समीक्षा : प्रतिबद्धताको सम्बन्धमा

~विष्णु प्रभात~Bishnu Prabhat

जीवन सत्य छ। सत्यकै आधारमा कला ठडिन्छ। कला भौतिक यथार्थकै प्रतिबिम्ब हो, यो जीवनसँगै गाँसिन्छ। जीवन व्यक्तिमा अभिव्यक्त हुने साझा अस्तित्व हो। त्यसैले जीवन स्वतन्त्र भएर पनि समाज आश्रित छ। सामाज व्यक्ति र व्यक्ति समाज बिनापूर्ण बन्दैनन्। यी एक अर्काका पूरक हुन्। कला र जीवन पनि यस्तै छ। श्रमद्वारा खारिएको शीप, सामाजिक व्यवहारद्वारा आर्जित चेतना र प्रयत्नशील संकल्पको साधना यसका कुची हुन् जसले कलालाई अभिव्यक्ति दिन्छ। प्रयत्न बिनाको प्राप्ति संजोगको सम्भावना मात्र हो, यसको कुनै भर हुँदैन। बहाना बिनाको डुंगामा लक्ष्यबिनाको समुद्री यात्रा जस्तै अनिश्चित गति र गन्तव्यमा जीवन व्यक्त हुन सक्दैन। हावाका तरंग र नदीका छालसँगै बग्दा लक्ष्य भए पनि साकार बन्दैन। त्यसैे हाम्रो कला लक्ष्य प्रति हानिनुपर्छ, हाम्रो साहित्य अभिप्राय अनुकूल तानिनुपर्छ र हाम्रो सुसंस्कृतिक सामाजिक परिवर्तनको दाँती र पेंचकीला मानिनुपर्छ। यसका निम्ति स्वतर्स्फूत लेखन हानिकारक हुन्छ किनकि हाम्रो वर्तमान विभाजित छ। वर्ग विभाजित समाजमा चिन्तन पनि विभाजित हुन्छ। वर्गसत्ताको जगेर्ना वा ध्वंश नै त्यस्तो चिन्तनको मेही हुन्छ। त्यसकै वरिपरी कला साहित्य रिङ्छ। त्यस्तो रिंगाई प्रतिबद्ध हुन्छ। त्यसैले सबै कलाकृतिहरू कुनै न कुनै रूपमा खास वर्गको हितमा समर्पित भएका हून्छन्। प्रत्यक्ष वा अप्रत्यक्ष ढंगमा वर्गीय स्वार्थको सार बोकेर नै यथार्थलाई अभिप्राय अनुकूल चिटिक्क सिंगारेर मूर्त पार्दछन्। हुन त कलाकारको हातमा कुची स्वतन्त्र छ, रंगदानीमा रग स्वतन्त्र छ र क्यानभाषको कागज पनि स्वतन्त्र छ। तर यसरी स्वतन्त्रै रहेर ती अभिव्यक्त हुन सक्दैनन्। जसरी जीवन एक्लै व्यक्तिन सक्दैन त्यसरी नै जीवनबिना कला पनि व्यक्तिन सक्दैन। कलाकारको कुची, रंग र क्यानभाषमा कोरेका चित्रहरू अन्तरसम्बन्धित हुन्छन्। मानव समाजको गतिशीलता अन्तरसम्बन्धबाटै हुर्कन्छ। एउटा चित्रमा अनेकौं रेखाहरूको संयोजन हुन्छ अनि मात्र त्यसले अभिव्यक्ति पाउँछ। पदार्थ स्वयं नै एक अर्कोमा अन्तरसंबन्धित हुन्छ भने चेतना त त्यसकै प्रतिविम्ब न हो किन छुट्टा रहोस्? एक अनेकतामा फेरिंदै अनेक एकमा संयोजित हुुनुपर्छ तब नै विकास र निर्माणको नयाँ चरण शुरू हुन्छ। कुनै पनि व्यक्ति, विषय वा वस्तुको विकास स्वतन्त्र र छुट्टाछुट्टै भएन। त्यसो हुनु सम्भव पनि थिएन। त्यसैले हरेक बस्तु, विषय वा व्यक्तिको विकास एक अर्कासँग गाँसिएर मात्र सम्भव हुन्छ। कला साहित्यको अस्तित्व पनि समाजका विभिन्न युगसँगै अन्तरसम्बन्धित हुँदै अझ भनौं त्यसकै आर्थिक, राजनैतिक परिपाटीको अभिव्यक्ति बनेर हुर्कियो, हुर्कंदैछ र हुर्कंदैजानेछ। सामाजिक परिपाटीले वर्गीय सार बोकेको हुन्छ। त्यसले आफ्नो आर्थिक, सामाजिक आधारको जगेर्ना गर्न तरवार मात्र हैन कलमको पनि प्रयोग गर्छ। यही क्रममा वर्गीय संस्कृतिको उदय हुन्छ। त्यसैले यो स्वतः प्रतिबद्ध हुन्छ।

प्रतिबद्ध भन्नासाथ कुनै खास वर्गको दर्शन, दृष्टिकोण र व्यवहारसँगको संलग्नतालाई बुझाउँछ। प्रगतिवादी लेखनमा प्रतिबद्धताको तात्पर्य हो–सर्वहारा वर्गीय अडान, दृष्टिविन्दुर विश्लेषण। प्रतिबद्ध लेखन स्वतर्स्फूत लेखनको उल्टो योजनाबद्ध रूपमा अघि बढ्छ। स्वतर्स्फूत लेखन वास्तवमा भन्ने हो भने, प्रगतिवादी मान्यतालाई भत्काउन ल्याइएको पूंजीवादी लेखनकै एउटा रूप हो। त्यसैले व्यक्तिवादी अराजकतामा डुबुल्की मार्दै बस्छ र सांस्कृतिक आन्दोलनको क्रान्तिकारी चरित्रलाई बंग्याउँदै सामाजिक परिवर्तनका निम्ति बुद्धिजीवी समुदायबाट निभाउनु पर्ने सचेत दायित्वलाई पन्छाइ दिन्छ। यसको तात्पर्य हो श्रमजीवी जनतालाई सांस्कृतिक रूपमा निशस्त्र पार्नु। त्यसैले यो प्रगतिवाद विरोधी छ। प्रगतिवाद व्यक्तिवादी बुद्धिजीवीहरूको दिमागी कसरत होइन, यो त व्यापकतम श्रमजीवी जनताको सांस्कृतिक आन्दोलन हो। त्यसैले प्रगतिवादी साहित्यकारका निम्ति निजी इच्छामा मनपरी कलम चलाउने छुट हुँदैन, सामाजिक उत्तर दायित्व र संगठनात्मक अनुशासनभित्र नै उसको सिर्जना मूर्त बनेर लम्कन्छ। युग चेतनामा व्यूँझेर नै उसले यथार्थलाई आत्मसात गर्दछ। वर्तमान युगको चेतना भन्नु नै द्वन्द्वात्मक भौतिकवादी चिन्तन दृष्टि हो। यसले नै सत्यको जानकारी दिन्छ। वास्तवमा कला साहित्यको कुनै स्वतन्त्र इतिहास छैन, यसको अस्तित्व नै सामाजिक जीवनको इतिहासभित्र हुन्छ। कला साहित्यको छुट्टै स्वतन्त्र अस्तित्वको माग बुर्जुवा चालबाजी मात्रै हो। त्यसैले प्रगतिवादीहरू कला साहित्यलाई उत्पादन सम्बन्धको इतिहाससँगै गाँसेर हेर्छन्। अतः कला साहित्यका सन्दर्भमा प्रगतिवादी दृष्टिकोण भन्नु नै द्वन्द्वात्मक भौतिकवाद हो।
हरेक बस्तुलाई जाँच्ने आधार हुन्छ। सत्यलाई व्यवहारको आधारमा जाँचिन्छ। कलालाई विचारका आधारमा जाँचिन्छ र संस्कृतिलाई उपयोगिताका आधारमा जाँचिन्छ। त्यसैले प्रतिबद्धतालाई पनि जाँच्ने आधारका रूपमा सिद्धान्त र व्यवहारलाई लिइन्छ। सिद्धान्त र व्यवहारको मेल नै प्रतिबद्ध लेखनको आधार हो। मुखको मात्र प्रतिबद्धता अवसरवादमा पतन हुन्छ। व्यवहारको प्रतिबद्धता विचार बिना अन्धो भए जस्तै विचारको प्रतिबद्धता व्यवहारबिना लंगडो बन्दछ। त्यसैले प्रगतिवाद सिद्धान्त र व्यवहारको मेल चाहन्छ। जागृतिको मिर्मिरेमा व्यूँझन थालेका व्यापक जनसमुदायहरू आजका कवि कलाकारलाई रचनाशिल्पमा मात्र हेरेर सन्तुष्ट बन्दैनन्। उनीहरू हाम्रा काम व्यवहारलाई पनि हेर्न, बुझ्न र भोग्न चाहन्छन्। कला साहित्यलाई केवल सौन्दर्यको अनुभूतिमा डुबाउनेहरूले जीवनको व्यापकता र गहिराइलाई ठम्याउन सक्दैनन्। फलतः उनीहरूका निम्ति जनसमुदायका मागको कुनै अर्थ निस्कँदैन, तर हामीहरू जनताका जायज मागलाई सहर्ष स्वीकाछौं र तदनुरूप आफूलाई अघि बढाउने प्रयत्न गछर्ौं। त्यसैले हामीहरू सिद्धान्त र व्यवहारमा एकै हुन्छौं। सृजन कार्यमा प्रतिबद्ध लेखनका पक्षमा खडा हुन्छौं। प्रतिबद्ध लेखन भनेको–कुनै खास परिधिभित्र रही निश्चित अभिप्रायमा, प्रभाव र परिणामलाई ख्याल राख्दै लेखिने योजनाबद्ध लेखन हो। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसको वर्गीय बाना कायम हुन्छ र लामो समयसम्म रहन्छ। हामीले चर्चा गरेको प्रतिबद्धता सर्वहारा वर्गीय सम्बद्धता हो। जसको वैचारिक र व्यवहारिक दुवै पक्षमा हाम्रो ध्यान पुगेको हुनुपर्दछ।

सबै लेखक कलाकारहरू बिना कुनै अपवाद सचेत वा अचेत रूपमा विचारधारात्मक रूपले प्रतिबद्ध भएकै हुन्छन्। समाजको सदस्यका हैसियतले वर्गविभाजित समाजका लेखकहरू वर्ग विषमताबाट उत्पन्न हुने वर्गसंघर्ष र त्यसको बौद्धिक लडाईबाट अलग रहन सक्दैनन्। यसले गर्दा कुनै पनि बस्तु वा घटनालाई हेर्ने उनीहरूको दृष्टिकोण अथवा कृतिहरू जतिसुकै निस्पक्ष भनिए पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कुनै न कुनै वर्गको पक्षमा खडा भएकै हुन्छन्। विचारको वर्गीय सम्बद्धता बिना व्यवहारिक क्षेत्रमा जुट्न नसकिने हुनाले नै प्रतिबद्ध लेखनका निम्ति वर्ग अडानको सुस्पष्टता प्राथमिक सर्त बनेको हुन्छ। वर्गीय सम्बद्धता जीवन दर्शन र व्यवहारसँगै गाँसिएर व्यक्त हुन्छ। यदि कसैले अझै केही समयसम्म बीचमा बसेर कलम चलाउँछु भन्ने अडान राख्छ भने ऊ आफ्नो सम्बद्धतालाई लुकाउने असम्भव प्रयासमा तल्लीन छ भनी बुझ्नु पर्दछ। किनकि देश, काल, परिस्थिति र वर्गीय विचारधाराबाट स्वतन्त्र रहने साहित्य, साहित्यकार र पाठकहरू हुनै सक्दैनन्। आइक्वीङ भन्नुहुन्छ–“यता र उता झुल्ने ढुल्मुलेहरू हरेक क्षण आफूलाई ठीक ठाक पार्नमा व्यस्त हुन्छन्, यस्ता मान्छेहरू केवल खेलौना बन्दछन् र मानव व्यवहारको नमुना बन्न कहिल्यै सक्दैनन्। ” मार्क्स, एंगेल्सको पनि स्पष्टै मत थियो–“कुनै पनि लेखक आफ्नो समयका संघर्षबाट अलग रहेर लेख्न सक्दैन। उसले ती संघर्षहरूमा जानेर वा नजानेर होस् कुनै न कुनै पक्ष लिएकै हुन्छ र त्यसलाई नै आफ्ना रचनाहरूमा व्यक्त गर्दछ।” यसरी लेखकहरूमा कुनै न कुनै रूपले वैचारिक प्रतिबद्धता कायम भएकै हुन्छ। त्यसैले लेनिन जोड दिएर भन्नुहुन्छ–“कला साहित्यमा सर्वहारा लक्ष्यको जीवितधारा प्रवाहित हुनुपर्दछ।”

प्रतिबद्ध लेखनको वैचारिक पक्षका सन्दर्भमा चर्चा गर्दा हामी सिद्धान्तको महत्वलाई जोड दिइरहेका हुन्छौं। किनकि “एउटा विश्वदृष्टिकोण जीवनप्रतिको हेराईबिना मानवीय व्यक्तित्वको पूर्ण तथा स्वतन्त्र अभिव्यक्ति हुन सक्दैन।” राल्फफक्स अगाडि भन्नुहुन्छ–“आजको परिस्थितिमा त्यो दृष्टिकोण केवल द्वन्द्वात्मक भौतिकवादी मात्रै बन्न सक्दछ। जसले कलाको क्षेत्रमा नयाँ समाजवादी यथार्थवादलाई जन्म दिएको छ।” यही वास्तविकताले गर्दा नै लुसुन मार्क्सवादी बन्नुभयो, उहाँ भन्नुहुन्छ–“मार्क्सवाद ज्यादै नै स्पष्ट सिद्धान्त हो, मार्क्सवादी दृष्टिकोणकै कारण आज मैले थुप्रै समस्यालाई बुझ्न सकेको छु, जसलाई म पहिले बुझ्दैनथें।” वास्तवमा सिर्जनशील साहित्यकारका निम्ति वास्तविकतालाई ठम्याउने कसी नै मार्क्सवादी दृष्टिकोण हो। मानव जातिको हितमा पूर्णरूपले समर्पित यो दर्शनले कला साहित्यको सर्वव्यापी सिद्धान्तलाई सिर्जनात्मक रूपमा लागु गर्दै राष्ट्रिय जीवनशैलीमा उभ्याई दिन्छ। त्यसैले यो विश्वव्यापी बन्दै गैरहेको छ। विश्व साहित्यका महान् लेखकहरू पनि कोही बुर्जुवा वर्गसँग सम्बद्ध छन् भने कोही सर्वहारा वर्गसँग। यसबाट स्वतन्त्र कोही छैनन्। टाल्स टायको ढुल्मुले चरित्रलाई आलोचना गर्दै जनताको क्रान्तिकारी पंक्तिमा सामेल भएका मेक्सिम गोर्की, आफ्नो राजनैतिक जीवनको प्रारम्भ देखिनै बोल्सेभिक समर्थक थिए। लुसुन चिनियाँ सर्वहारावर्गको मुक्तियुद्धमा प्रत्यक्ष भाग लिने मार्क्सवादी योद्धा हुन्। लुसुनको स्मृतिमा माओ भन्नुहुन्छ–“उनी राष्ट्रिय मुक्ति आन्दोलनका यस्ता बहादुर मार्गदर्शक थिए जसले क्रान्तिमा धेरै सहायता गरे। उनी कम्युनिस्ट पार्टीको सदस्य थिएनन् तर उनको चिन्तन, व्यवहार र लेखन सबै मार्क्सवादी थियो।” वैचारिक प्रतिबद्धता सँगै जनताको संघर्षमा व्यवहारकि सम्बद्धता कायम गर्ने अस्त्रोभस्की, जुलियस, फ्युचिक, राल्फ फक्स, क्रिष्टोफर कडबेल, हावर्ड फास्ट, सरोज दत्त, पाब्लो नेरूदा, माओतुन, कोमोजो, मायकोब्स्की, याङमो जस्ता अरू मुलुकका लेखक र नेपालमै पनि नेत्रलाल अभागी, ईश्वरी प्रसाद आचार्य, गोकुल जोशी जस्ता व्यक्तित्वले प्रतिबद्ध लेखनको धारालाई सशक्त र उज्जवल बनाएर गएका छन्। पद र प्रतिष्ठाको मोहलाइ फ्याँकेर कामदारवर्गको संघर्षमा सामेल भएका कवि गोकुल जोशी श्रमजीवी वर्गका प्रतिबद्ध लेखक हुन्। प्रतिबद्ध विचारको आस्थामा निरन्तर जुटेका श्यामप्रसाद शर्मा, युद्धप्रसाद मिश्र, मोदनाथ प्रश्रित, केवलपुरे किसान र गोविन्द भट्ट आदि यस्तै ज्यूँदा प्रतिभा हुन्। वास्तवमा प्रतिबद्धताकै कारणले त सत्ताधारी वर्गले पुस्तक, पत्रपत्रिकालाई प्रतिबन्ध लगाउँछन्। लेखक, कलाकारलाई जेल हाल्छन्। तर स्वाभिमानी लेखकहरू फाँसीको फन्दामा पनि मुक्तिको गीत गाउँछन्। त्यसैल अफ्रो एसियाली लेखक सम्मेलनले प्रतिबद्ध लेखनको पक्षमा दृढतासाथ उभिने आग्रह गर्दै कवि कलाकारलाई संघर्षशील जनताको अघिल्लो पंक्तिमा सामेल हुनुपर्ने आवश्यकतामा जोड दिएको हो। हाम्रा सबै बुद्धिजीवी, सांस्कृतिक कलाकर्मीहरूले यसलाई राम्ररी पालन गर्दै विचारधारात्मक रूपमा प्रतिबद्ध बन्नै पर्दछ।
तर यी सबै चर्चाको तात्पर्य मार्क्सवादीहरू सौन्दर्यशास्त्रको उपेक्षा गर्छन् भन्ने कदापि होइन। बरू योजनाबद्ध लेखनलाई जोड दिंदा विचार र कलाको सन्तुलन कायम गर्दै कुनै खास चरणमा कुनै खास पक्षलाइ तुलनात्मक रूपमा अलि बढी जोड दिनु विल्कूल स्वाभाविक हुन्छ। माओ–त्सेतुङले पनि क्रान्तिकारी गृहयुद्ध कालमा कला साहित्यको चर्चा गर्दै येनानमा भन्नु भएको थियो –“मैले देखे अनुसार अहिलेको अवस्थामा राजनैतिक सवालप्रति ध्यान दिने समस्या नै बढी महत्वको देखिन्छ। ” डा. रामविलास शर्मा त “राजनीतिसँग सम्बद्ध साहित्य नै उच्च बन्दछ” भन्नुहुन्छ। वास्तवमा हुन पनि त हो मेक्सिम गोर्कीको “आमा” कसरी प्रसिद्ध भयो? रूसी जीवनको झाँकी खिचेर मात्र हैन कि अक्टुवर क्रान्तिको राजनैतिक झलक दिएर। त्यसैले हाम्रो देशको वर्तमान परिस्थितिमा प्रतिबद्ध लेखनको प्रश्नले विशेष महत्व राख्छ। किनकि वर्गदर्शनको सुस्पष्टताले नै सिर्जनालाई खंदिलो बनाउँछ। बरू निरंकुश शासनका कतिपय अप्ठेरालाई टार्न गुमनामको प्रयोग अनिवार्य बन्न पुग्छ।

कोही कोही व्यक्तिहरू अझै पनि सिद्धान्त र व्यवहारलाई अन्तर सम्बन्धित नदेखि “सैद्धान्तिक पक्षधरता एउटा कुरा हो, सक्रिय सम्बद्धता अर्कै कुरा हो ” भन्ने उट्पट्याङ कुरा गर्दैछन्। यस्ता सोचाईहरू निम्न पूंजीवादी भाबुकताको सुविधाभोगी कामना मात्र हुन्, जो प्रगतिवादी सांस्कृतिक मान्यताको उल्टो छ। प्रगतिवाद एउटा नयाँ सांस्कृतिक प्रणाली पनि हो जसले सर्वहारावर्गको ध्येयलाई साकार पार्न सघाउँछ। संस्कृतिलाई व्यक्तिस्वार्थको पिंजडाबाट मुक्त पारी समाज र राष्ट्रको हितमा अघि बढाएर सिंगै मानव जातिको सेवामा लगाउँछ। प्रगतिवाद वैचारिक प्रतिबद्धतामा मात्र सीमित रहँदैन। यो जनसमुदायसँग एकाकार बन्दै व्यवहारमा पनि प्रतिबद्ध बन्छ। त्यसैले गोविन्द भट्ट भन्नुहुन्छ–“बुद्धिजीवीहरूले दर्शक मात्र हैन सक्रिय पात्र पनि बन्नुपर्दछ। हाम्रो जस्तो पछौटे समाजमा त उनीहरूको झन् महत्वपूर्ण भूमिका हुन्छ। ”

प्रतिबद्धताको व्यवहारिक पक्षका सन्दर्भमा प्रगतिवादी सांस्कृतिक आन्दोलनका अग्रणीहरूले थुप्रै अनुभवहरू बटुलेका छन्। युंजे पोत्तरले पेरिस कम्युनिष्टका सर्वहाराको रगतले इन्टरनेशनल मात्रै लेखेनन्, बरू सर्वहारावगको युद्ध मैदानमै पसेर लडाकु वीर बन्दै फासिष्ट थियेरका विरूद्धमा मोर्चा कसे। फ्रान्सेली कवि हेनरी बारबुसले फासिष्टवाद विरोधी संघर्षको नेतृत्व मात्र गरेनन् युद्ध मोर्चामा लड्दै वीर गति पनि प्राप्त गरे। राल्फ फक्स, क्रिस्टोफर कडबेल र जुलियस फ्युचिकका यस्तै वीरगाथाहरू छन्।चिनियाँ क्रान्तिकारी लेखक च्याङक्वाङछि प्रतिक्रियावादी सत्ताका विरूद्धमा लड्दै शहीद भए। भारतीय लेखक सरोज दत्तले बुर्जुवा प्रजातन्त्रको मुकुन्डो च्यात्दा बलिदान हुनुपर्‍यो। नेपाली साहित्यका जनलेखक गोकुल जोशी र नेत्रलाल अभागीले पनि जनसंघर्षमै गाँसिएर आफ्नो जीवन बिताए। उदीयमान कवि रत्नकुमार बान्तवा राजतन्त्रको शिकार बने। यी सबै घटनाहरूले के सिद्ध गर्छ भने प्रगतिवादीहरू क्रान्तिकारी हुन्। क्रान्तिकारी लेखकहरूले संगठनात्मक अनुशासनलाई पालन गर्दछन्। उनीहरूको दृष्टिकोण श्रमजीवी वर्गको दृष्टिकोण हो र उनीहरूका रचनाले नौलो समाज व्यवस्थाको निर्माणमा सघाउ पुर्‍याउँछन्। उनीहरू जनताको संघर्षमा कलम र बन्दुकको दुवै मोर्चा थाम्ने कुशल सिपाहीहरू पनि हुन्। त्यसैले त हाम्रा रचनाहरूले क्रान्तिको आधारभूमि तयार पार्छन, अर्थात् “क्रान्ति शुरू हुनुभन्दा अघि यसले क्रान्तिकारी विचारधारा फिंजाएर क्रान्तिको निम्ति सैद्धान्तिक बाटो तयार गर्दछ।” यसका निम्ति जनताको खाँचो र रूची, मर्म र मागसँग परिचित हुनुपर्छ। श्यामप्रसाद शर्मा भन्नुहुन्छ– “जनताका लेखकको जीवन सधै नै जनताका सुखदुःखसँग गाँसिएको हुन्छ।” त्यसैले जनतासँग नभिज्ने सांस्कृतिक कार्यकर्ता सेना बिनाको कमान्डर जस्तै हुन्छन्, जसको गोलीबाट बैरीहरूलाई निहुराउन सकिन्न। यसकारण माओ भन्नुहुन्छ–“लेखक कलाकारहरूले व्यापक जनसमूहका माझमा जानै पर्छ। उनीहरूले निसंकोच भएर भित्री दिलैदेखि ज्यामी, किसान र सिपाही जनताहरूसँगै मिलेर लामो अवधिसम्म काम गर्र्नै पर्छ। संघर्षको आगोमा पस्नै पर्छ। यही नै व्यवहारिक रूपमा प्रतिबद्ध हुने बाटो हो।

प्रतिबद्धताको व्यवहारिक पक्ष नै वैचारिक पक्षको कसौटी हो। किनकि व्यवहारबिना मानव आकांक्षाहरूको गरिमा र गहिराईलाई बुझ्न सकिंदैन। विचारलाई व्यवहारमा लागु गर्दा नै प्रभाव सिर्जना हुन्छ। कृतिको प्रभाव राम्रै परे पनि कृतिकार बेइमान बनेपछि त्यो क्रमशः उपेक्षित बन्दै इतिहासको गर्भमा बिलाउन पुग्छ। त्यसैले सिद्धान्त र व्यवहार सधै मेल हुनुपर्छ। माओ–त्सेतुङ भन्नुहुन्छ–“कुनै राजनैतिक पार्टी वा डाक्टरलाई जाँच्दा हामीले मुख्य गरी हेर्नु पर्ने कुरा हो– उनीहरूको व्यवहार र कामको नतिजा। एउटा लेखकलाई जाँच्दा पनि हामीले हेर्नुपर्ने मुख्य कुरा यही हो।” अतः प्रतिबद्ध लेखनको सन्दर्भमा हामीले लिनुपर्ने अडान पनि यही हो। हामी सबैले यसलाई राम्ररी पक्रौं। यसैमा हाम्रो जीत निश्चित छ, जुटौं।

(२०४१/७/२)

(स्रोत : हाँक विक्ली – वर्ष २८, अंक २६ – २०६८ जेष्ठ ०४ गते, बुधबार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.