कथा : ‘भ्यालेन्टाइन डे’ का गफ

~भूमि भण्डारी~

‘गिफ्ट के दिन्छौं त मलाई ।’

‘गिफ्ट? ल आँखा बन्द गर’-मैले भनें ।

‘नाई, मलाई डर लाग्छ ?’-उनले आँखा बन्द गर्न अस्वीकार गरिन् तर गिफ्ट भने मागिरहिन् ।

म चाँही के गिफ्ट दिनेहोला भनेर सोचिरहेको थिएं । त्यतिखेर उनलाई दिन भनेर मसँग केही थिएन । र, मैले सोचेको गिफ्ट पाउनका लागि उनी आँखा बन्द गर्न तयार थिइनन् ।

‘बदमास् १ तिमीले मलाई पसिना पसिना बनायौं ।’- उनले भनिन् । उनको स्वास प्रश्वास बढिरहेको थियो । सायद मुटुको धड्कन पनि बढेको थियो होला ।

‘ओहो १ यत्तिकैमा पसिना पसिना भै हाल्यौ ?’ – मैले खित्खित् खित्खित् हाँस्दै भने -‘मैले त केही गरेकै छैन, कसरी आयो त पसिना ।’

‘हेर न बेइमान १ अझ हाँसेको’- उनले नखरायुक्त रिस देखाइन् – ‘अर्कालाई समस्यामा पारेर कत्ति हाँस्न सकेको ?’ तर, मेरो खित्खित् रोकिएको थिएन । ‘गिफ्ट लिएपछि फर्काउनु पनि त पर्छ नि ।’ -मैले उनीसँग मागें-‘खोई मलाई त मेरो गिफ्ट चाहियो ।’ उनले भनिन्- ‘मलाई तिम्रो गिफ्ट पनि चाहिएन, म पनि तिमीलाई त्यस्तो गिफ्ट दिन्न, बेइमान ।’ उनले यसो भनेपछि म के भनौं भनेर मौन रहें ।

सनिबार मेरो मोवाइल फोन ‘वान वे’ भएको थियो । त्यसैले कसैको मिस कल नआओस् भनेर दिनभरि स्वीच अफ गरें । रातमा ‘हाम्रो समाचार’मा पनि धेरैबेर गफ गरेर बसिँन । दिउसो एक निन्द्रा सुतेकै थिएं, त्यसैले राति निन्द्रा चाँडै आएन । शुक्रबारको रिपब्लिका ओच्छ्यानमा थियो, त्यसैमा भएका स्टोरी ओल्टाई पल्टाई पढें, ‘फेसबुक लभ’ रमाइलो लाग्यो । सवा एघार बजेतिर रेडियोमा हिन्दी बिबिसी सकियो । त्यसपछि रेडियो बन्द गरेर सुतें ।

म सधैं सुत्ने बेलामा मोवाइलको स्वीच अफ गर्थें । सनिबार बिर्सेछु । राति १२ बजे फोन आयो, हेर्छु उनले गरेकी थिइन् । मोवाइल फोन रिसिभ गरें । ‘ओई बेइमान् अझैं सुतेको छैनौं ?’- मैले हेलो भन्ने बित्तिकै उनको पहिलो प्रश्न थियो । ‘म त एक निन्द्रा पुर्‍याएर बिउँझेको । तिमीचाँही किन नसुतेको नि ?’ उनले भनिन् -‘हेर न, निन्द्रै लागेन ।’ ‘अनि यति राति मलाई किन फोन गरेको त ?’ -मेरो प्रश्न । ‘तिमीलाई फोन नगरेर म कसलाई फोन गरौं त ?’ -उनको प्रश्न र जवाफ दुबै ।

अव हाम्राे गफ सुरु भयो । लगभग एक घन्टा पछि रातको एक बजेतिर मैले उनलाई ‘भ्यालेन्टाइन डे वीस’ गरेंं । उनले गिफ्ट मागिन् । मैले आँखा बन्द गर्न भनें । उनले आँखा बन्द गरिन् कि गरिनन् मैले देखिँन तर, पहिलो पटक मैले उनलाई फोनबाटै चुम्बन गरें । उनले भनिन् -‘म पसिना पसिना भएं ।’ मलाई भने घटना पछिको उनको प्रतिक्रियाले हाँसो लगाईरह्यो ।

हाम्रो फोनको सिलसिला जारी रह्यो । झण्डै ३ बजेतिर मैले उनलाई प्रेम प्रस्ताव गरें । उनले भनिन् -‘यत्ति भन्न ३ घन्टा गफ लगाउनु पर्छ ?’ मैले भनें-‘तिमीलाई आई लभ यू भन्न के छ ? ल भनिदिएंं आई लभ यू, आइ लभ यू आई लभ यू ।’ उनले पनि ‘ आई लभ यू टु, आइ लभ यू टु, आई लभ यू टु भनिन् ।

‘तिमी त खत्तम मान्छे । आई लभ यू भन्नु कता हो कता, पहिले नै किस गर्न हतारिने ।’ उनले भनिन् । मैले मेरो चुम्बन फिर्ता मागें, उनले भनिन् -‘दिन्न’ । मैले केही चुम्बन अझै थपिदिएंं र सोधें -‘फेरि पसिना आयो ?’ उनले भनिन् -‘अव पसिना आँउदैन, पहिलो पटकमा पो हो पसिना आउने ।’ अनि फेरि जोडियो गफ को सिलसिला, प्रेम जीवन, जागिर, परिवार के के हो के के ।

बिहानको चार बज्यो । हाम्रो बाथरुममा फोन प्रयोग नगर्ने सहमति बन्यो । र एकछिनलाई फोन डिस्कनेक्ट भयो । म बाथरुम गएर, एक चुरोट र पानी पिएर बेडमा पुग्दा ३ कटा कल मिस्ड भैसकेका थिए । एक कल आईरहेको थियो । ‘बेइमान मान्छे, कहाँ हराएको नि ?’- उनले अघिल्लै कल फोन रिसिभ नगरेकोमा मलाई हप्काइन् । ‘तिमी बाथरुम गइनौं ?’ उनले भनिन् -‘बाथरुम गएर, पानी खाएर, आधा स्याउ खाएर आइसकें, तिमीचाँही किन गायव भएको ?’ मलाई भने चुरोटले हल्का नशा लागेजस्तो भएको थियो र निन्द्राले मस्त बनाएको थियो । ‘अब सुतौं’ -मैले नयाँ प्रस्ताव अघि सारें । ‘किन सुत्ने? अब उज्यालो हुन लाग्यो । पर्दैन सुत्न, खुरुक्क गफ गर ।’- उनले आदेश दिइन् । मैले अफिस जानुपर्ने, दिनभरि काम गर्नुपर्ने समस्या सुनाएं । उनले भनिन् -‘तिम्रो मात्रै छ अफिस, मेरो पनि त जानुपर्छ नि ।’

अनि हामीले नयाँ आयामको गफ सुरु गर्‍यौं । हामीले देशभरिका घुम्ने ठाँउको साथै घुम्ने योजना बनायौं । उनले भनिन् -‘दारु खान्छौ?’ मैले भने ‘खान्न ।’ फेरि उनले सोधिन् -‘चुरोट सुर्ति खान्छौं ?’ -मैले फेरि भनें -‘खान्न’ । उनले भनिन् -‘तिमी नशा के गर्छौ त ?’ मैले भनें -‘म रक्सी, चुरोट र तासलाई घृणा गर्छु । म धेरै केटी साथी बनाउने मान्छे मन पराउन्न ।’ उनलाई मेरो कुरा बिश्वास लाग्यो, म मन पर्‍यो होला, सन्तोषको लामो स्वास फेरेको मोवाइलबाट आवाज सुनियो ।

‘तिमी मेरो लागि के गर्छौ त ?’- उनले परिक्षा लिन लागिन् । ‘तिमी जे भन, म त्यही गर्न तयार छु ।’ -मैले पुरुषत्व देखाएं । ‘त्यसो भए अब उठ, नुहाऊ, एउटा रातो गुलावको फूल लिएर मेरो नाममा मन्दिरमा चढाएर आऊ, अनि मलाई फोन गर ।’ उनले आदेश दिने बित्तिकै मैले ‘हुन्छ’ भनेर सहमति जनाएं । हाम्राे गफ सकिंदा साडे पाँच भएको थियो, त्यो पनि मन्दिर जाने शर्तमा विदा मिलेको थियो । अनलाईनमा भेट भएकी एक युवती र मेरो सम्बन्ध नजिकिदैं आज यो अवस्थासम्म पुगेको थियो ।

फोनमा बिदा लिएर पहिलो काम मोवाइलको अलार्म ८ बजेको बनाएं, बाथरुम गएं फर्केर आएर सुतें । सुत्न पाएकै थिइन, अलार्म बज्यो, मलाई अचम्म लाग्यो । फेरि मोवाइल फोन उठाएर हेरें । अलार्म हैन, अलार्म जस्तै सेट गरिएको अर्को फोन रहेछ । क्या बोर, मोबाइल फेरि स्वीच अफ गर्न बिर्सिएछ । फोन रिसिभ गरें -‘ह्याप्पी भ्यालेन्टाइन डे’ – उताबाट मधुर स्वरमा आवाज आयो । ‘थ्याङ्क्यू, म त सुतिराखेको थिएं । उठाएकोमा धन्यवाद है ।’ फेरि उताबाट आवाज आयो -‘सरी ल डिस्टर्व भयो, म त अघि नै फोन गर्छु भन्ने सोचि राखेकी थिएंं । तिमीलाई डिस्टर्व हुन्छ भनेर पो नगरेको ।’ मैले बाई भनें, उनले गह्रौ मन बनाएर फोन राखिन् । यतिखेर चाँही मैले साच्चै मोवाईलको स्वीच अफ गरेर सुतें ।

बिउँझिदां धेरै म्यासेजहरु ह्याप्पी भ्यालेन्टाइन डे भन्दै मेरो जवाफको प्रतिक्षामा थिए ।

फ्रेवुअरी 14, 2010

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : नेपाली कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *