कथा : नजोडीएको साईनो

~उर्मिला थपलिया~Urmila Thapaliya

भाग-१

नमस्कार ! तपाई आराम हुनुहुन्छ ? परिचित आवाज मेरो कान सम्म ठोक्किन आईपुग्यो । म निसब्ध भएँ उस्लाई तत्काल उत्तर दिनको लागि म संग कुनै शब्द नै थिएन । आजभोलि यस्तै हाजारौं प्रस्नहरु नमिल्ने गरि तेर्सिनेगरेको छ मेरो अघि र पछि ।

म प्राय जसो मन भुलाउने बाहनामा एकान्त ठाउँ पुगिरहेकि हुन्छु एक्लै एक्लै साँझ बिहान र कहिले काहि उहि पुरानै ठाउँ भृकुटिमण्डप धाउने गर्छु पुराना यादहरु ताजा गर्नका लागि । यो त्यहि ठाउँ हो जहाँ बिक्रान्त मलाई फुर्सद हुने बित्तिकै बोलाउने गर्थ्यो र हामि घण्टौं सम्म पनि गफ्फिने गर्थ्यौ ।

बिक्रान्त मेरो असल मित्र, जस्लाई म मेरो मनको कुनै पनि कुरा निर्धक्क संग भन्न सक्छु चाहे त्यो दुख र सुख को कुरानै किन नहोस् ।

म जति खुसि हुन्छु उस्लाई भेट्दा त्यो भन्दा नि बढि उ रामाएको हुन्छ मलाई आफ्नै आँखा अगाडि देख्न पाउँदा ।

आज आइतबार उस्ले निम्तो दिएको छ मालाइ कफि पिउन आउनको लागि । कुनै न कुनै बाहना बनाएर उ मलाइ भेटिरहन चाहन्छ सायद हाम्रो मित्रता गहिरो भएर पनि हुन हुनसक्छ । उस्को निम्तो लाई स्विकार्दै म उसैले बोलाएको ठाउँमा पुगें तर तोकिएको समय भन्दा अलि ढिला त्यसैले होला उ अलि ठुस्किएको जस्तो देखिन्थ्यो । म्याडम आइपुग्नु भयो? म खिस्स हाँसे उ फेरि बोल्यो “हुनत ब्यस्त मान्छे समय मिलाउदा मिलाउदै ढिला भो होला हैन?” म एक टकले उस्को आँखामा हेरिरहें केहि छिन्मै उस्को रिश साम्य भयो ।

कफि संगै हामि धेरै बेर गफियौं कहिले जिबनका कुरामा त कहिले जगत का कुराहरुमा । गफको सिलसिलामा ३्४ कप कफि सकिएको पत्तै भएन । दिन छोट्टिंदै गर्दा हाम्रो गफ भने झन् झन् लम्बिदै गैरहेको थियो ।

बिक्रान्त परिवार भएको मन्छे । उस्को घरमा छोरा छोरि र अर्धाङ्गिनिले बाटो कुरेर बसिरहेका हुन्छन् मिठा मिठा परिकार बनाएर । आफु त एक्लो मान्छे मात्र खाली कोठा र चिसो ओछ्यानले ढुकेर बसेको हुन्छ संधै संधै । न किन ढिलो आइस् भन्छ न किन भोकै सुतिस् भन्छ । र पनि म बचेँको छु आज सम्म । हामि भित्रको प्रेम भाव एकार्कालाई थाहा छ र पनि आज सम्म ब्यक्त दुबैले गरेका छैनौं ।

कहिले काँहि बिक्रान्त ठट्यौलिमा भन्ने गर्छ “कञ्चन् हामिले भेट्न धेरै ढिला गरेछौं नत्र ” उस्को आँखामा माया र पिडा दुबै बराबरि झल्किन्थ्यो । उस्को हरेक ब्यबहारले प्रष्ट देखाउथ्यो कि उ मलाई कत्ति सम्मान गर्छ र आफ्नो ठान्छ भन्ने कुरा ।

म अलि अलि साहित्यमा पनि कलम पनि चलाउने गर्छु यो बिक्रान्तलाई राम्रो संग थाछ छ र उ मलाई राम्रो साहित्यकार पनि मान्छ । बेला बेलामा बिक्रन्त प्रष्न गर्ने गर्छ -“कञचन तिमि सधैं किन भावुक कबिता मात्र लेख्छौ? तिम्रा शब्दहरु पढेर कयौं पटक मेरा आँखा रसाएका छन् । बिक्रान्तको प्रश्नको उत्तर यो पटक पनि मसंग थिएन । म आफै भावुक बन्न पुगेछु उचालिएको कफिको कप पनि टेबलमै ठोक्किन पुगेछ । त्यो दिन हामि कुनै नयाँ ठाउँमा थियौं सुन्दर रमाइलो बाताबरणमा रमाइरहेका हामि एकै छिन मा सुन्य हुन पुग्यौं ।

यति छिट्टै कुनै परपुरुस्ष संग नजिक नहुनु पर्ने हो तर भावना र आत्मा मिले पछि हुने समधुर सम्बन्धको लागि कुनै समय र बर्ष काट्नु पर्दैन भन्नेको उदाहरण पनि हो यो ।

“कञचन अरु के खान्छौ? साँचि तिमिलाई के के मन पर्छ रे? बिक्रान्तको मिठो आवाजमा यो प्रश्न सुनेर दङ्ग भएकि म के के पो मन पर्छ खै? लजा उल्टै प्रश्न गरिदिएं । प्रश्न संग संगै हामि दुनै जना धक फुकाएर जोडले हाँस्यौं । बिक्रान्तको हाँसो निकै मिठो छ तनाबको बेलामा औसधिको काम गर्छ त्यो हाँसोले ।

हामिले त्यो साँझ आफ्ना धेरै जिबनका ब्यक्त्तिगत कुराहरु पनि साँट्यौ जुन फिल्मको कहानि सुनेको जस्तै लाग्यो रे बिक्रान्तलाई । केहि कुराले हसाए हामिलाई केहिकुराले रुवाए पनि । बिक्रान्त केहि बेर बोल्दै नबोलि एकोहोरो मलाई मात्र हेरिरह्यो । सुन्दर फुललाई कसैले नराम्रो भन्यो भने पत्याउन सायद कमैलाई गाह्रो हुन्छ आज बिक्रान्तलाई त्यस्तै भएको छ ।

हामि धेरै समय नै मौन रह्यौं । बाहिर अध्यारो निकै बढिसकेको थियो र पनि कुनै हत्तार थिएन दुबैलाई ।” हाम्रो होटेल बन्द हुने समय भयो सर” एक्कसि आएको आवाजले हाम्रो मौनता भङ्ग गर्‍यो । दुबैको आँखामा आशुको केहि हिंस्सा अझै बाकिनै थियो मन नलागि नलागि निस्कियौ र मौन मौन मै आ-आफ्नो बाटो लाग्यौं हामि । कोठामा पुग्दा निकै ढिला भैसकेको थियो बस नपाएर हिडेर नै जानु पर्‍यो त्यसैले पनि होला अलि अलि थाकेको पनि थिएँ म ।

आज कस्तो अनौठो लागिरहेको छ । गर्दै नगरेको गल्तिको पश्चाताप गरेर फेरि अर्को गल्ति गर्दैथिए म थाहा छैन किन यस्तो हुँदैछ आजभोलि र किन यस्तो नचाहिने सोच्दै छु म ।
निन्द्रा नलागेर कोल्टे फेर्दै थिएँ मोबाइलमा म्यासेज आयो ” प्रिय कञचन आजको भेटले मलाई थप पाठ सिकाएको छ । आफ्नो स्वास्थ्यको राम्रो संग ख्याल राख्नु । कुनै समय मेरो आवश्यकता पर्‍यो भने निर्धक्क साथ भन्नु म जहाँ भए पनि तिमि सम्म आईपुग्ने छु ।”

यहि म्यासेज र त्यहि मिठा पलहरु म संग अहिले सुरक्षित छन् सम्झनामा । त्यो भेट पछि अहिले सम्म अर्को भेट हुन सकेको छैन हाम्रो र पनि हामि त्यतिकै नजिक छौं जति पहिला थियौं । समय बद्लियो,शहरका मान्छेहरु फेरिए र पनि बिक्रान्त अझै उस्तै छ ।

भाग-२

धेरै दिन पछि आज बिहानै मैले बिक्रान्तलाई रत्नपार्कमा भेटें । उ आफ्ना छोरा छोरि र आफ्नि अर्धाङ्गिनि संगै थियो । गुपचुप देखिन्थ्यो थाहा छैन के भएको छ । धेरै समय पछि देखेको कारणले होला म भित्र एक किसिमको ढ्याङ्ग्रो बजिरहेको अनुभब मैले गरिरहेको थिएँ ।
म चाहन्थें एकनासले उनैलाई हेरिरहुँ अफसोच त्यो चाहना चाहनै मात्र रह्यो । म सक्दिन उस्को नजिक हुन । म सक्दिन मन भित्रका उतार चडावहरु खुलस्त भन्न तर धेरै समय पछिको भेट नै काफि थियो मेरो लागि ।

मलाइ देख्ने बित्तिकै टाढै बाट बिक्रान्त मुसुमुसु हास्यो र हातको इसाराले आफु तिरै डाक्यो – कञ्चन यतै आउ न । म दोधारमा परें जाउँ या नजाउँ तर मनले कहाँ मान्छ र लुरुलुरु उस्कै समिपमा गएँ ।

कञ्चन उनि मेरि अर्धाङ्गिनि समिक्षा , अनि ठुलि छोरि अर्पिता र छोरा प्रणव । उस्ले राम्रै संग चिनाजानि गरायो । मैले पनि हाँसि हाँसि बोलिदिएँ नमस्कार सँगै ।

थाहा छैन किन, सधै झैं म आज खुलेर बिक्रान्त सँग बोल्न सकिरहेकि छैन न उस्को अनुहार हेरर हाँस्न नै । सायद मलाइ जस्तै आज उस्लाइ पनि पक्कै भएको छ त्यसैले त उ हडबडाउदै के के बोल्दै छ । कहिले आफ्नि अर्धाङिनि तर्फ हेर्दै त कहिले आफ्नै बालबच्चा तिर हेर्दै । उ फेरि भन्छ, समिक्षा कञ्चन मेरि असाध्यै मिल्ने साथि हो ।

उनि मेरो १० बर्ष अगाडि देखिको पुरानो साथि । हाम्रो पहिलो भेट पोखराको एउटा रिसोर्टमा भएको थियो कार्यक्रमको सिलसिलामा । बास्तबमा भन्ने नै हो भने उन्को मधुर आवाजले नै हामिलाइ नजिक ल्याएको थियो । कार्यक्रमको अन्त्यमा गित गजल गाएकि थिइन् उन्ले ।

बिक्रान्तको कुरा नटुङ्गिदै समिक्षाले कुरा थपिन्- हिजो बेलुकामात्र तपाइको कुरा गर्नु भएको थियो उहाँले आजै भेट हुन रहेछ ।

उन्को आवाज सुनेर लाग्थ्यो उनिहरु अलि हत्तारम छन् । बिक्रान्त केहि नबोलेर पनि धेरै कुरा गर्दै थियो मनसँग सायद उ एक्लै भेट्न चान्थ्यो मलाइ अनि भन्न बाँकि धेरै कुरा सुनाउन चाहन्थ्यो ।

मलाइ पनि त्यति सहज भएको थिएन आज । साच्चै भन्ने हो भने मलाइ कहिले छुट्टिउँ भएको थियो उनिहरुसँग ।

आज फेरि मलाइ बिक्रान्तले भनेको उहि कुराको याद आयो । कञ्चन तिम्रो र मेरो भेट हुनु अलि ढिला भयो नत्र तिमिलाइ नै मेरि अर्धाङ्गिनि बनाउथें । उस्ले ठट्टा गर्दै बोलेको कुरा हो , तर मलाइ भने उस्ले भित्री मनबाटै बोलेको जस्तै लागिरहन्छ सधैं । हामि बिच न धेरै कुराकानि हुन्छ न भेट घाट नै र पनि धेरै नजिक छौं हामि एक अर्काको ।

उ बारम्बार मसंगको कुराकानिमा समिक्षाको नाम लिइरहन्छ । हो उ आफ्नि अर्धाङ्गिनिलाइ धेरै प्रेम गर्छ आफुलाइ भन्दा पनि बढि त्यसैले त उ सधैं खुसि देखिन्छ अनि सुखि ।

हरेक भेट हाम्रो लागि अपुग हुन्थ्यो । समय कति चाँडै सकिन्थ्यो पत्तै हुन्न थ्यो । कफि चिसो हुँदा सम्म पनि हामि गफ्फिदै हुन्थौं । बास्तबमा म मनै देखि खुसि हुन्थें बिक्रान्तलाइ आफु सामु पाउँदा ।

बुद्दु छ बिक्रान्त । कहिले काँहि गालि गर्दा मैले बुद्धु भनेर कराउँछु तर उ मुसुक्क हाँसेर टारिदिन्छ । मलाइ त्यो दिनको धेरै याद छ । जुन दिन हामि खोलाको किनारामा बसेर राति अबेर सम्म ताराहरु गन्दै आ-आफ्ना तिता मिठा गफहरु गरेका थियौं । अनि बिक्रान्त अलि भाबुक बन्दै जाँदा मैले उस्को हात समातेर भनेको थिएँ । बिक्रान्त -तिमी पहिलो जुनिमा पनि मेरै साथि थियौ होला है ? यतिकै मिल्ने अनि यति धेरै माया गर्ने ।

बिक्रान्त को मौन समर्थन देख्दा लाग्थ्यो उ पनि यस्तै के सोच्दै थियो मन मनै । त्यो समय देखि हाम्रो भेट भृकुटि मण्डपमा लक्ष्मि दिदि को चिया पसलमा मात्रै हुने गरेको छ । र हिजो आज त्यहि भेट पनि पातलिदै गएको छ सायद, हामि दुबैको ब्यस्तकाको कारणले पनि होला ।

उ मेरो धेरै नजिक छ र पनि मलाइ उस्को नजिक जान किन किन डर लाग्छ । “प्रेम गरेको हरेक बस्तु प्रिय हुन्छन्” तर ति सबै सधैं साथमै हुनु पर्छ भन्ने पनि छैन । टाढै बाट पनि निकटताको महसुस गर्न सकिन्छ । मलाइ लाग्छ – सुन्दर सपना, सुन्दर बस्तुहरु र सुन्दर देखिने सबै चिजहरु क्षणिक हुन् तिनिहरुले थोरै खुसि र धेरै पिडाहरु दिन्छन् त्यसैले त्यस्को पछि लाग्नुको कुनै अर्थ छैन ।

कञ्चन, अब हामि हिड्छौं । एकजना नातेदारको घरमा सानो भोज छ आज समयमै पुगिएन भने फेरि भनाई खानु पर्छ साथिभाइको । बिक्रान्त धेरै मेहेनति छ अनि सरल पनि उस्तै छ । उस्को अर्धाङ्गिनि पनि लाग्यो बिक्रान्त भन्दा केहि फरक छैन ।

हामि छुटियौं मन बाट हैन मात्र भौतिक शरिरबाट । कस्तो सम्बन्ध हो यो ? म मनमनै सोच्दै थिएं । संगै हुँन पनि नसक्ने र छुट्न पनि नसक्ने ।

बिक्रान्तलाइ टाढा पुगुन्जेल सम्म हेरिरहें । कत्ति खुसि छ उ आज छोरा छोरि संग । पक्कै पनि धेरै लामो समय पछि यसरि हिडेको छ उ स-परिवारसंगै खुसि साँट्दै । मैले पनि मन मनै खुसि बाँडे बिक्रान्त सँग त्यसैले त धेरै दिन देखि गरुङ्गो भएको मन आज हलुको भएको छ । काँडै झिके जस्तो ।

यहाँ हरेक कुराहरु परिबर्तन हुन्छ र भएका छन् तर बिक्रान्त आज सम्म पनि उस्तै छ जस्तो उ १० बर्ष अगाडि थियो । बिक्रान्त सँधै म खुसि र सुखि रहेको सुन्न र देख्न चाहन्छ । कुनै दिन बिरामि परेको खबर सुन्यो भने मुर्छा पर्छ रे भन्थ्यो भेटमा त्यसैले त म बिरामि परेको खबर सकेसम्म उ सम्म पुग्न दिन्न । किन कि म पनि उ खुसि भएको हेर्न चाहन्छु र आफ्नो पिडा आफै एक्लै पिउन चाहन्छु सोमरस झैं गरि ।

अघि भर्खर त ठिकै थियो तर एक्कासि खै के भो के भो मलाइ । आज पटक्कै मन छैन घर फर्कने । मेरो मन अशान्ति भयो भने पशुपति नाथको मन्दिरमा पुग्ने गर्छु । जाहाँ म रमाउने गर्छु एक्लै एक्लै र भुल्ने गर्छु सबै दुख पिडा । भन्नै पर्दा एक किसिमको शान्ति मिल्छ मलाइ भित्रै देखि । हो , आज मैले त्यहि गरें । जुन कुरा गर्दा मलाइ आनन्द मिल्छ, शान्ति मिल्छ । जब म पसुपतिको ओरिपरि घुम्छु । त्यहाँको हरेक बस्तुले मलाइ बिस्तारै बिस्तारै छुन्छ अनि म त्यस्मै लिन हुन पुग्छु ।

त्यहाँ जलाइ रहेका शबहरु सँग सँगै कहिले काहि लाग्छ म आफै जलिरहेछु र उडिरहेछु हावामा उहि धुवाँ बनेर कसैले छुन नसक्ने गरि पुग्छु माथि माथि धेरै माथि । कहिले कुनामा एउटा झोला च्यापेर बस्ने बुढि आमा मेरै हुन् जस्तो लाग्छ र उन्को आँखाबाट पोखिएको आँशु मेरै हो जस्तो लाग्छ । म त्यहाँ बादरको इसारामा रमाउछु , जोडिहरुको प्रेम देखेर खुसि हुन्छु अनि भगवानको समिप छु त्यसैले झन आनन्दित हुन्छु एक्लै एक्लै आफै सँग ।

मैले खुसुक्क एक दिन बिक्रान्तको फोटो मेरो मोबाइलमा कैद गरेकि थिएँ उस्ले पत्तो नपाउने गरि हो, अहिले म त्यहि तस्बिर संग एकल संवाद गरिरहेकि छु । अचानक भएको भेट । समयको अभाव । आफ्नि अर्धाङ्गिनि सँगै छोरा छोरि को साथमा बिक्रान्त । शहरका गल्लि गल्लिमा धेरै मिठा सपना बाड्ने हरु भेटिन्छन् यहाँ तर बिक्रान्त जस्तो ब्यक्ति कोहि भेटिन्नन् यो स्वार्थि शहरमा । त्यसैले त बिक्रान्त अरु भन्दा धेरै फरक छ ।

हाम्रो साइनो मिठो छ तर यो साइनोको नाम दिन आज सम्म पनि सकेको छैनौं हामि दुबैले । सायद, जिबन भर सकिन्न पनि होला । हृदय भित्र अमिट भएर बस्ने छ सँधै सँधै ।

म खोजि रहेछु अधर अधरमा अफसोच छैन म सँग बिक्रान्त । थाहा छैन कहिले काँहि त म किन यति धेरै पागल बन्छु । म मेरो खुसिको निम्ति बिक्रान्तको जिबनलाइ कहिल्यै असर गर्ने छैन । म सँधै उस्को खुसियालिको लागि भगवान सँग हात फैलाउने गर्छु । र यहि भन्छु मेरो बिक्रान्त सँधै यस्तै रहोस जस्तो उ आज सम्म छ । राम्रो मान्छेको जिवन राम्रै हुन्छ । थाहा छैन फेरि अब हाम्रो भेट कहिले हुन्छ र कहाँ तर पनि म सम्झिरहनेछु, उस्को मायाँ , म प्रतिको सम्मान । तर जिन्दगि भर म आफैले आफैलाइ प्रश्न गर्न भने कहिलै छोड्ने छैन ।

आँखिर यो कस्तो मिलन ? यो कस्तो माया ? अनि के छ हाम्रो साइनो ?

हो , बिक्रान्त कुन साइनो ले बोलाउँ म तिमिलाइ …………………..???

भाग-३

पोहोर साल पनि त आएको थ्यो यो जाडो । पुस माघ महिना पनि आएको नै थ्यो । ग्याम्म परेको लुगा लगाएका नै थिए सुहाए पनि नसुहाए पनि सबैले । एक सरो कपडा लगाएर पनि काटेका नै थे बाक्ला लुगा नहुनेहरुले पोहोर जस्तै जाडोहरु । तर किन मान्छेहरु संधै गुनासो गर्छन ? किन यसपाला मात्र आएको झैँ गर्दैछन् यो महिना ? सायद मान्छे हुनुको गुण यहि होला । बिहान बेलुका त जाडै छ दिउँसो घामको तापले त्यती नभए पनि । पुस माघको जाडोले चिसीएको शरिर । अलिकति घामको तापले छुँदा मात्र पनि मन फुरुङ्ग हुन्छ आजभोली । त्यो भन्दा बढी फुरुङ्ग हुन्छ मन बिक्रान्तको अघि उभिन पाउँदा ।

खै किन किन आज अति नै उस्को यादले पिरोलिरहेकोछ । उस्लाई फोन गर्न धेरै पटक मोबाइलमा नम्बर डायल नगरेको पनि होइन तर कसो कसो घण्टी जानु अगाबै रोक्न पुग्थे औँलाहरु । कस्तो खाडलमा खसेँ म । न उत्रिन सक्छु न चुपचाप हेरेह बस्न नै । यो कस्तो परिस्थितिले बाँध्यो मलाई न फोन गर्न सक्छु न एस एम एस नै । थाहा छैन आफैमा बाँधिएर बाँच्नु कत्तिको राम्रो हो ? के हुँदै छ यो ? यतिविधि छटपट्टि आजसम्म कहिल्यै पनि भएको थिएन । जुन म भोग्दैछु आज त्यस्तो हिजो किन भएन ? मनभित्र यस्ता अनगिन्ती प्रश्नहरु आउने जाने क्रम चलिनै रह्यो ।

को हो त्यो ? जस्को खुसीले सोच्दै नसोचेको आनन्द दिन्छ । जस्लाई म बारम्बार हेर्ने गर्छु एैना बनाएर । उसैलाई सोचेर हराउँछु एकान्तमा भिडमा जता ततै । हो उहि नै जो मेरो मन भित्र बसेको एउटा अमिट तस्बिर । मेरो विक्रान्त । म भन्दा पनि नजिकको मान्छे । मेरो हाँसो मेरो खुसी । म उस्को बन्न सकिन त के भो के जिवन भर कसैले खोसेर लान सक्ला र उस्को यादलाई म बाट छुटाएर ? म बाट अलग्याएर । म रहुन्जेल आनन्द संग सजाउनेछु मेरो मन भित्र ।

यो कस्तो प्रेम ? प्राप्त नगर्दा पनि आनन्द छ । यस्तो पनि हुन सक्छ ? हुन्छ । र यहाँ यस्तै भै रहेको छ । तर अघाउन्जेल भेट्न पनि नपाउँदाको पिडाले भने साह्रै सताएको छ । सायद त्यही पिडा हो जस्ले आगोले भन्दा बढी पोल्दैछ मलाई यो चिसो मौसमा पनि ।

अग्लो केही बाक्लो शरिर । गहुँगोरो । उहि कालो जिन्सको पाइन्ट । उहि कालो र सेतो मिसीएको हाफ सट । संधै हाँसीरहने अनुहार देखे देखे झैँ लाग्यो । कतै विक्रान्त…….होइन होइन । मन आफै दोहोरी खेल्थ्यो । कहिले झगडा गथ्र्यो त कहिले धेरै मायालु बन्थ्यो । खै किन उस्लाई देख्ने चाहले हो या उस्को याद बढि आएर हो उस्कै अनुहार भएको मान्छे लाग्छ आफुवरीपरी घुम्ने ।

साँझ परेको गाडीको बढ्दो चाप र मान्छेको ठेलमठेलले सहजै बताउँथ्यो । म पनि घर तिर लागेँ । एउटै इच्छा पनि पुरा हुन नसकेकोमा मन खिन्न थियो । ठेलमठेल बस यात्राले एकछिन त विर्साइदियो तर उत्रिने वित्तिकै फेरी उही याद मेरो अघि पछि हुदै घुम्न थाल्यो ।

उ विवाहित पुरुष । उस्को जिम्मेवारी कर्तव्य रहर र इच्छाहरु धेरै होलान् । संगै उस्को श्रीमतीको । कति धेरै ख्याल गर्नुपर्छ उस्ले नारी प्रेमको । नारी सम्मानको । समाजको । परिवेशको । परिवारको । म पनि एउटा नारी हुँ । नारी भावनालाई राम्ररी बुझेकोछु । जानी जानी अर्को नारी भावनालाई कसरी कुल्चीन सक्छु ? हो , त्यसैले आजसम्म त्यही नारीको सम्मान गर्दै आफ्ना सारा इच्छा, चाहना सबै मनमा ताल्चा लगाएर राखेकी छु कहिल्यै नखुलोस् भनी । थाहा छैन राम्रो गरेँ या गर्नै नहुने काम गर्दैछु विक्रान्तको समिप भएर । मनमा तर्क वितर्क धेरै हुन्छन् ।

प्रेम गर्छु भनेर र गर्दिन भनेर पनि नहुँदो रहेछ । कहिले काँही त लाग्छ मैले ठुलो पाप गर्देछु आफैले आफैलाई तर प्रेमका निम्ति गरिएको पाप कहाँ पाप सावित हुँदो रहेछ र । प्रेम हृदयले प्रेम मात्र देख्दो रहेछ । जुन मेरो हृदयले पनि देखिरहेछ आज । जे जे भएपनि मैले विक्रान्तको परिवारमा कलह हुने काम भने आजसम्म गरेको छैन । न भोली गर्नेछु ।

आफुसंग नभएको बस्तुको धेरै आवश्यकता महसुस हुँदो रहेछ । त्यसैले त अझै पनि उस्को यादले त्यतिनै चिमोटेको छ जति दिनभरी । हिजो अस्ति चिमोटेको थियो । अहो ! नौ बजिसकेछ । के विधि व्यस्त अभ्यस्त बनेकी म । यो राम्रो होइन । फेरी बानी पर्ला भन्ने अर्को पिर । खाना खाएर बरण्डामा टहलिएँ एकछिन तर अडिन सकिन । बाहिर चिसो फैलँदै थियो मन अझै दोधारमा छ । एकपटक फोन या एस एम एस गर्र्दैमा के विग्रन्छ र । ह्या गर्छु । कति सम्झाउने मनलाई पनि । हत्तेरीका कस्तो फर्सादमा परें म । फेरी सोच्न थालेँ । कतै मैले गरेको फोन उनकी श्रीमतीले उठाइन् भने ? भोली देखी उ फेरी परिवारको कलहमा पर्नेछ । उ प्रतिको श्रीमतिको विश्वास हट्नेछ । उस्ले स्पस्टिकरण दिँदा दिँदा हैरान हुनुपर्नेछ । हे भगवान ! कुनै बाटो त देखाइदेउ मलाई जहाँ विक्रान्त सम्म पुगौँ । अचम्म छ । माया पनि दिन्छौ अनि बडेमाको बार पनि लगाउँछौ कस्तो नियत हो भगवान तिम्रो ? सायद भगवान हुनुको फाइदा भरपुर उठाउँदैछो तिमी यतिखेर ।

अत्ति भएपछि कोठाबाट बाहिर निस्कीएँ । असाध्यै जाडो पो रहेछ बाहीर यो पोलाई त भित्र मात्र पो रहेछ । के विधि राप्पिएको मन । अहँ ! केही गर्न सकेन यो चिसोले पनि । थुमथुम्याउन सम्म पनि सकेन मलाई । कहिले काँही उकुस मुकुस हुँदा बाहीर नीस्कने बानि छ मेरो अँध्यारोसंग बात मार्दै ।

मान्छे आफुलाई मात्र चोट परेको झैँ गर्छ । आफुमात्र पिडामा पिल्सीए झैँ गर्छ म जस्तै । उसो त आकाश लाई पनि धर्ती संग टाढिएर बाँच्नु पर्दाको पिडा कम्ति होला र ? र पनि त यसले उज्यालो हुन विर्सेको छैन । अँध्यारो पर्न भुलेको छैन । यस्ले कहिल्यै लार्पवाही गरेन धर्तिसंग । अनि म । कसरी यति धेरै लार्पवाही हुन सक्छु । यति राति म कहाँको यात्राको लागि बाटो नाप्दैछु ? हुन्न म फर्किनु पर्छ । मैले खुसी खुसी बाँच्नु पर्ने धेरै आधारहरु छन् ।

फर्कँदै गर्दा झ्वास्स याद विक्रान्त कै आयो । यतै कतै विक्रान्तलाई भेटेँ भने ? थाहा छैन म के गर्छु होला अहिले । म एकनासले सडकको बिचबाट हिडिरहेको छु । सुनसान छ यो सडक । मेरो मन जस्तै । भुस्याहा कुकुर भुकिरहेछन् मेरा भावना जस्तै गरी । यो बाटो हुँदै जाँदा कहाँ सुने र मैले यो आवाज । यतिखेर म आनन्दले देख्न सक्छु खुल्ला आकाश । त्यही आकाशलाई आफ्नो विक्रान्त सम्झेको छु । माथि तिर हेरेर एकदमै डाँकोछोडेर रुनमन लाग्यो । कति सम्हाल्नु आफैले आफैलाई । कहिले काँहि त कोही आइदिए पनि हुने । मनभरी अनेक राम्रा नराम्रा कुराहरु आउने जाने गरिरहे । मलाई चाहिने भन्दा बढी डिस्ट्रब गर्दै थिए उनिहरु ।

हप्तौँ अगाडी विक्रान्तलाई उस्को संगिनि संग भेट्दा पनि मेरो मन नटुटेको कहाँ हो र ? तर मैले आफ्नो मनलाई जिनो तिनो सम्हालेको नै त थिएँ । आज किन सकिराखेको छैन ?

एक्कासी एउटा बाइक मेरो अगाडी आएर रोक्किएछ पत्तै पाइन । हेल्लो ! एक्लै एक्लै कता हो मैयाँ यति राति ? सुनसान सडकमा । नमिठो चर्को आवाजले म झसंङ्ग भएँ तर कक्ति पनि डराइन । त्यस्को कुरालाई वास्तै नगरी आफ्नो गतिमा लागेँ । मेरो पछि पछि के के भन्दै सुस्तरी आउँदै थियो उ । एकनासले हर्न बजाउँदै थियो ।

कहाँ जान लागेको ? आउ म पु¥याइदिन्छु । विश्वास गर म तिम्रो दाई जस्तै हुँ । मेरो नभएपनि कसैको दाई त पक्कै होला उ । हुनसक्छ राम्रै मनले भन्दैछ र यो पनि हुन सक्छ दया देखाउँदैछ एउटी केटीलाई एक्लै भेट्दा । उस्ले एक दुइ पटक मेरो अगाडी बाइक तेस्र्याएर म हिँडिरहेको बाटो नछेकेको कहाँ हो र । त्यो चाहीने भन्दा बढी बोल्दैथियो मलाई यस्तै भान हुँदै थियो । रिस नउठेको कहाँ हो र । तर त्यतिखेर रिस देखाउनु मुर्खता हुने मलाइृ राम्ररी थाहा थियो । त्यती खेरै एउटा पुलिसको भ्यान आयो अनि बाइक र बाइक बाला एकै छिनमा कता पुग्यो कता ।

मैले सुनेको थिएँ । प्रेम नै सिर्जनाको प्रथम विधि हो तर किन होला मलाई चाही विनास तिर डो¥याएको । यति राती त्यही पनि एक्लै आशक्त्तिले डो¥याएको । मनलाई विस्तारै सम्झाएँ । प्रेम अरुका हितका लागि हुनुपर्छ । आफ्नो अहम् पूर्तिका लागि हुनुहुँदैन । र प्रेम गर्नका लागी सबै भन्दा महत्वपुर्ण कुरा तिमीले अरुबाट धेरै आशा नराख भन्दै लुरुलुरु कोठामा फर्किएँ । जाडोको प्रवाह नगरी चिसो पानीले आफ्नो तात्तिएको शरिर पुरै भिजाएँ अनि पुगेँ उहि आफ्नो सुख दुखको साक्षी । एक्लो हुँदाको साथी । जो एउटा त थियो कम्सेकम मलाई पर्खने । चुपचाप मेरो व्यवहारलाई सहने । म रोएको म हाँसेको हेरीरहन्थो । उ त्यहि मेरो प्रिय ओछ्यान हो । जो संग मैले धेरै पल साटेँकोछु । धेरै सुख दुख बाँडेको छु ।

हिजो जस्तै सोधेन उस्ले किन ढिला गरिस् । किन मौन छस् ? सोधेन तेरो खुसी कुन गाउँ सरेको छ र यो पनि भनेन जा त्यही जा म बरु एक्लै बाँचौला । बक्ति निभाएँ आखा निभाउन सकिन । सक्दै सकिन । कचमट्टिएको मन जस्तै भएको छ आँखा । आँखीर ननिदाएर पनि त रात वित्दो नै रहेछ ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.