कथा : बिल्टुकी दुखिनी

~केशव दाहाल~

बिल्टुकी श्रीमती थला परेको आज १५ दिन भयो । एक्कासी ज्वरो आयो । निकै कडा ज्वरो । भख्खर ३५ वर्ष पुगेकी खाइलाग्दी दुखिनी अहिले ओछ्यानमा छे । कसैको केही नबिगार्ने, सोझी र मेहनती दुखिनीलाई यो सालको असार फापेन ।

बिल्टुले बुझेको छ, ज्वरो निकै कडा हो । तर ऊ बुझ पचाउँछ । उपचार गर्न पैसा छैन ।

मालिकसँग मागौं, हिम्मत पुग्दैन । मनमनै बर्बराउँछ, ‘मालिक पनि यसपालि बडो टेन्सनमा देखिन्छ । पानी नपरेर खेतमा गोरु नार्न पाइएको छैन, के देला र ।’

बिल्टु गम्छ, ‘आइमाइ तगडा छ, उमेर गएको छैन, त्यसैले ज्वरोले के नै पो बिगार्ला । ऊ पक्का निको हुन्छे । ज्वरोसँगको लडाइँ दुखिनीले अवश्य जित्ने छ ।’

बिल्टु आफैंलाई आश्वस्त पार्छ ।

दस दिनदेखि ऊ बेलुकाको भात पकाउँदै छ । तर, आज उसलाई केही पकाउन पनि मन छैन, खान पनि । बरू दुखिनीले केही खाइदिए हुन्थ्यो । तर, उसले पनि मन गरिन । त्यसैले बिल्टु चिन्तामा छ ।

गम्छ, ‘उसले अलिकति तातोपानी पिए हुन्थ्यो ।’

आज बिल्टुले आफू पनि पानी पिएरै रात बिताउने पक्का ग¥यो । जब भात नपाक्ने भयो, त्यसपछि बिल्टुसँग गर्नुपर्ने कुनै काम रहेन ।

बिल्टु आँगनमा निस्कियो । आँगनमा अँध्यारोमात्र थियो । त्यही अँध्यारोमा उभिएर बिल्टुले आकाशको उज्यालो हे¥यो । आज आकाश मैलो थियो । मैलो आकाशले बिल्टुको मन उज्यालो बनायो । आज पानी परे हुन्थ्यो ।

उसले गम्यो, ‘भोलि बिहानै गोरु नार्न पाए ऊ मालिकसँग केही पैसा माग्ने थियो । हेल्थपोष्ट जाने थियो । दुखिनीका लागि ज्वरोको औषधि किन्ने थियो । उ निको हुने थिई ।’

यो कल्पनाले मात्र पनि बिल्टुको मन उज्यालो भयो ।

मन उज्यालो भएपछि आशाहरू पलाउँछन् । सम्झनाहरू तरेलीतरेलीका आउँछन् । जीवन बगैँचाजस्तो हुन्छ । यिनै सम्झनाहरूको तरेलीमा त्यो साँझ बिल्टुले सोनालाल मालिकलाई सम्झिन्छ, आफूलाई सम्झिन्छ, ज्वरोले बेहोश बनाएकी आफ्नी दुखिनीलाई सम्झिन्छ र ऊ निको भएर हाँसेको सम्झिन्छ । दुखिनी निकै छिटो धान रोप्छे, परिआउँदा बाउसे पनि गर्छे । हिलो खेल्न उसलाई खुब रमाइलो लाग्छ । बिल्टु सम्झिन्छ, यो साल ऊ दुखिनीलाई बेस्सरी हिलो खेल्न दिनेछ। ऊ पनि दुखिनीसँगै हिलो छ्यापाछ्याप गर्ने छ । ऊ दुखिनीलाई सबैभन्दा खुसी बनाउने छ । यही सम्झनाको मेसोमा बिल्टुको आँखाअगाडि हिलाम्ये दुखिनी आइपुगी । हिलोमाटोमा लतपत भएकी दुखिनी उसलाई खुव राम्री लाग्यो ।
बिल्टु मनमनै विचार गर्छ, ‘पक्का आज पानी पर्छ ।’

पूर्वी तराईमा सोनालाल अग्रहरीको आफ्नै नाम र सान छ । त्यसो त उसको एक सय बिघाजति जमिन छ । मान्छेहरू भन्छन्, उसको कुुकुर पनि जमिनको मालिक हो । गाँउमा नाम हुन जमिन हुनुपर्छ । ऊसँग दुइटा धान मिल, गाउँमै एउटा सिनेमाहल र दुइटा काठमाडौं जाने नाइटबस छन् । विराटनगरमा पनि घर छ । तर, सोनालाल गाउँमा बस्छ । भन्छ, गाउँलेको मायाले समातेको छ । हुन त गाउँलेको माया उसलाई कति लाग्छ, थाहा छैन तर जब पानी पर्छ र खेतमा रोपाइँ सुरु हुन्छ तब उ गरिब मुसहरहरूको खुब माया गर्छ । मंसिरमा जव धान काटिन्छ र दाउनी हुन्छ अनि मालिकको मायाको भकारी रित्तिन्छ । त्यसपछि उसको मुखबाट गालीमात्र झर्न थाल्छ । गालीमा सोनालाल फस्ट डिभिजन हो ।
भूमिहीन बिल्टु मुसहर सोनालालको खेत जोत्छ । यो उसको परिवारकै पुस्तैनी जागिर हो ।

बिल्टु बारम्बार आकाशतिर चियाउँछ । उसको झुप्रोमाथि आकाशमा आज हलचल छ । तर, झुप्रोभित्रको अँध्यारोमा ज्वरोले थलिएकी दुखिनी भर्खर निदाएकी छे । बिल्टुलाई भने निद्रा पटक्कै छैन । ऊ बाहिर निस्किन्छ । आकाशमा बादलको गति विचार गर्छ । पश्चिमउत्तरको पर्वतमालामा बादलका घुर्मैला पत्रहरू वेगले पूर्वतिर हानिँदैछन् । बिल्टु एकछिन बादल र यसको रंग नियालिरहन्छ । आजको बादल केही ताजा, चिसो, भारी र सजीव देखिन्छ । बिल्टु छड्के आँखाले बादलभित्रको जीवन ठम्याउँछ । आकाशको हलचलले बिल्टुको लुलो ज्यानमा जीवनको ऊर्जा सञ्चार गर्छ । ऊ पक्का गर्छ कि आज पानी पर्छ ।

भित्र ज्वरोले अर्धचेत दुखिनी विस्तारै घुर्दै छ । बिल्टुलाई आफ्नी जहानको अनुहार हेर्न मन लाग्दछ । ऊ नजिकै जान्छ र अँध्यारोमा दुखिनीको अनुहार छाम्छ । सायद निद्रामा नै आप्mनो श्रीमानको अनुभव उसलाई भयो, ऊ घुर्न छाड्छे । कतै देउरालीमा सिरसिर हावा चलेजस्तो स्वासको धिमा गतिमात्र सुनिन्छ । त्यहीबेला आकाश गर्जिन्छ । हावाको झोका फुसको छानामा ठोकिन्छ र पानी छिट्टयाएको सुनिन्छ । पानीसँगै बिल्टुका पीडाहरू गायब हुन्छन् र सयौं दमित इच्छाहरू ब्युँझिएर आउँछन् । उसका सपनाहरू ब्युँझिन्छन् । बिल्टु खुसीले श्रीमतीलाई अँगालो हाल्छ । तर, ज्वरोले तातेको दुखिनीको अनुहारमा स्पर्ष हुनासाथ बिल्टुका सबै आवेगहरू सेलाउँछन् । ऊ स्थीर हुन्छ ।

बिल्टुको मन सिधा आकाशतिर उड्छ । आकाशमा ऊ र दुखिनी सँगै छन् ।

भख्खर वैशाख लाग्दै थियो र तराईमा सिरुवाको रमझम थियो । आजभन्दा १३ वर्षअगाडि उसले दुखिनीलाई देखेथ्यो । कालो अनुहारमा टल्किएका सेता दाँतका लहर, ठूला आँखा, सस्तो लिपिस्टिकले रंगिएका पोटिला ओठ र निलामा रातो बुट्टा भएको कुर्तासुरुवाल । त्यो रात ऊ कसै गरी निदाउन सकेन । उसलाई पहिलो नजरमा नै प्रेम भयो । त्यसको तीन दिनपछि उनीहरूले दोस्रो भेट गरे । तेस्रो भेटमा उनीहरूले सिनेमा हेरे । ती सबै क्षणहरू सपनाजस्तै भए । सिनेमा हेरेर बाहिर निस्किँदा रात छिप्पिँदै थियो । उसले पहिलोचोटि दुखिनीको हात समायो । त्यसको हप्ता दिनपछि उनीहरूले भागेर विवाह गरे । कुनै रीतिरिवाज, घरदेख, भोजभतेर, बाजागाजा र आफन्तीबिनै  एक्लो बिल्टुले आफ्नी दुखिनीलाई भित्र्यायो ।

बिहेपछि बिल्टुले ऐलानी जग्गामा आफ्नै झुप्रो हाल्यो । दुखिनीले आफ्ना चाँदीका गहना बेचेर ५ वटा हाँसका टिउला किनी । आँगनको डिलमा सुँगुरको पाठो खेल्न थाल्यो । यो पो हो जिन्दगी । बिल्टुलाई कसैले मायाले बोलायो । कसैले मायाले छोयो । कसैले मायाले हे¥यो । यो सबै पहिलोचोटि भयो । सबै एकैपटक सुरु भयो । बिल्टुको मन नाच्न थाल्यो ।

जीवनप्रति आशाहरू पलाए । त्यो बेलाकी रसिली, भरिली र मायालु दुखिनी सम्झिएर बिल्टुका आँखा रसाए । यो आईमाई उसका लागि कति महत्वपूर्ण छ, उसले अहिले बुझ्यो । आज बिल्टुलाई फेरि प्रेम भयो । यो प्रेममा उसले आफूलाई बिर्सियो, सोनालाल मालिकलाई बिर्सियो, मालिकको बाँझो खेत पनि बिर्सियो । उसले दुखिनीबाहेक सबै बिर्सियो । उसले फेरि दुखिनीलाई हे¥यो । अँध्यारोमा उसले आफ्नी दुखिनीलाई महसुस गर्‍यो ।

अर्धचेतमै दुखिनीले लोग्नेको भावना बुझी । उसले बिल्टुका खस्रा हातहरु कसेर समाती र आफ्नो छातीनेर लगी । छाती अलि छिटोछिटो चलेझैं थियो । उसले दुखिनीको शरीर सुम्सुम्यायो । पाखुरा, गर्दन र गाला तर जब गालामा उसका हात पुगे, ओहो दुखिनीको आँखाबाट आँसुको समुद्र बगिरहेको थियो । दुखिनी चुपचाप रोइरहेकी थिई । किन रोई दुखिनी ? किन बग्दैछ आँसु? उसले सबैभन्दा माया गरेकी आइमाइका आँखाबाट आज किन आँसु झरे? बिल्टुका हातहरू थामिए । उसले श्रीमतीलाई अँगालो मा¥यो र आफू पनि रुन थाल्यो । आजको रात आकाश, बिल्टु र दुखिनी सँगै रोए ।

रातिको पानीले किसानहरूमा नयाँ जीवन सुरु ग¥यो । सबै खेतमा पसे । तर, बिल्टुको मन आज खेतमा थिएन । उसको मन त मेलामा भेट भएकी त्यही दुखिनीतिर थियो । ऊ सेता दाँतहरू चम्काउँदै हाँस्थी र लजाउँदै दाहिनेतिर मुन्टो बटार्थी । बिल्टुलाई आज लाग्यो, उसले श्रीमतीलाई साँच्चै माया ग¥यो तर केही दिन सकेन । न साडी किनिदिन सक्यो, न त कंगन नै । ऊ पाउजुमा छम्छम् नाचेकी आफ्नी दुखिनी हेर्न चाहन्थ्यो । तर, अहिलेसम्म सपना अधुरै भयो । उसले काम त गरेकै हो, कता गयो रगत र पसिनाको मूल्य ? किन पूरा भएनन्, दुखिनीका सपनाहरू ? बिल्टुले जीवनमा पहिलोचोटि आफूसँग प्रश्न ग¥यो । आफैंसँग गुनासो गर्‍यो ।

मालिक उसका लागि आज निकै बिरानो लाग्यो ।

बिल्टुलाई आज गोरु जोत्न पटक्कै मन भएन । त्यसैले घाम अलि माथि नै थिए, बिल्टुले गोरु फुकाइदियो । सधैंजस्तो ऊ गोरुको पछिपछि लागेन । ऊ त कदमगाछी चोकतिर पो हानियो । उसले धनियाको दोकानबाहिरै उभिएर एक ग्लास रक्सी स्वाट्ट पार्‍यो । भिखनको माछापसलबाट उधारोमा मुग्री माछा लियो । माछा जिउँदै थिए । माछा ताजा थिए । ऊ घरतिर हान्नियो । ऊ छिटोछिटो आफ्नो झुप्रोमा पुग्न चाहन्थ्यो । आज ऊसँग रंगिन सपनाहरू थिए । नयाँ योजनाहरू थिए । यी सबै ऊ दुखिनीलाई सुनाउन चाहन्थ्यो । उसलाई हँसाउन र रमाउन चाहन्थ्यो । ऊ मालिकसँग भाग्न चाहन्थ्यो । गोरुसँग भाग्न चाहान्थ्यो । उसलाई मालिकको खेत हेर्न मनै भएन । ऊ त आफ्नै निजी साइकलमा बसेर सहरतिर पस्न चाहन्थ्यो । साइकलको अगाडि दुखिनी होस् । दुखिनीको स्पर्ष होस् । ऊ साइकलमा दुखिनीलाई हालेर लगातार लामो यात्रा गर्न चाहन्थ्यो ।

बिल्टुले मनमनै गम्यो, अब ऊ लेबरको काम गर्छ । आजैदेखि ऊ हलो बिसाउँछ । बरु सहरमा घर बनाउँछ ।

बिल्टु आँगनमा पुग्यो । झुप्रो उही थियो । आँगन र आँगनमाथिको पिँढी उही थियो । पिँढीको मध्यभागमा उसरी नै टीनको ढोका लागेको थियो र घर उसरी नै सुनसान र शान्त थियो ।

पुस्तौंपुस्तादेखि यी घरहरू सधैं यस्तै शान्त छन् ।

बिल्टुको सपनामा सानो घर, अलिकति बारी र फूलजस्ता बच्चाबच्ची थिए । स्वतन्त्रता थियो । ऊ जीवनमा पहिलोचोटि रमायो । आशाका नयाँ तस्बिरहरू मनमा नाचे र कानमा संगीतको मीठो धुन बज्न थाल्यो । आज त्यो संगीत ऊ दुखिनीलाई सुनाउन चाहन्छ । बिल्टु घरभित्र पस्यो । दुखिनी शान्त थिई । उसले आफ्नी दुखिनीलाई नियालेर हे¥यो । सबैभन्दा मायालाग्दी उसकी आइमाइ आँखा चिम्लिएर सुतेकी थिई । दुखिनीको आँखाको आँसु ओभाएको पनि थिएन तर उसको शरीर चिसो र मौन थियो ।

बिल्टु असहायझैं उभियो । उसका अगाडि कालज्वरले आक्रान्त आफ्नै सपनाको लास लम्पसार थियो । माछाहरू प्लास्टिकको झोलामा अझै छटपटाउँदै थिए ।

(श्रोत :- Setopati )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.