~महेशविक्रम शाह~
ऊ अर्थात् थुप्तेन ग्याछो आफ्ना साथीहरूसँगै गुम्बाको प्रार्थना कोठामा प्रार्थनाको मुद्रामा बस्यो । उसको ठीकअगाडि खेम्पो -गुरु थिए । उनको रातो कपडाले ढाकिएको शरीर र नाङ्गो मुडुलो टाउकोतिर दृष्टिपात गर्दै ऊ प्रार्थनाका शब्दहरू स्मरण गररिहेको थियो । खेम्पोले ढावा -बालक भिक्षुहरूतर्फ हेर्दै आफ्नाअगाडि राखिएको ‘पेचा’ -पुस्तकको पहिलो पृष्ठ पल्टाए ।
“साङ्गे छुयदाङ् छोगी छोक्नाम्ला -भगवान् बुद्धका सबै धर्मलाई प्रार्थना गर्दछु ।”
खेम्पोले भोट भाषामा लेखिएको शास्त्र पढ्दै प्रार्थना सुरु गरे । खेम्पोको अनुसरण गर्दै ढावाहरूले पनि जोडले उच्चारण गरे, “साङ्गे छुयदाङ् छोगी छोक्नाम्ला ।” आफ्ना साथीहरूसँगसँगै थुप्तेन पनि घिच्रो तानीतानी शास्त्रका वाक्यहरू भट्याउन थाल्यो ।
बिहानीपख गुम्बाबाहिरको वातावरण शान्त थियो । वरिपरिका रूखहरू र फूलैफूलहरूले गुम्बालाई सुन्दर र पवित्र अनुभूत गराइरहेका थिए । चौरमा फाट्टफुट्ट रातो वस्त्रधारी भिक्षुहरू यताउति गररिहेका थिए । एक जना भिक्षु रिम्पोचेको सेतो-कालो बुट्टा भएको बडेमाको कुकुरलाई डोर्याउँदै गुम्बावरिपरि हावा खुवाउँदै थिए । दुई जना भिक्षुहरू पार्किङ्मा रहेको सेतो गाडीमा चढेर सहरतिर झर्ने उपक्रममा थिए । केही भिक्षुहरू बेन्चमा बसेर बौद्ध शास्त्रको किताब पढिरहेको एक रातो वस्त्रधारी अङ्ग्रेज भिक्षुको वरिपरि झुम्मिएर बसेका थिए । अङ्ग्रेजले ब्रोकन भोट भाषामा बौद्ध धर्म-ग्रन्थका वाक्यांशहरू फलाकेको सुन्दै उनीहरू खित्का छोडेर हाँसिरहेका थिए । रिम्पोचेलाई दर्शन गर्ने दर्शनार्थीहरू गुम्बाको मूलगेटबाट लामबद्ध भएर गुम्बाभित्र प्रवेश गर्ने क्रममा थिए र तिनीहरूलाई एक जना भिक्षुले डोर्याइरहेका थिए ।
थुप्तेन ग्याछोले पुस्तकबाट आफ्ना आँखा हटाएर खेम्पोतिर हेर्यो । खेम्पो अर्धमुदित नयनले ढावाहरूको अध्ययन कार्यलाई अवलोकन गररिहेका थिए । “थुप्तेनऽऽ ।” खेम्पोको चर्को स्वर थुप्तेनको कानमा पर्यो । ऊ हड्बडाउँदै पाठ घोक्न थाल्यो ।
“जो राम्ररी पढेर अब्बल आउँछ, ऊ भोलि गुम्बाको रिम्पोचे हुन्छ ।” खेम्पोको गम्भीर आवाजले थुप्तेनको मनमा हलचल मच्चाइदियो । ऊ ध्यान दिएर बुद्धका उपदेशहरू घोक्न थाल्यो । उसलाई आज पढाइमा त्यति मन लागिरहेको थिएन । ऊ बिहानैदेखि गम्भीर थियो । उसलाई किन-किन पुस्तकमा आफूले पढेको कुरा र बाहिर आफूले देखेको र भोगेको व्यवहारमा भिन्नता देखा पररिहेको थियो । उसलाई प्रार्थना कोठामा पस्दा मात्र आफू यथार्थमा भिक्षु हुँ भन्ने महसुस हुन्थ्यो, नत्र बाह्य संसार र गुम्बाभित्रको संसारमा तात्त्विक भिन्नता केही थिएन । रातो कपडाले छोपिएका शरीरहरू र मुडुला टाउकाहरूले मात्र गुम्बालाई ‘गुम्बा’ बनाइरहेका थिए ।
“हिजो सहर झरेकाहरूमध्ये दुई जना ढावाहरू गुम्बामा फर्केनन् । कहाँ गए होलान् तिनीहरू ?” थुप्तेनले आफूलाई मनपर्ने ती साथीहरूको स्मरण गर्यो । “किन गए होलान् तिनीहरू ?” उसले गुम्बाबाट भागेका साथीहरू भाग्नुको कारण मनन गर्न खोज्यो । “आफ्नो शरीरलाई कष्ट दिएर मात्र ज्ञान प्राप्त हुँदैन,” थुप्तेनले गुरुले पटक-पटक भन्ने गरेका बुद्धवाणी सम्झ्यो र अनुमान लगायो कि सम्भवतः तिनीहरू त्यही कष्टबाट मुक्त हुन भागेका होलान् ।
थुप्तेनको मन भागेका भिक्षु साथीहरूप्रति इष्र्यालु बन्न थाल्यो । ‘जहाँ गए पनि तिनीहरू स्वतन्त्र होलान् ? तिनीहरूका वरिपरि गुम्बामा झैँ अग्ला-अग्ला पर्खालहरू छैनन् होलान् ? गुम्बाको विरक्तलाग्दो रुटिनबाट आज तिनीहरू मुक्त होलान् ? हिजो साँझ तिनीहरूले होटलमा मःम खाए होलान्, पिज्जा खाए होलान्, आइसक्रिम खाए होलान् र कोकको बोतल मुखमा लगाएर बेस्सरी डकारे होलान् । सायद अहिलेसम्म पनि घ्वारघ्वार घुर्दै तिनीहरू मस्त सुतिरहेका होलान् कतै !’ थुप्तेनको मन चञ्चल बनिरह्यो । साथीहरूको मुक्त जीवनसँग आफ्नो जीवनको तुलना गर्दा उसको मन नमीठो बनिरह्यो ।
थुप्तेनले चकटीमाथि बसेर पाठ घोकिरहेका आफ्ना साथीहरूतिर हेर्यो । सबैले शरीरमा रातो वस्त्र बेरेका छन् । सबैका टाउकाहरू मुडुला छन् । सबै जना मन लागिनलागी, सकिनसकी शास्त्र घोकिरहेका छन् । उसलाई आफ्नो मन मात्र किन चञ्चल बनिरहन्छ भन्ने कुरामा उदेक लागिरह्यो । उसले आफ्नो मुडुलो टाउकोमा हात फेर्यो । उसलाई आफ्नो टाउको गह्रौँ भएको जस्तो लाग्यो । आजसम्म मैले कपाल पालेको भए कति लामो भइसक्थ्यो । सायद मेरी आमाको चुल्ठोझैँ लामो ! आमाको लामो चुल्ठो सम्झनेबित्तिकै उसको मन झन् चञ्चल बन्यो । ऊ आफ्नो अतीतमा फक्र्यो । ऊ शरीरमा बेरिएको रातो वस्त्र फुकालेर कट्टु र बुसर्टमा प्रकट भयो । कट्टु र बुसर्ट लगाएको छिरङि, मुडुलो टाउको र रातो वस्त्रले बेरिएको थुप्तेन ग्याछोभन्दा खुसी थियो । गुम्बामा ल्याइपुर्याएपछि उसको नाम फेरिएर थुप्तेन ग्याछो बनेको थियो । तर, उसको मनभित्रको चञ्चलता भने अझै गाउँको छिरङिको झैँ थियो । उसको उमेरको बालापनलाई रातो वस्त्रले छोप्न सकेको थिएन ।
कट्टु र बुसर्टमा प्रकट भएको छिरङि आफ्नी आमाको चुल्ठो समात्दै खेल्न लाग्यो । “कति कोमल र चम्किलो थियो मेरी आमाको कपाल !” आफ्नो खुसी र दु.खलाई ऊ आमाको कपाल समातेर नै व्यक्त गर्ने गर्थ्यो। उसकी आमा पनि उसको कपाल मुसारेर नै भन्ने गर्थिन् कि ऊ कति प्यारो छ उनका लागि । थुप्तेन ग्याछोका आँखाहरू आँसुले टम्म भरिए। उसले आफ्नोअगाडि खोलेर राखेको पुस्तकमा बुद्धका उपदेशहरू होइन, आफ्नी आमाको जलिरहेको चिता देख्यो । उसले देख्यो कि आगोले उसकी आमाको सुन्दर लामो चुल्ठोलाई खरानी बनाइरहेको थियो । उसका आँखाबाट बरबरी आँसु झरे । पुस्तकमाथि खसेका आफ्ना आँसुका थोपाहरूमा उसले मुडुलो टाउको बनाएको र सेतो वस्त्र पहिरेको छिरङि देख्यो । आफ्नी आमाको मृत्युपश्चात् कपाल खौरेर मुडुलो बनेको छिरङिको अनुहार अस्पष्ट थियो । ऊ आफ्ना कान्तिहीन आँखाले थुप्तेनलाई हेररिहेको थियो । “छिरङि..ऽऽ…” थुप्तेन विस्तारै बोल्यो । उसको कल्पनामा प्रकट भइरहेको छिरङिको आफ्नै पूर्वस्वरूपले उसको मनमा खलबली मच्चाइरहेको थियो । ऊ मुडुलो भएको थियो, ज्ञानको भोक-शान्तिका लागि । छिरङि मुडुलो बनेको थियो मातृशोक प्रकट गर्नका लागि । यी दुवै मुडुला रूपहरूबाट ऊ तर्सिरहेको थियो । यी दुवै पूर्व र वर्तमान रूपले उसको आफ्नो प्राकृतिक स्वरूपलाई भत्काइरहेको थियो ।
खेम्पोले आफ्ना चेलाहरूलाई शास्त्रमा लेखिएका बुद्धका महत्त्वपूर्ण उपदेशहरू सुनाउँदै भने ः “सबै प्रकारका पापकर्म नगर्नू, कुशल काम गर्नू र आफ्नो चित्तलाई शुद्ध राख्नू ।” ढावाहरू सबै खेम्पोले भर्खर प्रवचन दिएको बुद्धका उपदेशको सार कण्ठस्थ पार्नथाले । थुप्तेन ग्याछो आफ्नो कल्पनामा निरन्तर आइरहेको छिरङिको तस्िबरलाई भुल्ने प्रयास गररिहेको थियो । ऊ आफूलाई सान्त्वना दिइरहेको थियो कि शास्त्र पढेर भोलि ऊ ठूलो गुरु बन्नेछ र आफ्ना सम्पूर्ण इच्छाहरू पूरा गर्नेछ । थुप्तेन ग्याछोको मनबाट अचानक मुडुलो छिरङिको शोकसन्तप्त अनुहार हट्यो । “म ठूलो भएपछि यस गुम्बाको रम्िपोचे बन्नेछु !” शास्त्रका पानाहरू पल्टाउँदै ऊ आफू गुम्बाको रम्िपोचे बनेको कल्पना गर्न थाल्यो । रिम्पोचे बनेको कल्पना गर्नु उसका लागि मीठो अनुभूति थियो । थुप्तेन जोडजोडले पाठ भट्याउन थाल्यो । पेचा भट्याउँदै ऊ आफू गुम्बाको रिम्पोचे बनेपछि के-के गर्नेछु भनी सोचिरहेको थियो । उसले सबैभन्दा पहिले सम्झ्यो रम्िपोचेको बडेमाको सेतो-कालो बुट्टा भएको कुकुर । उसले एकदिन कुकुरलाई हातले डोर्याएर गुम्बाको वरपिर िघुमाउने मौका पाएको थियो । त्यो कुकुरलाई टाढैबाट हेर्दा यस्तो लाग्थ्यो कि त्यो कुकुर, कुकुर नभएर जङ्गलको बाघ हो । रातो वस्त्रधारीहरूमाथि ऊ भुक्दैनथ्यो । नयाँ मान्छेलाई देख्नेबित्तिकै गुम्बा नै थर्काउने गरी ह् वाङ्-ह्वाङ् भुक्न थाल्थ्यो । तर, जब ऊ रम्िपोचेका अगाडि पथ्र्यो, त्यसबेला भने ऊ आफ्नो बडेमाको जीउलाई सङ्कुचित पार्दै पुच्छर हल्लाएर गुरुको पैताला सुँघ्न थाल्दथ्यो । “म रिम्पोचे बनेपछि त्यस कुकुरले मेरो पनि खुट्टा सुँघ्नेछ,” आफ्नो खुट्टामा कुकुरले लुटुपुटु गरेको कल्पना गर्दै थुप्तेन मुसुमुसु मुस्कुराउन थाल्यो ।
“म ठूलो गुरु बनेँ भने मेरो खुट्टामा लुटुपुटिने कुकुर मात्र हुने छैन, मेरो नाङ्गो नाडीमा महँगो घडी पनि हुनेछ ।” उसले स्मरण गर्यो कि रम्िपोचेले कस्तो र कति दाम पर्ने घडी लगाएका छन् । उसलाई सबैभन्दा मनपर्ने घडी अर्को गुम्बाको रम्िपोचेको नाडीमा बाँधिएको छ, जो कहिलेकाहीँ तिनीहरूलाई प्रवचन दिन आउँछन् । पहिलोपटक प्रवचन दिन आएका गुरुको नाडीमा चम्किरहेको घडी देखेर उसका आँखा तिरमिराएका थिए । उसले त्यसबेला आफ्नो चित्त शान्त पार्दै प्रण गरेको थियो कि एक न एक दिन उसले पनि त्यस्तै खालको घडी आफ्नो नाडीमा पहिरनिे छ । उसलाई भेट गर्न आउने मान्छेहरू उसको मुडुुलो टाउकोभन्दा उसको घडी बढी टल्किरहेको देखेर अचम्मित हुने छन् । ऊ मनमनै मुस्कुरायो । शास्त्रको पाठ घोक्नुको पछाडि दुःखहरूभन्दा धेरै सुखहरू छन् । ती सुखहरू प्राप्त गर्न म झन् धेरै पाठहरू घोक्नेछु । थुप्तेन ग्याछोले हातले आफ्नो मुडुलो टाउको सहलायो । टाउकोमा लामालामा रौँहरू छैनन्, जो ज्ञान, शान्ति र सुखका अवरोध हुन सक्थे । उसले बल्ल महसुस गर्यो कि ज्ञानबाट सुख प्राप्त गर्न टाउकोलाई मुडुलो बनाउन किन आवश्यक छ । उसले आफ्नाअगाडि चकटीमाथि बसेर प्रवचन दिइरहेका खेम्पोको मुडुलो टाउको हेर्यो । मुडुलो टाउकोमा उनी शान्त र ज्ञानी प्रतीत भइरहेका थिए ।
बिहानीको प्रार्थना सिद्धियो । खेम्पाले पुस्तकलाई प्रणाम गरे । सबै ढावाहरूले उनको अनुसरण गरे । खेम्पो आफ्नो स्थानबाट उठे र उनीसँगसँगै बालभिक्षुहरू पनि जर्याकजुरुक पुस्तक हातमा च्याप्दै उठे । लामो समयसम्म पलेटी मारेर बसेका ढावाहरू एकैसाथ पुस्तक बन्द गरेर उठ्दा प्रार्थना कोठाभित्र एकप्रकारको हलचल पैदा भयो ।
थुप्तेन ग्याछो अन्य दिनको भन्दा आज भिन्न देखिन्थ्यो । ऊ गम्भीर र शान्त थियो तर मनभित्र थुप्रै तर्क-वितर्क गररिहेको थियो । आफ्नो मुडुलो टाउको र रातो वस्त्रले सुसज्जित आफ्नो देहको सार्थकताका बारेमा ऊ बल्ल सोच्न थालेको थियो ।
गुम्बाका घन्टहरू बजे । चारैतिर घन्टको सुमधुर आवाज गुञ्ज्यो । बाहिर चौरमा गुम्बाका महागुरु रिम्पोचे बाहिर जाने तरखरमा थिए । सबैले हात जोडेर गुरुलाई प्रणाम गरे । महागुरुले हात उठाएर मुस्कुराउँदै सबैलाई आशीर्वाद दिए । महागुरु हात हल्लाउँदै रातो रङको ‘प्राडो’ गाडीभित्र चढे । गाडीको पछाडिपट्टिको सीटमा उनको बुट्टे कुकुर चढ्यो । महागुरुको मोबाइलको घन्टी बज्यो, उनी मोबाइलमा हाँसीहाँसी कुरा गर्न थाले । चालकको आसनमा एक जना भिक्षु चढे । महागुरुले हिँड्ने आदेश दिएपछि गाडीको इन्जिन स्टार्ट भयो र एक धक्का खाँदै गुम्बाको मूलगेटबाट बाहिरियो । थुप्तेन ग्याछो झन् गम्भीर बन्यो । महागुरु बन्ने उसको इच्छा अब दृढ अठोटका रूपमा रूपान्तरति भई गेटबाट बाहिरिएको रिम्पोचेको रातो गाडीलाई हेर्दै उसले पेचालाई जोडले आफ्नो छातीमा टाँस्यो ।
सबै ढावाहरू विश्रामका लागि ढस्याक - ब्यारेकतिर लागे । ऊ भने फर्केर कक्षाकोठामा पस्यो । उसले ‘पेचा’ पल्टायो र ठूलोठूलो स्वरले भट्याउँदै बौद्ध धर्मका उपदेशहरू घोक्न थाल्यो ।
(श्रोत:- नेपाल साप्ताहिक)