धेरै कथा लेख्छन यिनको
धेरै ब्यथा पोख्छन तिनको
यिनकै नाम बेचेर
कयौं राजनेता बने
सयौं समाजसेबी बने
कोहि कबि , पत्रकार र लेखक
के के बने बने
लेखि साध्य छैन
यिनकै नाममा हजारौं सस्था खुले
सयौं एन. जी. ओ. र आई. एन. जी. ओ. बने
तर ऊ बिचरा गरीब
जहाको त्यहि छ
उहि झुत्रे लुगा , त्यहि चाउरी परेको अनुहार
नाङ्गो खुट्टा र जिङगीङग कपाल बोकेर
एउटै लुगा दश ठाउमा टालेर
खुल्ला आकाश मुनि रात बिताउदै
सडक सडक भौतारीरहेछ
गाउ बस्ती र सहर बजार चाहारीरहेछ
खान नपाएर भोको पेटमा
आशुका प्याला पिउदै बाचिरहेछ |
उसकै नाम बेचेर सयौले
ठुला ठुला महल बनाए
उसकै सहारामा कयौले
ठुला ठुला पुरस्कार पाए
अनि उसैको बैसाखिमा टेकेर
केहि प्रख्यात नेता भए
तर बिचरा गरीब
ऊ उस्तै छ , सहारा बिहिन छ
सेमिनार र गोष्टीमा , उसको ठुलो चर्चा छ
तर निरिह गरीब ,गरीब नै छ
दिन रात भोक टार्ने चटारो छ
छोरा छोरी घरमा रुदै होलान
जाउलो सम्म भए पनि
घरमा पुर्याउने हतारो छ |
बिचारा काम गर्छ
ज्याला पाउने बेलामा , झगडै झगडा गर्नु पर्दछ
भोकै नांगै काममा , गोरु झैँ जोतिनु पर्दछ
तर ज्याला पाउने बेला साहुले
आज हैन भोलि भन्दछ
दिनभरिको कामको थकाइ र भोको पेटसंग
पौठेजोरी खेल्दै बिचरा भोकै सुत्नु पर्दछ |
सरकार बाहिर बसेर गरीबको गुण गान गाउनेहरु
सत्ता पाए पछि सबै भुल्द्छन
गरीबको नाम लिदै , आफ्नै घरमा खाता खोल्द्छन
मुखमा राम राम , बगलीमा छुरा बोकेर
उनै गरीबको जिन्दगीमा लुछाचुँडी गर्दछन
सहयोगको सबै श्रोत आफ्नै नाममा पोको पार्दछन
आखिर गरीब गरीब नै भएको छ
केवल बिद्रोह बोल्छ ओठमा
निरिह प्राणी झैँ सुस्केरा संगै
आशुका प्याला पिउदै बाच्न बाध्य छ
एउटा भयंकर ज्वालामुखीको पर्खाइमा
दिन रात सुस्केरा संगै बिताईरहेछ
बिचरा गरीब
रुदै रुदै जिन्दगीको त्यो दिन पर्खिरहेछ
जहाँ गरीबले गरीबलाई , साँचो प्रतिनिधित्व गरोस
गास बास र कपासको सुरक्षा गर्दै
उसको जीबन यापनको मार्ग बनोस |
डम्बर पौडेल
चानुवा -८ ,धनकुटा
हाल :- कतार
(स्रोत : Santosh Kafle’s Blog)