कथा : एउटा अर्को खाडल

~महेशविक्रम शाह ~Mahesh Bikram Shah

ऊ खाडल खन्न थाल्यो । रातको निस्पट्ट अन्धकारमा जमिनमा छिटोछिटो खनिरहेकोे थियो ऊ । कोदालोले ताछेका माटाका चपरीहरूलाई डिलमा फाल्दै ऊ खाडललाई सकेसम्म लम्बाचौडा बनाउने ध्याउन्नमा थियो ।

करीब ५-६ घण्टाको पट्यारलाग्दो हिँडाइपछि सशस्त्र छापामारको टोली त्यस ठाउँमा आइपुगेको थियो । त्यो टोलीको मिलिसिया सदस्य थियो ऊ । छापामारहरूले विभिन्न आकार, प्रकार र बनोटका बन्दुक भिरेका थिए । तर, उसको हातमा कोदालो थियो । सयौँको सङ्ख्यामा रहेको सशस्त्र टोलीमा डोको र कोदालो बोक्नेहरूको सङ्ख्या पनि पुगनपुग सय थियो । कोदालो, बेल्चा र फरुवा बोक्नेहरू खाडल खन्नका लागि छुट्याइएका थिए भने डोको बोक्नेहरू युद्धमा मारिएका छापामारहरूलाई युद्धमैदानबाट डोकोमा बोकेर ल्याई खाडलसम्म पुर्‍याउन खटिएका थिए ।

खाडल खन्दाखन्दै उसले आफूलाई दिइएको जिम्मेवारी मनन गर्‍यो । उफ् ! कति कठोर र हृदयविदारक छ यो काम ! जिउँदा कमरेडहरूले केही समयपछि मृत्यु अँगाल्ने सम्भावनाका साथ ऊ खाडल खनिरहेको छ । मानौँ, खाडल युद्धको महान् दर्शन हो र त्यहाँ पुरिने सम्भावनालाई स्वीकार गर्नु युद्धको आधारभूत सिद्धान्त हो । उसलाई कुनै कमरेडले एक पटक यस्तै भनेको सम्झना हुन्छ ।

खन्दाखन्दै ऊ टक्क रोकियो । थकाइले लखतरान भएको थियो ऊ । दाहिने हातको बाहुलाले अनुहारको पसिना पुछ्दै लामो सुस्केरा छोड्यो । दायाँबायाँ हेर्‍यो । साथीहरू पनि लहरै खाडल खनिरहेका थिए । उसले अँध्यारोमा तिनका अनुहारहरू ठम्याउन सकेन तर जमिनमा लगातार बज्रिरहेका कोदालो, फरुवा र बेल्चाको एकोहोरो आवाज र खाडल खन्नेका गलाबाट निस्किरहेको हँ… हँ… हँ… स्वरलहरीले ऊ अनुमान गरिरहेको थियो कि छिटो छिटो खाडल खन्नका लागि सबैजना व्याकुल भइरहेका छन् ।

“छापामारको सशस्त्र टोली अब आफ्नो लक्ष्यमा पुग्नै लाग्यो होला । सम्भवतः केही समयपछि नै दुवै पक्षहरूबीच मेघ गर्जेझैँ गोलीका पर्रर्ाा छुट्नेछन् । र, भकाभक भुइँमा शरीरहरू ढल्नेछन् ।”

आजको युद्धमा पनि मान्छेहरू मारिनेछन् । मारिने सबै नेपाली हुनेछन् । तिनमा सम्भवतः उसले सलाम ठोक्नुपर्ने कमरेडहरू पनि हुनेछन् र हुनेछन् उसका सहकर्मीहरू, जसको सङ्ख्या उसले खाडल खन्न थालेदेखि पातलिँदै गइरहेको छ ।

“मैले आज पनि मर्नेहरूलाई खाडलमा पर्ुर्नुपर्नेछ,” उसले आफ्नो जिम्मेवारी बढेको महसूस गर्‍यो ।

उसले कोदालो उठायो र फेरि जमिन खोस्रन थाल्यो । डोकेहरूले युद्धमा गोली लागेर क्षतविक्षत बनेका छापामारका लाशहरू बोकेर ल्याइपुर्‍याउनु भन्दा पहिले खाडल खनिसक्नुपर्ने कुरामा ऊ सचेत थियो । उसले कति खन्यो यस्ता खाडल, उसलाई केही हेक्का छैन । ती खाडलमा कतिजना पुरिए वा उसले कतिजनालाई खाडलमा पुर्‍यो, यसको पनि उसले कुनै जानकारी राखेको छैन । उसलाई यत्ति मात्र थाहा छ, अहिले खनिरहेको खाडलझैँ पहिले पनि उसले धेरै खाडल खनेको थियो र युद्धमा मारिएका छापामारका निर्जीव शरीरले पुरिएका थिए ती खाडल । ती शरीर विभिन्न रूप, बनोट र वर्ण्र्ाा थिए । ऊ कसैलाई चिन्थ्यो, कसैलाई चिन्दैनथ्यो । चिने पनि नचिने पनि आफ्ना सहकर्मीहरूले वरण गरेको बीभत्स मृत्युले उसको मनमा हुण्डरी चलाउँथ्यो ।

‘ओह ! मैले कति खाल्डा खनेँ कति !’ खाडलमा जम्मा भएको माटोलाई बेल्चाले बाहिर हुर्‍याउँदै सोच्यो उसले । उसको सोचाइमा उसले खनेको पहिलो खाडलमा पुरिने मान्छे उसको आफ्नै ‘बा’ थिए ।

खोलाको बगरमा फेला परेको, गोलीले क्षतविक्षत ‘बा’ को दर्ुगन्धित लाशलाई उसले बगरमा नै खाडल खनेर गाडेको थियो । लाशलाई माटोले पर्ुर्दै उसले प्रण गरेको थियो, ‘बा’ को मृत्युको कारणलाई पनि एकदिन उसले यसैगरी खाडल खनेर गाड्नेछ ।

उसको मस्तिष्कमा ‘बा’को धूमिल आकृति सल्बलायो तर त्यो निर्जीव आकृति उसले खनेको पहिलो खाडलले छोपियो । त्यसपछि सिलसिलाबद्ध रूपमा उसको मस्तिष्कमा आए उसले खनेका अनगिन्ती खाडल जहाँ ऊ निरन्तर युद्धमा मरेका सहयात्रीहरूलाई पर्ुर्दै आइरहेको छ । आफूले विभिन्न समय, स्थान र मौसममा खनेका खाडलहरूलाई स्मरण गर्दै जाँदा उसको ध्यान एउटा खाडलमा केन्द्रित भयो, जहाँ छातीमा गोली लागी ढलेकी एक सहकर्मीलाई पर्ुदा ऊ पहिलोपटक डाँको छोडेर रोएको थियो । आफ्नै दौँतरकी कलिली, खाउँखाउँ लाउँलाउँ उमेरकी साथीलाई कुनै मरेको जनावरलाई झैँ एकलास ठाउँमा माटोले पर्ुर्नुपर्दाको अथाह पीडा र सन्तापले ऊ झण्डै बहुलाएको थियो । ऊ डोको बोक्थी । लर्डाईँमा घाइते र मरेका लडाकुहरूलाई डोकोमा बोकेर सम्बन्धित ठाउँसम्म पुर्‍याउनु उसको काम हुन्थ्यो । छोटो समयमा नै उनीहरू घनिष्ट बनेका थिए । एकअर्कालाई माया गर्न थालेका थिए । घरबार त्यागेर जङ्गल पसी कोदाले बन्नु र डोके हुनु- दुवैको नियति एउटै थियो । तर पछिल्लो युद्धमा उसलाई पनि गोली लाग्यो र ऊ ठहरै भई । ऊ पुरिनका लागि उसले खनेको खाडलमा ल्याइएकी थिई । लाशहरूको थुप्रोमा रगतले लतपतिएको उसको जड शरीर देखेर ऊ अचानक पक्षघातले आक्रमण गरेझैँ भएको थियो । सुन्दर संसारको सपना देख्ने सहयात्रीका सजीव आँखाहरू निर्जीव र सपाट देखिएका थिए । ऊ तिनै आँखाहरूलाई हर्ेर्दै खाडलमा नै घोप्टो परेको थियो । त्यसपछि धेरै दिनसम्म विक्षिप्त र असन्तुलित बनेको थियो । उसको दिमागमा हरपल उस्तै र उही प्रश्न तर्ेर्सिन्थे, ‘ऊ किन मरी – कसका लागि मरी – र, मरेर उसले के पाई – छोरीलाई गुमाएर उसका बाबुले के पाए – कोखकी नानीको आहुतिबाट उसकी आमाले पनि के हासिल गरिन् -’

त्यस्ता धेरै सहकर्मीलाई उसले आफ्नै हातहरूले खाडलमा पुरेको थियो । ती सबै ‘मृत्युभक्त’हरू अहिले विस्मृतिको गर्भमा विलाइसकेका थिए । नयाँ खाडलले पुरानो खाडलको इतिहासलाई विस्थापित गथ्र्यो र पुरिएकाहरूको समग्र परिचय पनि विखण्डित हुन्थ्यो ।

उसले आफ्नो हृदय यी शृङ्खलाबद्ध अनुभवहरूले दह्रो बनेको महसूस गर्‍यो । तर हरेक नयाँ खाडल खन्दा उसको हृदयमा पीडाको अर्को चिसो लहर उठ्ने गर्छ । र, पुरिँदै गइरहेका मानव आकृतिहरूको कल्पना गरेर ऊ असामान्य हुने गर्छ ।

‘शायद म पनि यसैगरी मर्नेछु एकदिन र मेरो शरीरलाई पनि मेरो कुनै साथीले यसैगरी एक दिन खाडलमा पर्ुर्नेछ ।’ मृत्युको आभासले उसलाई झन् भावुक बनायो ।

ऊ लगातार खनिरहेको थियो । परिश्रम र मानसिक चिन्ताले होला उसले शरीर थाकेको, गलेको अनुभूत गर्‍यो । प्यास लागे झैँ, भोक लागे झैँ भयो उसलाई । खाडलको डिलमा अडेस लाग्दै प्यान्टको गोजीभित्र हात घुसार्‍यो र एकमुठी जौको सातु निकालेर मुखमा हाल्यो । तुमलेटको पानी घटघट पिएर सातु निल्यो । “म पनि बन्दुक भिर्ने छापामार भएको भए जौको सातु खाएर खाडल खन्नुपर्ने थिएन । पेटभरि मासु-भात खाएर लड्ने थिएँ । कि अरूलाई मार्थेँ कि आफू मर्थेँ । साथीका लाश हर्ेर्दै कल्पेर पलप्रतिपल जिउँदैै मर्नुपर्ने त थिएन ।” ऊ जीवनका बारेमा गम्भीर भएर सोच्न थाल्यो ।

उसले आफ्नो अगाडि परपरसम्म टकटकी लगाएर हेर्‍यो । अन्धकारमा केही देखिँदैनथ्योे । उसले अनुमान गर्‍यो- लडाकु छापामारको टुकडी बतासिँदै गएको दिशा सम्भवतः यही हो । उसले समयको अनुमान गर्‍यो र उत्तेजित हुँदै आफैँसँग सोध्यो, “अब लर्डाईँ हुने बेला भयो -” यस कुराको बोधले पसिनाले निथु्रक्क भिजेको उसको जिउमा एकाएक स्फर्ूर्ति आयो । ऊ झन् छिटोछिटो कोदालो चलाउन थाल्यो ।

“आज फेरि यस खाडलमा क-कसलाई पर्ुर्नुपर्नेछ, मैले !” उसले आफूले चिनेका छापामारका नाम सम्झयो । तिनका अनुहारलाई सम्झने प्रयास गर्‍यो । गोरा, काला, बाटुला, लाम्चा, नेप्टे, थेप्चे, चुच्चे अनुहारहरू । आफूझैँ सबै गाउँले, नेपाली अनुहार !

उसले चिरपरिचित अनुहारहरूलाई आँखै अगाडि मुस्कुराइरहेको देख्यो । कम्ब्याट डे्रस लगाएका, काँधमा राइफल भिरेका, निधारमा रातो टीका र टाउकोमा रातो रुमाल बाँधेका, शरीरभित्र उम्लिरहेको रातो रगतले रापिएका अनुहारहरू ! युद्ध लडेर नै संसार जित्ने मधुर सपनाले ओतप्रोत मायालु अनुहारहरू सम्झेर ऊ कल्पन थाल्यो । उसले आदर र माया गर्ने अनुहारहरू क्षतविक्षत भएर खाडलमा पर्ुन ल्याएको कल्पनाले ऊ लुगलुग काँप्न थाल्यो ।

अकस्मात् सयौं बन्दुकहरू एकैचोटि गर्जेको आवाज सुनियो ।

“लर्डाईँ सुरु भयो !” ऊ जोडले चिच्यायो ।

उसको कोदालोको गति बढ्यो । क्षणभरमै खाडल तयार भयो । डिलमा उभिएर उसले गोली चलिरहेको दिशातिर नजर दौडायो । आकाशमा आगोका झल्िकाहरू उठिरहेका थिए । समय जतिजति लम्बिँदै थियो, झल्िकाहरूको घनत्व बढ्दै गइरहेको थियो ।

“कहाँ छ खाडल -” कसैको चर्को आवाज सुनेर ऊ झस्कियो । नजिकै डोको बोक्नेहरूको एक हूल खाडलतर्फबढिरहेको थियो ।
“यहाँ छ कमरेड !!” ऊ पनि जोडले करायो ।

डोको बोक्नेहरूले पालैपालो आ-आफ्ना डोका खाडलमा घोप्ट्याए । डोकाबाट उछिट्टएिका रक्तमुछेल लाशहरूलाई नियाल्दै ऊ अथाह वेदनाले ढुन्मुनियो । युद्धमा नै सुन्दर भविष्य देख्ने परिचित/अपरिचित ‘कमरेड’ हरूका स्वप्निल आँखाहरू अहिले स्थिर थिए ।

छापामारका लाशले खाडल पुरिएर त्यसमाथि लाशहरूको खात खडा भइसकेको थियो । ऊ आँखाभरि आँसु पार्दै मूढो झैँ लम्पसार शरीरहरूलाई एकोहोरो हेरिरहेकै थियो । त्यही बेला डोकामा लाश बोकेर अर्को हूल आयो । खाडलहरू सबै पुरिइसकेका थिए । थप लाशहरूका लागि त्यहाँ अर्को खाडल थिएन ।

“आज हाम्रो धेरै क्षति भएजस्तो छ । छिटो अर्को खाडल खन” लाश बोकेका डोकेहरूसँगै युद्धमैदानबाट आएको कमाण्डर चिच्यायो ।

ऊ फेरि एउटा अर्को खाडल खन्न थाल्यो ।

(श्रोत :- हिमाल खबर)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.