कविता : उहिलेको प्रेम

~रेखा पन्त~

डाँडैको घुमाउने चौतारी
लहरे वर र पीपल
चलिरहेको सिरसिर हावा ।

मृग नयनमा गाजल
घना बादल सरी कालो कपाल
लर्किएको लामो चुलठी
बारुले कम्मरमा बाह्रहाते पटुकी
चौवन्दी चोलीमा सजिएर
कसैको व्यग्र प्रतिक्षामा
चौतारी पेटीमा
टोलाइरहेकी गाँउकी ठिटी ।

केहि पर बाट
चौतारी तर्फ लक्षित
दौरा सुरुवाल

भादगाँउले कालो टोपीमा
अग्लो गहुँगोरो
हिस्सी परेको
खाइलाग्दो जवान ।
सर्लक्क परेको जिउडाल
सिको फाइभ घडीले सुसज्जित नाडी
चमेली तेलले सुगन्धित जुलफी
हिमाल झै सुकिला दन्ते लहर
मोहनी लगाउने मीठो मुस्कान ।

समाजका शंकालु नजरबाट बचेर
संकीर्ण सोचाईका पर्खाल नाघेर
चियो र चर्चो गर्नेहरूलाई छलेर
भेटिदैछन्
पवित्र प्रेमका अनुयायी ।

लाजले रातो पिरो हुदै
नियाले एक अर्कालाई परै बाट
जूधे नजरहरू
बोले आँखा आँखा
गरे ओठले ओठ सँग कूरा
रहर त हुदो हो
अंकमाल गरेर एक अर्कामा बेरिन
प्यार भरिएका कोमल हातले
एक अर्कालाइ सुम्सुमाउन
रहर लाग्दो ओठ र स्याऊ जस्ता गालाको मिलन गराउन
प्रेमको न्यानो काखमा निदाएर
मिठो सपना देख्न
अनि
अपूर्ण जिन्दगीलाई पूर्ण बनाउन
डर यही थियो
दोबाटोमा भेटिन सक्छन् कुरौटेहरू
पधेरा जादै गरेका पधेर्नीहरू
तिललाई पहाड बनाउनेहरू
यताको कूरा उता सार्नेहरू
प्रेमको गंगा धमिलो पार्नेहरु ।

तर पनि
पर्याप्त छ
महिनौ दिनको भेट्ने प्यास
मात्र केहि क्षणको हेराहेरले मेट्न
परस्पर स्पर्श विना नै
तृप्त छन् गुलाबी अधर
मनले मन संग गरेका छन् वार्तालाप
लजालू हेराइमै छ प्रेम प्रस्ताव
अनि मन्द मुस्कानमै छ सहमति
त्यसैले होला
सिउरी दियो चूलठीमा बेलीको फूल
थमाईदियो उनका हातमा गुँरासको थुंगा
दिइन् उनले पनि
पिरतीको धागोले बुनेको
न्यानो गलबन्दी उपहार
फेरि भेट्ने अर्को दिनको टुंगो बिना नै
छुट्टिए दुबै जना ।

-रेखा पन्त, गोरखा
हाल:ईजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  • 2
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *