मसँग अहिले एक लाख छ । त्यो एक लाख मेरो होइन अर्काको हो । त्यो अर्को व्यक्ति मरिसकेको छ । त्यो रकम पचाउन मसँग तर्कहरू छन् । म भन्नसक्छु, यो देशमा इमानदार मान्छे को छ र मैले हुनुपर्ने । त्यसमाथि यो रकमको मालिकको मृत्यु भइसकेको छ । कुनै लिखत पनि छैन । तर्कभन्दा पनि यसलाई कुतर्क भन्नुपर्ला । मेरो आसय अहिले अर्कै छ । म कुतर्क झिकेर रकम पचाउने कसरत गर्ने पक्षमा छैन । अहिलेसम्म सोझो बाटो हिँडेर आएको छु । अहिले म बाङ्गो बाटो हिँड्न चाहन्न । सोझो बाटो हिँड्दा कतै पुगिँदैन भने पनि मलाई पछुतो हुने छैन ।
त्यो मृतक केही दिन अघि मेरो कोठामा आएको थियो । मलाई आश्चर्य लाग्यो । त्यो मान्छे अर्काको घरमा प्रायः जाँदैन । मान्छेहरू ऊ बसेको ठाउँमा नै जान्छन् । कसैलाई उसको आवश्यकता परेमा बोलाउन पनि सकिन्छ । त्यो मान्छे अर्काको अप्ठ्यारो बु्झ्छ । त्यो मान्छे सहयोगी छ । आनाकानी गर्दैन । उसको त्यो सदाशयताको मान्छेहरूले प्रशंसा नै गरेका छन् । मेरो मामिलामा उल्टो भयो । त्यसले मलाई एक्लोमा भेट्न खोजिरहेको थियो । त्यसका लागि उसले मेरो चियोचर्चो गरेको हुनुपर्छ । कन्सुत्ल्याई भन्नुपर्यो ।
-”किन आउनुभयो ?” मैले प्रश्न गरेँ ।
-”तपाइर्ँसँग एकान्तमा कुरा गर्न चाहेको ।” त्यसले भन्यो ।
-’एकान्त नै चाहिने ?’ मैले प्रश्न गरेँ ।
-”तेस्रो व्यक्तिले हाम्रो कुरा नसुनोस् ।” त्यसले भन्यो ।
कोठामा चिया आइसकेको थियो । चियाले हामीलाई बाधा पुर्याएको थिएन । ढोका खुल्ला थियो । मैले उसलाई ढोका लगाउन पर्ने कि नपर्ने सोधेँ । लगाउन पर्ने नै भयो । उसको र मेरोबीच कुनै किसिमको आत्मीय सम्बन्ध छैन । हामी नातेदार पनि होइनौँ, सामान्य सम्बन्ध छ ।
-”मसँग एक लाख छ ।” त्यसले भन्यो ।
-”एक लाख ?” मैले आश्चर्य प्रकट गरेँ ।
-”हो । एक लाख ।” त्यसले भन्यो ।
-”यो त धेरै हो । यो त ठूलो रकम हो ।” मैले भनेँ ।
-”यहाँका मान्छेका लागि त यो के हो र ? मेरालागि भने धेरै ठूलो रकम हो ।” त्यसले भन्यो ।
-”ठीक भन्नुभयो । कसरी पैसा जोगाउनु
भयो ?” मैले प्रश्न गरेँ ।
-”तपाइँलाई थाहा नै छ, म कोठाबाट विरलै निस्कन्छु । मेरो सोख केही पनि छैन । मेरो कोठा सामान्य छ । कोठामा टेलिभिजनसम्म छैन । सानो एउटा रेडियो छ । आफैँ पकाउँछु । आफैँ भाँडा माज्छु । जे काम पनि आफैँ गर्छु ।” त्यसले भन्यो ।
-”त्यो एक लाख कहाँ छ त ?” मेरो प्रश्न थियो ।
-”त्यो एक लाख मसँगै छ ।” त्यसले भन्यो ।
-”मतलब ?” मैले उसको कुरा बुझिनँ ।
-”मेरो बगलीमा नै छ । मेरो साथमा नै छ ।” त्यसले भन्यो ।
-”यत्रो रकम सधैँ बोकिरहने ?” मैले प्रश्न गरेँ ।
-”हजार, हजारका नोट छन् । मेरो भित्री खल्ती ठूलो छ ।” त्यसले भन्यो ।
-”बैङ्कमा किन नराखेको ?” मैले उसलाई सोधेँ ।
-”मेरो स्वभाव भन्ठान्नोस् ।” त्यसले भन्यो ।
-”आफूसँग यतिका पैसा हुँदा तपाइँलाई डर लाग्दैन ?” मैले प्रश्न गरेँ ।
-”लाग्छ । ज्यादै लाग्छ ।” त्यसले भन्यो ।
-”सडकका मगन्तेको बटुकाको पैसा लुट्नेसम्मको हद्मा मान्छे पुगेका छन् । यो क्रूर युगमा यो निर्दयी युगमा हामी बाँचेका छौँ ।” मैले भने ।
-”यो सब कुरा मैले बुझेको छु ।” त्यसले भन्यो ।
-”अनि ?” मैले कुरालाई अघि बढाएँ ।
-”म बूढो भइसकेको छु । एक्लो छु । मेरो कोही पनि छैन । कुनै पनि समयमा मलाई केही पनि हुनसक्छ । त्यस बेलामा तत्काल नै पैसाको आवश्यकता पर्छ ।” उसले भन्यो ।
– यो त कुनै ठूलो कुरा होइन । तपाईंले चेक काटेर भुक्तानी गर्न सक्नु हुन्छ । पैसा नै ज्यान जाने कारण नबनोस् । मेरो त्यो आशय हो । ‘ मैले भने ।
– ‘मसँग पैसा छ भन्ने कुरा गोप्य राख्न चाहन्छु ।’ त्यसले भन्यो ।
मलाई थाहा छ, उसका तर्कहरू फितला छन् । समय र परिस्थिति अनुकूल छैनन् । मलाई तर्कले उसलाई हराउनु छैन । उसका कुरा सुनिरहन्छु ।
– यस्तो गोप्य कुरा मलाई नै किन भन्नु भयो त ?’ मैले प्रश्न गरें ।
-यसको कारण छ । यस विषयमा धेरै दिन विचार गरेँ । मैले तपाईंलाई विश्वास गर्ने निधो गरेँ ।’ उसले भन्यो ।
-”मेरो बारेमा तपाइँको यो किसिमको आस्था रहेछ । त्यो मलाई थाहा थिएन ।” मैले भनेँ ।
-”म मरेँ भने यो रकम तपाइँले फलानोलाई दिनु ।” उसले मलाई भन्यो ।
यो झन्झटिलो काम थियो । जीवनमा सधैँ सजिलो काम गर्न पाइँदैा, फेरि सोचेँ । उसले आफ्नो मृत्युपछि बोलाउनुपर्ने मान्छेको नाम र ठेगाना दिएको थियो । फोन नम्बर पनि दिएको थियो । मैले आफ्नो राय पेस गर्नुअघि नै उसले आत्मविश्वासका साथ मलाई जिम्मेवारी दिएको थियो, मैले अस्वीकार गर्ने मौका नै पाइनँ ।
अझै पनि मलाई लागिरहेको छ, त्यो बूढोमान्छे मेरो घरमा नआएको भए म यो झन्झटमा पर्ने थिइनँ । यो बेग्लै कुरा हो, अहिले त्यतातिर सोच्नु अर्थहीन छ । त्यो जिम्मेवारीबाट उम्कन मैले यतिसम्म भनेँ, काल सोच्नु हुँदैन ।
-”हुनसक्छ, तपाइँभन्दा पहिले मेरो पालो आउँछ ।” मैले भनेँ ।
मेरो कुराले उसलाई असर गरेन । ऊ आफ्नै अडानमा थियो । यसको अन्त्य भने मैले सोचे जस्तो भएन । उसले सोचेको नै भयो ।
बिहानको समय । समयमा नै उठेँ । पाँच बजेको छ, घुम्न गइँन । चिया खान मन लाग्यो श्रीमतीलाई भनेँ । चिया खाएँ । मेरो दराजमा एक लाख थियो । त्यो रकम मैले एउटा कालो ब्यागमा राखेँ । उसको खल्तीको रकम मेरो दराजमा आइसकेको थियो । लाख रुपियाँ राख्ने गरेको खल्ती उसको चिता नजिकैको खोलामा ˆयाँकिएको थियो । त्यो ब्यागसहित म बस स्टपमा गएँ । त्यतिखेर सडकमा मोटरहरू कुद्न थालिसकेका थिए । दैनिक अखबारहरू पसलमा देखिए । मलाई कुनै एउटा अखबार भए पुग्थ्यो । लामो त होइन यात्रा त अवश्य हो । अपरिचित ठाउँ हो । समय कसरी कटाउने ? दुई किसिमका अखबार किनेँ । अखबारमा ध्यान केन्दि्रत हुँदा बस फुत्कने डर थियो । आधा घण्टा बित्यो । बस आयो । पूरै भरिएको । म चढेँ ।
-”यो लामो रुटको बिहानको बस पनि भरिएको ?” मैले बसको ड्राइभरलाई सोधेँ ।
-”तीन दिनपछि मात्र आज यो रुटमा बस चलेकाले ।” ड्राइभरले भन्यो । ड्राइभरनजिकको इन्जिनमाथि चकटी राखिएको थियो । त्यो चकटीमा मान्छेहरू घेरा लागेर बसेका थिए । मलाई ड्राइभरले सहानुभूति देखायो । मान्छेहरूलाई भनेर मेरा लागि त्यही ठाउँमा बस्न सङ्केत गर्यो । मेरो हातमा कालो ब्याग थियो । मैले त्यो ब्यागलाई बच्चाझैँ समातेको थिएँ । त्यो मेरो ब्याग चानचुने थिएन । एक लाख बोकेको कालो ब्याग । त्यो कालो ब्यागमा पैसा छ भन्ने कुरा पाकेटमाराले थाहा पाए ब्याग मात्र जाँदैन मेरो ज्यान पनि जानसक्छ । बस्दा पनि म चनाखो बनेको छु । एउटा स्टप आउँछ । सयौँ मान्छेको भीड देखिन्छ ।
-”यतिका मान्छे ? कि यो जुलुस हो ?” ड्राइभरलाई म सोध्छु ।
-यी मान्छेहरू आफ्नो गन्तव्यमा पुग्न तीन दिनदेखि आतुर छन् ।
आज पनि जान पाइन्छ कि
पाइँदैन ? त्यो किसिमको अन्योलपूर्ण आँखाले हेरिरहेका छन् । ड्राइभरको भनाइ छ ।
-यी सबै मान्छे हाम्रा रुटका नै हुन् ? मेरो प्रश्न छ ।
-यस ठाउँबाट दस ठाउँमा जानका लागि यातायात पाइन्छ ।
यिनीहरू दस ठाउँका मान्छे हुन् । सबै एउटै ठाउँमा मिसिएपछि यो हुल देखिएको हो । ड्राइभरको भनाइ छ ।
-आज सबै स्थानमा बस चलेका छन् ?’ मेरो प्रश्न छ ।
-”हाम्रो रुट त ठीक छ । अरूको रुटको बारेमा बुझ्नै पर्छ ।” ड्राइभर भन्छ ।
म एक दिनको योजना बनाएर आएको छु । मलाई यहाँ पन्ध्र दिन बस्न परेमा के होला ? यस्तै अन्योलको बीचमा म हिँडेको छु । जुनसुकै समयमा जे पनि हुनसक्ने चलनबाट अनभिज्ञ म छैन ।
-”मलाई त यी मान्छेहरूले भारतको कुनै रेल वेको स्टेसनको झझल्को दिएका छन् ।” मैले भनेँ ।
-”मान्छेको चाप हेर्दा त यहाँ पनि रेलको आवश्यकता देखियो ।” ड्राइभर भन्छ ।
-”आवश्यकता छ भनेर कहाँ हुन्छ र ? बनाउने मान्छे पनि चाहियो ।” म भन्छु ।
-”हुन त हो । यो देशमा बसेर हत्या र आतङ्कको कल्पना गर्न सकिन्छ । रेलको कल्पना गर्न सकिँदैन ।” ‘ड्राइभर भन्छ ।
-”हाम्रो त कल्पना पनि नराम्रो मात्र हुन्छ ।” म भन्छु ।
बसमा धूलोको मुस्लो पस्छ । बसमा धुवाँको मुस्लो पस्छ । सडकमा चल्ने यातायातका साधनले उठाएको यो धूलो निरन्तर बसमा आइरहेको छ । अघि त सिट मात्र भरिएको थियो । अहिले त उभिने ठाउँ पनि भरिएर मान्छेहरू बसको छतमा टुक्रुक्क बसेका छन् । सडकका छेउमा पल्टेका बस देखिन्छन् । आगोले डढेका बस देखिन्छन् । हर दिन हुने दुर्घटनाको साक्षी हुन् यी । हर दिन हुने दुर्घटनाका प्रमाण हुन् यी ।
कुनै बाधा, कुनै विरोध र कुनै व्यवधान म बसको अन्तिम बिसौनीमा पुगेको छु । बीचमा सडक बन्द गरेर कुनै बेला जनता जम्मा गरेर भाषण गरिरहेको थियो । ड्राइभरले वैकल्पिक बाटो देखेको रहेछ । सजिलै उम्कियो । बिसौनीमा म उत्रिएको छु । सानो सहरको एउटा बिसौनी । त्यहाँ कुनै किसिमको पूर्वाधार छैन । बसहरू लाइनमा छन् । त्यही हो । पिसाब फेर्न ठाउँ खोज्छु । कतै छैन । घरबाट एक कप चिया खाएर निस्केको थिएँ । चियाको भन्दा पनि भोक नै लागेको छ । खाना खाने त्यस्तो ढङ्गको ठाउँ देख्दिन । चिया पसलमा चना, सेल, आलु तारेको छ । म बिस्कुट र चिया खान्छु । चिया पसलको सामुन्नेमा लहरै फलफूल पसल देखियो । म स्याउ किन्छु । म केरा किन्छु । मेरो गन्तव्यमा पुग्न अझै अर्को एउटा बस चढ्नुपर्ने थियो । यही बसपार्कको पूर्वतिर थियो बस । त्यहाँ बस एउटा छ । त्यो बसमा एउटा मान्छे छ । त्योसँग म कुरा गर्छु । एक घण्टापछि मात्र जाने कुरा थाहा पाउँछु । त्यो सानो सहरमा घुमेर समय बिताउन सकिन्थ्यो । त्यसका लागि मसँग समय थिएन । म बसमा नै बस्छु । बिहान किनेका अखबार पढ्न थाल्छु । राम्रा खबर कम छन् । नराम्रा नै बढी छन् । जे छन् त्यही पढ्छु ।
बस समयमा नै चल्यो । मान्छेहरूको भीड थिएन । सिटहरू नै खाली थिए । मोटरको बाटो साँघुरो थियो । उकालो ठाडो नै थियो । त्यसमाथि घुमेर जाने । सडकका दायाँबायाँ सुन्तलाका बोटहरू थिए । त्यहाँ सुन्तला फलेका थिएनन् । भर्खरै फूल लागेका । ती सुन्तलाको बोटसँगैको खाली भागमा किसानहरू मकै रोप्न लागेका थिए । महिला र पुरुष दुवै एकसाथ संलग्न थिए । सडकको छेउको एउटा छाप्रोमा एउटा वृद्ध पुरुष टुलुटुलु हेरिरहेको थियो । उसका दिनहरू यसरी हेरेर नै बितेका थिए । आफ्नो त्यो छाप्रोमा त्यसले जीवन बिताएको थियो । ऊ अब मृत्यु पर्खेर बसेको देखिन्थ्यो । ऊ स्वयं भने के पर्खेको छ ? उसलाई नै थाहा छैन ।
एउटा स्कुलको सामुन्नेमा बस रोकियो । म त्यही नै उत्रिएँ । स्कुलको छेउमा एउटा बाटो थियो । त्यो बाटोमा म नाक थुनेर हिँडे । मानव विष्टा कुल्चने भय थियो । म होसियारीपूर्वक आफ्ना पाइला सारिरहेको थिएँ । एउटा पुल देखियो । पुलमुनि खोला थियो । खोलामा पानी बगेको थियो । पानी कञ्चन थियो खोलाका तलका ढुङ्गाहरू देखिएको । माछाहरू देखिए । पुलमा उभिएर म हेरिरहेको थिएँ । निर्मल पानीको बहाव हेरिरहेको थिएँ । यो हेरेर समय बिताउन म आएको थिइनँ । मेरो हातमा एउटा कालो ब्याग थियो । त्यसको तह लगाउनु थियो । पुलको दुवैतिर खेत नै खेत देखिए । ती खेतमा किसानहरू आलु खनिरहेका थिए । यही खेतको बीचमा उसको घर थियो । म तिनीहरूको घरमा पुग्दा दिन आधा भइसकेको थियो ।
-”तपाइँहरू त तीन जना हुनुहुँदोरहेछ ।” मैले भनेँ ।
-”हुन त हामी पाँच जना हौँ ।” छोराले भन्यो ।
-”अरू दुई जना खोइ त ?” मेरो प्रश्न थियो ।
-’ एउटाको मृत्यु भइसकेको छ । एउटा भने अरबमा छ ।” छोराले भन्यो ।
-”त्यो अरबमा काम गर्ने भाइलाई खबर पुग्यो त ?” मैले सोधँें ।
-त्यसलाई अहिले खबर गरिएको छैन । त्यो गएको धेरै भएको छैन ।
”त्यसले जाँदा लिएको रिन अझै तिर्न सकिएको छैन । यति कामको लागि त्यसलाई बोलाउन ठीक लागेन । एघारौँ दिनमा फोन गर्ने । त्यही बेलामा जानकारी दिने । त्यसो हुँदा उसले त्यहीँ बार्छ । दुई दिनमा काम सक्छ । उसले काम पनि धेरै दिन छोड्न पर्दैन ।” छोराले भन्यो ।
-”यो त एउटा परम्परा धान्ने न हो ?” अर्को छोरा थप्छ ।
-उहाँले आफ्ना छोराहरूको कुरा कहिल्यै पनि गर्नुभएन । छोराहरू छन्सम्म पनि भन्नुभएन । हामीले उहाँलाई एक्लो नै ठान्यौँँँ । हामीले उहाँलाई एक्लो नै देख्यौँ । मैले भनेँ ।
-”उहाँ कसरी बस्नुहुन्थ्यो त्यो कुरा हामीलाई कहिल्यै थाहा भएन ।” छोराले भन्यो ।
-”उहाँ त एउटा सानो कोठामा बस्नुहुन्थ्यो । त्यही कोठामा सुत्ने र खाने गर्नुहुन्थ्यो । उहाँ सधैँ आफैँ बनाएर खाने गर्नुहुन्थ्यो ।” मैले भनेँ ।
-”उहाँको त्यो रूप हामीले देख्न नै पाएनौँ ।” छोराले भन्यो ।
-”उहाँको व्यक्तिगत जीवनको बारेमा मैले चासो दिइनँ ।” मैले भनेँ ।
-”उहाँ के भाडामा बस्ने हो ?” छोराले सोध्यो ।
-”भाडामा हैन ।” मैले भनेँ ।
-”सित्तै ?” छोराको प्रश्न थियो ।
-”हो । घरको ढोकामा नै एउटा पाले घर थियो । त्यही घरमा उहाँ बस्नुहुन्थ्यो ।” मैले भनेँ ।
-”त्यो घरको मालिक तपाइँ हो ?” छोराले सोध्यो ।
-”म हैन । म त छिमेकमा बस्ने मान्छे ।” मैले भनेँ ।
-”त्यो घरको मालिक को हो त ?” छोराको प्रश्न थियो ।
-”त्यो घरको मालिक अमेरिकामा छन् । त्यो घरको भाडा उठाउने र रेखदेख गर्ने जिम्मा उहाँले नै लिनुभएको थियो ।” मैले भनेँ ।
तिनीहरूको बाबु बेपत्ता भएको दस वर्ष बितिसकेको थियो । उनी बेपत्ता भएको समय र अहिलेको समयमा धेरै अन्तर आइसकेको छ । त्यतिखेर छोराहरू एक किसिमको बेसहारा नै थिए । त्यतिखेर यो गाउँका युवाहरू प्रायजसो कोलकता जान्थे । केही वर्ष बिताउथे । र्फकंदा मलेरियासहित आउँथे । एड्ससहित आउँथे । खुट्टा काटिएर आउँथे । पैसा कमाएर ल्याउनेको भने इज्जत नै अर्कै हुन्थ्यो । त्यस्ता मान्छेको विशेष सम्मान हुन्थ्यो । त्यो रकमले ऊ केही जग्गा जोड्न सफल हुन्थ्यो । तिनीहरू आफ्नो बाबु कोलकता जाने कुरा कल्पना पनि गर्न सक्तैनन् । तिनीहरूलाई थाहा छ, वृद्ध मान्छेलाई कसैले पनि काममा लगाउँदैन ।
-”के रोगले उनी बिते ?” छोराको प्रश्न छ ।
-”त्यो त मलाई थाहा भएन ।” मैले भनेँ ।
-”उनले आफ्नो जीवन, आफ्नो व्यक्तिगत जीवन गोप्य राखेजस्तै रोग पनि गोप्य राखे जस्तो छ ।” छोराले भन्यो ।
-”उहाँ खाटमा नै मृत अवस्थामा देखिनुभयो ।” मैले भनेँ ।
-के उहाँ निद्रामा नै चीर निद्रामा पुग्नुभएको रहेछ ।” छोराले सोध्यो ।
-”ओछ्यान नजिक एउटा कचौरामा अलिकति खोले बाँकी थियो, भाँडोमा खोले थियो । अलिकति खोले खाएपछि उहाँलाई केही भएको हुनुपर्छ ।” मैले भनेँ ।
एउटी महिला ढोकामा उभिएर हाम्रो कुरा सुनिरहेकी थिई । त्यसका आँखा नेसनल जोग्राफीमा छापिएको एक अफगान महिलाको आँखासँग मिल्थ्यो । उदास र रहस्यमय । निराश र सहस्यमय । फरक के थियो भने ती महिला गृहयुद्धमा फसेर विध्वंसबाट उम्कन नसकेका परिवारको वेदना आँखाबाट व्यक्त गरिरहेकी थिइन् । यिनीसँग त्यस्तो वेदना के छ ? तिनको मैलो कपाल, दुब्लो शरीर र थोत्रो चोलो फरियाले केही कुरा त बताएका थिए ।
-”यिनी को हुन् ?” म प्रश्न गर्छु ।
-”यो हाम्री कान्छी बहिनी ।” छोरा भन्छ ।
-”तपाइर्ँको परिवारमा एउटी मात्र बहिनी ?” मेरो प्रश्न छ ।
-”हो ।” छोरा भन्छ ।
-”यिनी के गर्छिन् त ?” मेरो जिज्ञासा छ ।
-”यसको त बिहे भइसकेको छ ।” छोरा भन्छ ।
-”यिनको घर कहाँ छ त ?” मेरो जिज्ञासा छ ।
-”पाटीमा बस्छु ।” छोरी आफैँ भन्छे ।
-बिहे भएको मान्छे पाटीमा ? मलाई अनौठो लाग्छ ।
-”लोग्नेले धोका दिएपछि के गर्ने त ?” छोरी भन्छे ।
-धोका ? कस्तो ?’ मेरो जिज्ञासा अझै शान्त भएको छैन ।
-उसले अर्की श्रीमती ल्यायो । मलाई त्यही घरमा टाँसिएर बस्न मन लागेन ।
-”तिम्रा बच्चाहरू छन् ?” मेरो प्रश्न छ ।
-”दुइटा छन् ।” छोरी भन्छे ।
-”दुइटा बच्चासहित पाटीमा बस्दा अप्ठ्यारो हु्ँदैन ?” म सोध्छु ।
-”काम गरेर खाने हो ।” छोरी भन्छे ।
-”त्यो पाटी कसले बनाइदियो त ?’ मेरो प्रश्न छ ।
-”त्यो सार्वजनिक पाटी हो । खेतको बीचमा छ । मान्छेहरूले खेतमा काम गर्दा थाकेको बेलामा र पानी आएको समयमा ओत लाग्ने गरेको पाटी हो ।” तिनी भन्छिन् ।
-”यो पाटीमा असुरक्षा हुँदैन ?” म भन्छु । म अब उनीसँग धेरै कुरा गर्न चाहन्नथेँ । कुरा बढ्दै जाँदा दुःखको पोको मात्र खुल्छ । मलाई लाग्यो यो एक लाख यिनले पाए के गर्थिन् होला ? पहिलो त तिनी यो अपमानबाट बच्न आफ्नो नाउँमा अलिकति जग्गा किन्ने छिन् । त्यहाँ सानो छाप्रो हाल्ने छिन् । सगर्व भन्नेछिन्, म आफ्नै घरमा बस्छु । एउटा गाई किन्नेछिन् । दूध बेचेर बच्चाहरू पढाउनेछिन् । तिनको जीवनमा यो एक लाखले आमूल परिवर्तन ल्याउने थियो । जेठो छोराको कुरा अर्कै छ । असमयमा नै जिम्मेवारी उसले लिन परेको छ । बाबु छैनन् । आमा छैनन् । स-साना भाइबैनी छन् । तिनीहरू भोकाउँछन् । बारीको अन्नले खान पुग्दैन । छिमेकका बच्चाहरू स्कुल गएका छन् । तिनीहरूलाई स्कुल पढाउन पर्यो । तिनीहरूलाई कापी चाहियो । किताब चाहियो । स्कुलका लागि शुल्क तिर्न नै पर्यो । तिनीहरू बिरामी पर्छन् । ओखती गर्न नै पर्यो । यस्तोमा रिनबाट डराउने कुरा छैन । यस्तोमा ब्याजबाट डराउने कुरा छैन । अहिलेसम्म जीवनलाई गुडाएर यहाँसम्म आइपुगेकोमा उसलाई अनौठो लाग्छ । सपनामा हिडेँजस्तो कहाँलीलाग्दो यो एक लाख यसका लागि ठूलो हुनेछ । गहिरो घाउमा खाटा बसे जस्तो ।
त्यो उदास आँखाकी महिलाले मलाई चिया दिएकी छे । म त्यहाँ बसेको एक घण्टा भएको छ । तिनीहरू सेता किरियापुत्रीका लुगामा अलग्गै बसेका छन् । तेह्र दिनसम्म यिनीहरू यसरी नै बस्नेछन् । म त्यो घरबाट पल्लो डाँडामा हेर्छु । त्यहाँको सडकबाट प्रत्येक घण्टामा बस सेवा चालु छ । प्रति घण्टामा बस चल्छ । समय मेरालागि धेरै छैन ।
-तपाईँहरूको पिताजीले यो रकम दिनु भनेको स्कुल त्यही हो ?’ म एउटा स्कुललाई सङ्केत गर्छु ।
-”उहाँले खास कुरा के भन्नुभएको थियो ?” छोराको प्रश्न छ ।
-मेरो मृत्यु संस्कारमा लाग्ने रकम यसैबाट खर्च गर्ने । त्यसका लागि कसैको एक पैसा पनि नपरोस् । त्यसबाट बचेको रकम सबै नै स्कुललाई दिने । मैले मृतकको इच्छा तिनीहरूको सामुन्नेमा अक्षरस राखेँ ।
तिनीहरू मेरा कुरा सुनिरहेका थिए । तिनीहरूले मेरा कुरामा केही नौलो कुरा भेटेका थिएनन् ।
-”उहाँले यो प्रस्ताव राख्दा तपाईँले केही भन्नुभएन ?” छोराले प्रश्न गर्यो ।
-”प्रस्ताव गजबको थियो । उपकारी प्रस्ताव थियो । यसमा खण्डन गर्ने ठाउँ थिएन ।” मैले भनेँ ।
-उहाँको मनमा के थियो कुन्नि ?’ छोरा मेरा कुरालाई अझै पचाउँन सकिरहेका थिएनन् । उसको प्रश्नबाट मैले यो किसिमको अनुभव गरेँ ।
-”तपाइँहरूको बीचमा केही खटपट
थियो ?” म प्रश्न गर्छु ।
-”मरेको मान्छेको बारेमा टीका-टिप्पणी गर्न चाहन्नौँ ।” छोराले भन्यो ।
-”ठीक हो । मरेको मान्छेको गुण बयान गर्नु भन्छन् ।” मैले भनेँ ।
-”हामीले पनि यही कुरा सुनेका छौँ ।” छोराले भन्यो ।
-यो दस वर्षसम्म उहाँसँग तपाइर्ँहरूको सम्पर्क भएन ?” म प्रश्न गर्छु ।
-”उहाँले पनि गर्नुभएन । हामीले पनि प्रयत्न गरेनौँ ।” छोरा भन्छ ।
कुराको चुरो यहीँ कतै अल्झेको थियो । मैले कुरा तन्काउन चाहिनँ । तन्काउन आवश्यक भने थियो । मेरो यो बोझ हलुका गर्ने समय आइसकेको थियो । छोराछोरीको आवश्यकताका बारेमा उनी अनभिज्ञ थिएनन् । छोराछोरीलाई उनले पूरै बेवास्ता गरेका थिए । पुख्र्यौली घरको नजिकको स्कुललाई महत्त्व दिएका थिए । मैले सोचेको थिएँ, काजकिरियाका लागि रकम छुट्याएर उनीहरूलाई दिन्छु । बाँकी रकम उनकै इच्छाबमोजिम स्कुललाई दिन्छु ।
-”यो रकम यही हो लिनोस् । स्कुलमा अब म जान्नँ । यो काम अब तपाइर्ँको जिम्मामा छ ।” मैले भनेँ । यहीँ आएपछि नै मेरो विचारमा आएको परिवर्तनलाई कार्यान्वयन गरें ।
तिनीहरूले प्रतिक्रिया जनाएनन् । सम्बन्धको यो पाटो अध्ययन गर्न लायक थियो । यो त सुरुआत मात्र थियो ।
(श्रोत:- मधुपर्क २०६६ चैत)