समीक्षा : मैले देखेका रुद्र खरेल

~गोविन्द भट्ट~

रुद्र खरेलसित पहिलो चिनजान २०२५ सालताक साहित्य सङ्गम आठराईको प्रस्ताव अनुसार साहित्य सेवा समिति, शनिश्चरे र नेपाली साहित्य परिषद् झापा जस्ता पूर्वी नेपालका तिन सक्रिय संस्थाहरूको संयुक्त प्रयासद्वारा शनिश्चरेमा आयोजित मेची स्तरीय साहित्य सम्मेलनमा भएको हो । पछि थाहा भयो श्री खरेल पनि त्यस सम्मेलनका प्रमुख योजनाकारहरूमध्येकै एक हुनु हुँदो रहेछ ।

पञ्चायत कालीन नेपालमा त्यस वेलाको आन्तरिक परिस्थिति सङ्कटग्रस्त रहेको थियो । देशभित्र प्रजातन्त्रको पुनस्र्थापनाका लागि बामपन्थी र प्रजातन्त्रवादी दलहरू सङ्घर्षरत् थिए भने किसान विद्यार्थी र अन्य समुदायका आन्दोलनहरू पनि निरन्तर भइ रहने गर्दथे । त्यसै गरी शीतयुद्ध कालीन तनावहरूले ग्रस्त रहेको अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालकै वरिपरि नक्सलवादी सशस्त्र सङ्घर्ष, चिनियाँ सांस्कृतिक क्रान्ति, बङ्गलादेशको द्वन्द्व आदि र उता साम्राज्यवाद विरोधी युद्धमा भियतनामको विजयोन्मुख अभियानका खबरहरूले वातावरणमा अभैm गम्भीरता थपिएको थियो । त्यस्तो परिप्रेक्ष्यमा आपूmलाई झन्झन् असुरक्षित र अस्थिर ठान्न थालेको निरङ्कुश पञ्चायती शासनका यन्त्रहरू आफ्नो दमनचक्रलाई सकेसम्म क्रियाशील पार्नमा लागि रहेका देखिन्थे । तर त्यस्तो असहज र खतरापूर्ण अवस्थाका बिच पनि पूर्वी नेपालका जन पक्षीय स्रष्टाहरूले फागुन ८, ९ र १० गतेका लगातार तिन दिनहरूसम्म भेला हुँदै र समकालीन संस्कृति र प्रगतिशील साहित्यका सबैजसो पक्षहरूबारे गहनतापूर्वक विचार विमर्श गर्दै अन्तमा सर्वसम्मतिबाट यौटा घोषणापत्र सहित एकताबद्ध भएर अघि बढ्दै जाने दृढता प्रकट गरेका थिए । राजधानी बाहिर, आधुनिक नेपाली साहित्यकै एक ऐतिहासिक घटना जस्तो हुन पुगेको त्यो विशाल तिन दिने सम्मेलनको घोषणापत्रलाई पनि हाम्रो प्रगतिशील नेपाली साहित्यको एक महत्त्वपूर्ण दस्तावेज भनेमा अन्यथा हुने छैन र त्यो आज पनि निकै सान्दर्भिक रहि रहेको छ । त्यस सम्मेलनमा ‘वर्तमान नेपाली साहित्य र जन जीवनमा त्यसको असर’, ‘प्रगतिशील साहित्यका समस्याहरू र तिनको समाधान’ तथा ‘अन्तर्राष्ट्रिय जगत्मा नेपाली साहित्यको भूमिका’बारे भएका विस्तृत छलफल र तिनका प्रतिवेदनहरूलाई आयोजक कमिटीका तर्पmबाट केही समयपछि एक सङ्ग्रहका रूपमा प्रकाशित गरिएको थियो । यसरी त्यस अविस्मरणीय सम्मेलनका प्राज्ञिक उपलब्धिहरू हाम्रो प्रगतिशील साहित्यको सैद्धान्तिक विकासका लागि मूल्यवान् हुनुका साथै अत्यन्त प्रतिकूल परिस्थिति हुँदा पनि त्यसको आयोजना, व्यवस्थापन र सफलतापूर्ण समापन गर्नमा श्री रुद्र खरेल लगायत अन्य आयोजकहरूले देखाएको दृढ इच्छाशक्ति, साहस र बुद्धिमत्ता, जनवादी संस्कृतिप्रतिको प्रतिबद्धता र व्यवहारिक कार्यकुशलता पनि उत्तिकै सराहनीय थिए ।

सर्व प्रथम आठराईको साहित्य सङ्गमबाट प्रस्तावित त्यस सम्मेलनका प्रारम्भिक योजना र तयारीका कार्यक्रमहरूमा विशेष गरी श्री सूर्य कन्दङ्वा, गङ्गाप्रसाद उप्रेती र रुद्र खरेलको नेतृत्वदायी भूमिका थियो र त्यसपछि राधाकृष्ण मैनाली, द्रोणाचार्य क्षेत्री जस्ता प्रतिष्ठित व्यक्तित्व र समाजसेवीहरूबाट पनि त्यसलाई सहयोग मिलेको थियो । त्यस सम्मेलनको व्यवस्थापन र अन्य सम्बन्धित कामकुराहरूमा यताउति दौडि रहनु परे पनि श्री खरेल समय झिकेर हरेक विषयको छलफलमा सहभागी हुनु हुन्थ्यो र ‘वर्तमान नेपाली साहित्य र जन जीवनमा त्यसको असर’ भन्ने विषयबारे छलफल गर्नका लागि गठित उपसमितिका एक आयोजक चुनिनु भएका कारण त्यस दिनको बैठकमा अन्तसम्म बसेर उहाँले आफ्ना गहकिला विचारहरू प्रस्तुत गर्नु भएको थियो । त्यहाँ नेपाली साहित्यमा विदेशी साहित्यको प्रभावबाट देखा परि रहेका कुण्ठा, नग्नता, अनास्था, अराजकता, निराशा र व्यक्तिवाद जस्ता नकारात्मक प्रवृत्तिहरूको चिरफार गर्दै र सामाजिक यथार्थता र वस्तुवादी चिन्तनको आवश्यकता औँल्याउँदै जन जीवनका दुखकष्ट र समस्याहरूमा केन्द्रित रहेर शोषक वर्गको पतन र पराजय तथा शोषित वर्गको विजय अवश्यंभावी भएको निष्कर्षमा पुगिएको थियो ।

सो सम्मेलनको पूर्व निर्धारित कार्यक्रम अनुसार फागुन ९ गते साँझ आयोजित बहृत् कवि सम्मेलन मेरा लागि आफ्नै कारणबाट स्मरणीय हुन गएको छ । त्यहाँ नयाँ पुराना, स्थानीय र बाहिरका गरी उपस्थित हुनु भएका कविहरूको सङ्ख्या निकै ठुलो थियो । सो अवसरमा आयोजक मित्रहरूबाट मलाई पनि कुनै नयाँ ताजा कविता सुनाउने आग्रह गरिएपछि मैले केही दिनअघि मात्र लेखेको चेग्वेवारा सम्बन्धी रचनाका केही पङ्क्तिहरू पढ्नासाथ सभाकक्षमा पछाडि बसेका केही स्रोताहरूले चर्को स्वरमा खैलाबैला मच्चाउँदै र विरोध प्रदर्शन गर्दै मलाई त्यो कविता पढ्नबाट रोकेका थिए । आयोजक र अन्य स्रोताहरूको शान्ति कायम गर्ने बारम्बारका प्रयासहरू असफल भएपछि मैले बिचैमा मञ्च छाडी आफ्नो आसनमा फर्कनु परेको थियो र त्यो कार्यक्रम त्यहीँ स्थगित गर्नु परेको थियो । त्यहाँ कविता वाचन गर्नका लागि आमन्त्रित गरिनु भएका सुप्रसिद्ध भाषाविद् एवम् साहित्यकार श्री महानन्द सापकोटा पनि हुनु हुन्थ्यो । पछि त्यस घटनाबारे अनुसन्धान गर्दा थाहा पाइयो – त्यस मेची अञ्चल स्तरीय साहित्य सम्मेलनको आयोजनाप्रति नै असन्तुष्ट रहेका केही अनुदार तत्त्वहरूले सुनियोजित रूपबाटै अशान्ति मच्चाएर त्यहाँ विवाद खडा गरि दिन खोजेका रहे छन् । तर प्रगतिशील साहित्यका विरोधी एवम् पञ्चायत समर्थकहरूका त्यस्ता सानाठुला अनेकौँ षड्यन्त्र र अवरोधहरूलाई धैर्यपूर्वक पार गर्दै आयोजक मित्रहरूले सम्मेलनलाई सफल पारेरै छाड्नु भएको थियो । श्री रुद्र खरेलले आफ्नो एउटा संस्मरण निबन्धमा यी सबै घटनाहरूका साथै त्यस साहित्य सम्मेलनको पृष्ठभूमि र तयारी, त्यसको आयोजनामा योगदान गर्ने प्रमुख व्यक्ति र अन्य पक्षहरूबारे विस्तारपूर्वक चर्चा गर्नु भएको छ ।

त्यस दिन मलाई अनुभूति भयो – सात समुद्रपारिका एक अपरिचित र अज्ञात क्रान्तिकारी योद्धाको नाउँमा पनि कत्रो शक्ति लुकेको रहेछ । बाहिर देख्दा बलिया, बाठा लाग्ने यथास्थितिवादीहरू भित्रबाट कति दुर्बल हुँदा रहेछन् । उनीहरूलाई कागजको बाघ भनेको पनि ठिकै रहेछ । मेरा लागि त्यो सम्मेलन साहित्यक अध्ययन अनुसन्धानका साथै पूर्वी नेपालका अनेकौँ स्थापित र युवा साहित्यकारहरू, समाज सेवी र त्यहाँ आमन्त्रित केही भारतीय नेपाली स्रष्टाहरूसित परिचय बढाउने राम्रो अवसर थियो । तीमध्येका केहीसित काठमाडौँ आउनु भएका वेला भेट हुन्थ्यो । केही वर्षहरूपछि तीमध्येका श्री रुद्र खरेल र श्री गङ्गाप्रसाद उप्रेती (हाल उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान) काठमाडौँमै बस्न थालेपछि त प्रगतिशील लेखक सङ्घ र अन्य साहित्यिक सांस्कृतिक सङ्घ सङ्गठनहरूमा सँगै बसेर काम गर्न पाइयो र हाम्रो मैत्री सम्बन्ध झन्झन् गाढा हुँदै गयो ।

राजनीति र साहित्य दुबैतर्पm सुरुदेखि नै सक्रिय रहँदै आउनु भएका श्री खरेल, त्यस क्रममा धेरै पटक जेल पर्नु भयो र पुलिसको प्रहारबाट नराम्ररी घाइते भएर उहाँले कैयन् दिन अस्पतालमै बस्नु परेको थियो । उहाँले पञ्चायत कालका विभिन्न राजनीतिक सांस्कृतिक आन्दोलनहरूमा अग्रसरता देखाउँदै दोस्रो जन आन्दोलनमा पनि उल्लेखनीय भूमिका खेल्नु भयो । त्यस्ता साहित्यिक संस्थाहरूका साथै पेशागत सङ्गठनहरूको उच्च नेतृत्व पदमा रहेर तिनको हकहितका लागि उहाँले देखाउनु भएको नेतृत्व क्षमता पनि उत्तिकै उल्लेखनीय रहेको छ । आफ्ना पारिवारिक र अध्यापकीय दायित्व निर्वाह गर्नुका साथै सार्वजनिक गतिविधिहरूमा पनि उत्तिकै उत्साह उमङ्गसाथ सहभागी हुन सक्ने उहाँको जाँगरिलो स्वभाव सबैका लागि उत्साहजनक हुन्थ्यो । उहाँले गुनासो गरेको वा जिम्मेवारीबाट पन्छिन खोजेको देखिएन । त्यस्तो आँट, जाँगर, उत्साह, उमङ्ग र अथक परिश्रम तथा अटल प्रतिबद्धता क्रान्तिकारी उद्देश्यप्रतिको गहन आस्थाबाट मात्र उत्पन्न हुँदो रहेछ ।

श्री खरेललाई मैले कैयौँ पटक हनहनी ज्वरो आएको वा घाँटी दुखेर बोल्नै गाह्रो हुने अवस्थामा पनि हतार हतार हिँडि रहेको भेटेँथेँ । त्यो स्थिति देखेर म ‘यस्तो अस्वस्थ हुँदा त घरैमा बसेर आराम गर्नु राम्रो हुन्थ्यो, किन बाहिर निस्कनु भएको’ भनेर सोध्थेँ र उहाँ काम त गर्नै प¥यो नि, अघि नै निर्धारित गरि सकेको टाइम अनुसार त पुग्नै प¥यो नि, यस्तो विसञ्चो त भई नै रहन्छ’ आदि भनेर छुट्टिनु हुन्थ्यो ।

प्रगतिशील लेखक सङ्घ र अन्य कतिपय ठाउँहरूमा सँगै रहँदा मैले पाएँ – उहाँ एक कुशल सङ्गठनकर्ता र सहजकर्ता पनि हुनु हुँदो रहेछ । सबै व्यवसाय र उमेरकाहरूसित छिटै हिमचिम बढाएर घनिष्ठ हुन सक्ने, साथीहरूकै बिच कहिले काहीँ असमझदारीबाट अन्तर्विरोध बढ्न जाँदा समस्यालाई समग्रतामा हेर्दै धैर्यसाथ अरुका कुरा सुन्ने र बुझ्ने भावावेशमा नआउने र विस्तारै विनम्रतासाथ युक्तिसङ्गत तरिकाबाट समस्याको समाधान खोज्ने र एकता कायम गराउने उहाँको कार्यशैली थियो । उहाँमा विपरीत विचारका मानिसहरूसित पनि मिली काम गर्न सक्ने र नकारात्मक भन्दा सबैका सकारात्मक पक्षहरूलाई बढी महत्त्व दिने प्रवृत्ति पाइन्थ्यो । अरुबाट सुनेर अनि आफ्नै अनुभवहरूबाट पनि उहाँका यी चारित्रिक विशिष्टताहरू मैले अनुभव गरेको हुँ । दोस्रो जन आन्दोलनताक राजधानीका केही सञ्चार माध्यमहरूद्वारा मेरा केही विचारहरूलाई अस्पष्ट रूपबाट प्रकाशित गरिएपछि हाम्रो प्रगतिशील मित्र मण्डलीभित्र निकै तिव्र वाद विवाद भएको थियो । त्यस क्रममा केही साथीहरूबाट त म आलोचित मात्र हैन तिरस्कृत र बहिष्कृतसम्म हुन पुगेँ । बाहिर छापाहरूमा मेरा विरुद्ध निराधार कुराहरू लेख्ने, भेट हुँदा पनि बोल्न नचाहने, पन्छिने जस्ता केटौले व्यवहार पनि गरियो । तर त्यस्तो नकारात्मक वातावरणका बिच पनि श्री रुद्र खरेलले भने मसितको पुरानो सम्बन्धलाई समझदारी र समग्रतामा लिँदै अलिकति पनि फरक व्यवहार गर्नु भएन । एक दुई विवादास्पद कुराकै आधारमा कसैको व्यक्तित्वबारे पूर्णतः नकारात्मक भई हाल्नुभन्दा एकताको आधार खोजेर सँगै काम गर्दै जाने उहाँको परिपक्व दृष्टिकोण र कार्यशैलीबाट म प्रभावित भएको थिएँ । हाम्रा केही भूलचुक गर्ने साथीहरूसित पनि असहमति कायम राख्दै अरु बाँकी काम गर्दै जानु पर्दछ र गर्न सकिन्छ भन्ने उहाँको यो पक्ष हामी सबैका लागि अनुकरणीय छ भन्ने लाग्दछ ।

श्री रुद्र खरेल बेलाबखत मलाई लेखि रहन हौस्याउनु हुन्थ्यो । मेरा प्रकाशित रचनाहरू पढ्न पाउँदा मैत्रीपूर्ण टिप्पणी पनि गर्नु हुन्थ्यो । अघिअघि झापाबाट प्रकाशित प्रगतिशील मासिक पत्रिका ‘पञ्चामृत’सित संलग्न रहँदा र पछि त्यसको सम्पादक पनि हुँदा मेरा एक दुई रचनाहरू छापि दिएर अनि मेरो पहिलो कृति शान्ति सन्देशबारे पाठक प्रतिक्रिया र समीक्षात्मक लेखहरू प्रकाशित गरेर मलाई उहाँले प्रोत्साहित गर्नु भएको थियो ।

रुद्र खरेल नेपाली साहित्यको प्रगतिवादी क्षेत्रका एक उत्कृष्ट र लोकप्रिय निबन्धकार हुनु हुन्थ्यो र भिन्न विचारका समीक्षकहरूबाट समेत ‘आधुनिक नेपाली साहित्यका एक सशक्त व्यङ्ग्यचेत भएका प्रमुख निबन्धकारका रूपमा उहाँको उल्लेख गरिएको छ । अत्यन्त आकर्षक शैली सहित सबै प्रकारका प्रदुषणहरूमाथि मर्मभेदी प्रहार गरेर समाजको आत्मिक रूपान्तरणमा योगदान गर्नु उहाँको उद्देश्य रहेको हुन्छ । समसामयिक विसङ्गतिहरू नै उहाँका मुख्य विषय हुन् ।

हिजोआज नेपाली भाषामा हास्यव्यङ्ग्य साहित्यको निकै विकास हुन थाले पनि विचारधारात्मक दृष्टिबाट भने त्यसमा देखा पर्ने अपरिपक्वता र अपूर्णताहरूलाई हटाउनेतर्पm चाहिँदो सतर्कता र प्रयासको अभाव रहि रहेकै छ । हाम्रा निकै नयाँ नयाँ हास्य व्यङ्ग्यकारहरू वैचारिक स्पष्टता नभएका कारण नेपाली समाजका असल, कमसल, सज्जन, दुर्जन, उपयोगी, अनुपयोगी कुराहरूलाई पहिले राम्ररी नछुट्याई हास्यव्यङ्ग्यका नाउँमा धाराप्रवाह प्रहार गर्दछन्, आँखा चिम्लेर सबैलाई छ्यासमिस पारि दिन्छन्; कसको आलोचना वा भण्डाफोर गर्ने र कसको प्रशंसा गर्ने जस्ता विषयमा उचित ध्यान दिँदैनन् । त्यसैले उनीहरूको प्रहार कहिले काहीँ बेठिक ठाउँमा परेर समाजका असल तत्त्वहरूलाई नै आघात पुग्न जान्छ । हास्यव्यङ्ग्यको रचना गर्नु एक गम्भीर सामाजिक उत्तरदायित्वको काम हो र यो एक लोकप्रिय र प्रभावकारी कला भएकोले यसले समाजमा राम्रो र नराम्रो दुबै प्रकारको प्रभाव पार्न सक्दछ । त्यो हलुका मनोरञ्जन वा ख्यालठट्टा मात्र हुनु हुँदैन । श्री खरेलले यी कुरा राम्ररी बुझ्नु भएको थियो । यो उहाँले सुप्रसिद्ध जन कलाकार श्री कुल मानसिंह भण्डारीका कलाकृति सम्बन्धी आफ्नो एउटा समीक्षात्मक निबन्धमा प्रस्तुत गर्नु भएको छ ।

उहाँका कृतिहरूमा पाइने सोद्देश्यता र सामाजिक हितप्रतिको प्रतिबद्धताबाट प्रमाणित हुन्छ । आज चारैतिरबाट विदेसी सिनेमा, टिभी, पत्र पत्रिका तथा पुस्तक प्रकाशनहरूले हाम्रा दर्शक र श्रोताहरूलाई अस्वस्थ मनोरञ्जनबाट भ्रष्ट बनाउन लागि रहेका वेला र हामीलाई झन्झन् बढी सङ्ख्यामा स्वस्थ र लोक हितकारी मनोरञ्जनको आवश्यकता अनुभव भइ रहेका वेला प्रगतिशील व्यङ्ग्य साहित्यलाई माथि उठाउँदै त्यसको उत्कृष्ट आदर्श प्रस्तुत गर्ने श्री रुद्र खरेलको असामयिक देहावसानबाट अपूरणीय क्षति पुगेको छ । यहाँ मलाई केही समयअघि बित्नु भएका प्रगतिशील बाल साहित्यका लोकप्रिय स्रष्टा र कर्मठ योद्धा श्री जनकप्रसाद हुमागाईंको पनि सम्झना आइ रहेको छ । यी दुबैको अभाव हामीलाई वर्षौंसम्म खट्कि रहने छ ।
यता पछिल्लो समयमा कहिले काहीँ फोनमा हाम्रो लामो कुरा हुन्थ्यो । हाम्रा कुराकानीहरू विशेषतः प्रगतिशील साहित्यका विभिन्न पक्षहरू, विदेशी सञ्चार माध्यमहरूको बढ्दो अतिक्रमणबाट बढ्न थालेको सांस्कृतिक भ्रष्टीकरण, वर्तमान राजनीति आदिमा केन्द्रित हुने गर्थे । उहाँ अस्पतालमा भर्ना हुनुभन्दा एक महिनाअघि भएको अन्तिम फोन वार्तामा रमेश विकल स्मृति ग्रन्थको राम्ररी प्रकाशन गर्ने, नेपालको नयाँ संविधानका विषयमा देखिएको अनिश्चितता र गतिरोध आदि विषयबारे चिन्ता प्रकट भएका थिए । मैले फेरि उहाँलाई स्वास्थ्यमा प्राथमिक ध्यान दिने र बढी तनावमा नपर्ने कुरा सम्झाएको थिएँ ।

हो, शारीरिक रूपमा त्यति स्वस्थ नभएका कारण उहाँले आफ्नो जिउको अलिक बढी नै ख्याल विचार राख्नु पथ्र्यो, कहिले काहीँ आराम पनि गर्नु पथ्र्यो, बिरामी पर्दा पनि साह्रो परिश्रम गर्नु हुँदैनथ्यो । उहाँप्रति मेरो एकमात्र गुनासो वा आलोचना यही नै हो ।

अस्वस्थता बढ्दै गएपछि उहाँलाई अस्पतालमा पु¥याइएको खबर पाएर हामी केही साथीहरू त्यहाँ पुगेका थियौँ । अवस्था अलिक गम्भीर नै रहेछ । डाक्टरको अनुमति लिएर कोठाभित्र पस्दा उहाँ शैयामा पल्टि रहनु भएको देख्यौँ । सचेत हुनु हुन्थ्यो तर बोल्ने अवस्था थिएन । हामीले चुपचाप एकअर्कालाई हेरि रह्यौँ, मौन भाषामै कुरा गरि रह्यौँ । छिटै निको भएर फर्कनु होस्, हामी प्रतीक्षा गरि रहने छौँ भन्ने शुभ कामना हाम्रो मनमा थियो । त्यस वेला पनि उहाँको मुखमुद्रामा उही सधैँको सहृदय मुस्कान र आँखामा उही मैत्रीपूर्ण आत्मीयता प्रकट भइ रहेका थिए ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share
विधा : समीक्षा | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *