन्ट लगायो, झमझम । च्वाँकच्वाँक केटीले पनि लाउँथे, तर फुटेको आँखाले हेरिएन । पढाइ छुट्यो नि ! बाउले क्या कमाउँथे । छ नि, पैँतीसवटा त टेम्पो थिए । उही विक्रम टेम्पो क्या… !

बाउ मरे । टेम्पोका अर्को पार्टनरले सबै खाइदियो नि ! क्या दुख्ख लाग्छ, दाइ ! साथी पनि काँ-काँ पुगिसके । एउटा त यै मैतीदेवी पनि आउँछ, ट्राफिकको इनेस्पेक्टर छ, तर चिन्दैन नि दाइ मलाई । सब साथी ठूला भए नि ! सबै स्वार्थी । हुन त म जस्तोसित संगत किन गर्दा हुन्…

‘अनि प्रेमिका ?’

ह्या ! दाइ पनि… एउटी थिई नि । डिल्लीबजारमा । क्या… ब्लफकल दिन्थेँ नि । मेरो झ्यालबाट उसको कोठा देखिन्थ्यो । गफ पनि क्या दिन्थी । एकदिन फोनमा भन्देँ, भेट्न आऊ न त…सोधी- कता आऊँ ?डिल्लीबजार पीपलबोटमा बोलाएँ । हिहिहि… त्यो छ नि त्यति नजिक… पनि ट्याक्सी पो चढेर आई । मैले सबै लुकेर हेरिरहेको थिएँ । ट्याक्सी रोकी । बाहिर निस्किएर हेरी । क्या दामी रैछ । तर, म कुरा गर्न जानै सकिनँ…किन नि ?लाज पो लाग्यो । ऊ डिल्लीबजार विजयस्मारक हुँदै फेरि फर्की । साँझ मैले फोन गरेर भनिदिएँ- सरी है… तिमीलाई भेट्न लाज लाग्यो ।

एकदिन ज्वाइन्टको सुरमा उसकै कोठामा पुगेँ । घरमा कोइ रै’नछ । भन्न त के भन्नू ? तर… सबैथोक भयो नि दाइ ! त्यसका बाउ नेपाली, आमा इन्डियन रै’छन् । अनि ?एकदिन टिल्ल परेर उसको बर्थ डे गिफ्ट दिन गएको थिएँ नि । उसको बाउले क्या निहुँ खोज्यो । म घर फर्किएँ ।

क्या झोक चल्यो । मैले पनि झोकमा गएर उसको घरको झ्यालका सबै सिसा फोरिदिएँ । हिहिहि… उसको बाउ क्या डराएको । तीन दिनपछि फेरि गएँ नि… क्या र्‍याक भो भने नि…. हिहिहि डेरै सरेछन्…

त्यसपछि, अर्कीसँग पर्‍यो नि, दाइ… रातोपुलमा बस्थी । गाउँबाट आएकी हो कि क्या हो… किस नै गर्न नजान्ने…

‘मैले भनेको मान्छौ नि ?’ एकदिन सोधी ।

‘मानिहाल्छु नि !’

‘चुरोट र रक्सी छाड ।’

अनि दाइ… मैले ज्वाइन्ट र रक्सी छाडिदिएँ । एक दिन त उसैले मलाई छाडिदिई । भनी, ‘तिम्रा आँखा अझै राता छन् ।’

मैले ज्वाइन्ट फेरि सुरु गरेँ । ऐले अलि कम तान्छु । के दाइ ज्वाइन्ट लिनुहुन्छ ?

‘अहँ…!’

नलिनुस् के दाइ ! र्‍याक हुन्छ नि । अब त ज्वाइन्ट तान्ने साथी पनि छैनन् । सबै ठूला भए नि ! पैसा टन्नै कमाएका छन् । अनि दाइ… पार्किङमा कत्राकत्रा गाडी चढेर आउँछन् । तर, ठिसहरू दस रुपैयाँमा कचकच गर्छन् । त्यत्रो पैसा कसरी कमाउँछन् दाइ ?

कुन्नि ?

सबै कालो धन्दा गर्छन् कि क्या हो ?

खै ?

राम्रो काम गरेर त त्यत्रो पैसा कसरी कमाइन्छ र, होइन दाइ ! म त त्यस्तो नगर्ने । पार्किङमा के, गाडीभित्र पैसा भरिएको सुटकेस छाडेर त्यसै हिँडिदिन्छन् । सुटकेस लिएर भागे कसले समात्ने ? त्यस्तो गर्नु हुन्न दाइ…! के गर्नु हुन्छ र ?

‘अहँ’

गर्दिनँ नि दाइ… गर्ने भए त टन्न कमाइसक्थेँ नि ।

उसले आफ्नो गिलास हेर्‍यो । छ्याङ सक्किएको थियो । गिलास उल्टो पारे, पन्ध्र थोपा त झर्दो हो । उसको गफमा मैले तीनपल्ट तोङ्बामा पानी थपिसकेको थिएँ । चुरोट सात-आठ खिल्ली । उसले गोजीबाट कच्याककुचुक परेका बीस र दसका नोट मुठीभरि झिक्यो । टेबुलमुन्तिर मैले नदेख्ने गरी गन्यो । र, सिलिङतिर हेर्दै हिसाब गर्‍यो ।

मैले कुरा बुझेँ र भनेँ, ‘अरू लिने ?… म दिन्छु नि !’

‘ए… !’ फिस्स हाँस्यो ।

जुरुक्क उठेर अर्को कोठामा गयो । धुलो भरिएका गोडा कुर्कुच्चा पातलिएका चप्पलभित्र ङच्िच थिए । ऊ फर्किएर आयो । हरियो जगमा छ्याङ भरिएको थियो । बाहिरसम्म छल्किरहेको सेतो छ्याङ ।

‘नपढेर ठूलो गल्ती गरेँ नि दाइ…!’ उसको अनुहारमा भावुकता भरियो, ‘पढेको भए त यस्तो भइँदैनथ्यो ।’ उसले आफ्ना बा सम्झियो । जसले टिउसनका लागि दुईजना टिचर राखिदिएका थिए । पैसा र अभाव भागेकी आमा सम्झ्यो र ती साथी जसले उसको फोन पनि रिसिभ गर्दैनन् ।

‘दाइसँग भेटेर मन हलुको भयो ।’ मेरो चुरोटको बट्टाबाट एक खिल्ली चुरोट तान्यो र झ्वार्र सल्कायो ।

‘मलाई पनि खुसी लाग्यो,’ मैले पनि औपचारिक भाषा बोलिदिएँ, ‘तपाईंको कथा सुन्न पाएँ ।’

‘ए हे !’ उसले केही सम्झियो र भन्यो, ‘दाइको नाम केरे ?’

मैले आफ्नो कार्ड दिएँ । उसले एकछिन घोरिएर हेर्‍यो । ओठ चलाउँदै इमेल एडे्रससम्म पढ्यो । ‘अनि तपाईंको नाम के नि ?’

‘भगवान् ।’ कार्डमै घोप्टिएर उसले भन्यो ।

चिसा भगवान्का बीचमा सास फेरिरहेको अर्को भगवान् ? म फिस्स हाँसेँ । अब ढोकाका कापकापबाट रातभित्र छिरिरहेको थियो । र, मैले उठ्दै भनेँ, ‘म गएँ है !’

ऊ जुरुक्क उठ्यो । हात अगाडि बढायो । र, मेरो हात समाएर आफूतिर तान्यो । अंगालो मार्‍यो । बढी लाग्दा यस्तै हुन्छ । हिँड्ने वेला भन्यो, ‘म फोन गर्छु है दाइ ?’

‘हुन्छ ।’ आवाजसँगै म व्यस्त मैतीदेवीचोकमा पुगिसकेको थिएँ ।

आवाजहीन भीडमा हराएँ । सायद, उसले भोलिपल्ट उठ्दा मलाई बिर्सिएर उठेको होला । अहिलेसम्म फोन गरेकै छैन । उसले फोन गर्‍यो भने पनि त, म फोन रिसिभ गर्दिनँ । के उसले त्यो थाहा पाइसक्यो ?
(श्रोत :-  Writer’s Blog )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.