कविता : ईतिहासले कोल्टे फेर्नेछ

~सिद्धीश्वरमान श्रेष्ठ~

आज हामी दसैं मनाउँदैछौं
आज हामी तिहार मनाउदैछौं
आज हामी इद मनाउदैछौं
आज हामी छठ मनाउदैछौं
आज हामी प्रशस्त चाडबाड मनाउँदैछौं

तर
एकदिन अवश्य इतिहासले कोल्टे फेर्नेछ
इतिहासले कोल्टे फेर्नेछ
अनि त्यसबखत
इतिहास पढाउने गुरुहरूले
साना-साना छात्रछात्राहरूलाई
यसरी इतिहास पढाउन सुरु गर्नेछ

सुन नानीहरू हो !
उहिले उहिले हाम्रो देशमा प्रशस्त
चाडबाडहरू थिए
चाडबाडहरूमा मुख्य दसैं नै थियो

यस्तो दसैं प्रत्येक साल-
हाम्रो देशका बासिन्दाहरूले मनाउँथे
ती बासिन्दाहरूलाई दसैं भए पुग्यो
विकास उन्ननति’bout वास्ता थिएन
डेढ दुई हप्ता यसै दसैमा अल्मलिन्थे

लेख्‍नलाई कागज खर्च गर्नुभन्दा
चङ्गा उडाउनमा कागज खर्च गर्दथे
फारोनितो गरी देश बनाउनु भन्दा
तीन दिनको एकै दिनमा खाई
पेट दुखाई अस्पताल धाउँथे

सडक-सडकमा पेटी पेटीमा सारङ्गी
बजाई बसेको देख्दादेख्दै
भए नभएको चामलमा दही रङ्ग मिसाई
सुन्दर निदार छोप्दथे
खानको लागि जौ प्रशस्त नहुँदा नहुँदै पनि
जौ रोपी जमरा सिउरन्थे ।

सुन नानीहरू हो !
उहिले उहिले हाम्रो देशमा
प्रशस्त चाडबाड मनाउँथे

यस्तै चाडबाडमा प्रत्येक दसैंले
धेरै बासिन्दालाई बसाइँ पठाउँथे
धेरै बासिन्दाहरूको जग्गा जमिन स्वाहा हुन्थे
धेरै बासिन्दाहरूलाई ऋणमा डुबाउँथे ।

सुन नानीहरू हो !
कसै-कसैका घरमा मासु भात बेसी
भई फालाफाल गर्दथे
कसै-कसैका लागि मासु भात
आकाशको तारा हुन्थे

यसरी प्रत्येक दसैंमा असमानताले जरो
गाड्थ्यो
कत्ति-कत्ति बासिन्दाहरूले हात-मुख
जोड्न नपाएको देख्दादेख्दै
यहाँ ढुङ्गाका मर्तिहरूलाई अक्षेता
आदिले पुजिन्थ्यो

यसरी हेर नानीहरू हो !
दसैंले त्यतिबेला अवनति ल्याई दिएको थियो
असमानता ल्याइदिएको थियो,
मान्यजनको आशिर्वाद भन्दा विकृति
ल्याइदिएको थियो

त्यसैले त हेर अब दसैं त चिहानमा
पुरिइसकेको छ
दसैंको पुराना मालसामानहरू हेर्छौ भने
तिमीहरूले सङ्ग्रहालय जानु पर्दछ
दसैंका पराना कुराहरू पढ्न चाहन्छौ भने
नानीहरू हो !
तिमीहरूले पस्तकालय धाउनुपर्दछ।

लौ त नानीहरू हो !
समयले पनि बिदा दियो
आजलाई यत्ति
अरू अर्को कक्षामा ।

Email: akshalok@gmail.com

(स्रोत : अक्षलोक (नेपाली साहित्यिक त्रैमासिक), पूर्णाङ्क-४१, २०६८ (श्रावण-आश्विन), पृष्ठ ३३-३४
[AKSHALOK, Nepali Literary Quarterly, Vol.-41, 2011 July-Sept])

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.