~राजेश नतांश~
चिसो हावा आफ्नै गतिमा प्रवाहित भइरहेको छ । सडकहरू सुनसान छन् । सडक छेऊका हाइपावरका सडक बत्तीहरूले सडक उज्यालो पारेका छन् । सडक बत्तीहरूमा पुतलीहरू झुम्मिरहेका छन् । लाग्छ त्यहाँ एक प्रकारको मोहनी मन्त्र लगाइएको होस् र त्यो तेजिलो प्रकाशमा त्यो तातो रापमा आफ्नो आहुति दिँदै छन तिनीहरू । आफ्नो प्राण पखेरु कतिखेर सिद्धिने हो अन्जान छन् उनीहरू । यस्तै दृश्यमा अनायासै म हराउन पुग्छु । चिसो हावाले मलाई र्स्पर्श गर्छ । शरीरमा चिसा तरङ्गहरू फैलिन्छन् । मलाई एक प्रकारको आनन्दको महसुस हुन्छ ।
मलाई आज घर जान मन लागेको छैन । मेरा पाइलाहरू चल्न चाहँदैनन् । सडक सुनसान छ । एकाध मान्छेहरू आफ्नो गन्तव्य पथमा लम्कदैछन् । आसपासका पसलहरू बन्द हुने तरखरमा छन् । यस्तै वातावरण आज मलाई प्यारो लागिरहेको छ । हजारौंको भागदौड, दौडधुप र तिखो कर्कस ध्वनीले अस्तव्यस्त हुने सडक, यतिखेर शान्त छ । अनायासै आज म यो सडकलाई नियालिरहको छु । जीवनको ४० औं बसन्त पार गरीसक्दा आजसम्म पनि मैले यस्तो अनुभव गरेको थिइन । मेरा जीवनका विम्बहरूले मलाई घेर्छन् ।
जीवनको अर्थपूर्ण यात्रा मैले यै सडकबाट गरेको थिएँ । म यो सडकको गल्ली-गल्ली हिँडेको छु । मैले प्रत्येक पल यही सडकमा बिताएको छु । मैले कैयौँ ऋतुहरू यही सडकमा फेरेको छु । आज मलाई यही सडक प्यारो लागिरहेछ । मलाई अतीतका पलहरू सम्झदाँ भयावह लाग्छ । अनि आफैँ झस्कन पुग्छु, तर्सन पुग्छु ।
“एक्लै हो दाइ ?”
म एक्कासि झस्कन्छु । अन्दाजी २०/२५ वर्षी जस्ती देखिने प्रौढ युवती मेरो नजिक आईपुग्छे । छोटो मिनीर्स्कर्ट र टिर्सटमा सजिएकी अनि यौवनले भरिपूर्ण भएकी ऊ वाचाल छे । अनकन्टार जस्तो लाग्ने यो मध्यरातमा मेरो नजिक आइपुग्दा म छक्क पर्छु ।
“अँ ! बैनी एकैछिन चौतारीमा बसेर आराम गरेको ।”
“कहाँबाट आउनु भा’को ? जाऊ हिँड्नुहोस् मेरो गेष्ट हाउसमा । आज मलाई सेवा गर्ने मौका दिनुहोस् ?”
“घर नजिकै छ । तर मैले तिमीले भनेको कुरा बुझिन ?”
“बुझी-बुझी कस्तो बुझ पचाएको ! (छेऊमा टाँसिएर बस्छे ।) मात्र पान सय हो क्या ! रातभर फूल्ली स्याटिस्फाई गराउछु !”
“ओ ! बैनी तिम्ले मलाई गलत बुझयौं । तिम्ले सोचेजस्तो मान्छे म होइन । म बिवाहित हुँ ।”
“बिहे गरे बाल भयो र ! हिँड्नु न ‘डिस्काउन्ट’ गरिदिन्छु क्या ।”
“‘एक्सट्रेम्ली सरी बैनी’ तिमीलाई चाहिँएको भएँ । यो ५ सय लैजाउँ ।”
हत्तपत्त पैसा हातबाट लिँदै ऊ आफ्नो बाटो लाग्छे । म घोत्लिन पुग्छु, आफ्नै संसारमा । साँच्चै जीवनपथका हरेका बाटोहरू थुनिँदा मान्छे लाचार बन्दो रै’छ । परिस्थितिसँग मान्छे हार्दो रहेछ । अनि बाँच्नकै लागि जत्रो ठूलो खतरा पनि मोल्न पछि पदैन मान्छे । आजकल समय बद्लियो, मान्छे प्रतिस्पर्धी भए भनिन्छ । आखिर जीउने आधार नै नभए के प्रतिस्पर्धाको कुरा !, के इज्जतको कुरा ! अनि के अस्मिताको कुरा ! बाँच्नकै लागि मान्छे जीवनको दाउपेज लगाउँदो रहेछ । मेरा स्मृतिपटलमा यही कुराहरू आउँछन् ।
“सर ! २० रुपैयाँ दिनु न !!”
अन्दाजी १५/१६ वर्षो जस्तो देखिने केटो मेरो अगाडि आइपुग्छ । थोत्रो र महिँलो लगाएको जस्तो देखिने ऊ । आफ्नो हात पसारेर मलाई केही माग्दैछ । म त्यस केटामा हराउन पुग्छु । मेरो ध्यान उसप्रति आकृष्ट हुन्छ ।
“किन चाहियो तिमीलाई २० रुपैयाँ, अनि तिमी को हौ ?”
“हजुर ! म बर्खे । त्यो टेम्पुमा काम गर्छु आज बन्दले टेम्पु चलेन । केही खा’को छुइन । तपाईलाई धन्य हुन्छ सर ! आज मेरो पेट भरिदिनुहोस् !!”
म आफैँमा हराउन पुग्छु । मेरा विगतका दिनहरू मेरो स्मृतिपटलमा द्रविभूत हुनपुग्छन् । आजको समाज निकै पराआश्रति भएछ । मान्छै परजीवि बन्दै गएको छ । मान्छे आफ्नो पौरखलाई विश्वास गर्दैन । अनि ‘सर्टकर्ट’मा मान्छे उपलब्धि हासिल गर्न खोज्छ । विगतका मेरा दुःख, वेदनाहरूलाई त्यस केटासँग तुलना गर्न खोज्छु । आकाश जमिनको फरक पाउँछु ।
अनायासै, चिसो हावाले मलाई फेरि एकचोटी स्पर्श गर्छ । म पहिलेकै अवस्थामा आइपुग्छु सडकहरू अब मानवविहीन भइसकेका छन् । सडक बत्तीहरू पनि मलाई मधुरो लाग्छ । एक्कासि मानसिक सन्तुलन गुमाए जस्तो देखिने मान्छे मेरो नजिक आइपुग्छ । आफूसँग भएको चिउरा चपाउन थाल्छ । स्तब्ध छ ऊ । मलाई बोलाउँदैन । आफैँमा पूर्ण छ ऊ । ऊ के गर्छ म अड्कल काट्न सक्दिनँ । ऊ आफ्नै धुनमा मस्त छ ।
म आफ्नो ल्यापटपमा ‘मेल’ चेक गर्न हतारिन्छु । इन्टरनेटको गतिले मलाई निन्द्रा लगाउँछ । भारतमा हुन गइरहेको गरिबी निवारणसम्बन्धी कार्यशाला गोष्ठिमा मलाई वक्ताको रुपमा आमन्त्रण गरिएको रहेछ । यथासक्य चाँडो मैले आफ्नो विचार प्रेषित गर्नुपर्ने रै’छ ।
‘सयौं थुङ्गा फूलका….नेपाली….’ अनायासै मेरो मोबाइल बज्छ । श्रीमतीको फोन आएको रैछ । कानका श्रीमतीको स्वर गुन्जिन पुग्छ -”हैन यतिखेरसम्म कहाँ हराएको ? आज छोरीको बर्थ-डे होइन ? छोरी पर्खिरहेकी छे । झट्ट आउनु यहाँ !”
(श्रोत:- अन्तर्जाल अर्थात internet)