~बुद्धिसागर~
डिल्ली र म हाफटाइममा पिसाब फेर्ने बहानाले स्कुलबाहिर निस्कियौं र दगुर्यौं । अल्लि पर पुगेपछि हिँडयौं । हामी सकेसम्म ढिलो हिँडेर कटासे पुग्यौं । मैले स्कुलबाट भाग्न थालेदेखि नै यस्तो कला सिकेको हुँ । स्कुलबाट चाँडै भाग्यो, ढिलो हिँडयो र स्कुल बिदा हुने-हुने बेला कटासे पुग्यो । तर, कहिलेकाहीँ झुक्किएर चाँडै पनि हिँड्थेँ ।
बाले हाम्लाई देख्नुभो र कराउनुभो, ‘फेरि स्कुलबाट भागेर आइस् ?’
‘स्कुल बिदा भो,’ मैले ढाँटेँ ।
डिल्लीले पनि मुन्टो हल्लायो । त्यसपछि बाले अरू केही सोध्नुभएन । अनि, एकछिनमा ‘चिया खान जा’ भन्नुभो । हाम्रो मेडिकलभन्दा अल्लि पर चियादोकान थियो । त्यहाँबाट मेडिकलमा चिया आउँथ्यो । म डाक्टरको छोरा हुँ भन्ने चिनेकाले जानेबित्तिकै चिया पाउरोटी दिन्थे । कहिलेकाहीँ स्कुलबाट भाग्दै कटासे पुगेर चियापसलमा सुटुक्क चिया पिएर म मटेरा फर्किन्थेँ । बाले थाहै पाउनुहुन्नथ्यो ।
डिल्ली र म चियापसल पुग्यौं । मज्जाले चियापाउरोटी खायौ । मटेरामा पाउरोटी पाइँदैनथ्यो । त्यसैले डिल्ली पाउरोटी खान पाउँदा रमाइरहेको थियो । चिया सकेर एकपल्ट बजार फन्का लगायांै । बजार फन्का लगाएर थाकेपछि डिल्लीले भन्यो, ‘स्कुलबाट भागेको थाहा पाए त बाले भकुर्छन् ।’
मैले पनि आमाको थप्पड सम्झेँ ।
‘अब ह्याँबाट जाम्,’ डिल्लीले भन्यो, ‘वनमा कुरेर बसांैला । स्कुल छुट्टी हुने बेला घर पुगौंला ।’
मलाई कुरा ठीक लाग्यो ।
‘दोकानमा जाम्,’ मैले भनेँ, ‘बाले ठन्डा बरफ खाने पैसा दिनुहुन्छ, अनि ठन्डा बरफ खाँदै फर्कौंला ।’
ठन्ठा बरफ सुन्नेबित्तिकै डिल्ली पनि उत्साहित भयो ।
हामी मेडिकल फक्यौर्ं । बिरामीको चाप बढेकाले होला, बाको मुड ठीक थिएन । बिरालोले दूध माग्न मायालु अनुहारले जसरी हेर्छ, त्यसरी मैले बालाई हेरिरहेँ तर बाले मेरो मायालु अनुहार देख्नुभएन ।
तर, बिरामीका बीचबाट भन्नुभो, ‘आज फेरि स्वाट्ट नगएस् ।’
भनेपछि, बाले मलाई आफूसँगै लैजाने सुर गर्नुभो । बाको कुरा सुनेर डिल्लीले अनुहार अँध्यारो बनायो । साँझ बासित जाँदा उसका बाले थाहा पाइहाल्छन्, कटासे पुगेको थियो भनेर ।
उसले इसाराले भागौं भन्यो ।
‘तँ पुलमा गएर कुर्दै गर,’ मैले भनेँ, ‘म ठन्डा बरफ खाने पैसा लिएर आउँछु ।’
डिल्ली खिस्स हाँस्दै एक दुई कदम सर्दै मेडिकलबाट छेलियो । बाका अगाडि उभिँदै मैले मुख फोरेँ, ‘बा, पैसा दिनु ।’
‘किन चाहियो ?’
‘ठन्ठा बरफ खाने ।’
‘आज खानुपर्दैन ठन्डा बरफ,’ बाले झिजो मान्दै भन्नुभो, ‘जैले नि स्कुलबाट भागेर आउँछस् । आज पनि आइस्, हैन ? आज दिन्नँ ।’
ए, आज बा रिसाउनुभा रैछ । म एकछिन मेडिकलबाहिर उभिरहेँ । जब बा भित्री कोठामा पस्नुभो, म फुत्त निस्केँ । जोडले दगुरेँ ।
पुलछेउ टन्नै मान्छेहरू ओहोरदोहोर गरिरहेका थिए । रेडियो दोकानबाट ठूल्ठूलो आवाजमा हिन्दी गीत बजिरहेको थियो । पुलको ठयाक्कै अगाडिपट्टकिो मिठाई पसलमा जेरीको खात लागेको थियो । एउटा भुँडेले जेरी रसमा डुबाउँदै निकालिरहेको थियो । जेरी देखेर मन रसिलो भएर आयो । त्यही छेउमा डिल्ली उभेर कुरिरहेको थियो ।
‘पैसा ल्याइस् ?’ उसले भन्यो, ‘ठन्डा बरफ होइन, जेरी खाम् ।’
‘बाले दिनुभएन । रिसाउनुभा छ ।’
ऊ निराश भो ।
हामी पुलमा उभेका मान्छेलाई छल्दै अमौरीखोला तर्न थाल्यौं । गर्मी भएर होला, अमौरीखोलामा मान्छेहरू डुबुल्की लाइरहेका थिए । किनारमा धोबीहरू कपडालाई आकाशतिर उठाउँदै ठूलो ढुंगामा पछारिरहेका थिए । होहल्ला थियो ।
साढे दुई बजेको थियो, होला ।
हामी वारि आयांै । आकाशमा एकदुई टुक्रा काला बादल थिए । लडिया हिँड्दाहिँड्दा बाटोको दुई छेउमा गहिरा लिक बनेका थिए । हामी लिकको बीचबाट हिँडिरहेका थियौं । हामी जब जंगलभित्र पस्यौं, बोल्न छाडयौं । किनभने, चारैतिर बाँदरैबाँदर थिए । बाँदरतिर नहेरी हिँडिरह्यौं ।
जब बाँदर छुटे । हामी दगुर्यौ । दगुर्दा-दगुर्दै जंगलको बीचतिर पुगिसकेका थियांै, डिल्ली करायो, ‘वाह, जमुना रैछन्, खानुपर्यो ।’
बाटोको छेउमै सानो कदको जमुनाको रूख थियो । जो बटुवालाई दर्शन गरेझैं बाटोतिर झुकेको थियो । छेउछाउमा ठूल्ठूला सालका रूख थिए । सालको बीचमा त्यै मात्रै जमुनाको रूख थियो । रूखमुन्तिर दुईजना गाउँले आइमाई भुइँमा खसेको जमुना टिपिरहेका थिए ।
‘जमुना छन् रूखमा ?’ डिल्लीले कम्मरमा हात राख्दै आइमाईलाई सोध्यो ।
‘छन् छन,’ एउटीले रूखका हाँगातिर हेर्दै भनिन्, ‘भुइँमै त कत्ति खसेका छन् । हाँगैभरि छन् ।’
हुन पनि, जमुनाको सिजन भर्खरै आएको थियो । बटुवाले यो रूखतिर ध्यानै दिएका रैनछन् । हाँगाभरि कमिलाको टाउकोको रंगका जमुना झुन्डिएका थिए ।
‘ल म रूख चढ्छु है त !’ डिल्लीले जाँगे कस्यो, ‘एउटा हाँगा घरमा लैजानुपर्छ ।’
म पनि रूखको अग्लाइ खासै नदेखेर रूख चढ्न कस्सिएँ । मलाई पनि टन्नै जमुना भरिएको हाँगा घर लैजाने रहर पलायो । खोइ किन हो, गाउँलेहरू टिपेर सँगालेको जमुनाभन्दा हाँगैसितको जमुना खाना मन पराउँथे । सहरमा झुप्पाबाट अँगुर टिपेर खाएजस्तो ।
‘रूख नचढ, भुइँकै खाऊ,’ आइमाईहरूले सम्झाए, ‘जमुनाको हाँगा कच्चा हुन्छ, भाँच्चेर खस्लाउ ।’
‘भुइँमा जमुना हैन, बाख्राको गु हुन्छ,’ डिल्ली करायो, ‘गु खाइँदैन ।’
डिल्ली चप्पल रूखको फेदमा राखेर रूखमा छेपारोझैं चप्कियो र बाँदरझैं खरर्र उक्लियो । मैले पनि ठसठस कन्दै डिल्लीलाई पछयाएँ । जमुनाका रूख सालका रूखजस्ता सलक्क परेका हुँदैनथे । समात्नलाई जताततै ससाना हाँगा हुन्थे, त्यसैले म सजिलै चढेँ ।
रूखका तीन तला थिए । भनेको तिनटा हाँगा थिए, ठूल्ठूला । र, जमुनाका झुप्पा तेस्रो हाँगामाथि थिए । डिल्लीले पहिलो हाँगातिर हात तन्कायो, समायो र सर्कस देखाएझैं माथिको हाँगामा स्वात्त उक्लियो । झलक्क हेर्दा डिल्लीलाई जमुनाको हाँगाले हात समाउँदै माथि तानेजस्तै देखियो । म भने रूखको पेट समाउँदै दोस्रो हाँगा उक्लेँ । तेस्रो हाँगा उक्लिनलाई माथिको हाँगै समाएर झुन्डिएर माथि जानुपर्ने थियो, अर्को बाटो थिएन । डिल्ली बाँदरझैं हाँगा समाएर एकछिन झुन्डियो र स्वात्त हाँगामा सर्पझैं बटारियो । लौ, ऊ त जमुनैजमुनाको बीचमा पुग्यो । ऊ जमुना टिप्दै खान थाल्यो ।
‘हामीलाई पनि हाँगा भाँचेर फाल है !’ तलबाट महिलाहरू कराए । डिल्ली मसिनो र धेरै जमुना फलेको हाँगा खोज्न थाल्यो ।
डिल्लीले जहाँनेर समाएर माथि चढेको थियो, त्यहीँनेरबाट उक्लिन मलाई गाह्रो लाग्यो । म हाँगाको अल्लि छेउतिर आएँ । च्याप्प समाएँ । बाँदरझैं तर्लुंग झुन्डिएँ ।
मलाई त्यतिसम्म होस छ ।
एक्कासि खोला तर्दा बालुवा भास्सिएजस्तो भयो । एउटा ठूलो झट्का मुटुमा पर्यो । हेर्नेलाई पो मान्छे स्वात्त भुइँमा खसेको लाग्छ । जब म खसेँ, मलाई त अर्कै लाग्यो । फिल्म हेर्न थालेपछि म त्यसको अझ राम्रो वर्णन गर्न सक्छु । फिल्ममा देखाउँछ नि, जब गाडी भीरबाट खस्छ, बिस्तारै सुस्त, आवाजहीन हावामा तैरिन्छ । र, पातझैं बिस्तारै खस्छ । हो, म पनि झरेको पातझैं एकदमै बिस्तारै खसेँ । अझ चराको प्वाँखझैं ।
म रूखको हाँगासहित तल झरेँ । मेरो दिमागले केही सोचेन । म भइरहेको कुरा सबै देखिरहेको थिएँ तर मनमा कत्ति डर थिएन । हाँगा ह्वात्त खस्दा एकपल्ट चिर्र, ‘आमोई’ भनेको मात्र सम्झना छ ।
म भुइँमा पछारिए, धडयाम्म ।
एउटा गाढा अँध्यारो आँखानेर आउँदा मैले आइमाईहरू चिच्याएको सुनेँ, ‘आम्मै, बाबु खस्यो ।’
एकदम गाढा अँध्यारो ।
lll
कोही दगुरिरहेको आवाजले म ब्युँझिएँ । आधा खुलेका आँखाले मैले सालको रूखको टुप्पो देखेँ । देखेँ- मेरो अनुहारमाथि टाँगिएका आइमाईहरूको अनुहार । अनि, देखेँ- पल्लो गाउँका अधबैंसे कामीदाइ । जो बेस्मारी दगुर्दै हामीतिर आइरहेका थिए ।
डिल्लीलाई कतै देखिनँ ।
भर्खरै जन्मेझैं म मधुरो गरी सबै देखिरहेको थिएँ तर राम्ररी महसुस गर्न सकिरहेको थिइनँ । ज्यान कताकता दुखेजस्तो भइरहेको थियो । कहाँनेर ? मैले पत्तो पाइनँ । मलाई यत्ति थाहा भो- आइमाईहरूले मलाई सालको रूखको छायामा राखेका रैछन् । पछयौराले हम्किरहेका थिए ।
कामीदाइ नजिक आए ।
‘बाबु खस्यो,’ एउटीले अत्तालिएर भनिन्, ‘पानी-पानी भनिरहेको छ । पानी ल्याउनुस् ।’
कामीदाइ अल्मलिए ।
‘खोला छेउमै त छ नि,’ अर्कीले भनिन् ।
मैले देखेँ- कामीदाइ बेस्मारी दगुरिरहेका थिए । उनले लगाएको लुंगी हुरीबीचको प्लास्टिकझैं हल्लिरहेको थियो ।
मेरा आँखा फेरि सालको रूखको टुप्पातिर पुगे । मेरो पेट भित्रभित्र कतै हुडुलिन थाल्यो । सालको रूखको टप्पो फनक्क घुम्यो र धर्तीतिर निहुरियो ।
अँध्यारो ।
अनुहारमा टपटप पानी परेपछि फेरि ब्युझिएँ । आँखा खोल्दा कामीदाइ मेरो अनुहारमा आफ्नो लुंगी निचोरिरहेका थिए । उनले खोलामा लुंगी भिजाएर ल्याएका रैछन् । मेरा कलेटी परेका ओठमा पनि उनले पानी चुहाइदिए । मैले मुख आँ गरेँ ।
मटेरामा तल्लो जातकाले छोएको पानी खाने चलन थिएन । हाम्रो घरमा पनि मनाही नै थियो । र, कामीदाइले छोएको पानीले अमृतको काम गर्यो ।
पानी खराब हुँदो रैनछ । पानी दिने नियत पो फरक हुँदो रैछ । असल नियतले दिएको पानी अमृत हुन्छ, खराब नियतले दिएको पानी बिष ।
कामीदाइ मेरा लागि अमृत ल्याउने भगवान् नै भए ।
‘नानी एक्लै रूख चढेका थे ?’ कामीदाइले सोधे ।
‘होइन,’ आइमाईहरूले भने, ‘साथी थ्यो, मान्छे बोलाउन गा छ ।’
‘बिचरा धन्नै मरेथे,’ कन्चट समाएर बसेकी एउटीले भनिन्, ‘छेउमै रूखको ठुटो थ्यो, जोगिएर खसे ।’
कुराकानी जारी थियो । आवाज मधुरो हुँदै गयो । कानमा कसैले रुई ठेलिरहेझैं । मैले सुन्न छाडेँ ।
अँध्यारो ।
होेस आउँदा मेरो ज्यान हल्लिरहेको थियो । मैले मान्छेको होहल्ला सुनेँ । आँखा उघारेँ । म कसैको काँधमा थिएँ । वरिपरि स्कुलबाट फर्केका विद्यार्थी थिए । मलाई कसले बोकिरहेको थियो, मैले थाह पाइनँ । तर, उसको घुच्चुकबाट आइरहेको पसिनाको अमिलो गन्ध मेरो नाकभित्र पसिरहेको थियो ।
मैले कर्के नजर लाएँ । विद्यार्थीको बीचमा डिल्ली पनि थियो, एकदम आतंकित । ऊ पुलुक-पुलुक मतिर हेरिरहेको थियो ।
‘होस आएजस्तो छ,’ कसैले भन्यो ।
मलाई अप्ठयारो लाग्यो । दायाँ गाला र कानको लोती टट्टाइरहेको थियो । खस्दा पुट्ठाले टेकेछु कि के हो, बेस्मारी दुखिरहेको थियो । केटाहरूले के-के सोध्लान् भन्ने लाग्यो । फेरि बेहोस भएझैं आँखा चिम्लेँ ।
केटाहरू मलाई बोकेर हुलमुलसहित गाउँ पसे । मलाई झन् अप्ठयारो लाग्यो । गाउँलेले रूख चढेकोमा पक्कै गाली गर्छन्जस्तो लाग्यो । बेहोस भएजस्तै गरिरहेँ । बेलोबला अलिअलि आँखा उघारेर हेथेर्ं, कहाँ पुगेँ भनेर ।
‘के भयो बाबुलाई ?’ कोही-कोही सोध्थे ।
‘रूखबाट खसेछन्, होसमै आएका छैनन्,’ कसैले जवाफ दिन्थ्यो ।
‘कठै, डाक्टरलाई के दशा आइलाग्यो ?’ गाउलेहरू चुक्चुकाउँथे ।
जब केटाहरू मेरो घरनजिक पुगे, मेरो मुटु बेस्मारी धड्किन थाल्यो । आमाले पक्कै चड्कन लगाउनुहुन्छ जस्तो लाग्यो । मैले अलिअलि उघारेका आँखा पनि बन्द गरेँ ।
मलाई बोक्नेले भुइँमा राखे ।
मैले दिदी बेस्मारी चिच्याएको आवाज सुनेँ । दिदी ‘आमा’ भन्दै कराइन् ।
‘के भो ?’ आमाको आत्तिएको आवाज आयो ।
‘रूखबाट खसेछन्,’ कसैले भन्यो ।
एकछिनपछि कसैको चिसो हात निधारमा सल्बलायो । पक्कै आमाको हात हुनुपर्छ । मैले आमाको रुन्चे आवाज सुनेँ, ‘कहिल्यै सुख देन यस्ले । स्कुल गाको मान्छे रूख चढ्ने हो त ?’
‘होसै आको छैन,’ कसैले भन्यो, ‘बीचमा दुईपल्ट होसमा आका थे रे । डिल्लीले भनेका । हाम्ले भेटेदेखि त होसमै आका छैनन् ।’
‘हनहनी ज्वरो आएजस्तो छ,’ आमाले भन्नुभो, ‘के दशा आइलाग्यो कुन्नि । खोइ त डिल्ली ?’
‘अघिसम्म त पछिपछि आका थे । घर गएजस्तो छ,’ मलाई बोक्नेले भन्यो ।
‘आमा कटासे लैजाम्,’ जेठी दिदीले भनिन् ।
‘लैजाने पर्यो के रे,’ आमाको आवाज झन् रुन्चे भयो, ‘कस्तो हिक्क-हिक्क गरेको छ ।’
lll
म आमाको पिठयुँमा थिएँ । आमाले मलाई पछयौराले बाँध्नुभएको थियो । दिदी आमा सँगसँगै लोटामा पानी बोकेर हिँडिरहेकी थिइन् । मैले दिदीको अनुहारमा हतासा देखेँ ।
घरमा दाइदिदी र बहिनी पनि सँगै जाने भनेर कचकच गरिरहेका थिएँ । तर, आमाले घर हेर्नुपर्छ भनेर आउन दिनुभएन ।
आमा छिट्छिटो हिँडिरहनुभएको थियो । जंगलको बाटो मान्छेहरू त्यति देखिएका थिएनन् । साँझ पनि ढल्किँदै थियो ।
‘आमा, कुन रूखबाट होला खसेको ?’ दिदीले सोधिन् ।
‘खै कुन हो कुन,’ आमाले सासले भन्नुभो, ‘खोइ, कुन रूखाँ यसको काल लुक्या थ्यो ।’
मलाई आमा र दिदीको छटपटी देखेर ब्युँझिएको बहाना गरौंजस्तो लाग्यो तर सकिनँ । म भित्रभित्रै गल्दै गइरहेको थिएँ । मलाई पूर्णरूपमा होस आइसकेको थियो । घरमै ब्युँझिएजस्तो गरेको भए आमालाई यत्ति दुख्ख त हुन्नथ्यो । बाले भोलि औषधि ल्याइदिनुहुन्थ्यो । तैपनि केले रोक्यो, कुन्नि ? मैले बेहोस भइरहेको बहाना बनाइरहेँ ।
बाटोमा म खसेको रूख पनि आइपुग्यो । मैले हेरेँ- रूखमुन्तिर रूखको डालो खसेको थियो । त्यै डालोसित म खसेको हुनुपर्छ । आमालाई सुनाउन मन लाग्यो- म खसेको रूख यै भनेर तर आवाज निकाल्न सकिनँ ।
म भित्रभित्रै आत्मग्लानिको आगोमा जलिरहेको थिएँ ।
आमा मलाई बोकेर अघिपछिभन्दा छिट्टै कटासे पुग्नुभयो । पुलमा मान्छेको भीड बढेको थियो । साँझपखको चिसो हावा खाना आएका होलान् । ती छक्क पर्दै आमातिर हेरिरहेका थिए ।
जब आमा पहिलो गल्लीमा पस्नुभो, मान्छेहरू चनाखो भए ।
‘आम्मै, के भो बाबुलाई ?’ पहिलो गल्लीकी चुरा पसले दिदीले सोधिन् ।
‘रूखबाट खसेछ,’ आमाले भन्नुभो ।
पसल्नी दिदी मेरो छेउ आइन् । मैले आँखा बन्द गरेँ ।
उनले एकछिन मलाई नियालिहोलिन् । र, भनिन्, ‘अघि त यतैबाट दगुर्दै गाका थे । बरा । लौ हेर, गाला सुन्निएर । बेहोसै छन् कि के हो !’
‘बेहोसै छ ।’
बजार पसेदेखि मेडिकल पुग्दासम्म आमालाई कत्तिले सोधे सोधे । मैले बेहोस भएको बहाना बनाइरहेँ । जब आमा मेडिकलनेर पुग्नुभो, मलाई साँच्चै बेहोसै हुँलाजस्तो लाग्यो ।
मैले अलिअलि उघे्रका आँखाले देखेँ- बा दोकान बन्द गर्न खोजिरहनुभएको थियो । झ्वास्स आमालाई देखेर झस्किनुभो । पिठयुँमा घाइते म थिएँ ।
‘के भो फेरि ?’ बा आत्तिनुभो ।
मैले आँखा बेस्मारी चिम्लेँ ।
‘रूखबाट खसेछ,’ आमाले खुइय्य सुस्केरा हाल्नुभो, ‘होसमै छैन ।’
‘अघि त यैं थ्यो,’ बाले भन्नुभो, ‘कतिखेर लुत्त हिँडेछ । यसले पनि हैरान पार्यो । काँ रूख चढ्न गएछ फेरि !’
आमाले उत्तर दिनु भएन ।
आमाले मलाई पलङमा सुताइदिनुभो । पिठयुँमा झुन्डिँदा-झुन्डिँदा मेरो पाखुरा र पुट्ठा टनटनी दुखिरहेको थियो, राहत भो । रूखबाट खस्दा सड्केर होला, भित्रभित्र करकर दुखिरहेको थियो, ज्यान ।
‘होसमै छैन ?’ बाले मेरो नाडी छाम्दै बोलाउनुभो, ‘बुद्धि, ए बुद्धि !’
मलाई उठेजस्तो गरिदिउँजस्तो लागेको थ्यो तर डरले आँटै गरिनँ । बाले मेरो निधार, छाती, नाडी सप्पै चेक गर्नुभो ।
‘सुई नलाई होलाजस्तो छैन,’ बाले भन्नुभो ।
सुई ? मेरो सातो गयो । म अर्कालाई सुई लाको त हेर्न नसक्ने मान्छे । साँच्चै मलाई होसमा आउँजस्तो लाग्यो । होसमा आए त सुई लाउनु पर्दैन होला नि । म बिस्तारै होसमा आएजस्तो गर्ने तयारीमा थिएँ । अलि ढिलो भएछ । बाले मलाई घोप्टो पार्नुभो । एकैछिनमा पुट्ठामा रातो कमिलाले चिलेजस्तो भो । ज्या, सुई त लाइसक्नुभएछ ।
‘अब एकछिनमा आउला होस,’ बाले भन्नुभो ।
एकछिन मेडिकलमा मौनता छायो ।
‘अकालमै मर्छ कि के हो ?’ आमाले निराश स्वरमा भन्नुभो ।
‘मर्दैन,’ बाले भन्नुभो, ‘जा, चिया ल्याउन भन् ।’
सायद, बाले दिदीलाई भन्नुभएको होला । हो रैछ, दिदीले मसिनो स्वरमा सोधिन्, ‘कतिवटा ?’
‘यो मरेको छैन,’ बाले झर्किंदै भन्नुभो, ‘तिनटा भन । ऐल्यै होसमा आइहाल्छ । च्या भन्यो कि मरिहत्ते गर्छ ।’
‘पाउरोटी पनि भनम् ?’ दिदीले फेरि सोधिन् ।
बा बोल्नुभएन । इसारा गर्नुभयो होला । सर्याक-सर्याक आवाज आयो, दिदी गएजस्तो छ । फेरि मेडिकलमा मौनता छायो ।
हत्तेरी, बा र आमालाई मैले त्यत्तिकै दुख्ख दिएँ । मेरो मुटु भुंग्रोमा डढेजस्तै दुखिरहेको थियो । मैले बेहोस भएको नौटंकी गर्नै नहुने । अब झन् बेहोस भएको नाटक गरेको थाहा पाउनुभयो भने त बाले घुच्चुकमै मुड्की हान्नुहुन्छ । मैले आँखा उघार्नै सकिनँ ।
‘यो त पढ्दा पनि पढ्दैन,’ आमाले भन्नुभो, ‘स्कुलबाट सुत्त भाग्छ । गतिलो संगत छैन । बुढेसकालमा यसैले दुख्ख दिन्छजस्तो छ ।’
बा बोल्नुभएन ।
एकछिनमै सर्याक-सर्याक हिँडेको आवाज आयो । दिदी रैछिन्, भनिन्, ‘पसले ले भ्याउन्न भने, मैले आफैं बोकेर ल्याएँ ।’
मेरो कानमा चियाको गिलास ठोक्किएको मधुरो आवाज आयो । मेरो मुख रसायो । अब त होसमा आउँ कि के हो ! सोचेँ, होस् सुई लाएरै होस् आए पनि अल्लि टाइम त
लाग्दो होला । तर पनि चिया चिसो होला भन्ने डर
लाइरह्यो ।
‘उता राख्दे बुद्धिको भाग,’ आमाले भन्नुभो ।
सुरुप-सुरुप चिया पिएको आवाज आयो । आमाले भन्नुभो, ‘यो पनि घरको चिया खान्न । बजारको भन्यो कि मरिहत्ते गर्छ । तपैंले बिगार्देको त हो नि बानी ।’
‘केटाकेटी हो । बजारकै चीज मीठो मान्छ,’ बाले मसिनो स्वरमा भन्नुभो, ‘अघि दिउँसो म रिसाएँ भनेर त भागे होला । रूख चढेछ । ठन्डा बरफ खान्छु भन्थ्यो । किन्ने पैसा देको भए, यतै बस्थ्यो । यस्तो त हुँदैनथ्यो ।’
ए, भनेपछि बा अब रिसाउनुभाको छैन । अब होसमा आए पनि गाली गर्नुहुन्न क्यारे । मन अल्लि हल्का भो । चिया पनि चिसो भो होला । अब त होसमा आउँ क्यारे ।
मैले अल्लि छट्पटाएजस्तो गरेँ । र, ऐया भन्दै आँखा उघारेँ ।
‘होसमा आएजस्तो छ,’ आमाको हतारिएको आवाज आयो ।
आमा मेरो सिरानछेउ आउनुभो । आमाको अनुहार मेरो अनुहारमाथि झुन्डियो । मैले काँ छु भनेजसरी हेरेँ । बा र दिदी कुर्सीमा बसेका थिए । हातमा चियाको गिलास थियो ।
‘बुद्धि भन् त,’ आमाले सोध्नुभो, ‘हामी काँ छम् ?’
मैले यताउता हेरेँ । एकछिन कन्फ्युज भएजस्तो गरेँ । बातिर हेर्न पनि सकिनँ । खित्त हाँस्छु कि जस्तो लागिरहेको थियो ।
मैले भनेँ, ‘खोइ, कहाँ छु म ?’
आमा मुसुक्क हाँस्नुभो, ‘तँ कटासे छस् । अघि रूखबाट खसेको थिस् । बल्ल होस आयो ।’
मैले मुन्टो हल्लाएँ ।
‘चिया खान्छस् ?’ दिदीले भनिन् ।
मैले मुन्टो हल्लाउँदै सोधेँ, ‘पाउरोटी छैन ?’
‘छ ।’
मैले चिया र पाउरोटी खाँदै बा र आमातिर हेरेँ । दुवैको अनुहार सन्तुष्ट थियो । मैले एक्कैछिनमा चिया सकेँ ।
बाले एकछिन मलाई प्रेमले हेरिरहनुभो र सोध्नुभो,
‘अर्को च्या खान्छस् ?’
(श्रोत :- कोशेली – कान्तिपुर – प्रकाशित मिति: २०६९ आश्विन २७ )