~हरीहर दाहाल~
बैठक ठीक १० बजे शुरु भयो।प्राबासी समाजका प्रतिष्ठित भद्र पुरुष तथा महिलाहरुको सहभागीता रहेको त्यस सम्मानित उपस्थितीले प्रबासमा रहेका नेपालीहरुलाई सँगठित गर्न एउटा छाता संगठन नभै नहुने कुरामा जोड दिए।
यस अपरिहार्य आवश्यकतालाई थाँती नराख्न अनुरोध गरियो।तुरुन्त संस्थाको नाम जुराइयो। तयारी समिती बनाउने निर्णय भयो।मुख्य तयारी समिती,सदस्यता बिस्तार समिति,भाषा, धर्म,जाति,परम्परा,संस्कृति,सभ्यता,भेसभुषा र साहित्य संबर्धन समिति,कोश परिचालन समिति,आकस्मिक सहयोग समिति,खेलकुद समिति,सल्लाहाकार समिति,जनचेतना अभियान समिति,जनसंपर्क समिति,निर्माण समिति,साजसज्जा समिती र आबस्यक भए अझै उपसमितिहरु बिस्तार गर्न सक्ने गरी बिभिन्न कार्य समितिहरु बने। प्रस्तावित नाम र निर्णयहरुलाई सतप्रतिशत उपस्थितिले अनुमोदन गर्यो।
सहमती र समर्थनका नाममा बजेको तालिले सभाकक्ष गुन्जयमान भयो।
कार्यक्रम संचालकले बैठकमा उपस्थित भएका संपुर्ण देसप्रेमी समाजसेवीहरुलाई आफ्नो देश र समाज प्रति प्रतिबद्ध भएर आफ्नो जाती र देशका नाममा एकजुट हुन सकेकोमा धन्यवाद दिदै कार्यक्रमको अन्त्यमा आयोजित रात्री भोजमा सरीक हुन आग्रह पस्कदै बैठक अन्त्य भएको घोषणा गरे ।
भोजमा सबैले दिल खोलेर मिस्टान परिकारहरु जिब्रो पट्काउदै खाए र बिकासे मदिरा पिए।आयोजकलाई सबैले हृदय देखिनै आभार ब्यक्त गर्दै प्रसंसा गरे।
भोली पल्ट बिहानै स्थानिय बित्धुतिय संचार माध्यमबाट बैठकमा उपस्थित भए मध्धेका ५० प्रतिशत समाजसेवीहरुले अघिल्लो दिन भएका कुनै पनि निर्णयमा आफ्नो सहमती नरहेको भन्दै बक्तब्य निकाले जहाँ भनिएको थियो-
“हामीहरु कुनै पनि समितिमा नपरेकोमा गुनासो नरहेको,देश र समाज प्रती सधैं बफादार र जिम्मेबार रहेको र आफ्नो जाती प्रती बिनासर्त सहयोग गर्न सधैं तयार रहेको तर हिजो भएको बैठकको निर्णयमा चाँही हाम्रो पक्षको सहमती नरहेको हुँदा अर्को उपयुक्त संस्था गठन प्रकृयामा सामेल हुन आग्रह गर्दछौं।”
(श्रोत:- अन्तर्जाल अर्थात internet)