कविता : लोकतन्त्रको अस्मिता

~मणिराज सिंह~Maniraj Singh

समयको बटुकोमा जमाएर स्वाभिमान
माछाको टाउकोसित
देश टोकिखानेहरूले
कालसर्पको यज्ञकुण्डभित्र
चेतनाहरू डढाएर
रगतको काँचो इतिहासमा
अनुवाद गर्नेछन्
मनको कोलाज
त्यतिखेर,
कलिला नानीहरूलाई
उच्छृङ्खल इन्द्रेणीसित
आफ्नै चोखो बैंस साटिएको
होससमेत हुनेछैन।

शब्दहरू नबुझिनेगरी
जब हल्लाले तातिनेछ बजार
उचाल्दै आफ्नै खप्पड र नलीहाड
ब्युँतिनेछन् पुर्खाहरू मसान भत्काउँदै
नदीहरू उफ्रँदै
घुघुती–बासुती गर्नेछन्
सूर्यको छातीमा
त्यतिखेर,
सूर्य–चन्द्र अङ्कित अटल झन्डामा
टल्काउँदै खुकुरीको धार
चट्याङहरू
खेती गर्न तम्सनेछन्
आस्था र विचारको।

एक टुक्रो भोकसित
नुन–खोर्सानी टोक्दै
मुर्कुटा भुइँचालो
आँखामा बास माग्दै हिँडेका सपनाहरू
काटकुट पारेर
जूनको सितनसित
तारेर खानेछ नयाँ बिहानी
उलटोबाट कखरा घोकाइनेछ बबुराहरूलाई
टाउको खाने निहुँमा
पटक–पटक सुत्केरी हुनेछ बैंसालु घाम
घाइते सम्भावना बोकेर
विरोध जुलुस निस्कनेछ हाँसहरूको
भालेहरू बास्दै हिँड्नेछन् मध्याह्नमै
सिउर उचालेर
त्यसबखत,
भूत र वर्तमान च्यापेर
नापिरहनेछ समय
लोकतन्त्रको अस्मिता !

राष्ट्रिय कविता महोत्सव- २०७३   मा प्रथम भएको कविता

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.