~बुद्धिसागर~
होटेल शंकरमा एउटा साहित्यिक कार्यक्रम थियो। दिउसो ३ः३० बजेतिर, प्रमुख अतिथिको उच्चाटलाग्दो भाषणपछि, एकहुल दर्शक खाजाको लाइनमा लागिसकेका थिए। सभापतिको ‘दुई शब्द’लाई छल्दै, अलिकति निहुरिएर दर्गुदै म पनि खाजाको लाइनमा पुगेँ। म पच्चीस-छब्बीस नम्बरमा परेँ।
पुलाऊ-मटन-चिकन र तात्तातो जेरीको बासना वरैसम्म आइरहेको थियो। मिठो बासनाले होला, भोक अझै बढ्यो। लाइनको अघिल्तिर उभिएका पाँच-छ जनाले प्लेटभरि खाजा बोकेर बाहिर बरन्डातिर निस्किदा कार्यक्रम सक्किएछ।
हुरुरुरु करिब सत्तरी-असी मानिस लाइनमा गाभिन आइपुगे। दुईचार जना भने अघिल्लो पंक्तिका मानिसलाई हात हल्लाउँदै नजिक गए र निर्लज्ज त्यहीँ घुसि्रएर उभिएँ।
मेरो पालो अझ पछि सर्यो, म त्यसैको झोकमा थिएँ।
भीडबाट कसैले हात हल्लाएजस्तो लाग्यो। त्यता हेरेँ। हो रैछ।
एक ‘कवि मित्र’ रैछन्। ती काठमान्डुमा बस्थे, एकदिन सारा ‘साहित्य’ खान्छु भन्ने हिसाबले। तर, काठमान्डु आएपछि, दुई महिना बेस्मारी थला परेछन्, जन्डिस लागेर। मैले केही दिनअघि थाहा पाएको थिएँ।
‘के छ, यार?’ उनी नजिक आए, ‘बीचमा जन्डिस भएर कार्यक्रमहरूमा आउन पाइनँ। नयाँ के छ?’
उनी लाइनमै घुसि्रने सुरसहित अझ नजिक आए।
‘त्यस्तो केही छैन।’ भन्दै म उनलाई आफ्नो अघिल्तिर घुसि्रन नदिने अडानसहित उभिएँ।
हिहिहि हास्दै उनी छेउमै उभिइरहे।
‘खै खै।’ अचानक उनले आफ्नो हात मेरो अनुहारतिर बढाए। अनि, मेरो अनुहार ऐनाझैं आफूतिर फर्काउँदै गढेर हेर्न थाले।
‘के भो?’ मैले सोधेँ।
‘एक्कै छिन…।’ उनले डाक्टरले झैं मेरा आँखा च्यातेर भित्र चिहाउन थाले।
‘हत्तेरी… के भो भन्या?’ उनको डाक्टरी-ताल मलाई झर्को र लाजलाग्दो लाग्न थाल्यो।
‘जिब्रो देखाऊ त!’
इस् देखाउँछु। म लाइनसहित दुई कदम अगाडि बढे र झर्किएँ –
‘किन देखाऊँ?’
‘तिमीलाई त जन्डिस भएजस्तो छ।’
जन्डिस? मेरो मुटु डरले गुव्वाराझैं फुल्दै गएर अङनारीमा ठोक्किएलाजस्तो भो।
‘मेरो शरीर अलि पहेँलो नै छ।’ मैले बचावटमा भनेँ, ‘फेरि आज दिनभरि सुतेर आको हुम्। त्यसैले होला।’
‘कस्तो कुरा गर्या?’ कवि-मित्रले मेरा हातका नङ हेर्दै भने, ‘म अस्ति भर्खरै जन्डिस ठिक भएको मान्छे हुम्। मलाई थाहा हुन्न?’
मेरा गोडा सुस्त काँपे।
कवि-मित्रको मेरा अंगअंग खानतलासी र मेरो अनुहारमा त्रासको कालो बादल मडारिइरहेको देखेर तीनचार जना साहित्यिक- मित्र नजिक आए।
‘के भो?’ एउटाले सोधे।
‘इनलाई जन्डिस भएजस्तो छ।’
‘हो र…?’ दोस्राले जिब्रो टोके।
‘अघि नै पहेँलो-पहँेलो अनुहार देख्दा मलाई शंका त लागेको थ्यो।’ तेस्रा मित्र बर्बराए, ‘हो… जन्डिसै भ’को रैछ त।’
‘साँच्चै हो?’ मेरो आवाज धस्सियो। म फुत्त लाइनबाट बाहिरिएँ। त्यो ठाउँ कवि-मित्रले ओगटे र सोधे, ‘लाइनबाट किन बाहिर?’
‘जन्डिस भएपछि केही खान हुन्न भन्छन्।’
‘अहिले एकपल्ट खाए… केही नहोला।’
‘म त केही खान्नँ… तिमी खाऊ।’ भन्दा मलाई भनन रिङटा लाग्न थालिसकेको थियो।
‘चिल्ला-पिरो नखाऊ न त…।’
म फेरि लाइनमा पसेँ, कविमित्रका पछाडि।
एकछिन पछि मेरो प्लेटमा सुख्खा रोटी र रायोको साग थियो। जसलाई समातेका मेरा हात रुखको पातझैं सुस्त हल्लिरहेका थिए।
…
सायद, ६० सालको जेठको गर्मीको दिन थियो।
म हतार-हतार राजदरबारछेउ अग्ला रुखमुन्तिर हिँडिरहेको थिएँ। मेरा ओठ सुख्खा भइसकेका थिए। कवि-मित्रको मलाई जन्डिस भएको घोषणाले म रुन्चे भइसकेको थिए।
जन्डिस भाको मान्छे घामदेखि जोगिनुपर्छ – मैले थाहा पाएको थिएँ। त्यसैले साँझको मलिन घामदेखि पनि जोगिँदै-जोगिँदै हिँडिरहेको थिएँ।
जन्डिस यस्तो रोग हो, जसले जीवनकालभरि लखेटिरहन्छ। खाना बारेन भने ठहरै पार्छ, पनि सुनेको थिएँ। खानाको कुनै रुटिन थिएन, मेरो। म खानाको साटो मःम नै खाएर दिन कटाउथँे। साला… मःमले नै मलाई जन्डिसको रोगी बनायो – म मःमका विरुद्धमा दाह्रा किट्न थालेँ।
एकपछि अर्को गर्दै मःम पसलका साउहरूको झझल्को आउन थाल्यो। जो मुसुमुसु हास्दै मेरो अगाडि डेढ प्लेट मःम राखिदिन्थे। प्याच्च पहेँलो तेल निस्किएका मःमका डल्ला। साउ र ममको सम्झनाले पनि उक्कउक्क हुन थाल्यो।
जमल विश्वज्योति हलछेउ आइपुग्दा ह्वास्स मःमको गन्ध नाकमा ठोक्कियो। मैले सडकबाटै पुरानो हरियो पर्दा झुन्डिएको पसलभित्र चिहाएँ। ग्राहकको भीड थियो।
यी सबैलाई पछि जन्डिस हुन्छ – मैले मनमनै घोषण गरँे।
घन्टाघर आइपुग्दा मलाई पिडौंला गलेजस्तो लाग्यो। एकछिन उभिए। त्यसै-त्यसै खुइय… सुस्केरा निस्कियो। जन्डिस भएपछि शरीर गल्दै जान्छ – मैले सुनेको थिएँ। आफ्ना पिडौंला पनि गल्ल थालेपछि, मलाई विश्वास हुँदै गयो, यो काठमान्डुका हजारौं जन्डिसका रोगीमा म पनि थपिएँ।
जामे मस्जिदछेउको पाठ्य सामग्री पसलमा त्यति भीड थिएन। पसलका साउ कमल सुवेदीले मलाई देखेर हात हल्लाए। ‘एकछिन यही पसलमा थकाइ मार्नुपर्यो’ सोच्दै म पसलको काउन्टरअगाडि उभिएँ। जुन काउन्टरमाथि साहित्यिक पत्रिकाका धुम थिए। मलाई एउटा पनि पल्टाउन मन लागेन।
‘के भो? अनुहार त फुङ्ग उठेको छ नि।’ कमलजीका पावरदार चस्माभित्रका आँखा ठूला भए।
‘मलाई त जन्डिस भएछ।’
‘लौ, हो र?’ उनले पनि सिसामा आफूलाई नियालेझैं मेरो अनुहारतिर नजिकिए।
‘हो रैछ।’ उनले भने, ‘आँखा पनि पहेँला-पहेँला भएछन्। सुरुवातजस्तो छ, डराउनु पर्दैन।’
अलि आँट आयो।
‘औषधी खाको?’ उनले सोधे।
‘बल्ल त थाहा पाएँ।’
‘त्यसो भए… नरदेवी जानू, आयुर्वेदिक अस्पताल छ।’ उनले सुझाए, ‘मलाई पनि जन्डिस हुँदा त्यहीँ गथेँ। चाँडै ठिक हुन्छ।’
काँक्रा, उखुको जुस, मेवासहित उनले धेरै थोकको नाम टिपाए, जुन जन्डिसका रोगीले खाने गर्छन्।
म फेरि बागबजारको व्यस्त सडकमा एकदमै सुस्त हिँड्न थालेँ।
मैतिदेवी चोकमा मानिसको घुइँचो थियो। जुन तरकारी पसलमा पनि भीड। काँक्रो त बयालीस रुपैयाँ केजी। मेवा त्यस्तै। एकएक केजी काँक्रो र मेवा किनेँ। छेउको फलफूल पसलमा गएर उखुको दुई गिलास रस पिएँ। पैसा तिर्ने बेला होस हराउलाजस्तो भो – मसँग त जम्माजम्मी आठसय जति मात्र पैसा रैछ।
घरबाट पैसा मगाउँदा पनि कम्तीमा एकहप्ता लाग्छ।
परान त काठमान्डुमै जाने भो – म रुन्चे अनुहार लिएर घट्टेकुलोतिरको अँध्यारो गल्लीमा हेलिएँ।
कोठामा पुग्दा साढे सात भइसकेछ। मच्छडले पनि नभेट्ने अँध्यारो कोठाभित्र पस्दा भनन रिंगटा चल्यो, म थ्याच्च पलङमा बसँे। कानका लोती ताता हुँदै गए। निधारभरि चिसो पसिना निस्क्यो।
पानी भकभकी उमालेर चिसो बनाउन कुनातिर पत्रिकाले छोपेर राखिदिए।
जन्डिसको रोगीले नुन खानु हँुदैन भन्ने पनि सुनेको थिएँ। आफैलाई झिजो लाग्नेगरी कचर-कचर-कचर एककिलो काँक्रो खाएरै सकेँ। पेट डम्म भो।
बाआमाको अनुहार झल्झली आँखाभरि नाच्न थाल्यो।
मैले काखमा सिरान चेपेर निदाउने कोसिस गरँे, अबेरसम्म निदाउन सकिनँ। बल्लतल्ल निदाउन त निदाए तर मध्यरात त्यही पेट बेस्मारी बटारियो।
भोलिको सूर्य नदेखी मर्छु कि क्या हो?
…
बिहान सवा सात बजे ब्युझिएँ।
जन्डिस भएपछि शरीर पूरै पहेँलिएर सिरक र तन्ना पनि पहेँलिन्छन्, सुनेको थेँ। एउटा लामो हाईपछि हतारिँदै झ्यालको पर्दा खोलँे। तन्नाको एकपाटो तन्काउँदै झ्यालको उज्यालोतिर ल्याएर एकछिन घोरिएँ।
त्यतिसाह्रो भएको रैनछ, तन्नामा कतै पनि पहेँलोपन देखिएन।
जन्डिस भएपछि खुब पानी खानुपर्छ, पनि सुनेकोथेँ, त्यसैले हिजो तताएर राखेको पानीतिर लम्किएँ। पानी चिसो भइसकेछ। दुई गिलास पानी घट्घटी पिउँदा त केही भएन, तर तेस्रो गिलास पानी मुखतिर बढाउँदा भने भाउन्न भएर पछारिउँलाजस्तो भो।
बाथरुम बाहिरपट्टि थियो।
हिँड्दा चक्कर आएर ढल्कूँ कि भन्ने डरले भित्ता छुँदै बाथरुमसम्म पुगेँ। बाथरुममा एकछिन टुक्रुक्क बस्दा पनि पिडौंला बटारिए।
कहाँ आएर फसियो, दैव?
कापिरहेका हातले अनुहार पखालेँ। दाँत माझेँ। कोठामा आएर करिब पाँच मिनेट ऐना हेरेर टोलाएँ। आँखाभित्रको सेतो सतह मैलिँदै गएजस्तो लाग्यो। अब पूरै पहेँलिएर जाने भो – भनेर के सोचेकोथँे, ठिहिर्याउँदो जाडोमा कसैले गर्दनमा पानी छ्यापिदिएझैं एकपल्ट सारा ज्यान थररर्र काप्यो।
भोक लाग्यो, बाँकी मेवा र काँक्रो सकेँ।
प्वाँख सबै झरेको बुढो ढुकुर चाराको खोजीमा निस्केझैं, थकित म सुस्केरा हाल्दै मैतिदेव चोकतिर निस्किएँ।
बिहान भएर चोकमा त्यति भीड थिएन। हातमा आधा-आधा केजी काँक्रा र मेवा झुन्ड्याउँदै जुस पसलमा गएर एक गिलास दुध पिएपछि, ज्यान तंग्रियो।
जुसको जोसमा कोठासम्म पुग्न म हतारिँदै गल्ली छिचोल्न थालेँ।
गल्लीका दुई मोड पार गरेपछि, एकजना अधबैंसे मानिस भेटिए। मर्निङवाकमा आएका होलान्। मेरो अघिअघि हिँडिरहेका थिए। उनको भुँडी असहज तरिकाले अघिल्तिर तन्किएको थियो। उनले बल्लबल्ल भुँडी थामिरहेकोजस्तो लाग्थ्यो।
मैले उनलाई उछिनँे।
‘ए… भाइ।’ पछाडिबाट उनको आवाज आयो।
म टक्क रोकिँदै पछाडि फर्किएँ।
‘बिहान-बिहान काँक्रा र मेवा बोक्नु भा’ छ त?’ भन्दै उनी छेउमा आए।
‘मलाई जन्डिस भा’छ।’ मैले सुस्त भनेँ।
‘ए… बर्बादै भएछ त।’ उनले भने, ‘अस्ति भर्खरै मेरो एकजना आफन्त ‘गए’ … बिचराले जन्डिस फर्किएको थाहै पाएनछन्।’
म रुन्चे हाँसो हाँसँे।
‘कहाँ देखाउनुभा’छ?’ उनले सँगसँग हिँड्दै सोधे।
‘देखा छैन… आज देखाउँछु।’
‘ख्याल-ख्यालको नठान्नुस् है… जन्डिसलाई।’
म चुपचाप हिँडिरहेँ।
‘को-को हुनुहुन्छ घरमा?’ उनले दाँत देखाए।
‘घरमा त सबै छन्… म एक्लै बस्छु काठमान्डुमा।’
‘बिचरा… तपाईंलाई गाह्रो-साह्रो पर्लाजस्तो छ… खानामा खुब ख्याल राख्नुपर्छ।’ उनले मलाई गढेर हेरे, ‘आजै नरदेवी जानुस् है… आयुर्वेदिक औषधीले चाँडै सन्चो गर्छ।’
‘हस्।’
ती वृद्ध अब अर्को मोडतिर मोडिने भए।
म अगाडि बढेँ। अल्लिपर पुगेर पछाडि फर्केर हेर्दा उनले मलाई नै हेरिरहेका रैछन्। मानौं, उनी मलाई यो धर्तीबाट बिदा गरिरहेका छन्।
वृद्धको कुराले दिमाग झन् बिथोलियो। जन्डिसजस्तो खतरनाक र कालप्रिय रोग संसारमा अर्को कुनै छैन कि क्या हो?
म फुत्त छेउको किराना पसलमा पसेँ। टेलिफोनको रिसिभर उठाउँदै हतार-हतार नम्बर डायल गरँे।
‘हेलो, को?’ फोनमा एकमित्रको आवाज आयो।
मैले भनेँ, ‘म जन्डिस भएर मर्नै ला’छु। तुरुन्त आइज।’
…
दस बजेतिर मित्र आइपुगे। यी मित्र नेपाली साहित्यमा भर्खरै बामे सर्दैछन्। जहिले पनि प्रेमको अतृप्तिले रन्थनिएका हुन्छन्। अहिले हाइकुको प्रबर्द्धनमा छन्। यदि पुलिसले पाकेट छामछुम गर्यो भने कम्तीमा तीस-बत्तीसवटा हाइकु भेटिएलान्।
उनी मेरो अँध्यारो कोठामा प्रवेश गरेपछि, मेरो अनुहार उज्यालो भयो।
‘नरदेवी जाने भए… हिँडिहालम्।’ उनले मेरो हाल देखेर भने।
ज्यानको पहेँलो रंग सर्छ कि भनेर मैले सेतो सर्ट लगाइनँ। हाइकु-मित्रले ढोकामा ताल्चा लगाइदिन सहयोग गरे। घट्टेकुलोबाट डिल्लीबजार आइपुग्दा म थाकेँ। टेम्पो चढेर वीर हस्पिटलसम्म जाने योजना भो। गर्मीको महिना भएर होला, टेम्पो खालीखाली थियो। टेम्पोमा कुनै कुरा भएन।
वीर हस्पिटल झरेपछि, पैदल यात्रा सुरु भो। असनका साँघुरा गल्ली हुँदै हामी हिँडिरह्यौं। हाइकु-मित्र अघिअघि थिए, बाटो देखेकाले। म छाया-छाया खोज्दै हिँडिरहेँ। कुनै घरअगाडि कुर्सी या त बस्नलायक ठाउँ भेटियो कि म बेलाबेला थ्याच्च बस्थेँ।
‘चाँडो हिड्… नत्र लाइन लामो भइसक्छ।’ हाइकु-मित्र मलाई बल दिन्थे।
बल्लतल्ल आइपुग्यो, नरदेवी आयुर्वेदिक अस्पताल। गेटबाट भित्र छिर्नेबित्तिकै जन्डिसग्रस्त मानिसको भीड देखियो। ती औषधी लिन लाइन लागेका रैछन्। कति त सुनझैं पहँेलिएका पनि रैछन्। मलाई के गरूँ – के गरूँ भयो।
आँगनको पूर्वतिर एउटा ठूलो रुख रैछ, हाइकु-मित्रले मलाई त्यहीँ आराम गर्न भने। र, आफू कुरा बुझ्न दगुरे। त्यही रुखको छेउमा आठ-नौ वर्षका तीन फुच्चे फुटबल खेलिरहेका थिए, मैले बडो इष्यापूर्वक तिनलाई नियालेँ।
‘ल, पहिला ब्लड चेक गर्नुपर्छ रे।’ हतारिँदै आएका मित्रले भने।
‘कहाँ छ ब्लड चेक गर्ने ठाउँ?’
‘ऊ.. गेटबाहिर छ रे।’
मैले फेरि खुइय सुस्केरा हालँे। सय मिटर जति लामो दुरी पनि पार गर्न गाह्रो होलाजस्तो लाग्न थाल्यो।
हस्पिटल बाहिरपट्टिको निजी ल्याबमा व्यस्त एउटा केटाले इसाराले एकछिन आराम गर्न भन्यो। एकछिन आराम गरेपछि, उसले सिरिन्ज पाखुरामा घोपेर रगत झिक्यो।
र, भन्यो, ‘३०० दिनुस्।’
मैले दिएँ।
‘आधा घन्टापछि आउनुस्।’ उसले बिल दिँदै भन्यो।
यति अप्ठ्यारो आधा घन्टा त जीवनमा कहिल्यै भोगेको थिइनँ। त्यही ठूलो रुखमुन्तिर घाम छल्दै बसिरहँे। बेलाबेला नाकको टुप्पातिर बस्न आउने माखा धपाएँ। हाइकु-मित्र भने फुच्चेहरूसँग फुटबल खेल्न भिडे।
बेलाबेला बलमा ड्याम्म प्रहार गर्थे र पूर्वतिर हेर्दै खिस्स हास्थे। उनले यस्तो पटक-पटक गर्न थालेपछि म त छक्क। ड्याम्म बलमा प्रहार गर्यो, पूर्वतिर हेरेर खिस्स हाँस्यो। फेरि ड्याम्म, खिस्स। के गरेको होला यस्तो?
‘ओई, के गरेको?’ मैले झर्किदै सोधेँ।
मित्र पूर्वतिर हेरेर फेरि खिस्स हास्दै मेरो छेउमा आए। अनि उनले सुस्त भने, ‘लाइन मारेको क्या।’
मित्रले आँखा सन्काएको ठाउँ ठ्याक्कै म बसेको रुखपछाडि पर्यो। मैले चस्किरहेजस्ता कोखा बटार्दै रुखपछाडि चिहाएँ।
छ्या… एउटी अधबैंसे महिला हाइकु-मित्रलाई हेर्दै हाँस्दै पो छिन्!
‘देखिस्?’ मित्रले अनुहार रातो बनाए।
‘के देखिस्… आफू ह्याँ थला पर्या छु।’ मैले भनेँ, ‘जा त… ब्लड चेक भो कि हेर्त। आफ्नो उमेरकीलाई लाइन मार्नू नि, पाजी।’
हाँस्दै मित्र गेटबाहिर दुगुरे। फर्किदा उनको हातमा रिपोर्टको कागज थियो।
‘बस्नुस्।’ महिला डाक्टरले भनिन्।
म टुसुक्क अगाडिको टुलमा बसँे। उनले मेरो रिपोर्ट पढिन्, पावरदार चस्माको डिलमा आँखा नचाउँदै। एकछिन मलाई हेरेर हाँसिन्, अनि सोधिन्, ‘किन आ’को?’
‘जन्डिस भएर।’
‘कसले भन्यो।’
‘साथीले।’ म लजाएँ, ‘मेरो आँखा पहेँलो भा’छ रे।’
‘यत्रो लाठे मान्छे… साथीले भन्दैमा पत्याउने?’ डाक्टर हाँसिन्, ‘तपार्इंको आँखाको रंग नै त्यस्तो छ। रिपोर्टमा त क्यै पनि छैन।’
‘भनेको?’
‘भनेको… तपाईंलाई केही पनि भा’ छैन।’
एहेहेहेहे। मलाई एकछिन जुरुक्क उठेर बे्रकडान्स गर्न मन लाग्यो। शरीरमा सररर्र तातो रगत बग्यो। छ्याङ्ग भो।
म हुरीझैं बाहिर निस्केँ। हाइकु-मित्र ढोकाछेउमै रैछन्। ‘मलाई त केही पनि भा’ रैनछ।’ भन्दै म तीन खुट्किलाको सिढीबाट भुइँतिर उफ्रिएँ।
मित्र पनि मुसुमुसु हाँसे।
मैले रमाउँदै चारैतिर हेरेँ। अल्लिपर… काखीमा कोकका दुइटा खाली जम्बो बोतल बोकेका कमल सुवेदी देखिए। मैले बोलाएँ।
‘मलाई त जन्डिसै भा’ रैनछ।’ म हासेँ, ‘तपाईंचाहिँ बोतल बोकेर कता?’
‘मलाई त जन्डिस फर्किएर लास्टै भा’ रैछ।’ उनले हतारिँदै भने, ‘इमर्जेन्सीमा भर्ना भा’छु।’
बिचरा, हिजो जन्डिसको कुरा हुँदा चेक गर्न आरैछन्। यतै बस्ने भएछन्।
अनि, उनी अर्को दिशातिर दगुरे।
म भने गेटबाहिर।
बिजुलीका पोललाई लात्ती हिर्काउँदै हिँडूजस्तो लाग्ने जोससहित म असन पुगेँ। हाइकु-मित्रले मलाई पछ्याइरहे।
असन पुग्नेबित्तिकै मःमको बासनाले स्वागत गर्यो। मुख रसायो। मैले मित्रलाई आँखा सन्काएँ। हामी मःम पसलभित्र पस्यौं। एउटा फुच्चे केटाले टेबुल सफा गरिदियो। र, सोध्यो, ‘कति ल्याऊँ?’
‘डेढ-डेढ प्लेट।’ मैले भनेँ।
…
(श्रोत :- ३० जनवरी २०१० मा नागरिक दैनिकमा प्रकाशित )