कथा : मुक्ति

~कुमुद अधिकारी~kumud Adhikari_1

अरे यो के ? होसमा आउँदा त म आफैँलाई खित्का छोडिरहेकी पाउँछु। हुन पनि अचम्मै हो, आठौँ आश्चर्यजस्तै, होसमा फर्किनु त्यो पनि खित्का छोड्दै। तर अहिले मलाई त्यस्तै भइरहेको छ। म खित्का छोडिरहेकी छु। खित्कैका क्रममा म देख्छु मेरा सिद्धार्थ मलाई हत्केलामा कुतकुती लगाइरहनुभएको छ। म खित्किएको एकछिन पछाडि उहाँले कुतकुती लगाउन छाड्नुभयो र सोध्नुभयो- “यशू ! अहिले दुखाइ कस्तो छ?”

मैले आँखा खोलेँ र चारैतिर नजर घुमाएँ।

“अरे ! म कहाँ ?” प्रश्न फुत्कियो मेरा मुखबाट। मलाई राम्रै गरी थाहा थियो म अचेत हुनु अगाडि आफ्नै डेरामा थिएँ। बेलुकी छ बजेतिर खाना खाइवरी म धन्दा गर्न लागेकी थिएँ र उहाँ खाटमा पल्टिएर ‘नेपाल’को कुनै पुरानो अङ्क पढ्न लाग्नुभएको थियो। अचानक मलाई प्रसव वेदनाले च्याप्यो। धन्दा गर्नै सकिनँ र उहाँका छेउमा गएर खाटमा पल्टिएँ। वेदना असह्य हुँदै गयो, त्यसपछि मैले केही चाल पाइनँ।

मेरो प्रश्नको वास्तै नगरी उहाँले फेरि सोध्नुभयो- “यशू ! दुखाइ कस्तो छ ?”

मैले भनेँ- “अहिले त दुखेको छैन।”

उहाँ मुसुक्क हाँस्नुभयो। म फेरि खुसीले लपक्क भिजेँ। मैले देखेँ म कुनै नर्सिङ होमको म्याटर्निटी वार्डमा रहेछु। मेरा दायाँबायाँ अरू बेडहरू रहेछन्, मजस्तै आमा हुनलागेका महिलाहरू रहेछन्। मेरा अगाडि सिसैसिसाको पर्खाल रहेछ र त्यसमा लागेका पर्दामा हँसिला र स्वस्थ बच्चाका तस्बिरहरू रहेछन्। उहाँले मलाई फेरि हत्केलामा कुतकुती लगाउनुभयो र म खित्का छोड्न थालेँ। देखेँ छेउछाउका महिलाहरूका ओठमा पनि मुस्कान छरिएको थियो। मलाई लाग्यो म र मेरा श्रीमान्‌बाट छचल्किएर पोखिएको हर्षले उनीहरूलाई थोरैमात्र पनि भिजायो नै होला।

मैले उहाँको अनुहार हेरेँ, उहाँको मुस्कान यथावत् थियो। अचानक मेरो नजर उहाँको सर्टमा पर्‍यो। उहाँले नीलो नीलो सर्ट लगाउनुभएको रहेछ। त्यही नीलो सर्ट जुन उहाँले लगभग अठार महिना पहिलेको त्यस सुनौलो दिनमा पहिलोपल्ट लगाउनुभएको थियो। म डेराको बरन्डामा निस्केर रेलिङमा जीउ अड्याएर उभिएकी थिए र अगाडिपट्टिको बाँसको झ्याङमा विगतका पन्नाहरू पल्टाउँदै थिएँ। मेरा दुईवटै हातहरू पछाडि थिए। देब्रे हातले दाहिने हातको नारी समातेकी थिएँ। सायद मेरा अनुहारमा विषादका बादलहरू छाएका थिए होलान्। के गर्नु जति नै नराम्रो भए पनि जिन्दगीको किताबलाई फाल्न सकिँदो रहेनछ। आफूसँगै भएपछि हुरीबतास, हावापानी, घामछायाले किताबका पन्नाहरूलाई पल्टाइरहँदा रहेछन्। उहाँले छेउमै बसेर मलाई निकैबेर हेरिरहनुभएछ। अचानक उहाँले मलाई दाहिने हातको हत्केलामा कुतकुती लगाउनुभयो र म खित्का छोडी हाँसेँ। मेरा अनुहारबाट विषादका बादलहरू हटे र मैले पढिरहेका जिन्दगीको किताबका पानाहरू पनि आराम गर्न लागे।

तर खित्का छोड्दाछोड्दै मलाई आश्चर्य लाग्यो। मलाई हँसाउन हत्केलामा कुतकुती लगाउनुपर्छ भन्ने कुरा त मेरी आमालाई मात्र थाहा थियो। फेरि उहाँलाई कसरी थाहा भयो। कि आमाले नै बताउनुभयो कि ? तर बताएको भए हाम्रो बिहे भएको पनि छ महिना भैसकेको थियो तर अहिलेसम्म त उहाँले त्यसो गर्नुभएको थिएन। कि यो नीलो सर्टमा नै केही रहस्य छ? मैले केही बुझ्न सकिनँ। सोधेँ- “सिद्धार्थ मलाई हँसाउन हत्केलामा कुतकुती लगाउनुपर्छ भन्ने कुरा तपाईँलाई कसरी थाहा भयो ?”

त्यसबेला मलाई तीनछक्क पार्दै उहाँले भन्नुभएको थियो- “यशू तिमीलाई थाहा छ, माया गर्ने मान्छेको सिक्स्थ सेन्स हुन्छ नि क्या, छैठौँ इन्द्रिय ! त्यसैले चाल पाएको।” म अझै रनभुल्ल नै छु यो सिक्स्थ सेन्स भनेको के हो।

अहिले पनि नीलो सर्टमा सिद्धार्थ त्यत्तिकै आकर्षक देखिइरहनुभएको छ। उहाँको उपस्थितिले नै मेरा दुखाइहरूलाई आधा घटाइसकेको थियो। देखेँ उहाँको हातमा ‘नेपाल’ साप्ताहिकको नयाँ अङ्क रहेछ। पढ्नमा साह्रै रुचि राख्‍ने मेरा श्रीमान् ‘नेपाल’ नियमित रूपमै पढ्नुहुन्थ्यो। विशेष उहाँलाई मनपर्ने स्तम्भ डा. अभि सुवेदीको समयरेखा थियो। तर यसपल्ट मैले देखेँ उहाँको अनुहारमा केही मलिनता छाएको छ। हो त ! ठ्याक्कै यस्तै मलिनता केही महिनाअगाडि मैले उहाँको अनुहारमा देखेकी थिएँ। ठाउँ त्यही थियो- हाम्रो दुईकोठे डेराको बैठक भने पनि बेडरुम भनेपनि मिल्ने कोठा। उहाँ खाटमा पल्टिरहनुभएको थियो। उहाँका हातमा ‘नेपाल’को कुनै पुरानो अङ्क थियो। म छेउमै बसिरहेकी थिएँ।

अचानक उहाँले रसिला आँखा पारेर भन्नुभयो- “यशू ! अहिले भगवान् प्रकट भएर एउटा इच्छा पूरा गरिदिन्छु भन भन्नुभयो भने म के वर माग्छु थाहा छ ?”

मैले अबोध भएर भने- “थाहा छैन त !”

उहाँले भन्नुभयो- “म माइखोलालाई उल्टो बगाइमाग्थेँ।”

मैले फेरि सोधेँ- “किन ?”

मुखले जबाफ दिनुको साटो उहाँले पल्टिइरहेको ‘नेपाल’को पातो मतिर सारिदिनुभयो। त्यस पातामा छापिएको थियो कृष्णभूषण बलको कविता “इलाम तिम्रो काख छाडी चिसो बगेँ।” मैले कविता पढेँ। मलाई जबाफ चाहिएन।

***

उहाँले सायद मेरो मन पढ्नुभएछ क्यार सोध्नुभयो- “के भयो यशू ?”

मैले भनेँ- “खै केही भएको छैन त !”

भन्न त भनेँ तर मभित्र केही न केही त अवश्य भै नै रहेको थियो। उहाँले फेरि भन्नुभयो- “यशू उः त्यो झ्यालबाहिर हेर त !”

मैले मुन्टो फर्काएर दाहिनेतिर भएको झ्यालबाहिर हेरेँ। आहा ! सुनाखरी ! सुनाखरी देखेर त मैले झन्डै आफैँलाई पनि बिर्सेँ। नबिर्सुँ पनि कसरी सुनाखरी र म लगभग पर्यायवाची नै भैसकेका छौँ।बिर्सेँ म सुत्केरी हुन लागिरहेकी छु। झ्यालबाट बाहिर देखिएको दृश्यमा मेरो जिन्दगी अटाएको थियो। झ्यालबाहिर बरन्डामा काठका गमलाहरू झुन्ड्याइएका थिए जसबाट झुन्डिएका सुनाखरीका लहराहरूले आफ्नो सुन्दरता छरिरहेका थिए। सुनाखरीका दुईवटा लहराहरू झुन्डिएर मालाको रूप लिएका थिए। अरे ! यो के ? त्यो माला त सिद्धार्थले पो लगाउनुभएको छ। विश्वास लागेन, आँखा मिचेर फेरि हेरेँ। अहँ भ्रम त होइन ? फेरि आँखा मिचेर हेरेँ। अबचाहिँ पक्का विश्वास भयो । उहाँ सिद्धार्थ नै हो भनेर। यो कस्तो अचम्म लागिरहेको छ मलाई ! घटनाहरू नै त्यसरी घटिरहेका छन्। मलाई लाग्यो मैले यो खुसीलाई नियन्त्रण गर्नुपर्छ। कसैले भनेको सुनेकी थिएँ अनियन्त्रित खुसीको बाढीले त राम्रो गर्दैन है, तर के गर्नु भेल भनेको भेल नै हो, त्यसको पनि अर्को रङ हुन्छ र ? भेललाई पनि नियन्त्रण गर्न सकिन्छ र ? बाहिर हेरेँ – आहा ! कति राम्रो दृश्य ! सुनाखरीको माला सिद्धार्थले लगाएको। सिद्धार्थ मलाई सुनाखरी देखाएर बाहिर निस्कनुभएछ र सुनाखरीको गमला उतापट्टि उभिएर मलाई झ्यालबाट हेर्नुहुँदो रहेछ। मेरा आँखाहरूबाट खुसीका आँसुहरूले फुत्किने मौका पाइहाले।

सुनाखरीको माला ! हो, सुन्दा अचम्मै लाग्छ सुनाखरीको पनि माला बनाउँछन् र ? तर मैले बनाएँ र त्यही माला सिद्धार्थलाई लगाइदिएर मैले उहाँसँग बिहे गरेँ, दुई वर्षअगाडि। दुई वर्ष अगाडि हामी बिहे गर्न दार्जीलिङ आएका थियौँ। महाकाल बाबालाई साक्षी राखेर हामीले बिहे गरेका थियौँ। हामी दुई बेहुलाबेहुली मात्र उपस्थित भएको बिहेमा मैले उहाँलाई सुनाखरीको माला लगाइदिएकी थिएँ भने उहाँले मलाई सुनको औँठी। बस अब हामी पतिपत्‍नी थियौँ । त्यस पछि हामी सुनाखरी हेर्न भनेर बोटानिकल गार्डेन झरेका थियौँ।

***

मेरा अगाडि नर्सहरू सेतालुगा लगाएर आएकाले मैले वर्तमानमा त फर्किनै थियो। नर्सहरूको सेतो लुगामा नीलो अक्षरमा लेखिएको थियो- प्लान्टर्स नर्सिङ होम। अबमात्र मलाई मेरो यथास्थितिको ध्यान भयो। मलाई त दार्जीलिङको प्लान्टर्स नर्सिङ होममा पो ल्याइएको रहेछ र पो त्यति राम्रा सुनाखरी रहेछन् बरन्डाभरि। वर्तमानले मलाई सचेत गरायो। अब हाम्रो जिन्दगीको किताबमा नयाँ अध्याय लेख्‍ने बेला भएको छ। पन्नाहरू खाली छन्। खै ! कुन्नि हो कसरी जिन्दगीका खाली पानाहरू भर्ने ? मैले र सिद्धार्थले चाहेजसरी नै कलम चल्ने हो कि होइन ? विधिको विधानले हात समाएर जिन्दगी लेख्दा हामी कहिल्यै नकार्न सक्तैनौँ। त्यो दिव्य हातले आफूले चाहेजस्तै कलम डोर्‍याइदेयोस् भन्ने मात्रै चाहना हो।

सिद्धार्थ फेरि भित्र पस्नुभयो। गुलाफी सुनाखरीको एउटा थुँगो लिएर। उहाँको बानी पनि अनौठो छ। मेरो मनलाई कति सजिलै पढ्नुहुन्छ। खास भन्नुपर्दा अहिले मलाई त्यही सुनाखरीको थुँगो हातमा लिएर खेलाउन मन लागिरहेको थियो।

“सिद्धार्थ ! सिद्धार्थ !” म थामिनै सकिनँ। लाग्नेलाई नाम काढेर बोलाउनुहुन्न भन्ने मान्यतालाई मैले कहिल्यै मान्यता दिन सकिनँ। मेरा मनमा मायाका लहरहरू उर्लेका बेला जहिल्यै म उहाँलाई नाम काढेरै बोलाउने गर्थेँ र अझै गर्छु पनि।

त्यस्तै गुलाफी फूल फुलेको सुनाखरीको बिरुवा बोकेर त सिद्धार्थ पहिलोपल्ट मैले पढाउने गरेको फिक्कलको एमरेल्ड एकेडेमीको कार्यालयमा पस्नुभएको थियो। सुनाखरीको फूल बोकेका सिद्धार्थ कुनै बाधा बिना मेरा आँखाहरूबाट हृदयमा छिरिसक्नुभएको थियो। मलाई मेरो सोचप्रति ग्लानि भएको थियो तर सुनाखरीजस्तै प्रस्फुटित उहाँको व्यक्तित्वमा मैले केही खोट देखाउन सकिनँ। उहाँ त्यस क्षेत्रको स्रोतव्यक्ति हुनुहुँदो रहेछ र एमरेल्ड एकडेमीमा तथ्याङ्क सङ्कलन गर्न आउनुभएको रहेछ।

त्यसपछि त सुनाखरीको नाताले भएको परिचय पछि गएर प्रणयसूत्रमा परिवर्तन भयो।जिन्दगीको एउटा नयाँ अध्याय खुल्यो र लेखिन थालियो।

सिद्धार्थको हातबाट फूल लिएर म खेलाउन थालेँ। हेरेँ उहाँको अनुहार।त्यही ओजयुक्त र आकर्षक अनुहार। अचानक पेटमा केही अप्ठ्यारो अनुभव भयो र देब्रे कोल्टो फेरेर सुतेँ। आँखाहरू फेरि वरिपरिका दृश्यमा झुम्मिन थाले। देब्रेतिरको झ्यालबाहिर बरन्डामा पनि काठका गमलामा सुनाखरीहरू झुन्याइएका रहेछन्। तर किन हो एउटा सुनाखरी ओइलाएको रहेछ। लौ ! किन हो त्यो ओइलाएको ? यसले त राम्रो सङ्केत गरेन भन्ने कुराले मेरो मनमा चिसो पस्यो।

त्यो दिन सम्झँदा मलाई अझै पनि कहाली लागेर आउँछ। त्यसबेला त म सायद बुझ्ने नै भइसकेकी थिइन होला। त्यस दिन म बिहानै उठेर आफूलाई मनपर्ने सुनाखरी ओइलाएको देखेर स्याहार्न लागिरहेकी थिएँ। भुटानको राजधानी थिम्पूनजिकैको पहाडी बजार टासी छो डोङको एउटा कुनामा हाम्रो घर थियो। बुबा सबैरै पसलतिर लागिसक्नुभएको थियो। फूलबारीमा सुनाखरी स्याहार्न व्यस्त रहेकी दस वर्षकी केटी थिएँ म त्यसबेला। मेरा लागि संसार भनेको रमाइलो मात्र थियो। अझ त्यसमाथि सुनाखरीले त सुनमा सुगन्ध थपेको थियो।

अचानक आमा कराएको सुनेँ- “यशोदा ! यशोदा ! छिटो भित्र आइज।” म दौडेर भित्र गएँ। आमाले हतार हतार भित्री कोठामा लगेर भन्नुभयो- “जा मेरी छोरी, पछाडि गएर धानको भकारीमा लुक्। जिग्मेका सेना आउँदैछन् रे ! बलात्कार गर्छन् रे।” आमाले भनेको बलात्कार त मैले बुझिनँ तर आमाको आज्ञाको अवज्ञा गर्न मैले सिकेकी थिइनँ। त्यसैले घरपछाडि कटेरामा गएर धानले भरिएका दुईवटा ठूला भकारीका बीचमा आधामात्र भरिएको भकारी थियो। त्यसमा चित्राले बुनेर बनाइएको बिर्को थियो। म त्यही भकारीभित्र पसेँ र आफूलाई त्यही बिर्कोले छोपेँ। धानमा लाग्ने पुत्लीहरू मेरा साथीहरू भए। धानको धूलोले मलाई माया गर्‍यो। आमाले मैले नबोलाई ननिस्कन भनेकाले सहेरै बसिरहेँ धानको थुप्रामाथि। मनमा कुतूहल थियो के होला त बलात्कार भनेको !

केहीबेरपछि बुट बजारेको आवाज सुनियो। मैले नबुझ्ने भाषामा उनीहरू कराइरहेका थिए। भकारीमै बसेर भए पनि मैले उनीहरू चारैतिर घुमेको चाल पाएँ।

त्यसपछिका केही दिन निकै कष्टकर बिते। मैले मेरो ओइलाएको सुनाखरीलाई स्याहार गर्न पाइनँ। धेरैजसो समय लुक्न र निस्कनमै बित्यो। बुट बजार्नेहरू आएर आमालाई नानाथरीका प्रश्नहरू सोधेर हैरान गरेको म भकारीबाटै चाल पाउँथेँ, उनीहरूको भाषा नबुझे पनि लवज भने राम्ररी बुझ्दथेँ। अनि एक दिन हामीलाई ट्रकमा हालेर थिम्पू हुँदै फुन्सोलिङमा ल्याएर पछारियो।

“के हेरेकी यशू ?” सिद्धार्थको प्रश्नले मलाई झस्क्यायो। मैले उहाँतिर नहेरिकनै भनेँ- “संसार हेरिरहेकी छु सिद्धार्थ। कति विचित्रको छ हगि यो संसार ? सुखको ताना र दुःखको बाना।”

सिद्धार्थको जबाफ थियो- “यशू ! तिमी ती आँखाबाट संसारका तानाबाना हेर्छ्यौ र म चाहिँ हाम्रो जिन्दगी हेर्छु।” अब मैले उहाँको अनुहार नहेरी सकिनँ। आहा ! कति मनमोहक मुस्कान !
देखेँ उहाँले एउटा किताब बोक्नुभएको रहेछ। कतिबेला चोकबजार झरेर किताब किन्न भ्याउनुभयो, मलाई त पत्तै भएन। मनमा खुल्दुली लाग्यो र सोधेँ- “के किताब हो ?”

उहाँले मलाई किताबको अगाडिको भाग देखाइदिनुभयो। “कथास्था” आहा ! क्या मजा ! मैले कथास्थाको खीर कथाबाहेक अरू कथाहरू पढेकी थिइनँ। अब फेरि सबै कथाहरू पढ्न पाइने भयो भनेर मन खुसीले बुरुक्क उफ्र्यो। मैले फेरि सोधेँ- “इन्द्रबहादुर राईको घर देख्‍नुभएको छ ? एकपल्ट भेट्न पाए हुन्थ्यो।” यो के भएको मलाई ? साहित्य भनेपछि म आफू आमा बन्न लागेको पनि बिर्सन थालेँछु। उहाँले भन्नुभयो- “तिम्रो डेलिभरी सकिएपछि एकपल्ट घर खोज्दै आशीर्वाद लिन जाउँला नि, हुन्न ?” मैले स्वीकृतिमा टाउको हल्लाएँ।

अचानक बाहिर हल्लाखल्ला भयो। मैले मेरा अगाडिको सिसाको भित्ताबाट बाहिर हेर्ने प्रयास गर्नलागेँ तर नर्सहरूले हतारहतार पर्दा लगाइदिए। बाहिरको आवाज हल्का सुनिए पनि स्पष्टसँग बुझिँदैनथ्यो। मैले सिद्धार्थलाई के रहेछ बुझेर आउनू न भनी इसारा गरेँ। उहाँ एकछिनपछि कालो अनुहार लिएर आउनुभयो र भन्नुभयो- “दुईवटा केटा मिलेर तल मुर्दाहट्टीनेर एउटी दस वर्षकी बालिकाको बलात्कार गरेछन्। मान्छेले कुटेर तिनलाई अधमरो बनाएपछि पुलिसले उपचारका लागि ल्याएको रहेछ।”

यो सुनेर त मैले केही गरे पनि आफूलाई थाम्नै सकिनँ। ग्वाँग्वाँ रुन थालेँ। आँसुको भेल केही गरे पनि रोकिएन। त्यस भेलसँगै केके बग्यो केके। अहिले मलाई वास्तविक रूपमा बोध भयो किन मेरी आमाले मलाई भकारीमा लुकाउनुभयो भनेर। बिस्तारै उमेर बढ्ने क्रममा मैले बलात्कार केही त बुझेकी थिएँ तर त्यससम्बधी भावनाहरू बेलाबेलामा मात्रै उर्लिने गर्थे। मलाई मेरी आमाप्रति अगाध श्रद्धा जागेर आयो। साथै मैले ती दिदीलाई पनि सम्झेँ जसले मलाई गुन्डाहरूका हातबाट बचाउनुभएको थियो। स्त्रीको अस्मिताको महत्त्व मैले राम्ररी नै बुझिसकेकी थिएँ र मलाई भुटानी शरणार्थी भएकै कारणले कतिपय ठाउँमा बेइज्जती खप्नुपरेको थियो। पाँच वर्षअगाडिकै मात्र त घटना थियो त्यो। म खुदुनाबारी शिविरबाट जङ्गलको बाटो हुँदै शनिश्चरे आइरहेकी थिएँ। करिब दुई किलोमिटर हिँडेकी थिएँ होला। अचानक तीनजना बदमासहरूले मेरो पिछा गर्न थाले। उनीहरूका अनुहारमा कामुकता त थियो नै, साथै थियो घृणाभाव भुटानीहरूप्रति। म अत्तालिएर कुद्‌न थालेँ। शरणार्थी भनेर हियाउने समाजका उपज थिए ती बदमासहरू। मेरो अस्मिता अब त लुटियो है भन्ने लाग्न थालेको थियो मलाई, ठीक त्यसै बेला मलाई कसैले च्याप्प समायो। हेरेँ, एकजना अधबैँसे दिदी। छेउमा एउटा झुप्रो छ। दिदीका हातमा एउटा लठ्ठी पनि थियो। कुन्नि के भयो कुन्नि दिदीलाई देख्‍नासाथ ती बदमासहरू फनक्क फर्किए। त्यसपछि ती सहृदयी दिदीले आफ्नो झुप्रामा लगेर मलाई पानी खुवाउनुभयो र सम्झाउन थाल्नुभयो जङ्गलको बाटो एक्लै नहिँड्नू भनेर। म दिदीप्रति नतमस्तक भएँ।

***

मलाई ग्वाँग्वाँ रोएको देखेर सिद्धार्थले मेरा हातहरू च्याप्प समाउनुभयो। सायद मैले सुरक्षाको गहिरो अनुभूति गरेँछु क्यार, म बिस्तारै शान्त हुँदै गएँ। लाग्यो जिन्दगी फेरि उकालो चढ्दै छ। हेरेँ सिद्धार्थका आँखाहरूमा दृढताको ढाल थियो। अब मलाई डर रहेन।

मेरो पेटमा रहेको शिशुले निकै दुःख दिन थाले पनि भावनाहरूको उतारचढावलाई रोक्न सकिरहेको थिएन। मैले दाहिने कोल्टे फेर्न खोज्दा सिद्धार्थले सघाउनुभयो। दाहिने फर्केर अगाडि हेरेँ, राम्रा अनुहारका करिब सात वर्षका जम्ल्याहा बालकहरू रहेछन् आफ्नी आमाका छेउमा बसिरहेका। मलाई उनीहरूसँग बोल्न मन लाग्यो- “बाबुहरूको घर कहाँ हो ?”

“मङ्पु।”

“हो र ? त्यसो भए मोहन ठकुरीलाई चिन्छौ ?”

“किन नचिन्नु ? हाम्रै घरको छेउमा पर्छ उहाँको घर।”

मैले भनेँ- “उहाँले सारै राम्रा कविता लेख्‍नुहुन्छ नि, हैन ? ” मलाई लाग्यो यी दुई बालकहरू मोहनदाइकै कविता भएर मेरा सामु उभिएका छन्।

बेथाले फेरि च्याप्न थाल्यो। खै के हुने हो ? यस हाम्रो शिशुलाई संसार देख्‍न कति हतार लागेको होला। ऐया ! खै अब के हुने हो ? आखिरी यो पनि त जिन्दगीको किताबको एउटा पाना नै रहेछ। म कसरी खुदुनाबारी शिविर आइपुगेँ, किन र कसरी एमरेल्ड एकेडेमीमा शिक्षिका भएँ, शरणार्थी तरुणीका रूपमा कति धेरै दुःख कष्ट झेलेँ भन्ने अध्यायलाई अहिले मलाई पल्टाउन मन लागेन। कमसे कम मेरो र सिद्धार्थको उत्तराधिकारीले यो धरती टेक्दा त यी कुराहरू मेरा दिमागमा नरहुन् भन्ने लाग्यो। अहिले म जति पीडा भए पनि असाध्य खुसी छु। मेरा पछाडि अहिले ‘शरणार्थी’ झुन्डिएको छैन, मेरो सन्तान अब नेपाली हुनेछ र शिर ठाडो पारेर बाँच्न सक्नेछ। तर हत्केलामा कुतकुती, खित्का र सुनाखरीचाहिँ ? ती त जिन्दगीको किताबका गाता अर्थात् कभर नै भए नि, हैन र ?

******

2062 भदौ 27

(स्रोत : Kumud Adhikari’s Blog)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.