~आचार्य प्रभा~
सरोज र प्रकाश डाइनिङ्ग टेबुलमा राखिएका परिकारहरु बडो स्वादले भोजन गरिरहेका हुन्छन् । प्रकाशले एकथरिको मासुको परिकार सरोजको अगाडि सार्दै भन्छन् “यो परेवाको मासु चाख त मेरी श्रीमतिले बडो मीठो गरि पकाएकि छिन् । ”
सरोज अनायास झस्किन्छ । अनि प्रश्न गर्छ “पकाश, कहाँबाट ल्यायौ त परेवा?” प्रकाश ठट्टाको साथ जवाफ दिन्छ “ख्वै? कुन धर्मात्माले के को भाकल गरेर परेवालाई पूजाआजा गरि रातो अविरको टिका लगाएर उडाएको रहेछ । कहाँबाट कसरी मेरो कौशीमा बस्न आएछ । यसो छेउमा गएको त भागेन, अनि मैले समातेर किन यसको स्वाद नलिउँ त भनेर मारिवरी श्रीमतिलाई पकाउन लगाएँ । यसै खुशीमा तिमिलाईपनि बोलाई हालेको नि । खाउ न मीठो छ । मलाई त परेवाको मासु असाध्य मीठो लाग्छ ।” यतिका गफ चुट्दै प्रकाश मासुको टुक्रा चपाउनमा व्यस्त हुन्छ । सरोज भने प्रकाशको शब्दहरुले किँकर्तव्यविमूढ बन्छ । उसलाई त्यो मासुको भाँडो नै आफुबाट टाढा हुँईक्याई दिउँ जस्तो लाग्छ । उसलाई एक पलपनि त्यहाँ बसेर अरु गाँस मुखमा लगाउन पटक्क ईक्षा हुँदैन । उ विचलित बन्छ । सरोज अनायास गम्भिर भएको देखेर प्रकाशले पुनः प्रश्न गर्छ “सरोज, के भयो ? तिमि अचानक गम्भिर भयौ । तिमिलाई परेवाको मासु मन पर्दैन ?”
प्रकाशको यस प्रश्नले सरोज अनुत्तरित बन्छ । उसलाई दिक्क लाग्छ किनकि यहि परेवालाई उसले बिहानमात्र देशको शान्तीकोलागी कामना गरेर पूजा आजा गरि उडाएको थियो । उ पश्चातापमा पर्छ अनि मान्छेको जातलाई धिक्कार्छ । जसलाई शान्तीको प्रतिक मानेर पूजा गरिन्छ उसैको मासु जिब्रोमा फडकार्दै स्वादिष्ट मानेर खाईन्छ । यो कस्तो बिडम्बना, उ अन्यौलमा पर्छ । उठेर भागुँ या साथीको निम्ता स्विकारुँ ? यत्तिकैमा उसको मोबाईलको घण्टि बज्छ । फोन रिसिभ गर्दा एक अप्रत्यासित घटनाको खबर आउँछ । दुई पार्टीबीचको झगडामा पाँचजनाको मृत्यू र ति मध्ये एक सरोजको आफ्नै भाई परेको खबरले सरोज अवाक् बन्छ र प्रकाशलाई खबरको वृत्तान्त नभनि हत्तारिँदै बाहिर निस्कन्छ ।
(श्रोत:- अन्तर्जाल अर्थात internet)