कथा : जीवन एक यात्रा

~कुमुद अधिकारी ~kumud Adhikari_1

उफ् ….! यो हल्ला….! यो चिच्याहट ! यी मान्छेहरूले कसरी सहन सकेका होलान् यो सब ? मलाई त साह्रै झर्को लाग्छ । बसमा बस्यो कि कानै फाट्ने गरी “बदाम…. ए.. बदाम… ए चटपटे…नारियल…मेवा….आजको ताजा खबर….” मानौँ व्यापार भनेको यही मात्र हो र ग्राहक बसभित्र मात्र छन्। तर म निरुपाय छु। अरू मानिसहरूलाई हेर्छु, कति मज्जासँग बसेका छन्। सायद यी सबैलाई मजा लाग्दो हो यो कोलाहल। कोही त मस्तसँग निदाइरहेका पनि छन्। जे भए पनि सहनै पर्‍यो….सायद जिन्दगीमा सहनुको अर्को विकल्प छैन, कमसे कम मेरा लागि।

सुन्दर मिथिलानगरी जनकपुर। यही जनकपुरको बसपार्कमा एउटा विराटनगर जाने बसमा बसेकी छु म। बितेका वर्षहरू, महिनाहरू र दिनहरूले ममा अचम्मलाग्दो निस्सारता भरिदिएका छन्। जीवनलाई सुन्दर बाटो र त्यसको यात्रा ठान्ने मेरा विश्वासहरू केही डगमगाउन लागेझैँ हुन्छन्। विश्वास डगमगाए पनि मैले तिनलाई ढल्नचाहिँ दिएको छैन। त्यस्तै विश्वासहरू थामेर जीवनयात्रालाई निरन्तरता दिनु नै छ। निस्सारतालाई पुस्तकमा साट्ने गरेकी छु मैले अचेल। केही पछुतो पनि लाग्छ, कहिलेकाहीँ, किन बेलैमा पुस्तकहरूसँग मित्रता गाँसिनँ मैले। अहिले सम्झन्छु मैले ती दिनहरूमा पुस्तकहरूसँग मित्रता गाँसेको भए मेरो जिन्दगीको बाटो अर्कै हुन्थ्यो होला। सायद म जीवन्त जीवन जिउँथे होला। तर समयको धारलाई न कसैले बदल्न सक्यो न सक्छ। जुन कुरो हुन सकेन त्यसमा समय खेर फाल्नुभन्दा जे हुनसक्छ त्यसमा चिन्तन गर्नु नै ठीक होला ? यी कुरा पनि मैले पुस्तकहरूबाट नै थाहा पाएकी हुँ।

म जनकपुरको बसपार्कमा बसभित्र कहिले यसले यात्रा थाल्छ होला भनेर पर्खिरहेकी छु। दिएको समय त बाहिरिइसक्यो तर बस गुड्ने सम्भावना अझै देख्तिनँ। नेपाल न हो, हामीले समयलाई कहिले चिन्यौँ र ? जे भए पनि बसले विराटनगर त पुर्‍याउला नै।… अब के गर्ने त ? म मेरो छोरासँग बसको दाहिनेपट्टिको 6 नम्बरको सिटमा झ्यालनेर बसेकी छु। झ्यालबाहिर पनि हेर्दै छु र बेलाबेलामा छेउमा बसेको छोरालाई पनि हेर्दै छु। मेरो छोरो मसँग टाँसिएर बसेको छ। अब म बसभित्र र बाहिर आफ्नो जिन्दगी खोज्न थाल्छु।

उः बाहिर श्री भवनाथ झा हिँडिरहेका छन्। म झ्यालबाट स्पष्ट देखिरहेकी छु।श्री भवनाथा झा मेरा श्रीमान् हुन्। तर म उनकी श्रीमती हुँ कि हैनँ ? शङ्कै छ धेरैलाई ? म आफैँलाई ? खै कुन्नि ? उनीसँग उनको छोरो छ, म छु। कस्तो अचम्म मैले मेरा श्रीमान् र छोरासँग आफूलाई हिँडिरहेको देखिरहेकी छु। मेरो छोराले अचानक आग्रह गर्छ- “बाबा ! मलाई चाउचाउ किनिदिनुहोस् न !” म र मेरो छोरो दुवै आस गर्छौँ चाउचाउ किनिदिनुहुन्छ कि भनेर। तर छोराले त्यसो भनेपछि श्री भवनाथ झा हामीबाट अलि परपर हिँड्न थाल्नुभयो। मलाई लाग्यो चाउचाउ दोकान नभेटेर होला। तर त्यो दूरी बसपार्क आउन्जेल कम भएन। चाउचाउ त कता हो कता। छोरो रटेको रट्यै छ “चाउचाउ…..चाउचाउ….!” हेर्छु छैवैमा पसल छ। किनिदिन्छु एक प्याकेट चाउचाउ। सन्तुष्ट हुन्छ ऊ। तर मेरो सन्तुष्टि त कता गयो कता। मलाई श्री भवनाथ झाको हामीसितको दूरी राम्रो लागेन, मैले बुझ्न पनि सकिनँ। बस छेउमा पुगेपछि बर्साउँछु क्रोधका लहरहरू- “तपाईँ किन हामीबाट परपर हिँड्नुभएको ? छोराले त्यत्रो चाउचाउ किनिमाग्दा पनि किन वास्ता नगरेको ?”

उहाँको उडेको अनुहारले बतायो- “बाबुले ‘बाबा’ भनेर बोलायो क्या ! यहाँ कसैलाई थाहा छैन, मैले तिमीसँग बिहे गरेको कुरा।”

“थुक्क ! आफ्नो सन्तानलाई परिचय दिन नसक्‍ने तपाईँ कति लाछी ? के गर्नु र मैले तपाईँलाई के भन्ने? जति भने पनि जीवन उल्टा बग्दै बग्दैन।” लाग्‍नथाल्यो विवशताका पनि आआफ्नै संस्करण हुँदा रहेछन्। गोदानको होरीको विवशता र मेरो विवशता एकै नभए पनि असरहरू झन्डै एकै थिए। बिचरा होरी ! सामन्ती समाजिक रीतिरिवाजले पिल्सिएको ऊ र त्यस्तै पुरुषप्रधान सामाजिक रीतिरिवाजले पिल्सिएकी म पनि।

घ्यार्र….घ्यार्र…. ए बस स्टार्ट हुन लागेछ। अब त विराटनगर पुर्‍याउला कि ? बसको इन्जिनको घ्यार्रसँगै मेरो पनि जिन्दगीको एउटा नयाँ पाटो सुरु हुन गइरहेको छ। हेरौँ कहाँ पुगिन्छ।

बसभित्र चाहिँ उकुसमुकुस छ। म छोरासँग बसेकी छु। वरिपरि मानिसहरू छन्। दुई सिटअगाडि एउटी महिला बसेकी छन्। अगाडि फर्केर खै के हेर्दै छिन्। हेर्छु, म नै जस्तो लाग्छ। अचानक उनी पछाडि फर्किन्, अरे यो के ? उनी त म नै हुन्। म, दुई वर्ष अगाडिकी म। लुगा केही मैलो, कपाल राम्रो नकोरेकी। अनुहारबाट निराशाको झलक आउने। फेरि मैले आफूलाई नै भेटेँ बसमा। दुई वर्षअगाडि म निराश थिएँ, जिन्दगीबाट केही आस थिएन। बाच्नुको अर्थ थिएन। जीवनलाई घचेट्नुपर्ने थियो।

म दुई वर्षपहिले इलाम जिल्ला, लक्ष्मीपुर गाउँको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा प्राथमिक तहकी शिक्षिका थिएँ। त्यसो त अहिले पनि छु र त्यो पद अझै कति रहने हो थाहा छैन। तर फरक छ, त्यसबेला मैले जिन्दगी जिउनुको कारण भेटेकी थिइनँ, अहिले भेटेकी छु। अब मेरो जिन्दगीको लक्ष्य छ। मैले आफ्नै बाटो तय गरेकी छु। म छोरोसँग एउटा डेरा लिएर बसेकी छु। म, निर्मला निरौला उर्फ निर्मला झाका पति र छोरो विश्वेश्वर झाका पिता श्री भवनाथ झा जनकपुरमा बस्छन्। पहिले उनी पनि यतै थिए।

लक्ष्यहीन जिन्दगी घचेट्दाघचेट्दै एक दिन मैले विद्यालयको कहिल्यै नखोलिएको लाइब्रेरी खोल्न पुगेँ। केही भेट्‌छु भनेर त हैन तर त्यसै कुतूहल जाग्यो, हेरौँ न त के छ भनेर खोलेकी थिएँ। प्रधानाध्यापकले पहिले त साँचो दिनै मान्नुभएको थिएन। म केही गडबडी गर्दिनँ भनेर विश्वास दिलाएपछि साँचो दिनुभएको थियो। खोलेर हेरेँ। चारवटा दराजहरूमा पुस्तकैपुस्तक थिए। दराज वर्षौँदेखि खोलिएका थिएनन्। मैले यस विद्यालयमा काम गरेको पनि 12 वर्ष भइसक्यो मैले कहिल्यै यो कोठा खोलेको देखेकी थिइनँ। कोठाभरि धूलो र माकुराको जालैजालो थियो। एउटा लठ्ठी टिपेर माकुराको जालो पन्छाउँदै, भित्र पसेँ र ढोकाको छेउको दराज खोलेँ। कब्‍जामा खिया लागेकाले निकै बल लगाउनुपर्‍यो। खातका खात किताबमाथि मेरो नजर पर्‍यो। यौटा पुस्तकको धूलो यसो टकटक्याएर हेरेँ, देखेँ विश्वेश्वर लेखेको छ। अरे मेरै छोराको नाम, किताब निकालेर शीर्षक हेरेँ, विश्वेश्वरप्रसाद कोइरालाको सुम्‍निमा रहेछ। किताब लिएर त्यस कोठाको ताला लगाएर निस्केँ र पढाउन कक्षा कोठातिर लागेँ। मनमा केही नौलो अनुभूति भइरह्यो।

बेलुका घर आएर हतारहतार खाना पकाएर छोरालाई खुवाएँ, आफूले पनि खाएँ। के छ त सुम्‍निमामा, कुतूहल त छँदै थियो। तर मलाई यो के भइरहेछ ? अगिसम्म मेरा गोडाहरू घिस्रिन्थे भने अहिले हिँडिरहेका छन्। होला केही। छोरो सुताईवरी मैले सुम्‍निमाको यात्रा आरम्भ गरेँ। सुम्‍निमा….सोमदत्त….सुम्‍निमा…सोमदत्त…। समय बगेको थाहै भएन। तीन घण्टा बितिसकेछ, मेरो सुम्‍निमा र सोमदत्तसँगको यात्रा पनि टुङ्गिएछ। कस्तो अचम्म तीन घण्टाअघिकी म र अहिलेकी ममा निकै अन्तर फेला पारेँ। त्यसबेला कता जाऊँ भन्ने दुविधैदुविधाले घेरिएकी मलाई अहिले मेरो अगाडिको बाटो स्पष्ट भइसकेको थियो। सुम्‍निमा र सोमदत्तसँगको यात्रा सुरुवात थियो…………….।

म फेरि दुई वर्षअगाडिकी मबाट वर्तमानकी ममा आइपुगेँ। बसभित्र मेरो मैसित साक्षात्कार। बस जनकपुरबाट उत्तरतर्फ लागिसकेको रहेछ। हेर्छु वरिपरि सबै आफन्तैआफन्त भएझैँ लाग्छ, यो के भएको मलाई ? मेरा आफन्तहरूसित मात्रैको यात्रा हैन यो। कमसे कम अघिसम्म त त्यस्तो थिएन। हेर्दाहेर्दै ढल्केबर आइपुगेछ।ढल्किएको बर। बरमात्रै किन र मानिसको जिन्दगी पनि ढल्किन्छ यसरी नै। तर जीवनलाई कसरी र कता ढल्काउने हो भन्ने कुरो नितान्त ढल्काउने मानिसमा भर पर्छ। केटाकेटीमा ढल्काउने बाबुआमा र समाज हुन्छन् भने, मानिसको चेत फिरेपछि ऊआफैँ।

बस रोकियो केही बेरका लागि। छोराले फेरि चटपटे भन्न लाग्यो। के गर्ने, केटाकेटी हो, कति सम्झाउँछु बाटामा बेच्न राखेको खानेकुरा खानुहुँदैन भनेर तर पटक्कै मान्दैन। विशेष यात्रा गर्दा बस रोकियैपिच्छे उसलाई केही न केही खान चाहिन्छ नै। किनिदिन्छु अलिकति र आफू खाने लोभ पनि सम्हालेर राख्‍न सक्तिनँ र आफूलाई पनि किन्छु अलिकति। हरेक मानिसमा अलिकति बालापन भएकै राम्रो लाग्छ मलाई।

बसले फेरि गुड्न सुरसार कसेको छ। देख्छु अगाडिको ढोकाबाट उमेर ढल्किएका एक जोडी पस्छन्। अचम्म ! मेरा आमाबाबु। मेरा आमाबाबु मेरै सिटको दाहिनेपट्टिको सिटमा बस्छन्। मेरी आमा ! गजबकै बानी थियो उहाँको। म उहाँहरूकी एक्ली छोरी। मेरा दाजु छन् जो म सानै छँदा अरबतिर गएकाथिए रे र धेरै पछिमात्र फर्केर आएका। वास्तवमा भन्ने हो भने मेरो बालापन दाजुबिनै बित्यो। एक्लै बित्यो। मैले जान्दादेखि मेरी आमा साह्रै ढिलो काम गर्नुहुन्थ्यो। एक बिहानको भात तरकारी बनाउन उहाँलाई चारपाँच घण्टा लाग्‍ने। अर्थात् मेरी आमाको सम्पूर्ण समय घरधन्दैमा बित्यो र मैले चाहँदा पनि उहाँको केही समय म चोर्न सक्तिनँथेँ। आमामात्रै त्यस्तो भए त चित्त बुझाउने ठाउँहुन्थ्यो होला तर बुबा ! उहाँ पनि त्यस्तै तर बुबाको व्यस्तता पूजाआजा र जपमा नै सीमित थियो। बुबाको पूजाआजा बिहान एघार बजेसम्म चल्ने र फेरि दिउँसो अनि बेलुका पनि त्यही पाराको ध्यान र जप। मैले बाबुआमाको सान्निध्य कहिल्यै पाइनँ। मेरा जो थिए सङ्गीसाथी नै थिए, त्यसैले मेरो उपस्थिति आफ्ना घरमा खान र सुत्‍नका लागि मात्र हुन्थ्यो।

अहिले म बसमा मेरा बाबुआमा देखेर उनीहरूलाई धिक्कारिरहेछु। एक छाक भात-तिउन राम्ररी पकाउन नसक्‍ने मेरी आमा र अहिलेको जन्मलाई भएभरको दुःख दिएर अर्को जन्म सफल बनाउन पूजाआजा गरिरहने मेरा बा। जिम्मेवारीको बोध यदि उहाँहरूमा अलिकति भइदिएको भए मेरो यो हालत हुन्नथ्यो कि ? मैले उहाँहरूलाई दोष यस कारण दिएँ कि मैले जुन बेला बाटो बिराएँ त्यसबेला मेरो सोचाइ त परिपक्व भएकै थिएन, मैले सही र गलतको निर्णय गर्न सकेकी थिइनँ। तर उहाँहरूले त युग देख्‍नुभएको थियो,आफ्नो समय बाँच्नुभएको थियो र समाज देख्‍नुभएको थियो।

मैले त्यस दिन लाइब्रेरी नखोलेको भए, ममा यस्तो सोच विकसित हुने थिएन। न मेरो कथा म अरूलाई भन्न सक्‍ने थिएँ। मलाई लाग्छ, मेरो जन्मदिनभन्दा प्यारो दिन मैले लाइब्रेरी खोलेको दिन। मेरो पुनर्जन्मको दिन। सुम्‍निमापछि मेरो यात्रा नरेन्द्रदाइसँग भयो, हिटलर र यहुदीसँग भयो, पारिजातको शिरीषको फूल, डायमन समशेरको सेतो बाघ, वसन्ती अनि अरू सयौँ पुस्तकहरूसँग मेरा यात्राहरू हुँदै गए। मैले जिउनुको अर्थ भेट्दै गएँ। सुखको अनुभूति गर्दै गएँ।

यसपालि पनि जनकपुर यात्रामा मैले पुस्तक किन्न बिर्सिनँ। यसपालि अब गएर शरत्‌चन्द्र चट्टोपाध्यायसँग यात्रामा निस्कन्छु। अनि आँटेकी छु, आफ्ना अनुभवहरूलाई कागतमा उतार्नलाई। हेरौँ कहाँसम्म म मेरो कथा लेख्‍नसक्छु। म मेरा आमाबाबुतिर फुस्रो दृष्टि दिन्छु। हेर्छु उनीहरूको अनुहारमा पश्चातापको पीडा र मलिनता छाएको छ। तर के गर्नु पश्चाताप र मलिनताले खोलो कहिल्यै उँभो बगाउन सक्तैन। किन यस्तो भएको हो मेरा आमाबाबु म जता गयो त्यतै आउँछन्। के उनीहरू अझै पनि मेरै जीवनका पाटाहरू हुन् ? के म उनीहरूबाट अलग्ग रहन सक्तिनँ ……?

म झ्यालबाट बाहिर हेर्नथाल्छु। बाटाका छेउका रूखहरू पछाडि कुदिरहेका छन्। देख्छु अलिक परपरका घरहरू पनि पछाडि कुदिरहेका छन्। पछाडि कुद्‍ने यो क्रम यही बसमै मात्र त हो नि। बसबाहिर निस्केपछि फेरि सबैथोक अगाडिमात्र कुद्छन्। पछाडि कुद्‍ने त कल्पनामै सीमित रहने भयो।

बसको कुदाइ जारी छ। एकतमासको कुदाइ। कुदाइकै क्रममा बस कतै यात्रु चढाउन र ओराल्न रोकिएको छ। हेर्छु, बाहिर ठाउँ त उराठलाग्दो छ। फुस्रो जिन्दगी र त्यस ठाउँको रसहीनता उस्तै छन्। तर त्यहाँबाट एक हूल स्कुले केटीहरू बसमा चढे। खै कहाँ जाने हुन् ? सेतो सर्ट र नीलो जामा लगाएका नौ-दस कक्षामा पढ्ने केटीहरू। ती केटीहरूमध्ये म कतै छु कि भनी खोज्न थालेँ, अरे ! मेरो अहोभाग्य, मैले भेटेँ मलाई। मेरै पछाडि। मेरै पछाडि म उभिएकी छु। मेरा भावनाहरू उर्लंदा छन्। जीउ कसिएको छ। अङ्गहरूमा मादकता भरिएको छ। मलाई लाग्‍न थालेको छ मलाई केटाहरूले हेरिरहून्। मेरा अङ्गहरू हेरिरहून्। म उनीहरूका लागि नभई नहुने चीज बनूँ।
म लक्ष्मीपुरको श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा कक्षा नौमा पढ्छु। मेरो पढाइ राम्रो नभएकाले जसोतसो कक्षा चढ्दै यस कक्षासम्म आइपुगेकी छु। खै सानैदेखि पढ्नुपर्छ भन्ने, पढाइले मानिसको जिन्दगीलाई सुबाटामा लान्छ भन्ने कुराको हेक्का रहेन र कसैले सम्झाएन पनि। हाम्रो स्कुलमा जनकपुरबाट श्री भवनाथ झा आउनुभएको छ, विज्ञान-शिक्षकको नियुक्ति लिएर। उहाँलाई बस्‍ने ठाउँको समस्या आइपरेको छ। गाउँमा छलफल भएपछि हाम्रा घरमा राख्‍ने निधो हुन्छ उहाँलाई। सायद मेरा बाबुआमाले मेरो पढाइका निमित्त त्यसो गर्न लागेका होलान्। ठीकै छ त्यसो भए पनि। तर मलाई पढ्न मन पटक्कै लाग्दैन। जीउ एकतमासको भइरहन्छ। खै कुन्नि उमेरले हो वा केले हो।

ल ! म त भूतकालमा पो यात्रा गर्न थालेँछु। भूतकालका घटनाहरूले हामीलाई किन यति साह्रो पछ्याइरहेका होलान् ? सोचिरहन्छु म। तर समाधान कहीँबाट पाउँदिनँ। त्यसै बेलादेखि नै हो मेरो अवसान सुरु भएको, जुन कुरो म अहिले थाहा पाइरहेकी छु।
मेरा घरमा बुबा, आमा र म थियौँ। दाजु कतै हराउनुभएको थियो। अरब जानुभएको छ भन्थे तर मलाई सम्झना छैन। हाम्रो तीनतले घर थियो, तल्लो तलामा दुई कोठा थिए। एउटामा भान्सा थियो र अर्को पूजाकोठा। आमा सधैँ भान्सामा र बुबा सधैँ पूजामा व्यस्त हुनुहुन्थ्यो। दोस्रो तलामा दुई कोठा थिए। एउटामा बुबाआमा सुत्‍नुहुन्थ्यो भने अर्कामा म सुत्थेँ। मुख्य घरको सिकुवामा कोठा निकालेर श्री भवनाथ झालाई दिइएको थियो। उहाँ हाम्रैमा खाना खानुहुन्थ्यो र मलाई साँझ-बिहान पढाउने गर्नुहुन्थ्यो। तेस्रो तला सबैकै जस्तो भण्डार वा बुइँगल थियो।

मेरो कोठामा म र सर बसेर पढ्थ्यौँ। वा भनौँ सरले मलाई पढाउनुहुन्थ्यो। केही दिन त मलाई नौलो लाग्यो। र अररिएको जिउ लिएर पढिरहेँ। मलाई पढ्नमा पटक्कै रुचि भएन। पहिले पनि थिएन। पढाइको महत्त्व बुझेको पनि होइन र मलाई कसैले बुझाएन पनि। बिस्तारै म सरका छेउमा गएर बस्‍नथालेँ। उहाँको जिउलाई नजानेजस्तो गरेर छुन्थेँ। उहाँले केही प्रतिवाद गर्नुभएन र मेरो आँट बढ्न थाल्यो। बिस्तारै उहाँको हात समाउन थालेँ, आफ्नो छाती उहाँमा टँसाएर बस्‍न थालेँ। हप्तौंसम्म यो क्रम जारिरह्यो। मेरो इच्छा केही होस् भन्ने थियो। यस्तै हुँदाहुँदै एक दिन अचानक म लड्ने बहानामा उहाँको काखमा पछारिएँ, उहाँले मलाई च्याप्‍नुभयो र त्यही काम भयो जुन मैले निकै अगाडिदेखि चाहिरहेकी थिएँ र सायद उहाँले पनि त्यही चाहनुभएको थियो। यहीँबाट मेरो ओरालो यात्रा सुरु भएको थियो। त्यसबेला त त्यो यात्रा ओरालो लाने हो भन्ने बुझ्ने कुरै भएन। अब सुरुवातपछि त हाम्रो नियमित काम त्यही भयो। अहा क्या मजा ! जिन्दगीभरि यस्तै गरिराख्‍न पाए त हुन्थ्यो नि जस्तो लाग्थ्यो त्यस बेला।

हामी सधैँ त्यसै गरी पढ्थ्यौँ, आमा खाना पकाइरहनुहुन्थ्यो र बुबा पूजा गरिरहनुहुन्थ्यो। अहिले मलाई रिस उठ्छ आमाबाबुदेखि, किन उनीहरूले वर्षौँ झा सरले मलाई पढाउँदा चियो गरेनन् ? किन छोरीको पढाइमा केही पनि सुधार भएको छैन भनेर सोधीखोजी गरेनन् ?
त्यसदिन देखिको मायाको खेल झाङ्गिदै गयो। खै मायाको खेल पनि के भन्ने, मायाकै खेल भएको भए त सुखदायक र दीर्घजीवी हुनुपर्ने। जे होस् त्यसबेला, त्यो सुखदेखि बाहेक अन्य केही पनि सुख हुन्छन् र जस्तो लाग्थ्यो। हाम्रा दिनहरू कति राम्ररी बित्थे, त्यसको बयान म सायद अहिले गर्न सक्तिनँ। उहाँको फुर्सत हुनासाथ हाम्रो रोमान्सयात्रा सुरु भइहाल्थ्यो। हामीले कन्यामका चियाका बुटाहरूसँग बात मार्दै अन्तुडाँडाको परिदृश्य हेर्‍यौँ, मिरिकलाई चिन्यौँ, खरसाङको चियो गर्‍यौँ। हामी एक अर्काको अँगालामा बाँधिएर चियाका बुटाहरूसँग रमाउँदै हिँड्यौ। घण्टौँसम्म उहाँका अँगालामा बाँधिएर रमिता हेर्न मलाई साह्रै मजा लाग्थ्यो। उहाँका काखमा सुतेर आकाशमा डुलिरहेका बादलहरूसँग यात्रा गर्दा लाग्थ्यो म स्वर्गमा छु। यो भन्दा बढी आनन्द के हुनसक्थ्यो होला र ?

राजदुवालीको कन्काईमाईको पुल पनि हामीबाट अछुतो रहेन। इलामको बम्बईसनले जिब्रो मीठो पार्दा मायाभन्दा मीठो अरूथोक केही छ भने त्यो बम्बईसन नै हो कि जस्तो पनि लाग्थ्यो। मूर्ति डाँडा, जौबारी भन्ज्याङहरू हाम्रा क्रियाकलापका साक्षी थिए र छन्। प्रेम र युद्धमा जे पनि जायज छ भनेझैँ हाम्रा क्रियाकलापहरूले सामाजिक सीमा पनि नाघेछन्। त्यसको हेक्का अहिले हुँदै छ।

अचानक बसलाई केही झट्‌का लाग्यो र मेरो दृष्टि फेरि पर्‍यो चुरे पहाडहरूमा। थाहा छैन मलाई यी चुरे पहाडहरू कहिलेदेखि यहाँ उभिएका छन्। यिनीहरूको जस्तो दृढताले एउटै सिद्धान्तमा अडिन सकेको भए जीवन निकै सुखी हुन्थ्यो होला। तर भन्छन् जीवन गतिको अर्को नाम हो। जीवन चल्नैपर्छ। चल्ने जीवनले बाटामा के भेट्‌छ के त्यो त कसले भन्नसक्ला र । मेरै जीवन पनि त त्यसरी नै बदलिँदै गयो। श्री भवनाथ झासँगको सम्बन्धको यात्राले थुप्रै वर्षहरू छिचोलिइसकेछन्। आनन्दमय दिनहरू कति छिटो बित्दा रहेछन्, थाहै हुन्न। असहज परिस्थितिका ज्वारभाटाहरूले हिर्काउन थालेपछि मात्रै चेत फिर्ने रहेछ।

उफ ! मैले ‘म’लाई हेरिरहन सकिनँ। दृष्ठि फेरेँ। लाग्यो म त्यही कुरामा अल्झिइरहन सक्तिनँ। बस कतै रोकियो र ती सबै केटीहरू उत्रिए। तिनीहरूसँगै मेरो बितेको केही समय पनि ओर्लियो।

त्यहाँ खाजा खाने घोषणा गरे बसका कर्मचारीहरूले। बससँगै मैले पनि केही क्षण बिसाउने निधो गरेँ र ओर्लिएँ छोरासँग । एउटा पसलमा गएर समोसाचिया खायौँ आमाछोराले। जीवनका यावत् पक्षहरू देखिन थाले। तिनै पक्षहरूसँग हातेमालो गरेर एकछिन बिसायौँ। फेरि बसमा चढ्ने उपक्रम त गर्नैपर्‍यो। हेर्छु बसभित्र एउटी गर्भवती महिला चढ्न खोज्दै छिन्। पछाडिबाट सहारा दिन्छु र चढाउँछु उनलाई बसमा। भित्र पुगेर आफ्ना सिटमा बस्छु र एउटा नजर दिन्छु ती महिलामा। ल ! म त तीन छक्क। मै पो रहेँछु ती महिला त। मैले नै मलाई सहारा दिएर बसमा चढाएकी रहिछु।

म गर्भवती। लक्ष्मीपुरमा हाम्रा घरमा श्री भवनाथ झा बस्‍नुहुन्थ्यो। म उहाँमा यतिसारो आसक्त थिएँ कि मलाई संसारको सबैभन्दा राम्रो पुरुष उहाँ नै लाग्‍नुहुन्थ्यो। मेरो आसक्तिको परिणामले नै त म गर्भवती भएकी थिएँ। मलाई थाहा थियो उहाँ विवाहित हुनुहुन्थ्यो र पहिली पत्‍नीपट्टिबाट उहाँका तीन छोराछोरी पनि थिएँ। तर प्रेमको आशक्तिले के देख्छ र ? भविष्यको कुरा त मैले सोच्न जानेकै थिइनँ। सिकाएन पनि कसैले। मलाई माग्‍न कैयौँ केटाहरू आए। तर मैले ठाडै बिहे गर्दिनँ भनेर सबैलाई टारेँ। मलाई हेर्न केटाहरू आइरहेका थिए। मेरा आमाबाबुलाई पनि मेरो बिहेको केही हतार लागेको थियो त्यसबेला। एकपल्ट एउटा केटाले मलाई मन पराएर गएछ। मेरा बाबुआमाले उससँग मेरो टीकाटालो गरिदिने भएछन्। म त्यसदिन निकै अत्तालिएकी थिएँ, किनभने मलाई त्यस कुराको जानकारी दिइएको थिएन। केटो आयो, सबै प्रक्रिया पूरा भयो। मैले लज्जावश केही गर्न सकिनँ तत्कालै। तर बेलुका केटाले दिएको सबै सरसामान एक घण्टा लाग्‍ने केटाको घरमा पुर्‍याएर, म तिमीसँग बिहे गर्न सक्तिनँ भनेर आएँ। मेरा दिमागमा भवनाथ झादेखि बाहेक कोही थिएन। उहाँदेखि बाहेक मैले अरूसँग जाने वा बिहे गर्ने कुरा कल्पना पनि गर्न सक्तिनँथेँ। उहाँ श्री सिंहवाहिनी माध्यमिक विद्यालयमा विज्ञान-शिक्षक हुनुहुन्थ्यो। मेरो बिहे केही गरे अर्को मानिससँग नहुने देखेपछि उहाँले नै भन्नुभयो- “निर्मला ! तिमी एउटा छोरो पाऊ न त। हेर जिन्दगी एक्लै कसरी कट्‍छ ? म कहिलेसम्म तिमीलाई साथ दिनसक्छु थाहा छैन।” मलाई थाहा थियो उहाँको बाध्यता। बाध्यताले बाँधिएको मानिसलाई मैले कति माया गरेँ कति। मलाई त अरू के चाहिएको थियो र ? त्यस दिन उहाँले मलाई जुन सुख दिनुभयो त्यसको त म बयानै गर्न सक्तिनँथेँ। हामी एकाकार भयौँ। हाम्रा मन मिले, तन मिले। त्यस दिन उहाँ मेरो हृदयको सबैभन्दा नजिक पुग्‍नुभयो। त्यस दिन उहाँबाट छोरो निस्केर मभित्र पस्यो।

केही महिनापछि त्यही छोराले रूप देखाउन थाल्यो। अब त गाउँलेले उछितो काढ्न थाले। मेरो र उहाँको सम्बन्ध जति नै गाढा भए पनि समाजका लागि, मेरा घरका लागि सुपाच्य थिएन। सोच्यौँ, विचार्‍यौँ र एउटा उपाय निकाल्यौँ। उहाँले मलाई विराटनगरमा एउटा कोठामा ल्याएर थन्क्याउनुभयो र आफू चोखो पल्टिन गाउँ फर्किनुभयो। पछि मैले थाहा पाएँ गाउँमा गएर उहाँले गाउँलेको सातो लिनुभएछ- “मैले निर्मलालाई भगाएँ रे ? खै देखाओ ! मलाई गाउँका केटी भगाउने देख्यौ ?”

अब मेरा दुर्दिनहरू सुरु भए। नजानेका मान्छे, नचिनेको सहर। श्री भवनाथ झाले छोडेर गएका पैसाले सौदा ल्याउँदै खाना एक्लै पकाउँदै खानुपर्ने। आपत् ! ग्यासमा खाना बनाउन न कसैले सिकायो न आफूले सिक्‍ने मौका पाएँ, लक्ष्मीपुरमा ग्यास चलाउने कुरै भएन। अरूबेला बाहिर जाँदा केको चासो थियो र ? जे होस् भाँडामा हालेर ग्यास बालेपछि पाक्दो रहेछ र मात्रै नत्र काँचै खानुपर्ने। अबको काम थियो पकाउनु, खानु र कोठामा एक्लै बसिरहनु। गर्भमा शिशु छ। त्यसका लागि। मेरो भविष्यको सहारा होला कि ? छोरी जन्मी भने र मजस्तै भई भने ? चिसो पसिरहन्थ्यो मनमा। दुई महिनामा एकपल्ट मेरा उहाँ आउनुहुन्थ्यो मसँग दुई दिन बस्‍नुहुन्थ्यो र फर्किनुहुन्थ्यो। तनावैतनावमा बिते ती गर्भावस्थाका दिनहरू। मेरा आफन्तहरू आउँथे मसँग कहिलेकाहीँ भेट गर्न । अहिले म सम्झन्छु तिनीहरूको अनुहारको भाव। ती सबै अनुहारहरूमा घृणा र खुच्चिङ लुकेको हुन्थ्यो। त्यस बेला त म त्यस्ता भावहरू पढ्न सक्तिनँथेँ। म उनीहरूलाई सुखी छु भनेर देखाउन खोज्थेँ। कति गाह्रो हुन्थ्यो मलाई अभिनय गर्न। मनमा एकथोक र अनुहारमा अर्कैथोक। आखिर जिन्दगी नै अभिनय रहेछ। बस फेरि कतै रोकिएको छ। मेरा आँखाले फेरि अघि बसमा चढेकी ‘गर्भवती म’लाई खोजे। अरे ! उनी त छैनन्। कतिबेला कहाँ हो बसबाट उत्रिसकिछन्।

त्यहाँबाट एक महिला र एक पुरुष बसमा चढे। उनीहरूको कुरा सुन्दा उनीहरू शिक्षक-शिक्षिका रहेछन्। उनीहरू अहिलेका परीक्षाहरूमा हुनेगरेका विसङ्गतिका बारेमा कुरा गर्दै थिए। विसङ्गति, के हो यो ? उनीहरूले जे कुरा गरिरहेका थिए, त्यसबाट त म पहिले नै गुज्रिसकेकी छु। मलाई थाहा छ पढ्नुको साटो मैले के गरेँ श्री भवनाथ झासँग। श्री भवनाथ झाले मसँग जे गरे त्यसको क्षतिपूर्ति गर्न खोजे, मलाई एस.एल.सी पास गराएर, शिक्षा-सेवा आयोग पास गराई जागिर खुवाएर र मलाई छोरो दिएर। आज मसँग मैले आर्जन नगरेको प्रमाणपत्र छ, अर्कैद्वारा पास गराइएको जागिर छ र श्री भवनाथ झाको छोरो छ। ती शिक्षकशिक्षिकाहरूको कुरा म अहिले राम्ररी बुझिरहेकी छु। परीक्षाको विसङ्गति के हो मलाई अब थाहा भएको छ।

उः कोसी ब्यारेज पनि आइपुगेछ। कोसीको पानी सलल बगिरहेको छ, तलतिर। पानी तल बग्‍नु त प्रकृति नै हो, पानी कैले उकालो बग्दैन। तर जीवन, जीवन त ओरालो बग्‍नुपर्ने होइन। के मेरो जीवन मैले गर्दा ओरालो बग्यो त ? मैले मेरो जीवन ओरालो बगेको छ भनेर थाहा पाएदेखि उकालो लाने प्रयास गर्दै छु। तर बाटाहरू सीमित र साँघुरा छन्। जतिबेला जीवन अगाडि बाटाहरूको कमी थिएन, त्यसबेला मैले बाटो रोज्न जानिनँ। अब के गर्नु र ? समयलाई उल्टो बगाउन सकिँदैन। मैले मेरै जीवनलाई कति पटक यो यात्रामा भेटिसकेँ। अरूका नजरमा जे भए पनि, कुनै बेला लाग्छ यही त हो जिन्दगी ?

कोसी तरियो।एउटा खड्‌गो कट्यो। अब त विराटनगर पुगिन्छ छिट्टै। विराटनगर गएर फेरि पुस्तकहरू किन्नु छ। आफ्नो जीवनको बाँकी भागलाई यो छोरो पढाउन र पढ्न खर्च गर्नु छ। शिक्षिकाको जागिरले भात खान दिएकै छ। मैले जानेर वा नजानेर गरेका भूलहरूलाई कोसीपारि नै छाडेर अगाडि बढ्नु छ। यो कोसी-तराइलाई मैले ठूलो खड्‌गोको रूपमा लिएकी छु। अब म कोसी तरेर फेरि श्री भवनाथ झालाई भेट्न जनकपुर जानेछैन। मैले मेरो यात्रा अनौठो हिसाबले तय गर्नु छ। मेरा छोरालाई स्वावलम्बी बनाउनु छ, मै पनि आत्मनिर्भर बनिरहनु छ।

यी सबैभन्दा धेरै मलाई लक्ष्मीप्रसाद देवकोटासँग विचार-विमर्श गर्नु छ, गुरुप्रसाद मैनालीका कथा भन्नुछ, विश्वेश्वरप्रसाद कोइरालासँग तर्क गर्नु छ, भूपि शेरचनलाई चिन्नु छ, बालकृष्ण समसँग नाटक खेल्नु छ, रवीन्द्रनाथ ठाकुरका गीत, कथा र कवितामा नुहाउनु छ, प्रेमचन्दका कथा र उपन्यासहरूमा डुब्नु छ, चेखब, गोर्की र टोल्सटोयका रचनाहरूसँग भोदका खानु छ। मोपासा, ओ हेनरी, हेमिङ्गवे, इलियट, वर्डसवर्थसँगै बसेर सेम्पेन पिउनु छ। मिर्जा गालिबलाई पिएर मातिनु छ।

विराटनगरबाट मैले एक अर्को नवीन यात्रा सुरु गर्नु छ । जनकपुरबाट विराटनगर पुग्‍न लाग्दा जति मैले जीवनलाई भेटेकी थिएँ, त्योभन्दा अझ उच्चस्तरको जीवनलाई भेट्‍तै जानु छ। अब ममा यात्रा सुरु गर्दाको निस्सारता छैन। मैले उज्यालो बिहानी भेटिसकेकी छु।

(स्रोत : Kumud Adhikari’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.