कविता : तेल उघाएर पानी खोजिरहेका बालुवाहरु

~प्रकाश सुनुवार ‘निराकार’~prakash-sunuwar-nirakar

शाक्तिका भोका लालचीहरु
युद्धमा सल्केको कालो बादलमा रमाउंछन्
युद्ध जितेर जनताको सार्वभौमसत्ता लुट्ने नियती बोकेर
प्रजातान्त्रीक प्रणालीलाई धाराशाही वनाएर
वहुसंख्यक जनताको अस्तित्वलाई मास्ने इरादाले
सारा देश जलाउन युद्धको घोषणा गर्छन् ।
तातो हावाले बालुवाहरु पोलिइरहेका छन्
निमुखाहरुले बम निलिरहेका छन्
बालबालिकाहरु घाँटी रेटिनु परिरहेका छन्
नारीहरु बलात्कृत हुनु परेका छन्
भ्रुणहरु गर्भ भित्रै आत्महत्या गर्छन्
मुस्कानहरु ओंठको डिलवाट लास भएर निस्किनुछ
केवल एउटा क्रुर तानाशाह र
उनको बंशको हिफजतको निमित्त
सारा जनताहरुले पिडा खेपिरहनु परेका छन्
प्रजातन्त्र सेरिएर विच सडकमा मृत अवस्थामा तेर्सिएनुछ
अर्धचेत भएर बेवारिसे अवस्थामा ढलिरहेको छ शान्ति ।
ठिक यहि मौका छोपेर
वा, सुनियोजित ढंगले
सासाना टाकुरे राजाहरु र दमनमा पिल्सिएका चित्कारहरुलाई
प्रजातन्त्र स्थापित गरिदिने झुठा आश्वसन बाँडेर
एकहुल हत्याराहरु
उनका भरौटे मतियारहरुको हुलले
कुटिल ढंगले तयार पारिएका
झुठा आरोपहरुको फेहरिस्त बोकेर आए
अनि लालचीहरुलाई भने –
विषालु रासायनिक ग्याँस हतियारहरु नराख
आत्मघाती बम बोक्नेहरुलाई खर्चपानी बन्द गर
आतंकारीहरुलाई आश्रय दिन छोड
गैरकानूनी हतियार तथा खरखजना राख्न छोड
विध्वंसकारी गतिविधीमा संलग्न हुन वन्द गर ।
कपोकल्पीत अनि लज्जास्पद आरोपहरुको साहारा
आखिर रक्तपिपासुहरुले युद्धको घोषणा गरिछाडे
र, वालुवामा रकेटहरुको वर्षात गरेका छन्
छातीमा छानीछानी घोचेर रत्ताम्मे पारेका छन्
अल्पसंख्यक शासकहरुलाई सत्ताच्युत गराउन पर्छ भनेर
तानाशाहको दमनमा पिल्सीएका
बहुसंख्यकहरुको हातमा बन्दुक वाँडेका छन् ।
पड्काउन सिकाएका छन्
हतियारको व्यापार चलाएका छन्
निमुखा नारी र वालवालिकाहरु मारिएका छन् ।
पानीले संसार भिजाउन
वालुवाका तेल जल्नुपरेको छ ।
बालुवा माथिको आकाशमा प्रजातन्त्रको संयन्त्र होइन
मानवताले शिर झुकाउने
अप्रजातान्त्रीक गतिविधिहरु तिब्र रुपले बढेका छन्
मान्छेहरु आप्mनो घर वाहिर वेघर भएका छन्
आप्mनै ठाउँमा पराही भएर वाँचेको छन्
अहिले मरुमुमिले युद्ध बोकिरहेको छ ।
मानिसहरु भोक भोकै वाँचिरहेको अवस्था जगजाहेर भएको छ
भोकाहरुको भोकलाई सौदा गरेर
प्रजातन्त्र स्थापित गरिदिने नाममा
साम्राज्यवादीहरु
आप्mनो खस्केको आर्थिक स्थितिलाई पुनः उकासेर
उनीहरुको मलुकलाई सम्पन्न वनाउने उद्देश्यले
विश्वको पहिलो बन्ने होडमा
सवैभन्दा शक्तिशाली बन्ने जोसमा
गलत कारवाहीहरु गरिरहेका छन्
आप्mनो जनतालाई समेत छल गरेर
बालुवाको शहरहरुमा अराजकता र अस्थिरता फैलाउंदै
तेलको व्यापारलाई उचाईमा पुराएका छन् ।
शाक्तिशाली बन्ने होडवाजी गर्नेहरु विच प्रतिस्पर्धा चलेको छ
उनीहरुको नजरमा
श्रमको महत्व न्युन छ
मानवता कागज र बोलीमा सिमित छ
व्यवहारमा शुन्य छ
उनीहरु
प्रजातन्त्र भनेको तेल हो भन्छन्
तेलको लागि युद्धको उदघोष गर्छन्
तेल भन्दा सस्तो मान्छेको मुल्य तोक्छन्
तेललाई जोगाएर मान्छे मार्न
अलिकति पनि पछि पर्दैनन् ।
बालुवा माथि वारुदको खेल
तबसम्म चलिरहने छ
जवसम्म आफु संसारको नम्बर एकमा आउने होड चलिरहन्छ
जबसम्म अस्थिरता र अनिश्चितता कायम रहिरहन्छ
जबसम्म सवैको संस्कृति र सभ्यतालाई तहसनहस हुनवाट वचाइन्छ
जबसम्म निमुखा जनताहरु संधै हारिरहनु बन्द हुन्छ
जबसम्म आजादी खाज्नेहरुलाई आतंककारीको संज्ञा भिराइन्छ
जबसम्म स्वार्थपुर्तिको निमित्त
आतंककारी भनिएकाहरुसंग सहकार्य गर्न बन्द हुन्छ ।
जबसम्म अल्पसंख्यकको शोषणबाट
बहुसंख्यकहरु आजादी हुन सक्दैनन् ।
समग्रमा भन्नुपर्दा –
चानचुन सत्तरी प्रतिशत पानीले ढाकिएको ग्लोबमा
वाँच्नको लागि पानीको व्यवस्था गर्न
वालुवा माथि युद्ध गरेर तेलको व्यापार गर्छन्
तेल उघाएर पानी खोजिरहेका बालुवाहरु
दुनियाँलाई पानीको व्यवस्था गरिरहेछन् ।
पानीको खातिर वालुवामा वारुद मिसाउँछन् ।
फलस्वरुप
लट्टाइवाट धागो चुंडिएर चेट भएका चंगाहरु
अन्यौल भविष्य पिएर
छियाछिया पारिएर पनि
पिडावोध गर्न चिच्याउन समेत सकिरहेका छैनन्
आप्mनै भुमिवाट निकाला भएकाहरु
युद्धको पिडा वोकेर
मानवताको कर्तव्य निभाइएको स्वाङ्ग पारिएका
शरणार्थी शिविरको पालमुनि
दुइछाक खाना खाँदै
शरणार्थी जीवन व्यतीत गर्न वाध्य भएका छन्
बाँकि जीवन बाँच्नको लागि
पानी खोतलेर पिउनका लागि
ताँतीबद्ध भई
पश्चिमाहरुको भुमिमा उकालिन थालेकाछन् ।
के यहि हो त उनीहरुले भन्ने गरेको प्रजातन्त्र ?
के प्रजातन्त्र स्थापित गर्ने औजार युद्ध हो त ?

(५ फरबरी २०१६, फार्नबोरो)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.