कथा : थुप्तेन ग्याछो

~महेशविक्रम शाह~Mahesh Bikram Shah

ऊ अर्थात् थुप्तेन ग्याछो आफ्ना साथीहरूसँगै गुम्बाको प्रार्थना कोठामा प्रार्थनाको मुद्रामा बस्यो । उसको ठीकअगाडि खेम्पो -गुरु थिए । उनको रातो कपडाले ढाकिएको शरीर र नाङ्गो मुडुलो टाउकोतिर दृष्टिपात गर्दै ऊ प्रार्थनाका शब्दहरू स्मरण गररिहेको थियो । खेम्पोले ढावा -बालक भिक्षुहरूतर्फ हेर्दै आफ्नाअगाडि राखिएको ‘पेचा’ -पुस्तकको पहिलो पृष्ठ पल्टाए ।

“साङ्गे छुयदाङ् छोगी छोक्नाम्ला -भगवान् बुद्धका सबै धर्मलाई प्रार्थना गर्दछु ।”

खेम्पोले भोट भाषामा लेखिएको शास्त्र पढ्दै प्रार्थना सुरु गरे । खेम्पोको अनुसरण गर्दै ढावाहरूले पनि जोडले उच्चारण गरे, “साङ्गे छुयदाङ् छोगी छोक्नाम्ला ।” आफ्ना साथीहरूसँगसँगै थुप्तेन पनि घिच्रो तानीतानी शास्त्रका वाक्यहरू भट्याउन थाल्यो ।

बिहानीपख गुम्बाबाहिरको वातावरण शान्त थियो । वरिपरिका रूखहरू र फूलैफूलहरूले गुम्बालाई सुन्दर र पवित्र अनुभूत गराइरहेका थिए । चौरमा फाट्टफुट्ट रातो वस्त्रधारी भिक्षुहरू यताउति गररिहेका थिए । एक जना भिक्षु रिम्पोचेको सेतो-कालो बुट्टा भएको बडेमाको कुकुरलाई डोर्‍याउँदै गुम्बावरिपरि हावा खुवाउँदै थिए । दुई जना भिक्षुहरू पार्किङ्मा रहेको सेतो गाडीमा चढेर सहरतिर झर्ने उपक्रममा थिए । केही भिक्षुहरू बेन्चमा बसेर बौद्ध शास्त्रको किताब पढिरहेको एक रातो वस्त्रधारी अङ्ग्रेज भिक्षुको वरिपरि झुम्मिएर बसेका थिए । अङ्ग्रेजले ब्रोकन भोट भाषामा बौद्ध धर्म-ग्रन्थका वाक्यांशहरू फलाकेको सुन्दै उनीहरू खित्का छोडेर हाँसिरहेका थिए । रिम्पोचेलाई दर्शन गर्ने दर्शनार्थीहरू गुम्बाको मूलगेटबाट लामबद्ध भएर गुम्बाभित्र प्रवेश गर्ने क्रममा थिए र तिनीहरूलाई एक जना भिक्षुले डोर्‍याइरहेका थिए ।

थुप्तेन ग्याछोले पुस्तकबाट आफ्ना आँखा हटाएर खेम्पोतिर हेर्‍यो । खेम्पो अर्धमुदित नयनले ढावाहरूको अध्ययन कार्यलाई अवलोकन गररिहेका थिए । “थुप्तेनऽऽ ।” खेम्पोको चर्को स्वर थुप्तेनको कानमा पर्‍यो । ऊ हड्बडाउँदै पाठ घोक्न थाल्यो ।

“जो राम्ररी पढेर अब्बल आउँछ, ऊ भोलि गुम्बाको रिम्पोचे हुन्छ ।” खेम्पोको गम्भीर आवाजले थुप्तेनको मनमा हलचल मच्चाइदियो । ऊ ध्यान दिएर बुद्धका उपदेशहरू घोक्न थाल्यो । उसलाई आज पढाइमा त्यति मन लागिरहेको थिएन । ऊ बिहानैदेखि गम्भीर थियो । उसलाई किन-किन पुस्तकमा आफूले पढेको कुरा र बाहिर आफूले देखेको र भोगेको व्यवहारमा भिन्नता देखा पररिहेको थियो । उसलाई प्रार्थना कोठामा पस्दा मात्र आफू यथार्थमा भिक्षु हुँ भन्ने महसुस हुन्थ्यो, नत्र बाह्य संसार र गुम्बाभित्रको संसारमा तात्त्विक भिन्नता केही थिएन । रातो कपडाले छोपिएका शरीरहरू र मुडुला टाउकाहरूले मात्र गुम्बालाई ‘गुम्बा’ बनाइरहेका थिए ।

“हिजो सहर झरेकाहरूमध्ये दुई जना ढावाहरू गुम्बामा फर्केनन् । कहाँ गए होलान् तिनीहरू ?” थुप्तेनले आफूलाई मनपर्ने ती साथीहरूको स्मरण गर्‍यो । “किन गए होलान् तिनीहरू ?” उसले गुम्बाबाट भागेका साथीहरू भाग्नुको कारण मनन गर्न खोज्यो । “आफ्नो शरीरलाई कष्ट दिएर मात्र ज्ञान प्राप्त हुँदैन,” थुप्तेनले गुरुले पटक-पटक भन्ने गरेका बुद्धवाणी सम्झ्यो र अनुमान लगायो कि सम्भवतः तिनीहरू त्यही कष्टबाट मुक्त हुन भागेका होलान् ।

थुप्तेनको मन भागेका भिक्षु साथीहरूप्रति इष्र्यालु बन्न थाल्यो । ‘जहाँ गए पनि तिनीहरू स्वतन्त्र होलान् ? तिनीहरूका वरिपरि गुम्बामा झैँ अग्ला-अग्ला पर्खालहरू छैनन् होलान् ? गुम्बाको विरक्तलाग्दो रुटिनबाट आज तिनीहरू मुक्त होलान् ? हिजो साँझ तिनीहरूले होटलमा मःम खाए होलान्, पिज्जा खाए होलान्, आइसक्रिम खाए होलान् र कोकको बोतल मुखमा लगाएर बेस्सरी डकारे होलान् । सायद अहिलेसम्म पनि घ्वारघ्वार घुर्दै तिनीहरू मस्त सुतिरहेका होलान् कतै !’ थुप्तेनको मन चञ्चल बनिरह्यो । साथीहरूको मुक्त जीवनसँग आफ्नो जीवनको तुलना गर्दा उसको मन नमीठो बनिरह्यो ।

थुप्तेनले चकटीमाथि बसेर पाठ घोकिरहेका आफ्ना साथीहरूतिर हेर्‍यो । सबैले शरीरमा रातो वस्त्र बेरेका छन् । सबैका टाउकाहरू मुडुला छन् । सबै जना मन लागिनलागी, सकिनसकी शास्त्र घोकिरहेका छन् । उसलाई आफ्नो मन मात्र किन चञ्चल बनिरहन्छ भन्ने कुरामा उदेक लागिरह्यो । उसले आफ्नो मुडुलो टाउकोमा हात फेर्‍यो । उसलाई आफ्नो टाउको गह्रौँ भएको जस्तो लाग्यो । आजसम्म मैले कपाल पालेको भए कति लामो भइसक्थ्यो । सायद मेरी आमाको चुल्ठोझैँ लामो ! आमाको लामो चुल्ठो सम्झनेबित्तिकै उसको मन झन् चञ्चल बन्यो । ऊ आफ्नो अतीतमा फक्र्यो । ऊ शरीरमा बेरिएको रातो वस्त्र फुकालेर कट्टु र बुसर्टमा प्रकट भयो । कट्टु र बुसर्ट लगाएको छिरङि, मुडुलो टाउको र रातो वस्त्रले बेरिएको थुप्तेन ग्याछोभन्दा खुसी थियो । गुम्बामा ल्याइपुर्‍याएपछि उसको नाम फेरिएर थुप्तेन ग्याछो बनेको थियो । तर, उसको मनभित्रको चञ्चलता भने अझै गाउँको छिरङिको झैँ थियो । उसको उमेरको बालापनलाई रातो वस्त्रले छोप्न सकेको थिएन ।

कट्टु र बुसर्टमा प्रकट भएको छिरङि आफ्नी आमाको चुल्ठो समात्दै खेल्न लाग्यो । “कति कोमल र चम्किलो थियो मेरी आमाको कपाल !” आफ्नो खुसी र दु.खलाई ऊ आमाको कपाल समातेर नै व्यक्त गर्ने गर्थ्यो। उसकी आमा पनि उसको कपाल मुसारेर नै भन्ने गर्थिन् कि ऊ कति प्यारो छ उनका लागि । थुप्तेन ग्याछोका आँखाहरू आँसुले टम्म भरिए। उसले आफ्नोअगाडि खोलेर राखेको पुस्तकमा बुद्धका उपदेशहरू होइन, आफ्नी आमाको जलिरहेको चिता देख्यो । उसले देख्यो कि आगोले उसकी आमाको सुन्दर लामो चुल्ठोलाई खरानी बनाइरहेको थियो । उसका आँखाबाट बरबरी आँसु झरे । पुस्तकमाथि खसेका आफ्ना आँसुका थोपाहरूमा उसले मुडुलो टाउको बनाएको र सेतो वस्त्र पहिरेको छिरङि देख्यो । आफ्नी आमाको मृत्युपश्चात् कपाल खौरेर मुडुलो बनेको छिरङिको अनुहार अस्पष्ट थियो । ऊ आफ्ना कान्तिहीन आँखाले थुप्तेनलाई हेररिहेको थियो । “छिरङि..ऽऽ…” थुप्तेन विस्तारै बोल्यो । उसको कल्पनामा प्रकट भइरहेको छिरङिको आफ्नै पूर्वस्वरूपले उसको मनमा खलबली मच्चाइरहेको थियो । ऊ मुडुलो भएको थियो, ज्ञानको भोक-शान्तिका लागि । छिरङि मुडुलो बनेको थियो मातृशोक प्रकट गर्नका लागि । यी दुवै मुडुला रूपहरूबाट ऊ तर्सिरहेको थियो । यी दुवै पूर्व र वर्तमान रूपले उसको आफ्नो प्राकृतिक स्वरूपलाई भत्काइरहेको थियो ।

खेम्पोले आफ्ना चेलाहरूलाई शास्त्रमा लेखिएका बुद्धका महत्त्वपूर्ण उपदेशहरू सुनाउँदै भने ः “सबै प्रकारका पापकर्म नगर्नू, कुशल काम गर्नू र आफ्नो चित्तलाई शुद्ध राख्नू ।” ढावाहरू सबै खेम्पोले भर्खर प्रवचन दिएको बुद्धका उपदेशको सार कण्ठस्थ पार्नथाले । थुप्तेन ग्याछो आफ्नो कल्पनामा निरन्तर आइरहेको छिरङिको तस्िबरलाई भुल्ने प्रयास गररिहेको थियो । ऊ आफूलाई सान्त्वना दिइरहेको थियो कि शास्त्र पढेर भोलि ऊ ठूलो गुरु बन्नेछ र आफ्ना सम्पूर्ण इच्छाहरू पूरा गर्नेछ । थुप्तेन ग्याछोको मनबाट अचानक मुडुलो छिरङिको शोकसन्तप्त अनुहार हट्यो । “म ठूलो भएपछि यस गुम्बाको रम्िपोचे बन्नेछु !” शास्त्रका पानाहरू पल्टाउँदै ऊ आफू गुम्बाको रम्िपोचे बनेको कल्पना गर्न थाल्यो । रिम्पोचे बनेको कल्पना गर्नु उसका लागि मीठो अनुभूति थियो । थुप्तेन जोडजोडले पाठ भट्याउन थाल्यो । पेचा भट्याउँदै ऊ आफू गुम्बाको रिम्पोचे बनेपछि के-के गर्नेछु भनी सोचिरहेको थियो । उसले सबैभन्दा पहिले सम्झ्यो रम्िपोचेको बडेमाको सेतो-कालो बुट्टा भएको कुकुर । उसले एकदिन कुकुरलाई हातले डोर्‍याएर गुम्बाको वरपिर िघुमाउने मौका पाएको थियो । त्यो कुकुरलाई टाढैबाट हेर्दा यस्तो लाग्थ्यो कि त्यो कुकुर, कुकुर नभएर जङ्गलको बाघ हो । रातो वस्त्रधारीहरूमाथि ऊ भुक्दैनथ्यो । नयाँ मान्छेलाई देख्नेबित्तिकै गुम्बा नै थर्काउने गरी ह्  वाङ्-ह्वाङ् भुक्न थाल्थ्यो । तर, जब ऊ रम्िपोचेका अगाडि पथ्र्यो, त्यसबेला भने ऊ आफ्नो बडेमाको जीउलाई सङ्कुचित पार्दै पुच्छर हल्लाएर गुरुको पैताला सुँघ्न थाल्दथ्यो । “म रिम्पोचे बनेपछि त्यस कुकुरले मेरो पनि खुट्टा सुँघ्नेछ,” आफ्नो खुट्टामा कुकुरले लुटुपुटु गरेको कल्पना गर्दै थुप्तेन मुसुमुसु मुस्कुराउन थाल्यो ।

“म ठूलो गुरु बनेँ भने मेरो खुट्टामा लुटुपुटिने कुकुर मात्र हुने छैन, मेरो नाङ्गो नाडीमा महँगो घडी पनि हुनेछ ।” उसले स्मरण गर्‍यो कि रम्िपोचेले कस्तो र कति दाम पर्ने घडी लगाएका छन् । उसलाई सबैभन्दा मनपर्ने घडी अर्को गुम्बाको रम्िपोचेको नाडीमा बाँधिएको छ, जो कहिलेकाहीँ तिनीहरूलाई प्रवचन दिन आउँछन् । पहिलोपटक प्रवचन दिन आएका गुरुको नाडीमा चम्किरहेको घडी देखेर उसका आँखा तिरमिराएका थिए । उसले त्यसबेला आफ्नो चित्त शान्त पार्दै प्रण गरेको थियो कि एक न एक दिन उसले पनि त्यस्तै खालको घडी आफ्नो नाडीमा पहिरनिे छ । उसलाई भेट गर्न आउने मान्छेहरू उसको मुडुुलो टाउकोभन्दा उसको घडी बढी टल्किरहेको देखेर अचम्मित हुने छन् । ऊ मनमनै मुस्कुरायो । शास्त्रको पाठ घोक्नुको पछाडि दुःखहरूभन्दा धेरै सुखहरू छन् । ती सुखहरू प्राप्त गर्न म झन् धेरै पाठहरू घोक्नेछु । थुप्तेन ग्याछोले हातले आफ्नो मुडुलो टाउको सहलायो । टाउकोमा लामालामा रौँहरू छैनन्, जो ज्ञान, शान्ति र सुखका अवरोध हुन सक्थे । उसले बल्ल महसुस गर्‍यो कि ज्ञानबाट सुख प्राप्त गर्न टाउकोलाई मुडुलो बनाउन किन आवश्यक छ । उसले आफ्नाअगाडि चकटीमाथि बसेर प्रवचन दिइरहेका खेम्पोको मुडुलो टाउको हेर्‍यो । मुडुलो टाउकोमा उनी शान्त र ज्ञानी प्रतीत भइरहेका थिए ।

बिहानीको प्रार्थना सिद्धियो । खेम्पाले पुस्तकलाई प्रणाम गरे । सबै ढावाहरूले उनको अनुसरण गरे । खेम्पो आफ्नो स्थानबाट उठे र उनीसँगसँगै बालभिक्षुहरू पनि जर्‍याकजुरुक पुस्तक हातमा च्याप्दै उठे । लामो समयसम्म पलेटी मारेर बसेका ढावाहरू एकैसाथ पुस्तक बन्द गरेर उठ्दा प्रार्थना कोठाभित्र एकप्रकारको हलचल पैदा भयो ।

थुप्तेन ग्याछो अन्य दिनको भन्दा आज भिन्न देखिन्थ्यो । ऊ गम्भीर र शान्त थियो तर मनभित्र थुप्रै तर्क-वितर्क गररिहेको थियो । आफ्नो मुडुलो टाउको र रातो वस्त्रले सुसज्जित आफ्नो देहको सार्थकताका बारेमा ऊ बल्ल सोच्न थालेको थियो ।

गुम्बाका घन्टहरू बजे । चारैतिर घन्टको सुमधुर आवाज गुञ्ज्यो । बाहिर चौरमा गुम्बाका महागुरु रिम्पोचे बाहिर जाने तरखरमा थिए । सबैले हात जोडेर गुरुलाई प्रणाम गरे । महागुरुले हात उठाएर मुस्कुराउँदै सबैलाई आशीर्वाद दिए । महागुरु हात हल्लाउँदै रातो रङको ‘प्राडो’ गाडीभित्र चढे । गाडीको पछाडिपट्टिको सीटमा उनको बुट्टे कुकुर चढ्यो । महागुरुको मोबाइलको घन्टी बज्यो, उनी मोबाइलमा हाँसीहाँसी कुरा गर्न थाले । चालकको आसनमा एक जना भिक्षु चढे । महागुरुले हिँड्ने आदेश दिएपछि गाडीको इन्जिन स्टार्ट भयो र एक धक्का खाँदै गुम्बाको मूलगेटबाट बाहिरियो । थुप्तेन ग्याछो झन् गम्भीर बन्यो । महागुरु बन्ने उसको इच्छा अब दृढ अठोटका रूपमा रूपान्तरति भई गेटबाट बाहिरिएको रिम्पोचेको रातो गाडीलाई हेर्दै उसले पेचालाई जोडले आफ्नो छातीमा टाँस्यो ।

सबै ढावाहरू विश्रामका लागि ढस्याक - ब्यारेकतिर लागे । ऊ भने फर्केर कक्षाकोठामा पस्यो । उसले ‘पेचा’ पल्टायो र ठूलोठूलो स्वरले भट्याउँदै बौद्ध धर्मका उपदेशहरू घोक्न थाल्यो ।

(श्रोत:- नेपाल साप्ताहिक)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.