कथा : उपहार ससुराको फैसला हजुरबाको

~नारायण तिवारी~Narayan Tiwari

हाम्रो समाजमा बिहेको माग राख्ने चलन नभए पनि मागी बिहेमा केही न केही पाइहालिन्थ्यो । केही नभए पनि एकसरो लुगाफाटो र सुत्नलाई एउटा खाट र डसना सिरक कतै नजा ! तर मैले मागी कोइन ‘भागी’ बिहा गरेको थिएँ । अर्थात् ‘प्रीति’ बसेर अभिभावकको मन्जुरीबिना केटी भगाएको थिएँ । जातपात केही नमिल्ने भएर होइन धनसम्पत्ति नमिल्ने भएर । अर्थात् उनीहरू धनी थिए र म पढेलेखेको भएर पनि गरीब ।

पछि त चलिहाल्छ नि । चल्यो, आउने जाने चल्यो । पढेलेखेकै भएकाले भनौँ न ससुरालीमा मेरो पानी चल्यो र मेरो सिक्का पनि चल्यो । सासु-ससुराले माया गर्न थाले, इज्जत गर्न थाले । संयुक्त परिवारमा बसेका मेरा ससुराका अरू भाइहरू पनि थिए । अर्थात् मेरा काका ससुराहरू । उनीहरूमध्ये काइँलाले मलाई घुरेर हेर्थे । माइलाले व्यङ्ग्य वाण चलाउँथे । साहिँलाले अलि अलि माया गरेजस्तै गरे पनि मौकाका खसाएर कुरा गर्थे ।

“ज्वाइँ ! तपाईंलाई एउटा मोटरसाइकल किनिदिएको छु ।” ससुराले सुनाउनु भएको थियो ।

मनमनै खुसी भए पनि मुखले भनेका थिएँ – “मलाई किन चाहियो र ….?!”

“तपाईंलाई नचाहिए पनि मेरी छोरीलाई चाहियो नि, उसलाई राखेर कुँदाउनु होला ….” म हाँसिदिएको थिएँ ।

मोटरसाइकलको चर्चा धेरै चल्यो । भित्रभित्रै लड्डु फुटिरहेको थियो मेरो पनि र मेरी श्रीमतीको पनि । मोटरसाइकल चलाउन नजाने पनि ‘सिकिहालिन्छ नि कुन ठूलो कुरा हो’ भनेर म रमाइरहेको थिएँ ।

दसैँ आउन आँटेको थियो । ससुराले फोनमा फेरि जिस्क्याउनु भयो – “ज्वाइँ ! चलाउन सिक्नुभो के ? यसपल्ट दसैँमा मोटरसाइकल लिएर जानुहोला … !”

यस्तैमा दसैँ आयो । मुटु ढुकढुक गर्यो । जोई-पोइ मोटरसाइकलको सपना ओढ्दै लाग्यौ दसैँमा ससुराली …!

ओसरैमा देख्यौँ – नयाँ मोटरसाइकल .. । मोटरसाइकलतिर देखाएर ससुराले भन्नुभयो – “यो ज्वाइँलाई मोटरसाइकल !”

त्यतिबेला त कोही बोलेनन् तर दसैँभरि कसैले मलाई घुरेर हेरे, कसले वयङ्ग्य वाण प्रहार गरे । कसैले खसाएर कुरा गरे ।

-”ज्वाइँलाई त साइकल चाहिन्छ, साइकल ! कहाँको मोटरसाइकल …!”

-मोटरसाइकल भनेर मात्र हुन्छ, धान्न सक्नुहुन्छ ज्वाइँले यसको खर्च ?”

-”मोटरसाइकलको त मलाई आवश्यकता छ । म ज्वाइँलाई नयाँ गेयरवाला साइकल किनिदिउँला !”

यो भारी छ, ज्वाईं सक्नुहुन्न ! दुब्लो पातलो मान्छेलाई त साइकल नै ठीक हुन्छ, कहाँ मोटरसाइकल !”काका ससुराहरूको बचनले घोच्नुसम्म घोचे । ‘मैले मागेकै थिइन किन दिने भनेको ?’ स्वाभिमान माथिको प्रहारलाई मनले भित्रभित्रै प्रतिरोध गर्यो । प्रकटमा बोली फुटेन ।

आखिर संयुक्त परिवारमा काकाहरूकै पहिलो हक स्थापित भयो । हजुरबाले फैसला गरिदिनुभयो -”यो मोटरसाइकल जेठाले ज्वाइँलाई किनिदिएको भए पनि काइँलाले लैजा, काइँलालाई अफिस जान खाँचो छ ।

अनि सुन् काइँला ! तैले ज्वाइँका लागि एउटा राम्रो साइकल १० दिनभित्र किनिदिएस्…!”

मेरा आफ्ना सासु ससुराले मेरो आँखामा हेरे र शिर निहुर्‍याए । म आफू छातीमा अपमानबोधको पीडा झेल्दै थिएँ । अकिति आफैँद्वारा उत्पेरित लालस र धेरैजति भावनालाई उचालेर पछारिदिने ससुराली व्यवहारबाट मर्माहत हुँदै श्रीमतीका अनुहारमा पुलुक्क हेरेँ । ऊ आँखा रसिलो पार्दै मलाई नियालिरहेकी थिई ।
(श्रोत :- शनिबार – गोरखापत्र )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.