~आत्माराम शर्मा~
उसले बलिन्द्रधारा आँसु झार्यो ।
धेरैको मुखबाट मैले सुनेको थिएँ- ‘मनको पीडा पखाल्न मानिसलाई रून दिनुपर्छ । मनमा थेगि्रएर रहेका वेदना र उकुसमुकुस आँसुले पखाल्छ । आफ्नो आँसुले आफ्नै पीडालाई पखालेपछि मान्छेको मन हलुङ्गो हुन्छ ।’
ऊ निकै समयसम्म घुँक्कघुँक्क गरेर रोइरहृयो । मैले टुलुटुलु हेर्दै उसलाई सुमसुम्याई रहेँ । उसका आँखाबाट साउनको झरीजस्तै आँसु बर्सिरहेका थिए ।
“मलाई माफ गर्नुहोस् अङ्कल ! तपाइँलाई देख्ने बित्तिक्कै बुबाको सम्झनाले सतायो र एक्कासि मन भक्कानियो ।” उसले आफू रूनुको कारण प्रस्ट्याउँदै भन्यो । बाबु समीर ! छोरा मान्छे भएर आफूलाई कमजोर बनाउनु हँुदैन । जे नहुनु थियो त्यो भइसक्यो । अब पीर गरेर के फाइदा ? तिमी पनि २०/२२ वर्षको लक्का जवान भइसक्यौ, आफूलाई सम्हाल बाबु ! सम्हाल । बोल्दाबोल्दै मेरो गला अवरुद्व भयो र आँखा रसाए । मैले भन्न खोजेको कुरा घाँटीमा अड्कियो ।
अचानक बदलिएको मेरो भावुकतालाई देखेर नै हुनुपर्छ उसका आँखामा पुनः आँसु टल्पलाए । मैले सम्झाउन खोज्दा समीर सम्हालिई सकेको थियो । मत्थर भइसकेको वातावरण फेरि भावुकतामा बहकिएकोले आफूलाई सम्हाल्दै उसलाई प्रश्न गरेँ-
समीर तिम्रो पढाइ कहाँ पुग्यो ?
पकेटबाट रुमाल निकालेर आँसु पुछ्दै उसले भन्यो- बी.बी.एस. दोस्रो वर्ष सकियो ।
तिम्रो आमाको हालखबर के छ ? व्यापार गर्नुहुन्छ भन्ने सुनेको थिएँ हो ? गम्भीर परिस्थितिलाई सहज बनाउँदै मैले पुनः प्रश्न गरेँ ।
“उपत्यकाको काँठबाट मौसमअनुसारको तरकारी साग, फर्सीको मुन्टा, हरिया मकै, ल्याएर बजारमा बिक्री गर्नुहुन्छ । धपेडीले होला आजभोलि उहाँको स्वास्थ्य धेरै बिगि्रएको छ । दुब्लाएर ख्याउटी हुनु भएको छ” । एकै सासमा समीरले आˆनी आमाको बारेमा बतायो ।
छोरीले हामी दुवैलाई टेबुलमा चिया राखिदिइन् । मैले हातमा चिया समाउँदै समीरलाई पनि चिया पिउन भनेे । उसले टेबुलबाट चियाको कप उठाउँदै मेरी कान्छी छोरीले एस.एल. सी. मा डिष्टीङ्सन ल्याएकोमा छोरी र मलाई बधाइदियो ।
बाबु समीर के कति कामले यो साँझमा आयौ ? वातावरणलाई सहज बनाउँदै मैले सोधेँ । एक हप्तादेखि आमा निकै बिरामी हुनुहुन्छ । अङ्कललाई भेट्न आफै आउन खोज्दै हुनुहुन्थ्यो, सक्नु भएन । उहाँले भेट्न खोज्नु भएकोले खबर गर्न आएको । फुसर्दमा एकपटक कोठामा आउन आमाले हजुरलाई अनुरोध गर्नुभएको छ ।” उसले मेरो घरमा आउनुको कारण प्रस्ट्याउँदै भन्यो ।
अफिसको क्लोजिङले थकित भएर म पिएर र्फकेको थिएँ । परिस्थितिलाई अरू जटिल हुन नदिन मैले उसलाई थप केही सोधिन । उनले मलाई भेट्न खोज्नुको धेरथोर कारण मनमनै अनुमान गरिसकेको थिएँ । केही हप्ता अगाडि माथिल्लो टोलमा डोकोभरी साग बोकेर डुल्दै गरेको मैले भेटेको थिएँ । त्यतिखेर छोरो बेरोजगार भएकोमा उनले गुनासो गरेकी थिइन् । दुई महिना अगाडि समीरले ज्यामी काम गर्छ भन्ने मैले थाहा पाएको थिएँ । विश्रामनगरमा बन्दै गरेकोे नयाँ घरमा उसकी बहिनीले बालुवा चाल्दै गरेकी र समीरले इँटा बोकेको मेरी जेठी छोरीले देखेर मलाई सुनाएकी थिइन् । यसैले के काम गर्दैछौ समीर भनेर मैले उसलाई सोध्ने आँटै गरिन । आज पनि ऊ कतै ज्यामी कामबाट फर्केको मैले अनुमान गरेको थिएँ ।
केही समय सोचेर मैले समीरलाई भनेँ- बाबु म भोलि बिहान आउँछु । मैले यति भनिसकेपछि चप्पल लगाउँदै उसले मलाई बिदाइको नमस्कार गर्योम । उ मूलगेटबाट निस्किएपछि मैले भनेँ- भाउजूलाई मेरो नमस्कार सुनाइदिनु । उसले टाउको हल्लाउँदै ‘हस अङ्कल’ भन्यो ।
समीर गएपछि हातगोडा धोएर मैले खाना खाएँ । त्यो साँझ मलाई टेलिभिजन पनि हेर्न मन लागेन । एउटा पार्टीको सरकार ढलेर त्यही दिन अर्को पार्टीको सरकार बनेको थियो । श्रीमती छोरा, छोरी, काम गर्ने केटो सबै बैठक कोठामा बसेर नयाँ सरकार गठन भएको समाचार हेर्दै हाँस्दै थिए ।
छोराले टिप्पणी गरेको सुनंेँ- “चुनाव हारेका पनि मन्त्री भएछन्” । समाचार सुनेर छोरो अट्टाहास हाँसो गर्दै थियो । बाबा बाबा चुनाव हारेकी ……नेताकी छोरी/श्रीमती पनि मन्त्री भएछन् समाचार हेर्न आउनुहोस् न यता, सपथ खाएको देखाउँदैछ- छोरीले चिच्याउँदै मलाई समाचार हेर्न बोलाइन् ।
नानी मेरो टाउको दुःखेको छ, म समाचार हेर्दिन । जवाफ फर्काउँदै मन मनले भने- “के हेर्नु भताभुङ्ग देशको लथालिङ्ग चाला ।”
समीरको गरिबी झल्किने लवाइ र उदास अनुहार देखेर उ गएदेखि नै मेरो मन उद्वेलित भइराखेको थियो । सम्झनाबाट हराउँदै गएका कतिपय घटना चलचित्रको दृश्यजस्तै आँखा अगाडि नाचिरहेका थिए । स्मृतिबाट हराइसकेका घटनाको नायक बनेर मेरो सामुन्नेमा- हरिबोल टुप्लुक्क आइपुग्यो ।
दस वर्षपछिको हाम्रो भेटलाई लिएर मैले खुसी व्यक्त गरेँ तर उसको अभिव्यक्तिमा कुनै उमङ्ग र उत्साह थिएन । हेराइ र बोलाइमा निराशाको भाव मात्र थियो । उसले एक्कासि मलाई प्रश्न गर्योर- अविराम के भन्न आएको रहेछ छोरो ?
हरिबोल तिमी अचानक आज कताबाट आयौ ? उल्टै प्रश्न गरेँ । उसले मसँग कसिलो हात मिलायो । दह्रोसँग हात मिलाएकोले मेरा हातका औँला नै दुःखे । कुनै समय हामी यसैगरी कडासँग हात मिलाउथ्यौँ, बानी छुटेर होला मेरो हातै दुःख्यो ।
जिङरिङ्ग कपाल, लामा दाह्री र दुब्लो अनुहारलाई पटक्कै नसुहाउने गरी, ङििचक्क हाँस्दै उसले भन्यो- “तिमीलाई नै भेट्न आएको । अँ भन त- के भेनर गयो समीरले ?” उसले पुनः उही प्रश्न दोहोर्या-यो ।
तिमीले छोडेर गएपछि विचरा टुहुरो भयो । मलाई देख्नासाथ बाबाको सम्झना आयो भन्दै डाँको छोडेर रोयो । उसलाई फकाउन मलाइ दस मिनेटभन्दा बढी लाग्यो । तिमीले परिवारको विचल्ली पारेर यसरी घर छोड्न नहुने हरिबोल क्यान्सरले पीडित भएर तिम्री आमा त्यही वर्ष बित्नुभयो । त्यसको दुई वर्षपछि तिम्रा बाबुले पनि यो संसार छोडे । त्यसपछि त उनीहरूको विजोग नै भयो नि मैले रिसाउँदै भने ।
समीरले मलाई गाली पनि गर्योय ? अँध्यारो मुख लगाएर हरिबोलले मलाई सोध्यो ।
त्यसो त उसले तिम्रो बारेमा नराम्रो कुरा केही गरेन । उसकी आमाले दुःख पाएकोमा मन अलि खिन्न पारेको थियो । उसको पछिल्लो प्रश्नको जवाफ दिँदै मैले भनेँ ।
“अविराम म देश र जनताको मुक्तिको अभियानमा हिँड्दाहिँड्दै ढलेँ । मैले व्यक्तिगत स्वार्थ र महत्त्वकाङ्क्षाको लागि कुनै काम गरिन । तसर्थ म आफू ढलेकोमा मलाई कुनै पछुतो छैन ।” हरिबोलले आफूलाई गर्व गर्दै भन्यो ।
किन पछुतो छैन ? मैले उसलाई प्रश्न गरेँ ।
हाम्रो आस्था, निष्ठा र विश्वासबाट मैले कहिल्यै तल झर्नु परेन । जुन उद्देश्यको लागि मैले यात्रा गरेको थिएँ, त्यही बाटोमा हिँड्दाहिँड्दै म ढलेँ । त्यसैले मलाई गर्व छ । मेरो छोरो कुनै दिन तिमीलाई फेरि भेट्न आयो भने सुनाइदिनु- “जीवनको अन्तिम क्षणसम्म मुक्तिको आन्दोलनमा निष्ठापूर्वक म अडिग रहेँ ।”
तिमीलाई के फाइदा भयो ? यो त अभिमानी कुरा भएन र ? मैले झोक्किदै प्रश्न गरेँ ।
“मेरो स्वाभिमानलाई अभिमान नसम्झ । स्वाभिमानलाई नबुझ्दा अभिमान हुन्छ । ” अविराम राम्रोसँग सुन- “राजनीति व्यापार होइन । यसमा नाफा र नोक्सान हुँदैन, त्याग र बलिदान मात्र हुन्छ ।” उसले गर्व गर्दै भन्यो ।
वर्तमान राजनीति तिमीले भनेजस्तै निःस्वार्थ र नाफारहित छ ?
यो प्रश्नले हरिबोल अलि ओइलायो । उसले लामो सास फेर्योा र उदास अनुहार पार्दै भन्यो- “तिमी वर्तमान नेपालका नेताहरूलाई खुइल्याऊ, होच्याउ, ताछ जे गर त्यो तिम्रो इच्छा र अधिकार हो, किनकि तिमी सार्वभौम सम्पन्न नागरिक हौ । तिम्रो चेतना र बुझाइअनुसार टिप्पणी गर तर मलाई अरूसँग नदाँज । हेर मैले बाँचेर मर्नु परेन र तिम्रो आँखाबाट खस्नु पनि परेन । यसैले मलाई गर्व छ” ।
जेलबाट छुटेको दिन तिम्रो बाले कसैलाई पनि नभन्नु भन्दै हामीलाई भन्नुभएको
गोप्य कुरा तिमीलाई सम्झना छ कि छैन ? हरिबोल मैले उसलाई गम्भीर भएर प्रश्न गरेँ ।
“सम्झना छ मलाई ती कुराको राम्रो सम्झना छ । बाले सुनाउनु भएका तिनै कुराले तिमीले राजनीति छोड्यौ मैले घर छोडे”- उसले अलि चर्को स्वरमा भन्यो ।
आश्चर्यको कुरा गर्यौघ नि उहाँको तिनै कुराले घर छोडेको हो र ? मैले उसलाई खोतल्दै पुनः प्रश्न गरेँ । “मलाई पूर्णकालीन कार्यकर्ता बन्न उहाँले बताएका घटनाले उत्प्रेरित गरायो । वर्गशत्रु र वर्गमित्रु छुट्याउन सजिलो भयो । उहाँले भनेका तिनै कुराले सामन्तवादको मूल नाइकेप्रति घृणा र प्रतिशोधको आगो छातीमा दन्कियो र म भूमिगत भएँ ।” उसले कोठाबाट निस्कँदै हतारहतार भन्यो ।
किन चट्पटाएको हरिबोल ? केही समय त बस । हरिबोल… हरिबोल
निद्रामा च्याठिँदै कराएको सुनेर श्रीमतीले घचघचाइन् र म बिउझिएँ । बिहानीको साढे चार बजेको रहेछ । सपनामा हरिबोललाई देखेको र उसँग भएका कुरा श्रीमतीलाई सुनाएँ । “सपनामा मरेको मानिससँग कुरा गरेको राम्रो होइन” भन्दै श्रीमती उठेर बाथरुमभित्र पसिन् ।
देब्रे कोल्टो सुतेको रहेछु । बिऊझिएपछि दाहिने कोल्टो फर्किएँ । उठ्न मन पटक्कै लागेन । आँखा चिम्लिएर सुतिरहेँ । दिमागमा अनेकौँ घटनाका दृश्य र तरङ्ग उठे । अञ्चलाधीश कार्यालयमा ३५ वर्ष जागिर खाएर छोडेका हरिबोलको बाबु श्यामबोललाई सम्भिmएँ । २०४६ सालमा जेलबाट छुटेको दिन उनले आˆनो कोठामा चुकुल थुनेर हामीलाई बताएका गोप्य कुरा सम्भिmएँ ।
“अविराम बाबु तिमीहरूले देशको राजनीति पटक्कै बुझेका छैनौ । राणाशासन फालेर चुनाव जितेका वी.पी., गणेशमान, तुलसीलाल, पुष्पलालले त यो देशमा केही गर्न सकेनन् । तिमी र हरिबोलले के गर्न सक्छौ ?”
किन र बुबा ? मैले प्रश्न गरेँ ।
उनले मसिनो आवाजमा हाम्रो कान नजिकै मुख जोडेर भनेका थिए-”चुनाव जितेर प्रधानमन्त्री, मन्त्री बनेका नेताहरूलाई जेलमा कोच्दा कसैले चुइक्क बोल्न सकेन । विचरा नेताहरू कयौं वर्ष जेलमै सडे । १७ साल काण्डको चर्चा नहोस् भनेर १८ साल माघमा ज्योतिषहरूबाट भूकम्प आउँदैछ भन्ने हल्ला चलाइयो । खुल्ला चउर र बारीका पाटामा छाप्रा बनाउनु र हरिकीर्तन गरेर बस्नु भन्ने माथिको आदेश लिएर म चार जिल्लाको दौडाहामा गाउँगाउँ खटिएको थिएँ । मेरो साथमा चार जना पुलिस, एक जना हवलदार र मुखिया पनि थिए “।
बोल्दाबोल्दै उनले लामो स्वास फेरे । डराएर थरर्र काम्दै झ्याल बाहिर कसैले सुनेको छ कि भनेर चियाएर पल्याकपुलुक हरेर झ्यालका सबै पर्दा लगाएँ । अगिको भन्दा पनि मसिनो आवाजमा उनले भनेँ-”१७ सालको काण्डलाई छायाँमा पार्न भुइँचालोको हल्ला चलाएका थिए । राजनीतिको चर्चा नहोस् भनेर शासकहरूले जनताको ध्यान अन्यत्रै मोडेका रहेछन् । यो कुरा पछि मलाई थाहा भयो ।”
जनताले यस्ता कुरामा विश्वास गरे त ? उनी बोल्दाबोल्दै मैले बीचमै प्रश्न गरेँ ।
“रैतीहरूको माया र चिन्ताले सरकारले हामीलाई गाउँगाउँमा बुझ्न पठाएको खबर थाहा पाएर जनताले सरकारको जयजयकार गरे । खुसीले गद्गद् भएर बारीका पाटामा छाप्रा बनाएँ ।” उनले अलि ठूलो स्वरमा भने- “सरकारको नक्कली सन्देश लिएर चार जिल्ला घुम्न हामीलाई ठ्याक्कै ४५ दिन लाग्यो ।”
कुरा गर्दागर्दै बसिरहेको ठाउँबाट उनी जुरुक्क उठे । पर्दाको होडे परेको भागबाट बाहिरको चाल बुझ्दै पल्याकपुलुक हेरे । “हेर बाबु हो चानचुने मानिसले राजनीति जान्दैन र बुझदैन” उनले हाम्रो कानमै मुख जोडेर साउतीको स्वरमा भने- “३६ सालको जनमत सङ्ग्रहमा पूर्वको क्याम्पमा बसेर मैले तीन दिन तीन रातसम्म निर्दलमा छाप लगाएँ । त्यसरी छाप लगाउने अरू पनि दुई जना थिए । त्यसै हारेको छ बहुदलले ? त्यसै जितेको छ निर्दलले ?”
उनले अलि अँध्यारो मुख लगाउँदै भनेका थिए- “बाबु हो यो कुरो तिमीहरूले बाहिर कतै, कसैलाई भन्यौ भने मेरो पेन्सन खोसिन्छ । त्यति मात्र होइन हातगोडा बाधेर मलाई नारायणीमा फालिदिन्छन् । के बुझेका छौ तिमीहरूजस्ता उरन्ठेउलाहरूले राजनीति ?”
“ल हेर हेर ६ बजी सक्यो अहिलेसम्म सुतिरहेको । नराम्रो सपना देखे भनेको होइन ? नुहाएर पीपलमा पानी चढाएर आउनुहोस् । शनिबार पीपलमा पानी चढाएर दर्शन गर्यौा भने दिनदशा बिगि्रएका रहेछन् भने पनि टरेर जान्छन् ।” श्रीमतीले कचकच गर्दै मलाई आदेश दिइनँ ।
मन भारी भएको थियो । बिछौना छोड्न पटक्कै इच्छा थिएन । शरीरमा अघिपछिको जस्तो फूर्ति पनि थिएन । आलटाल गर्दै उठेर नित्य कर्म सकेर नुहाएँ । श्रीमतीले चिया दिँदै फेरि कराउँदै भनिन् -”खुरुक्क गएर पीपलको बोटमा पानी चढाएर आउनुहोस् ।” मैले हुन्छ भन्दै टाउको हल्लाएँ ।
कोठाबाट निस्कँदै श्रीमतीलाई भने – म र्फकदा अलि अबेर हुनसक्छ नयाँ बस्ती गएर आउँछु ।
के काम छ ? उनले झोक्किदै सोधिन् ।
हिजो साँझ हरिबोलको छोरा समीर आएको थियो । उनकी आमाले मलाई भेट्न खोजेकी छन् भन्दै थियो । बिरामी परेर ओछ्यान परेकी छन् रे भेट गरेर आउँछु मैले प्रस्टीकरण दिएँ । “ए…कठैबरा ” श्रीमतीले लेब्रो तान्दै भनिन्- जानोस् जानोस् बिरामीलाई भेट गरिहाल्नुपर्छ । विचरा हरिबोलको हत्या भएको कति वर्ष भयो ? उनले दोहोर्यााएर सोधिन् ।
यसरी सोध्नुको कारण थियो- कुनै समय उनीहरू कलेजका सहपाठी थिए । हरिबोल विद्यार्थी युनियनको सभापति हुदा मेरी श्रीमती जया कोषाध्यक्ष थिइन् । भूमिगत पार्टीको विद्यार्थी सङ्गठनको उतिखेर जया क्रान्तिकारी नेता नै थिइन् ।
उनले फेरि सोधिन् – कति वर्ष भयो हरिबोल बितेको ? पाँच वर्ष पुग्नै लाग्यो- मैले कपडा फेर्दै भने ।
“देश र जनताको लागि भनेर दुनियाँका छोराछोरीले बलिदान दिए । स्वार्थी र लुच्चा नेताहरूले त्यही बलिदानमा मोज गरे । विचरा सहिद परिवारको विचल्ली भयो । तै हामीले समयमै राजनीति छोडेछौँ ।” उनले वर्तमान राजनीतिको टिप्पणी गर्दै भनिन् । म कोठाबाट निस्कँदै थिएँ । एकैछिन पर्खनुहेास् है भन्दै उनी कोठाभित्र पसिन् । ए अलि चाँडो गरन मलाई ढिलो भइसक्यो । मैले झोक्किदै कराएपछि मेरो हातमा एउटा झोला थमाउँदै उनले भनिन् -”यसमा मेरा पुराना धोती, चौबन्दी चोला, ब्लाउज र हजुरका पुराना सर्ट पाइन्ट छन् । समीरको आमालाई लगेर दिनुहोला । आफू अब कýुर्था र पाइन्ट लगाउन थालियो यी कपडाको के काम ? मोटाएर लगाउनै नहुने भए ।”
श्रीमतीले थमाइदिएको झोला च्यापेर म चुपचाप समीरको घरतर्फ लागेँ । मूल सडकमा पुगेपछि चुरोट सल्काएँ र नयाँ बस्तीतर्फ लम्किए । करिब ३५ मिनेट लाग्ने बाटोमा चुरोटको धुवाँ उडाउँदै म एक्लै हिँडिरहेको थिएँ । फेरि मन अतितमा रूमलिन थाल्यो । आˆनो पालाका जल्दाबल्दा, समाजमा अब्बल प्रतिष्ठा र प्रभाव जमाएका सुब्बा श्यामबोलको विगठित परिवार र अतितको सम्झनामा चुर्लुम्मै डुबेँ । घर परिवारमा बढेको जेठोबाठो छोरोले लत्तो छोडिदिएपछि र परिवार सम्हाल्ने अरू कोही नहँुदा सम्पन्न परिवार विघटन हुन कति समय लाग्दोरहेछ र ? निर्माण हुन मात्र समय लाग्छ, भत्किन र बिग्रन त कुनै समय नै लाग्दो रहेनछ ।
मैले पुनः अर्को चुरोट सल्काएँ ।
हरिबोल भूमिगत भएर हिँडेपछि सुब्बा साबले मलाई बोलाएर भनेका थिए- “बाबु अविराम अधर्म गरेर मैले कहिल्यै सम्पत्ति कमाइन । पसिनाको आर्जनले दुई छोरीको बिहा दान गरेँ । श्रीमतीको क्यान्सरको उपचार र छोराको लेखाइ, पढाइ र बिहादानले म त थला नै परंँ । अब त छोराले पढाइ सक्यो जागिर खाला र कमाएर घर व्यवहार हेर्ला भन्ने सबै सपना भताभुङ्ग भयो । जे भए पनि छोरो देश र जनताको मुहार उज्यालो बनाउँछु भनेर लागेको छ । कतै उसको सपना पूरा होला कि भन्ने पनि यो मनमा लागेको छ । कुनै दिन आउला घर परिवार र व्यवहार सम्हाल्ला भन्ने झिनो आशा यो मनमा अझै बाँकी छ बाबु तर के गर्नु आफूलाई अहिल्यै चोट्टे परिसक्यो ।
(श्रोत :- मधुपर्क बैशाख, २०६७)