~कपिल लामिछाने~
किसन काका एफ.एम. सुन्दै थिए । जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक वस चलाइने कार्यक्रम रहेको समाचार सुनेर उनी खुसीले बुरुक्क उफ्रे । उनले भेटे जतिलाई ‘खुस खबरी’ सुनाए । – ए सुन्यौ हाम्रो गाउँमा लोकतान्त्रिक बस चल्ने भयो रे !
खबर सबैतिर फैलियो । टीकाटिप्पणी पनि सुरु भयो ।
– लोकतन्त्र भनेको लोकतन्त्रै हो । लोकतन्त्रमा आमजनताको सुखदुख हेरिन्छ भनेको यही हो ।
– वस चल्ने भो’ भने त्यसभन्दा पहिले त बाटो बन्ला नि ?
– ठीक भनिस् ! बाटो बन्ने भो’ भने हामीले काम यहीँ पाइहाल्छौं । कोरिया किन जाने ? अहँ ! म त यहीँ काम गर्छु, राष्ट्रनिर्माणको काम गर्छु ।
– बाटो बन्ने भयो हैन ? म त ड्याडलाई भनेर बाइक किन्छु ।
– म त बैंंकबाट लोन लिएर माइक्रो बस किन्छु, गाउँगाउँ घुमाउँछु र पैसा कमाउँछु ।
– म ? म त बेपार गर्छु । बेपारमा कमाइ छ । काठमाडौँबाट होलसेलमा सोझै सामान यहीं ल्याइपुर्याउँछु । धेरै नाफा हुन्छ ।
– म क्रसर इन्डस्ट्री खोल्छु । बाटो भएपछि विकास खुल्छ । घर बन्छन् । अफिस बन्छन् । स्कुलकलेज बन्छन् । रोडा, गिट्टी सबैलाई चाहिन्छ ।….
रामाश्रेचाहिँ कल्पना गर्दै थिए कि त्यो बस समावेशी खालको हुनेछ, एकले अर्कालाई सहयोग र सम्मान गर्ने खालको हुनेछ, महिला-वृद्ध र अशक्तलाई विशेष सुविधा हुनेछ, सफासुघ्घर हुनेछ, नयाँ टलक्क टल्केको, हिमाल, पहाड, तराई झल्केको … ।
साँझपख पनि चौतारीमा थुप्रै मानिस जम्मा भएर खुसी जाहेर गर्दै थिए । नयाँ नेपालको नयाँ सरकारलाई आभार प्रकट गर्दै र धन्यवाद दिंदै थिए । ‘नयाँ नेपाल भनेको यस्तो पो’ भन्दै थिए । किसन काका एफ.एम. सुन्दै त्यहीँ सामेल हुन आइपुगे । उनले रेडियोतिर देखाउँदै भने- सरी है सरी ! लोकतान्त्रिक बस हैन बहस भन्या रैछ यो ठाँडाले । लौ सुन-सुन फेरि त्यही भन्न लाग्या छ ।’
उनले एफ.एम.को भोलम बढाए । एफ.एम. भन्दै थियो- ‘जनतामा व्यापक जागरूकता अभिवृद्धि गर्न जिल्लाका हरेक गाउँमा लोकतान्त्रिक बहस सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।
(श्रोत :- मधुपर्क, मंसिर २०६५)