~बाबुराम खपाङ्गी~
विनाशकारी भूकम्पको सुरुवातसँगै म बेहोश भएँ । होश खुल्दा कम्मरमुनिको पूरै भाग पर्खालले किचेको अबस्थामा मैले आफूलाई पाएँ । ठूलो कोलाहल मच्चिरहेको थियो । घरहरू एउटै पनि सद्दे थिएनन् । लाशहरू यत्रतत्र छरिएका थिए । जीवित मान्छेहरू अनियन्त्रित पाराले यताउति दौडिरहेका थिए । कोही मजस्तै घरका खम्बा, पर्खाल, छत र अन्य गर्हौँ चीजले थिचिएका, चेपिएका थिए । घाइतेहरू हात पसारेर सहयोगको निम्ति याचना गरिरहेका थिए । तर जीवित मान्छेहरूलाई यस कुराको उति परवाह भएजस्तो लाग्दैनथ्यो ।
नजिकै ‘कुइँ…….कुइँ………’ आवाज सुनेँ । हेरेको त एउटा कुकुरको छाउरो अङ्गभङ्ग भएर बाँचेको रहेछ । केही क्षणमै दुई, चारवटा कुकुरहरू जम्मा भए अनि त्यस घाइते छाउरालाई सुरक्षित स्थलतर्फ घिसारे ।
म भित्र जिजीविषा अनायासै बिउँतेर आयो । सहयोगको निम्ति हात पसारेँ तर सहयोग गर्न कोही आएनन् । सबै धन सम्पत्ति र बहुमूल्य सामान ओसार्नमै व्यस्त थिए ।
केहीबेरपछि दुईजना मान्छे म भएतर्फ आए । म नजिकै आइपुगेपछि चिनेझैं गरेर दुबै मुस्कुराए । मैले सहयोगको पूर्ण भरोसाले दुवै हात उनीहरूतर्फ बढाएँ । ती दुवैले मेरा हात समातेर एकसाथ मेरा हातका घडी र औंठी थुते अनि हेर्दै नहेरी अन्त लागे ।
त्यसपछिको दृश्य मैले हेर्न आवश्यक नै ठानिँन र जबरजस्ती आँखा बन्द गरेँ ।
(श्रोत:- मधुपर्क बैशाख, २०६७)