पुस्तक समीक्षा : अभिभावकलाई…तोत्तो–चान

~सिपी अर्याल~

जापानमा दोस्रो विश्वयुद्धताका स्थापित तोमोए स्कुल अनौठो थियो । त्यो स्कुल कस्तो थियो ? त्यसबारेको चर्चाअघि यी केही समाचार शीर्षक पढौँ, जो नेपाली सञ्चारमाध्यममा प्राय: पढ्न पाइन्छ :bookcover - tattato Chan - techchuko kuroyanagi

– ‘शिक्षकको पिटाइले विद्यार्थीको आँखा फुट्यो’
– ‘होमवर्क नगर्दाको सजायले बच्चाको कानको जाली फुट्यो’
–  ‘विद्यार्थीलाई शरीरभरि सुम्लैसुम्ला’
यस्तो डरलाग्दो परिपाटीको व्याख्याअघि फेरि तोमोए स्कुल, तोत्तो–चान, कोबायासी सर र दोस्रो विश्वयुद्धताकाको जापानतिर फर्कियौँ ।

एउटी आमाले आफ्नी सानी छोरीलाई डोर्‍याएर हिँडिरहेकी छन् । चुलबुले छोरी आमाको हात समाएर हिँडिरहेकी छ, टुकुनटुकुन । उसको आँखामा चञ्चलता झल्किरहेको छ । तर, आमाचाहिँ पीडाले भित्रभित्रै छटपटाइरहेकी छन् । उनी पीडाले आक्रान्त हुनुको कारण : छोरीले विद्यालयमा असाध्यै चकचक गरेकाले उसलाई विद्यालयले निष्कासन गर्‍यो । र, अर्को विद्यालयमा भर्ना गरिदिने मनसायसाथ उनी हिँड्दै छिन् । त्यसैबीच विद्यालय फेला पर्छ । तर, अनौठो खालको । रेलको डिब्बालाई कक्षाकोठा बनाइएको छ । त्यहाँभित्र छिर्नेबित्तिकै तोत्तोले आत्मीय अनुभव गर्छे । त्यो अनौठो विद्यालयमा पहिलोपटक प्रवेश गर्दा पनि त्यो परिचितजस्तै लाग्छ ।

जापानी लेखिका तथा टेलिभिजन प्रस्तोता तेच्चुको कुरोयानागीले भोगेको बाल्यकालका अविस्मरणीय सम्झना हुन् यी । जापानी बालशिक्षामा अद्भुत योगदान पुर्‍याएका सोसाकु कोबायासीको विद्यालयमा प्राथमिक शिक्षाको केही समय बिताएपछि तेच्चुकोको जीवनमा कस्तो प्रभाव पर्छ, त्यसै बारेका कुरा किताबमा छन् ।

कोही पनि बच्चाबच्ची व्यवहारमा चकचके त हुन्छन् तर तिनीहरूलाई स्वतन्त्र, प्राकृतिक र सिर्जनशील वातावरण तयार गरिदिँदा उनीहरूको जीवनमा व्यापक परिवर्तन आउँछ र बच्चाहरू शान्त र अनुशासित हुन्छन् । त्यसैबारेको बाल्यकालीन संस्मरणका पेचिला घटनाक्रमले किताबलाई रुचिपूर्ण बनाएका छन् । केटाकेटीको बदमासी आफैँमा रमाइला हुन्छन् । यो किताबमा
चाहिँ केटाकेटीका त्यस्तै रमाइला बदमासी पढ्न पाइन्छ ।

अघिल्लो स्कुलमा पढ्दा तोत्तो–चान सर–मिसबाट बहिष्कृतै जस्तो थिई । कक्षामा मिसले पढाइरहँदा ऊचाहिँ झ्यालमा उभिएर पर कतै हेरिरहन्थी, कक्षामा असाध्यै बदमासी गरिरहन्थी । उसलाई गाली गरेर शिक्षकहरू थाक्थे तर बदमासी गरेर तोत्तो कत्ति पनि थाक्दिनथी । असाध्यै भएपछि उक्त विद्यालयबाट तोत्तो–चान निकालिन्छे । तर, निष्कासन पनि उसका लागि अहोभाग्य ठहरिन्छ । त्यहीँबाट उसको जीवन पूरै परिवर्तन हुन्छ । चकचके तोत्ते चान पूर्ण अनुशासित बच्ची भएर निस्कन्छे । त्यसको सबै कारण तोमोए स्कुलको वातावरण हो ।

परम्परागत शिक्षा पद्धतिलाई चुनौती नै दिएर कोबायासीले सुरु गरेको उक्त विद्यालयमा बच्चाबच्चीलाई थाहै नपाइने गरी सम्मानसाथ सिकाइन्छ । पहिलो कुरा त उनीहरूलाई त्यहाँ गाली कहिल्यै पनि गरिँदैन । एकदम सम्मानसाथ पढाइन्छ ।

नेपालको वर्तमान शैक्षिक पद्धतिसँग जापानमा आजभन्दा ७५–८० वर्षअघिको शिक्षण विधिको तुलना पनि गर्न सकिँदैन । बच्चाबच्चीमाथि डरलाग्दो व्यवहार हामी दिनहुँजसो समाचारमा पढ्न अभिशप्त छौँ, जसले बताउँछन् शिक्षकको चरम दुव्र्यवहारले विद्यार्थीले शरीरको अंग गुमाउँछन् । प्रताडना भोग्छन् ।

यसमा केवल शिक्षकहरूको मात्र गल्ती देखिँदैन । हाम्रो युगौँदेखिको संस्कार पनि यो कुकृत्यको भागिदार हो । विचरा शिक्षक, ऊ पनि त्यस्तै वातावरणमा हुर्कियो । गृहकार्य नगर्दा ऊ पनि आफ्नो शिक्षकद्वारा भक्कुमार कुटियो । र, त्यही व्यक्ति पछि शिक्षक हुँदा उसले त्यही गर्छ, जे उसले भोगेको थियो । यसकारण हामीले शिक्षक निर्माणको प्रक्रियाप्रति औँला उठाउनुपर्छ, शिक्षक भनेको व्यवस्था पनि हो ।

एउटा विद्यालयबाट निकालिएपछि तोत्तो–चान अर्को विद्यालयमा जानेबित्तिकै उसका बदमासीका सबै क्रियाकलाप आफसेआफ निर्मूल हुन्छन् । त्यहाँ पढाउने कोबायासी सर उसलाई अभिभावक लाग्छन् र सहपाठीहरूचाहिँ परिवारका सदस्यजस्ता । कोबायासी सरले पढाउने तरिका बिलकुल फरक खालको छ, जहाँ कहिल्यै पनि विद्यार्थीलाई अल्छी लाग्दैन । उनीहरू बदमासी गर्दैनन् ।

विद्यालय बिदा भएर घर पुग्दा पनि कतिखेर भोलिपल्ट होला र विद्यालय जान पाइएला भनी कुरेर बस्छन् । अनावश्यक गृहकार्यको बोझ कहिल्यै लिनुपर्दैन । त्यहाँ कोबायसी सरले दिने शिक्षा यतिसम्मको प्रयोगमूलक हुन्छ कि उनले किसानलाई नै बोलाएर कृषिको कक्षा चलाउँछन्, केटाकेटीले किसानसँग सिकेर आफैँ बनाउँछन् बगैँचा र रोप्छन् बोटविरुवा ।

त्यसरी तोमोयो स्कुलमा केटाकेटी हुर्कन्छन् र धेरै थोक सिक्छन् । त्यहाँ अपांगहरूले तिरस्कार भोग्नु पर्दैन र चकचक गरे भनेर विद्यार्थीले गाली पनि खानु पर्दैन । कालान्तरमा त्यो विद्यालय दोस्रो विश्वयुद्धको प्रत्यक्ष सिकार हुन पुग्छ । स–साना रेलगाडीको डिब्बाका कक्षाकोठा ध्वस्त हुन्छन्, बमले । त्यसबेला त्यहाँ पढेका विद्यार्थी कालान्तरमा ठूलो सफलता हासिल गर्छन्, कोही वैज्ञानिक हुन्छन्, कोही भौतिकशास्त्री र तोत्तो–चान स्वयंचाहिँ जापानकी प्रख्यात टेलिभिजन प्रस्तोता हुन्छिन् ।

जापानमा ७५ लाख प्रतिभन्दा बढी बिक्री भएको भनिएको यो किताब संसारका अनेक भाषामा अनुवाद गरिएको छ । किताबलाई डा सरोज धितालले नेपाली भाषामा अनुवाद गरेका हुन् । शरच्चन्द वस्तीको सम्पादनले अनूदित भाषामा सुगन्ध थप्ने काम गरेको छ । अनुवाद आफैँमा कहिल्यै पनि पूर्ण हुन सक्दैन । किनभने, यो ‘ओरिजिनल’ लेखाइ होइन । त्यसैकारण पुस्तकमा केही कमजोरी अवश्य छन्, जुन महाभूल भने होइनन् ।

  • जापानी लेखिका तथा टेलिभिजन प्रस्तोता तेच्चुको कुरोयानागीले भोगेको बाल्यकालका अविस्मरणीय सम्झना हुन् यी ।

तोत्तो–चान: झ्यालमा रमाउने त्यो सानी केटी

स्रष्टा  : तेच्चुको कुरोयागानी
नेपाली अनुवाद  :   डा सरोज धिताल
पृष्ठ  :    २००
मूल्य  :    २५० रुपियाँ

प्रकाशित: आश्विन २१, २०७२

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.