हाकिम साहेबलाई केही दिन यता ढाड दुख्ने बिरामले च्याप्न थालेको चर्चा कार्यालयमा चल्दै थियो । साह्रै महङ्गो अति राम्रो यताउता अगाडि-पछाडि जता घुमाउँदा पनि घुम्ने लचकदार आरामदायी कुर्सीमा आफूलाई असजिलो भएको कुरा हाकिम साहेबले मुख फोरेरै भने । ढाड दुखेकोले हाकिम साहेबलाई सिरानी चाहिने भयो । हाकिमले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई एउटा नरम सिरानी किनेर ल्याउन अह्राए । ती कर्मचारीले लेखापाललाई सोको जानकारी गराए । “कहाँ सिरानी किन्न मिल्छ पछि बेरुजु निस्कन्छ ।” लेखापालले प्रोक्योरमेन्ट शाखाका कर्मचारीलाई जानकारी गराए ।
लेखापालको यस्तो जवाफ उनले हाकिमलाई सुनाए । हाकिमले लेखापाललाई बोलाए । र कड्कदै भने -”तुरुन्त सिरानी किनेर ल्याउनुहोस् । बजेट शीर्षक पछि मिलाउँदै गर्नु ।” स्टोरकिपरले नरम मुलायम सिरानी हाकिमलाई टक्रयाए ।
ढाड दुख्ने बिमारले च्यापेको भनिएका हाकिम साहेबले दिनभर सिरानी काखमा खेलाईरहेको देख्दथे कार्यालयका कर्मचारीहरु । हाकिम साहेबले सिरानी खेलाउन थालेपछि टाईपिष्टको पेट दुख्न थालेको चर्चा चल्न थाल्यो । ती टाइपिष्ट कहिले चाँडै घर जान्थिन् कम्मर दुख्यो भनेर कहिले ढिलो अफिस आउँथिन् छाती दुख्यो भनेर । दिनदिनै धेरै बेरसम्म हाकिम साहेबकै कोठामा बसिरहन्थिन् चित्त दुख्यो भनेर । यसैबीच हाकिम साहेबले उर्दी जारी गरे कर्मचारीहरुलाई ।
“म आजकल बिरामी छु । उता टाइपिष्ट पनि बिरामी छिन् । कोठामा हामी आरामका लागि बसेको बेला कोही पनि नआउनुहोला । अत्यावश्यक काम भए भोलिपल्ट सबेरै गराउनुहोला ।” हाकिमको यस्तो आदेशलाई सबै कर्मचारीहरुले शिरोपर गरे । केही समय यतादेखि त्यस कार्यालयका हाकिम साहेबको ढाड दुखेको, टाईपिष्टको कम्मर, छाती र पेट दुखी हाकिम साहेबकै कोठामा आराम गर्न थालेको कुरा सारा कर्मचारीहरुले थाहा पाउनथाले । त्यसपछि बाँकि सबै कर्मचारीहरुको टाउको दुख्न थाल्यो ।
(श्रोत:- अन्तर्जाल अर्थात internet)